शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
निबन्ध

माया–निर्माया

शनिबार, १६ भदौ २०८०, १२ : ०९
शनिबार, १६ भदौ २०८०

मायाको परिभाषामा गहिरो सार र शक्ति । उत्तिकै अनेकौँ अर्थ र अभिलाषाहरू । मायाले जोडेको सम्बन्ध । निर्मायाले छुट्याएको सम्बन्ध । टाढिने दूरी र नजिक्याउने आधार नै माया रहेछ । माया विनाको संसार परिकल्पना गर्न सकिँदैन । संसार मायाले रमाइलो । माया पाएर सन्तुष्ट । माया दिएर आनन्द । भनिन्छ, मायाल नै संसार बाँधिएको छ । 

माया गर्नु र माया मार्नु । माया दिनु र माया लिनु । माया नपाउनु र माया पाउनु । माया पाएर बिछोडिनु र बिछोडिएर माया पाउनु । मायामा मरिहत्ते गर्नु र मायाविहीन बाँच्नु । परस्पर मायाले मौलाएको जीवन । माया नपाए के हुन्छ ? माया गर्न नपाए के असर पर्छ ? 

मायाले संसारै उज्यालो औँसीको रातमा पनि पूर्णिमा जस्तो लाग्ने । निर्मायाले पूर्णिमाको रात पनि औँसीको जस्तो हुने । जिन्दगीमा यसले धेरै फरक पार्ने रहेछ । 

माया ‘पाएर’ रमाएको जीवन–संसार । माया ‘नपाएर’ एक्लिएको अँध्यारो जीवन–संसार । कति फरक पार्छ जीवनमा यसले । थाहा छैन, कति असर गर्छ यसले । विना माया बाँच्न को सक्छ र ? निर्मायाले गर्दा अघाउँजी खाएर पनि निस्तो जीवन । तर, मायाले गर्दा भोको पेटमा पनि अघाउँजी तनमन ।

दुई शब्द ‘माया’को कति ठुलो अर्थ र अभिप्राय । कति फरक बुझाइहरू । लुकामारीखेल मिलन र बिछोडको । दृश्यमा माया–निर्मायाका पाना–पृष्ठहरू ! छाया–छविहरू । फकाई र घुर्क्याइहरू ।

माया मारेर जानु र आँसु झारेर जानु । माया गरेर जानु र माया नगरी नै जानु । फरक विषय हो । नितान्त अलग कुरा । अनि जान्छु है भनेर जानु । फेरि भेटौला है भन्दै जानु । र, केही भन्दै नभनी सुटुक्क जानु पनि झन् फरक कुरा । तर्केर जानु र तर्सेर जानु । मस्केर जानु र भागेर जानु अनि मनखुसी जानु । आखिर जानु नै हो जानेहरू तर अर्थमा कति ठुलो अन्तर !

अन्ततः ‘मायालुपन’ र ‘निस्ठुरी मन’को पर्दाफास हुन्छ । अनायासै कहिल्यै नफर्किने गरी ‘जाने’ ।  फर्किएर अनायासै फेरि ‘आउने’ । जीवनमा यसले ठुलो असर पार्छ । नसोचेको परिवर्तन ल्याउँछ । आँसु र हाँसोको, हर्ष र बिस्मातको अवस्था ल्याउँछ ।

यही फरक विषय र कुराले धेरै फरक पार्छ । बुझाइ र बोलाइमा । सम्झाइ र गराइमा अन्तर हुन्छ । यसले दृष्टिकोण बदल्छ । भावना फरक पार्छ । बोली र व्यवहारमा असर पार्छ । सोचाइ समग्रमा प्रभाव पार्छ । यही असर र प्रभावको परिणति प्रकारान्तरले घातक सिद्ध बन्छ । कहिलेकाहीँ परिणाममुखी पनि हुन्छ ।

यस्तो परिस्थितिको सामना गर्न डराउनु हुँदैन । घात भयो भनेर घोत्लिनु र परिणाम राम्रो भयो भनेर फुर्किनु व्यर्थ हुन्छ ।

स्वाभाविक हो, भेटिएपछि छुटिन मन नहुने । छुटिएपछि भेटिन हतार हुने । बोलेपछि बोलिरहनु पर्ने । नबोलेपछि चुपचाप केही बोल्नै नपर्ने । एकपटक मन दुखेपछि सधैँ दुखिरहने । एकपटक टाढिएपछि सधैँ–सधैँ टाढा रहने । मन मिलेपछि कति प्रेमिल मिलन । मन नमिलेपछि कति वियोग, बिछोड र वेदना !

आरोपका वर्षा । सत्तोसरापका सिलसिला । रिसका ज्वारभाटा । क्रमशः सम्बन्धमा पर्खाल ठडिने । फुलिरहेको फूलमा काँडा देखिने । तगाराहरू तेर्सिने । भड्खालाहरू खनिने । खुसी सबै खोसिने । इज्जत लुटिने । पाइला रोकिने । रहर सबै सकिने । बाँकी मृगतृष्णा अधुरो, अपूरो । अस्तव्यस्त  ।

कति सम्झौता, कति बिलौना गर्नु । कति गुनासो, कति दुखेसो र कति गलपासो ! कथा पनि, व्यथा पनि । खुसी र सुख पनि । दुःखका पहाड र हैरानीका खातहरू ।

आखिर यी सबै जीवनकै अभिन्न हिस्सा । अनि त्यही हिस्साले बनाएको अलग–अलग पहिचानको निस्सा । मानिसको आ–आफ्नै अलग्ग स्वभाव ।

झरना जस्तै त्यस्तै माया–निर्माया । देख्नुको सौन्दर्यमय छटा । नदेख्नुको भतभती पोल्ने पीडा ।

चुमेर दृश्यहरू आँखाको स्पर्शले । भेटेर खुसीहरू मनको सतहले । भेटिनुको हजारौँ सन्तुष्टि । छोडी जानुको बेग्लै पीडा । दौडँदै फूर्तिफार्ती र मायाप्रीति । मायाको आभाससँगै तुरून्तै छोडेर जाने कस्तो सास्ती !

लेख्दा लेख्दै नलेखिएका विषयहरू । नलेखिकन पनि लेखिएका कुराहरू । लेखेर नसकिएका कति विचारहरू । पढेर कहिल्यै नसिद्धिएका किताबहरू । पढेर संसार सयर गरेका क्षणहरू । किताबका पात्र र घटनासँग आत्मसात् हुनुका आनन्दहरू । हेरेर कहिल्यै नपुगिएका ठाउँहरू । भेटेर नअघाइएका प्रेमका पलहरू । 

देख्दा देख्दै नदेखिएका दृश्यहरू । नदेख्दा नदेख्दै देखिएका दृश्यहरू । अनायासै प्रस्फुटित अनुभूतिका आलेखहरू । अचानकै चिनिएका चिनारूहरू । भेट्न खोज्दा भीडमै हराएका मित्रहरू । पुराना पत्रमित्र ‘पेनफ्रेन्ड’ हरू ।

कति धेरै भावना । कति धेरै कल्पना । कति धेरै अनुभवका खजाना ! वास्तवमा यी हुन् जीवनका अनुरागहरू । जीवनका विश्वास र विम्बहरू । जीवनका विराट अनुभूतिहरू । प्रेमपूर्ण भावनाका उद्गारहरू । 

जीवनका सच्चा अनुराग र विश्वासहरू कहिल्यै बेइमान हुन सक्दैनन् । निर्माया जस्तो निस्ठुरी हुँदैनन् । बरु माया जस्तै मायालु बनिरहन्छन् सधैँ ।

तिमी छैनौँ र पनि छौ जस्तो । कहिले तिमी छौ र पनि छैनौ जस्तो । मिलनमा पनि बिछोडको चाह । बिछोडमा फेरि मिलनको मोह । यो मन किन यति असन्तुष्ट कि सधैँ खुसी रहनै सक्दैन । दुःखी त झन् हुनै चाहँदैन । बिछोडमा पनि मिलनको आभास आइरहोस् । मिलनमा मायाको मिठासले चुमिरहोस् । यही हो जीवनको खुसीको पल, सन्तुष्टिको सागर ।

कतिसँग गम्भीर कुरा गरियो । कतिसँग हल्काफुल्का बोलियो । को, कति नजिक ? को, कति टाढा ? मनले खाएका मनहरूसँग मन साटियो होला । मनले दुखाएकाहरूसँग अफसोस मानियो होला । तथापि, कतिपय नजिककाहरू टाढिँदै झन् पर । 

टाढाका मनहरू नजिकिँदै मित्रताको हात मिलाइरहेका । कतिसँग रिसाइयो होला । खुसाइयो पनि होला । तर घनिष्ठ मित्रता कमैसँग हुन्छ । आखिर मायाले नै हो नजिक्याउने । निर्मायाले टाढा–टाढा बनाउने । बाँच्नुको नाम मात्रै जिन्दगी होइन र हुँदैन । माया दिएर र माया लिएर बाँच्नुको बेग्लै आनन्द । निर्मायाले एक्लिएर चुपचाप बाँच्नुको के अर्थ ? 

मिर्मिरे बिहानीको आगमनसँगै जिन्दगीका दौडधुप सुरु हुने भए कतिसम्म हिँड्ने, कहाँसम्म पुग्ने ? हिसाब–किताब सुरु हुने भए !

हिँड्ने बाटोभरि फूलैफूलको बिस्कुन । देख्ने आँखाभरि सौन्दर्यको दर्शन । कति आँखाले हेर्नु । कति मनले पिउनु । कति भावनाका माला उनेर अनुभूतिका अक्षरमा अङ्कन गर्नु । मायाले नै हो प्रेरणा प्रदान गर्ने । मायाकै कारण उल्लासमय जीवनवय अगाडि लम्किने ।

मैले लेख्ने अक्षरभरि मायाले ओतप्रोत प्रकृति र जिन्दगीको वर्णन । माया र निर्मायाको व्याख्यान । एउटा जीवनले अपर्याप्त । मायाको मापन गर्न सकिँदैन । निर्मायालाई दण्डित गर्न पनि सकिँदैन ।

जय प्रकृति ! धन्य जिन्दगी ! जय प्रिय मन ! जय प्रिय जन !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप