मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पाइलटिङका रुपमा एचपीभी खोप भदौ २७ देखि दिइने

बुधबार, २० भदौ २०८०, १५ : ५९
बुधबार, २० भदौ २०८०

काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप पाइलटिङमा रुपमा सातै प्रदेशका संघीय अस्पतालहरूबाट सुरु गर्ने भएको छ । भदौ २७ गतेदेखि एचपीभी खोप सातवटै प्रदेशका संघीय अस्पतालबाट १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशको परोपकार प्रसूति अस्पताल, कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा २० हजार भाइल पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप दामासायी (बराबर)तरिकाले वितरण गरिएको छ ।

पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप ६ महिनाको अन्तरमा दुई मात्रा लगाउनुपर्ने परिवार कल्याण महाशाखाले जनाएको छ । मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले पाइलटिङका रुपमा एकै ठाउँबाट एचपीभी खोप नदिएर सात वटै अस्पतालबाट दिन लागिएको हो । अर्को वर्ष गाभीबाट एचपीभी खोप आउने भएकाले अहिले परीक्षणका रुपमा अर्थात् डेमोस्ट्रेसनका रुपमा सञ्चालन गरिएको हो ।’

किशोरीहरूमा खोप अभियान सञ्चालन गर्दा आउने कठिनाइ र कस्तो खालको स्वीकार्यता हुन्छ भनेर अध्ययनका लागि पनि  एचपीभी खोपको पाइलटिङले भविष्यका लागि सहयोग गर्ने उनले बताए ।

उनले भने, ‘यो खोप अभियानका रुपमा सुरु भएको हैन, परीक्षणका लागि सुरु गरिएको हो । गाभीबाट खोप आएपछि सरकारले नियमित खोपका रुपमा एचपीभी खोपलाई राख्नेछ । त्यसभन्दा अघि पाइलटिङका रुपमा प्रयोग गर्न लागिएको हो ।’

सरकारले चीनबाट २० हजार भाइल एचपीभी खोप दुई महिना अघि खरिद गरेको हो । यो खोप विश्व स्वस्थ्य संगठन (डब्ल्यूएचओ)को मान्यता प्राप्त खोप हो ।

यस्तै, सरकारले यसअघि पनि पाइलटिङका रुपमा सन् २०१६÷१७ मा एचपीभी खोप चितवन र कास्की जिल्लामा लगाएको थियो । कास्कीमा करिब ११ हजार, चितवनमा १४ हजार किशोरीलाई खोप लगाइएको थियो ।

एचपीभी खोप खरिदका लागि प्रस्ताव

स्वास्थ्य मन्त्रालयमा नयाँ मन्त्री आउना साथ पाठेघरको क्यान्सरविरुद्ध नियमित खोप सञ्चालन गर्ने कुरालाई मुख्य प्राथमिकता दिने गरेको पाइन्छ । सोही अनुसार यस वर्ष मन्त्रालयले १७ लाख मात्रा एचपीभी खोप प्रस्ताव गरी गाभीलाई साउनको अन्तिम हप्ता पत्राचार गरेको थियो ।

यसअघि परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमले पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप आयातका लागि ग्लोबल एलायन्स गाभीलाई प्रस्ताव पेस गरी एचपीभी खोप माग गरिएको बताएका थिए । नेपालले १७ लाख एचपीभी खोपको प्रस्ताव गरी गाभीलाई पत्र पठाएको उनको भनाइ थियो ।

गाभीले नेपालको पत्रलाई सकारात्मक रुपमा लिएको जानकारी पनि उनले दिएका थिए । नेपालमा यस खोप लगाउने उमेर समूह अर्थात् १० देखि १४ वर्षका करिब १६ लाख ५० हजार बालिका छन् ।

किन लगाउने खोप ?

नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख बनेको छ । सन् २०२२ को तथ्याङ्क अनुसार त्यस समयमा २ हजार २४४ महिलामा पाठेघरको मुखमा क्यान्सर लागेको पुष्टि भएको थियो । यस्तै, ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने पाठेघरको क्यान्सरका कारण विश्वभर बर्सेनि ३ लाख महिलाको मृत्यु हुने गर्छ । एक अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिमलाई घटाउँछ ।

क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ । एचपीभी भाइरसविरुद्धको खोप भएकाले भाइरस शरीरमा छिर्नुभन्दा अगाडि खोप लगाएमा मात्रै प्रभावकारी हुने उनको भनाइ छ ।

विशेषज्ञ डा घिमिरेका अनुसार शरीरमा भाइरस आउनुभन्दा अघि खोप लगाइने उमेर १५ वर्ष तोकिएको छ । शारीरिक सम्पर्क हुनुभन्दा अगाडि नै यो खोप लगाउनुपर्छ ।

पाठेघरमा क्यान्सर बनाउने भाइरस महिलामा पुरुषको माध्यमबाट सर्ने भएकाले पुरुषलाई पनि यस खोपको आवश्यक पर्ने उनले बताइन् ।

यद्यपि पाठेघरको क्यान्सरविरुद्धको खोप लगाए पनि पूर्ण रूपमा क्यान्सर लाग्दैन भन्ने सोच्न हुँदैन । खोप लगाउनेहरूले ३० वर्षपछि पुनः नियमित पाठेघरको स्क्रिनिङ गुर्नपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप