बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : बुच्चो सिमाना

सोमबार, १८ भदौ २०८०, ११ : २७
सोमबार, १८ भदौ २०८०

धेरै अघिको कुरा हो । एउटा गाउँमा एक जना गोर्खा बाजेको घर थियो । उनकै घरछेउ छिमेकी मेलुहाको पनि अलि बढी क्षेत्रफलमा घर थियो । गोर्खा बाजेको र मेलुहा बाजेको पुस्ता एउटै खालको भएकाले उनीहरूको हरेक तौरतरिका र उठबसमा यदाकदा समानता पाउन सकिन्थ्यो । तर नजिकैका अर्का छिमेकी झोङवोमा भने अलि फरक रहनसहन र सम्पन्नता बढी देख्न सकिन्थ्यो । 

गोर्खा बाजेलाई गाउँभरी बहादुर र इमानदारिताको खानी भनेर चिन्थे । साच्चै नै गोर्खा बाजेको आफ्नै पहिचान सान र अति मनोरम, सुन्दर, शान्त वातावरणयुक्त घर थियो । उनका घर वरपर जोकोही भुलिन्थे । मेलुहाको घरबारमा भने केही समयअगाडि गाउँका मुखिया बाजेले कब्जा गरी खटनपटन गर्दै आइरहेकामा पछि मेलुहाकै पहलकदमीमा मुखियाले उनको घर बक्सिस दिएका थिए । मुखिया बाजेले गोर्खा बाजेको घर पनि दाउमा पार्न नखोजेका भने हैनन् । तर गोर्खा बाजेको हिम्मत र उनका वीर परिवारको साथले गर्दा आफ्नो घर बचाउन सफल भए । तर उनले आफ्नो घरछेउको प्रिय खोरियाबारी र खोल्साबारी भने कागज गरी मुखियाबालाई टक्र्याउनु पर्‍यो । पछि ती जग्गा मुखियाले मेलुहालाई नै सुम्पिएर हिँडे । 

गोर्खा बाजे र मेलुहाको खानदानमा रहनसहन र उठबसमा समानताले गर्दा उनीहरूको परिवार नातागोतामा सामीप्यता पाइन्थो । त्यसैले गर्दा पनि हो कि गोर्खा बाजेले आफ्नो घरबारीमा तारबार र बलियो खम्बा लगाउन जरुरी ठानेनन् । 

एक दिन मेलुहाले गोर्खा बाजेको परिवारलाई विशेष सत्कारका साथ खाना खान बोलाए । अनि झोङवोको जग्गासँगै सिमाना जोडिएको गोर्खा बाजेको जग्गा केही समयका लागि विशेष चलाखीसाथ आफ्ना सन्तानका लागि भनेर छाप्रा बनाउन मागे । विश्वासमा गोर्खा बाजेले पनि हुन्छ भनिहाले । त्यसबापत मेलुहाले पनि गोर्खा बाजेलाई हरेक काम कारवाहीमा सहयोग गरे झैँ गर्न थाले ।

बिस्तारै गोर्खा बाजेका परिवार पनि हरेक कुरामा मेलुहाको मुख ताक्ने आदतको सिकार हुन थाले । मेलुहाले चाहेको पनि यही थियो । उनीहरू सिर्जनात्मकताबाट टाढिएर आत्मसमर्पणवादी झोला बोकी दलालवादको गोरेटोमा होमिए । आफ्ना घरका अमूल्य कच्चा सरसामान मेलुहालाई नै निस्फिक्री दिन थाले । त्यहीँबाट विभिन्न उपयोगी समान बनाई मेलुहाले गोर्खा बाजेको परिवारलाई बेचेर दोब्बर रकम असुल्न थाल्यो । 

मेलुवालाई गोर्खा बाजेको परिवारको मूर्खता र अल्छीपना चिट्ठा परे झैँ भएको थियो । बिस्तारै बिस्तारै अब गोर्खा बाजेका सन्तानहरू मेलुहा बाजेको इसारामा चल्ने भइसकेका थिए । गोर्खा बाजेको केही आत्मसमर्पणवादी छोराको गुलामीले गर्दा मेलुहाको स्वार्थले अब ठूलै शिखर चढ्ने लालच बढिसकेको थियो । अब गोर्खा बाजेसँग केही समयका लागि मागेको जग्गाको टुक्रासमेत मेलुहालेले केही दलालवादी गोर्खा बाजेका परिवारसँग मिली आफ्नो घरबारीको नक्सामा पार्न भ्याइसकेका थिए । गोर्खा बाजेको घरबारीको नक्साको चुच्चे भाग हटाएर बुच्चो नक्सा बनाउन लगाए । त्यही अपूरो नक्सा सबैतिर लागू गर्न प्रपञ्च गरेरै छाडे । गोर्खा बाजेका घरबारका नाङ्गा र बुच्चा सिमानासमेत लाजले भुतुक्कै भई रातापिरा भएका थिए । 

दिनहरू बित्दै जाँदा गोर्खा बाजेका परिवारमा टाउकै पिच्छेका मतान्तरले गर्दा गुटबन्दीको महामारीले भयानक रूप लिन थाल्यो । गोर्खा बाजेका परिवार कहिले मेलुहा त कहिले झोङवोको मतियार भए । पलपल आफ्ना भावि सन्तानलाई ऋणी बनाउँदै व्यापक अन्धोवादी भएर क्षणिक मनोरञ्जनतिर केन्द्रित हुन थाले । एवं रीतले मेलुहा र झोङवोको मुखसारो नै बन्न थाले । अब गोर्खा बाजेको घरबारमा कसले के काम सम्हाल्ने, कुन बारीमा के रोप्ने के नरोप्ने सबैको छिनोफानो ती दुवै छिमेकीको चरम अनुकूलतामा हुन थाल्यो । मेलुहाले आफूलाई ठुल्दाइको उपमा दिएर उचाल्दै पछार्दै हालिमुहाली गर्न थाल्यो । कहिले असाध्यै सहयोग गरे जस्तो ठिक्क पार्ने तर व्यवहारमा दानापानी नै बन्द गरिदिनेसम्मका हर्कत गर्न थाले । उता झोङवोले पनि चारा हालेर गोर्खा बाजेका सन्तानलाई कठपुतली झैँ बनाउँदै थियो । दुवै छिमेकीले गोर्खा बाजेका घरबारीका छेउछाउका कान्ला तास्ने रफ्तार बढाउँदै थिए । 

हरेक पलको चर्काे लाचारीले आक्रान्त भई केही सन्तानको सक्रियतामा गोर्खा बाजेले मेलुहाले च्यापेको आफ्नो भागसहित समेटेर गाउँमा हात कमाउँदै नक्सा निकाले । तर मेलुहाले उक्त जग्गालाई आफ्नै बनाउने हेतुले सिमानामा आफैँ अर्काे सीमारूपी नदी कायम गरिसकेका थिए । उनले कुप्रमाण खडा गरि उल्टै आफ्ना हतियारधारी मतियार उभ्याइसकेका थिए । कैयौँ पटक गोर्खा बाजेको परिवारले यस विषयमा भलाकुसारी गरी समस्या समाधान गर्ने प्रस्ताव गर्दा मेलुहाले वास्ता गरेनन् । उल्टै परिवारमा भुसको आगो लगाई झैझगडामा रुमल्लिरहने वातावरण बनाइदिरहे । 

यस्तो अवस्थामा गोर्खाबाजेलाई आफ्नै अस्तित्वमाथि नै कहाली लाग्यो । परिवारमा समेत वैचारिक क्षयीकरण र पारिवारिक अस्थिरताले भयानक रूप लिँदै थियो । एक समय पूरै गाउँभरी भयानक महामारीका बेलामा मेलुहा र झोङवोले आफ्नै स्वार्थ अनुरूप गोर्खा बाजेको सहमति नै नलिई उनकै जग्गा हुँदै बाटो खनेर उद्घाटन समेत गरे । यो देखेपछि गोर्खा बाजे कुहिराको काग झैँ थिए । 

महामारीको घोर चपेटा थियो । उता कपटी छिमेकीको हालीमुहाली चल्दै थियो । एक जनाको लाचारी र कमजोरीपनामा अरू कसैले कतिको फाइदा उठाउँछ भन्ने भनाइ चरितार्थ थियो । अब मेलुहाले गोर्खा बाजेलाई कसरी च्याप्दै गए भने मुखले हुन्न भन्न र प्रतिरोध गर्न सक्दैनथे । मेलुहाले लगाएको उच, नीच, धर्म, विचार र अहंवादी अस्तित्वको झैझगडाको आगोमा गोर्खा बाजेका सन्तान चुर्लुम्म डुबेका बेला गोर्खा बाजेको घरको मझेरीको काटीकुटी चित्र आफ्नो घरवारको नक्सामा कोरेर गाउँभरी रवाफ देखायो ।

मेलुहा गोर्खा बाजेको घरबारलाई आफ्नै घरवारको एउटा कित्ता सम्झिन्थ्यो । मेलुहाको हरेक यस्ता नाजायज कदमले गोर्खा बाजेका अन्धा सन्तानलाई बलियो र हिम्मतिलो हुन आग्रह भने नगरेका होइनन् । तर अल्छी रोगले सताएका सन्तानलाई दुःखले आर्जेको घरबारको महत्त्व के थाहा ?  उनीहरूको आँखामा किन हो सधैँ कायर रूपी जालो लागिरह्यो । गोर्खा बाजेको हिम्मतले थकाइ मागिसकेको थियो । मन र तनको सामीप्यता टाढिइसकेको थियो । घरबारका सिमाना भने पिल पिल आँसु झार्दै झिनो आस बोकी बसेका थियो । 

एक दिन बिहानै गोर्खा बाजेको घरआँगनमा मेलुहाको पहिचानको बिगुल बज्यो । गोर्खा बाजे झसङ्ग भए । नारीका रौँ खडा भए । शरीरमा खडेरी परेझैँ भयो । अब गोर्खा बाजेले मेलुहासँग आँखा जुधाएर हेर्न नसक्ने भए । मेलुहा झैँ सास फेर्ने, उनकै हाँसोमा हाँस्ने, उनैको रुवाइमा मात्र रुनु पर्ने र उनकै हातको इसारामा नाच्नु पर्ने दिन आए । मेलुहाले गोर्खा बाजेको घरवारका सबै साँधसिमानामा आफ्नै रङ भरेर किला ठोके । ती साँध भक्कानिए बेहोस भए तर बाजेले सहानुभूति समेत खसाल्न सकेनन् ।

गोर्खा बाजेका सन्तानलाई निहुरी मुन्टी बनाई घिसार्दै छानी छानी दास बनाइयो । मेलुवाले गोर्खा बाजेको छानाबाट उत्तर पारी हात हल्लाउँदै धन्यवाद छ साथी भन्यो । झोङवोले पनि मुसु मुसु हाँस्दै हिसाब किताब मिलाउन बाँकी छ है भने । गोर्खा बाजे सास फेर्दै गरेको जिउँदो लासमा परिणत भए । गाउँका मुखियाले समेत जिस्क्यकाउने आँट नगरेका गोर्खा बाजेलाई आफ्नै परिवारको अकर्मण्यता र बेहोसीका कारण अप्रत्यक्ष रूपमा मेलुहाको औपनिवेशिक दास, मेलुहाको कठपुतली बहादुर बन्नुपर्‍यो । गोर्खा बाजेको फुलबुट्टे बुलाकी लाउने सपना देखेका अबोध सिमानाले अब मेलुहाको नथा लगाउनुपर्ने भयो । अनि ती साँध सिमाना हमेसाका लागि कुँडिइरहे । गाउँका सबैको मुखमा कठै... च... च... बजिरह्यो । टाढा टाढा गीत बज्दै थियो– नेपाली हामी रहौँला कहाँ नेपालै नरहे..... । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविना केसी
सविना केसी
लेखकबाट थप