सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संस्मरण

उत्पीडनविरुद्धका विद्रोही टेकनाथ बराल

शुक्रबार, २२ भदौ २०८०, १२ : ५७
शुक्रबार, २२ भदौ २०८०

अहिलेको फेवा मार्गदेखि दस पन्ध्र मिनेटको उकालो गोरेटो उक्लेपछि जङ्गलको बीचमा यौटा घर थियो । पोखरा बजारको र फेवातालको रमणीय दृश्य देख्न पाइने उक्त ठाउँ निकै रमाइलो थियो । निरङ्कुश पञ्चायती व्यवस्थाले दललाई प्रतिबन्ध लगाएको समयमा यो घर प्रजातन्त्रवादी र वामपन्थीहरूको आस्थाको एउटा केन्द्र थियो । हामी सानो हुँदा स्कुल बिदाको दिन जङ्गलतिर घुम्दै आँप खोज्दै जाँदा नयाँ र नौला मानिसहरूलाई घर धनी टेकनाथ बरालले आफ्नो घर अगाडिको बारीमा फलेको मेवा र केराले स्वागत गर्दै गरेको देखिन्थ्यो । उहाँको घरमा उहाँको साथी बनेर एक जना वृद्ध बुबा पनि बस्नुहुन्थ्यो । पछि मात्र थाहा भयो उहाँ त वरिष्ठ साहित्यकार युद्धप्रसाद मिश्र पो हुनुहुँदो रहेछ ।

८, ९ कक्षा पढ्ने उमेरमा केही नबुझे पनि आफूलाई केही बुझ्न थाले जस्तै लाग्ने रहेछ । म पनि साथी कृष्णमणिसँग उक्त घरमा बेलाबेलामा जान थालेँ । नाताले उसको आफ्नै कान्छा हजुरबुबा र मेरो पनि दाजु पर्नुहुन्थ्यो टेकनाथ बराल । “आफ्नो बुबाभन्दा जेठोलाई दाजु भन्ने हो ?” भन्ने गर्थे साथीहरू । “के गर्नु हाम्रो कान्छो हाँगो परेछ, जन्मँदै काका, हजुरबा भइयो त के गरौँ ?” मैले पटक पटक दिने जवाफ हुन्थ्यो । म ११, १२ वर्षको हुँदा मेरा पिताजी निकै बिरामी परेको बेलामा काठमाडौँ लगेर अस्पतालमा भर्ना गरी उपचार गराउनु भएकोमा म टेकनाथ बराल दाजुप्रति अनुगृहीत थिएँ । आज पनि उहाँप्रति ऋणी नै छु । प्रत्येक भेटमा उहाँ हाम्रो पढाइमा चासो राख्नुहुन्थ्यो । विद्यालयमा शिक्षकले बाहेक अरू कसैले पढाइको कुरा ननिकाले पनि हुन्थ्यो नि जस्तो लाग्थ्यो । तर मेरा आमा, काका र मामा उमेर समूहका सबैको शिक्षक हुनुहुँदो रहेछ उहाँ । उहाँले हाल तालबाराही नामकरण भएको विद्यालयमा स्थापना कालमा नै पढाउनुभएको रहेछ । राजनीतिको सङ्घर्षमय दिनमा जहाँ जसरी रहे पनि आफ्नो शिक्षण पेसालाई निरन्तरता दिइरहनुभएको कुरा उहाँका सहकर्मीबाट सुनिन्छ । भारतको निर्वासित जीवनमा पनि उहाँ भारतको नेपाली भाषी क्षेत्रमा विद्यालय स्थापना गरेर पढाउनु हुन्थ्यो ।

सामाजिक सुधारमा पनि उहाँ अग्रपङ्क्तिमा हुनुहुन्थ्यो । सुधार आफ्नै घरबाट हुनु पर्छ भन्ने उहाँको मान्यता थियो । श्रमजीवीहरूलाई उहाँ सम्मानका साथ भान्छामा आफैँसँग राखेर खुवाउनुहुन्थ्यो । रूढिवादी परम्पराको सधैँ विरोध गर्नुहुन्थ्यो । विज्ञानमा विश्वास राख्नुपर्छ भन्नु हुन्थ्यो ।

२०४४–४५ सालतिरको समयमा उहाँको घरमा उहाँको पुरानो शिक्षक साथीले आफ्नो छोरा ल्याउनुभयो र छोडेर जानुभयो । उसको नाम रूपक अधिकारी रहेछ । छिट्टै नै उसको र मेरो बीचमा मित्रता बढ्यो । म अझै उसलाई भेट्ने र सँगै पढ्ने निहुँमा धेरै जान थालेँ । दिनहरू बितेर जान थाले । एसएलसी दिएपछि पत्र पत्रिका पढ्न थालियो । आफूले आफैँलाई राजनीतिक रूपमा सचेत मान्न थालियो (हुन त नेपालको राजनीति कसले पो बुझेको छ होला र ? राजनीतिक रूपमा को पो सचेत भयो र अझसम्म ?) । 

देश पञ्चायती निरङ्कुशतामा बाँधिएको अनुभव हुन थाल्यो । साँझपख बीबीसीको नेपाली सेवा र अल इन्डिया रेडियो सुन्ने आदत बढेर गयो । “चौध वर्षपछि राधाकृष्ण मैनाली रिहा भएका छन् ।....” बीबीसी नेपाली सेवामा खगेन्द्र नेपालीले भने । भोलिपल्ट कृष्णमणिले भन्यो– “साना हजुरबाको घरमा राधाकृष्ण मैनाली आएका छ्न् रे । भेट्न पाइन्छ कि जाने भए जाम् ।” हामी दौडियौँ जङ्गलको बाटो । हामी जाँदा राधाकृष्ण मैनाली फर्कन लागेका रहेछन् । “कति ठुलो मानिस हो ?” मलाई उनको शरीर निकै ठुलो र अग्लो लागेको थियो । “ए भनेपछि अहिले मिलेर जाने कुरा भयो ?” रुद्र सरले भन्नुभयो । “हो मिलेर जानुको विकल्प छैन ।” भन्दै उनी हतार हतार तल झरे ।

टेकनाथ दाजुले हतार हतार गरेर खाना खुवाउने व्यवस्था मिलाउनुभएको रहेछ । धेरै पछि कुरा बुझियो तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेले नेपाली काँग्रेससँग मिलेर पञ्चायतविरुद्ध आन्दोलन गर्ने र सो बारेमा अगुवा कार्यकर्तालाई देशव्यापी जानकारी गराउने कार्यक्रम रहेछ । भर्खरै जेलबाट निस्केका हुनाले सबैको नजरमा परेका भूमिगत पार्टीको अर्धभूमिगत नेता थिए, राधाकृष्ण । “ल किसानजी पाकेको खाना खाइहालौँ ।” एक जना सेतो कमिज सुरवाल लगाएका नौला व्यक्तिलाई टेकनाथ दाजुले भन्नु भयो । “प्रश्रितजीले खानुभयो ? “उहाँले सोध्नुभयो । उहाँ त जाने तरखर गरिसक्नुभयो ।” टेकनाथ दाजुले भन्नुभयो । सर्ट र पाइन्ट लगाएका मोदनाथ सबैलाई नमस्कार गर्दै जङ्गलको बाटो ओरालो लाग्नुभयो । 

उनको ‘नारी बन्धन र मुक्ति’ र ‘गोलघरको सन्देश’ पढेको थिएँ । लेखकलाई प्रत्यक्ष देख्दा मात्र पनि ठूलै उपलब्धि भए जस्तै लाग्यो । पछि थाहा भयो सेतो कमिज सुरुवाल लगाउने अर्को व्यक्ति प्रसिद्ध कवि केवल पूरै किसान हुनुहुँदो रहेछ । करिब डेढ घण्टा उहाँकै मुखबाट उहाँकै कविता सुन्ने अवसर पाइयो । साँझ गाढा हुँदै थियो । हामी जङ्गलको बाटो डराई डराई फर्क्यौँ ।

लौह पुरुष गणेशमान सिंहको घरमा बसेको बैठकले नेपाली काँग्रेस र वामपन्थी मिलेर आन्दोलन गर्ने निर्णय गरेको सबैलाई थाहा भएकै कुरा हो । वामपन्थीको बलियो सहभागिताका लागि सबैलाई मिलाएर वाम मोर्चा बनाउनुको विकल्प थिएन । गण्डकी अञ्चलमा यसको नेतृत्व टेकनाथ दाजुले लिनुभयो । आन्दोलन चर्कियो । उहाँलाई पनि पक्राउ गरियो । कृष्णमणि बराल, सञ्जय पौडेल, राजु रेग्मीलगायत मेरा पनि धेरै साथीहरूलाई प्रहरीले समात्यो । आन्दोलन सफल भयो । उहाँ छुट्नु भयो । छुटेर आएपछि सबैभन्दा पहिला हाम्रो घरमा आएर मेरी हजुरआमालाई भेट्नुभयो र आफ्नो घरतर्फ लाग्नु भयो । बुढाबुढीलाई उहाँ असाध्यै सम्मान गर्नुहुन्थ्यो । बहुदल आएको करिब तीन महिनापछि मैले सोधेँ, “दाजु, हजुरलाई त यातना दिएन नि हिरासतमा ?” निरङ्कुश शासनको भर पनि थिएन । उहाँले हिमालतर्फ हेर्दै गर्दा आँखामा आँसु झार्नुभयो र भन्नुभयो, “मेरो नाति उमेरको ठिटोलाई बेस्सरी पिटेर मेरो छेउमा ल्याउँदा मलाई पनि कुनै यातना दिनुपर्छ र ?” उहाँ अत्यन्त संवेदनशील हुनुहुन्थ्यो । म बोल्न सकिनँ ।

बहुदल स्थापनापछि उहाँको ध्यान राजनीतिभन्दा सामाजिक सेवा, मानव अधिकार संरक्षण, राष्ट्रियता, जनजीविका र सार्वजनिक सम्पत्ति सुरक्षामा केन्द्रीकृत हुन थाल्यो । उहाँलाई विभिन्न कम्युनिस्ट पार्टीहरूले आफ्नो दलमा भित्र्याउन प्रयास गरिरहे । मदन भण्डारीको प्रतिनिधित्व गर्दै पद्मरत्न तुलाधर आउनु भएको हामी सबैलाई याद छ । तर उहाँले “सबै एकीकृत भएमा विचार गरौँला ।” भनी आफूलाई कुनै दल विशेषमा सीमित पार्न चाहनु भएन । 

हाल उच्च ओहदामा भएका व्यक्तिहरूलाई जेलमा बिरामी भएको बेला उहाँले नै किनेर औषधि पठाउनु हुन्थ्यो । निर्वासनको समयमा बनारसमा रहँदा प्राकृतिक चिकित्सा अध्ययन गर्नुभएको हुनाले उहाँलाई प्राकृतिक र आयुर्वेद औषधीबारेमा पनि सामान्य ज्ञान थियो । माओवादी द्वन्द्वलाई उहाँ उत्पीडनविरुद्धको विद्रोह मान्नुहुन्थ्यो । तर राज्य तथा विद्रोही पक्षबाट हुने व्यक्ति हत्याको सधैँ विरोध गर्नु हुन्थ्यो । उहाँ कहिले टनकपुर पुग्नुहुन्थ्यो महाकाली बचाउन कहिले सुस्ता पुग्नुहुन्थ्यो मिचिएका सीमा जोगाउन सबैलाई जागृत बनाउँदै ।

दोस्रो जनआन्दोलनमा मानव अधिकार संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्नुभयो । प्रहरीको गाडी रोकेर “कति जनालाई हिरासतमा लिनुभएको छ ?” भन्दै भित्र पसेर विवरण लिनुहुन्थ्यो । पहिलो संविधान सभाले दुई वर्षमा नै संविधान बनाउनुपर्छ भन्ने सबै नेपालीको धारणा थियो । संसद् भवन अगाडि “तोकिएको समयभित्र संविधान बनाऊ, आफ्नो म्याद आफैँ नबढाऊ भन्दै,” रातभर धर्ना दिनु भयो । तर आमजनताको जस्तै उहाँको केही जोड चलेन । म्याद थप्दै गए । पुनः चुनाव पनि भयो ।

विधिको विडम्बना यस्ता सङ्घर्षशील, सामाजिक अभियन्ता, रूढिवादी परम्पराको विरोधी व्यक्तित्वलाई पनि हामीले गुमाउनुपर्ने रहेछ । तर उहाँको सम्झना उहाँसँग सम्बन्ध जोडिएका हामीहरूमा रही रहने छन् । हार्दिक श्रद्धाञ्जली दाजु ।

पोखरा–७, मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप