सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सम्झना

झलनाथको सम्झनामा सहपाठी सुवास : पार्टी मिलाउने प्रयास अधुरै रह्यो !

मङ्गलबार, २६ भदौ २०८०, १५ : १२
मङ्गलबार, २६ भदौ २०८०

सुवासचन्द्र नेम्वाङ मेरो सहपाठी पनि हुनुहुन्थ्यो । इलाम आदर्श माध्यमिक विद्यालयमा सात कक्षादेखि हामी सँगै पढेका हौँ । हामीभन्दा कम उमेरको साथी उहाँ । उहाँको शरीर र बनावट पनि अलि सानो भएकाले हामी सबैको भाइजस्तो हुनुहुन्थ्यो । हामी सबैले उहाँलाई माया पनि गर्थ्यौँ ।

नेम्वाङ सानैदेखि धेरै मिलनसार हुनुहुन्थ्यो । सबैसँग मिल्नसक्ने र सरल स्वभावका साथै अध्ययनशील पनि हुनुहुन्थ्यो । अनुशासित हुने उहाँको गुण नै थियो । सातदेखि दश कक्षासम्म हामी सँगसँगै पढ्यौँ । दश कक्षापछि फेरि काठमाडौँको त्रिचन्द्र क्याम्पसमा आइएससी पढ्न सुरु गर्‍यौँ । हामीले दुई वर्ष आइएससी पनि सँगै पढ्यौँ ।

उहाँ आईएससीमा अनुत्तीर्ण हुनुभयो, म पास भएँ । त्यसपछि उहाँ कानुनतर्फ लाग्नुभयो भने म बीएससी पढेर राजनीतितिर पूर्णरुपले लागेँ ।

म राजनीतितर्फ लाग्दालाग्दै केही समय पश्चिमतिर पार्टीको काममा गएँ । २०२६ सालमा म पूर्वतिर आउँदा नेम्वाङ इलाममै हुनुहुँदो रहेछ । त्यो बेलामा हाम्रो भेटघाट भयो । मैले धेरै लामो कुराकानी गरेँ, जतिबेलासम्म उहाँ प्रगतिशील राजनीतिमा आइसक्नुभएको थिएन ।

उहाँ प्रगतिशील राजनीतिमा लागेपछि मैले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको विद्यार्थी युनियनको अध्यक्षमा उठाएँ, जतिबेला उहाँ बीए पढ्न थाल्नुभएको थियो । त्यहीबेला उहाँ महेन्द्ररत्न क्याम्पसको स्ववियुको अध्यक्ष पनि बन्नुभयो ।

म २०२३ सालदेखि नै राजनीतिमा लागिसकेको थिएँ । २६ सालदेखि २८ सालसम्म मैले उहाँसँग राजनीतिबारे लामो कुराकानी गरेँ । त्यसपछि उहाँ २०२९ सालबाट प्रगतिशील राजनीतिमा आउनुभयो ।

उहाँ प्रगतिशील राजनीतिमा लागेपछि मैले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको विद्यार्थी युनियनको अध्यक्षमा उठाएँ, जतिबेला उहाँ बीए पढ्न थाल्नुभएको थियो । त्यहीबेला उहाँ महेन्द्ररत्न क्याम्पसको स्ववियुको अध्यक्ष पनि बन्नुभयो । त्यही कालखण्डबाट उहाँ प्रगतिशील राजनीतिमा पूर्णरुपमा होमिनुभयो ।

तर म इलाम जिल्ला कमिटी बनाउँदै कोअर्डिनेशन केन्द्रतर्फ अगाडि बढेँ । त्यसपछि उहाँ काठमाडौँ आएर कानुन पढ्नुभयो । कानुन पढ्दा पनि विद्यार्थी आन्दोलनलाई सँगसँगै लैजानुभयो । हामीले कोअर्डिनेशन बनायौँ । त्यो कोअर्डिनेशन बनाउने, माले बनाउने अनि एमालेसम्म आउने कुरामा हाम्रै धारबाट उहाँ अगाडि बढ्नुभयो ।

खासगरी २०४६ को परिवर्तनपछि हामीलाई संसद्मा वकिल, कानुन जानेको मान्छे पनि चाहिएको थियो । त्यो भएकाले हामीले नेम्वाङलाई राष्ट्रिय सभाको सांसद बनायौँ । राष्ट्रिय सभामा उहाँ सांसद भएको बेला धेरै राम्रो भूमिका पनि खेल्नुभयो । जसले हामीलाई कानुन बनाउन धेरै सहज पनि भएको थियो ।

त्यसपछि पार्टीमा सल्लाह गरेर उहाँलाई इलामबाटै चुनाव लडाउने कुरा भयो । उहाँलाई इलाम क्षेत्र नम्बर २ बाट चुनाव लडाउने र म क्षेत्र नम्बर १ बाट चुनाव लडेँ । २०५१ सालपछि उहाँ इलाम क्षेत्र नम्बर २ बाट लगातार र म क्षेत्र नम्बर १ बाट लगातार चुनाव लड्दै आयौँ । र, पछि शाहीकालमा राजा ज्ञानेन्द्रले संसद् विघटन गरेपछि हामी त्यो कदमविरुद्ध लड्नुपर्ने अवस्था आयो । त्यतिबेला पनि सँगै नै लड्यौँ ।

हामीबीचमा आत्मीयता र घनिष्ठता धेरै गहिरो थियो । पछि नेकपा रहँदासम्म सँगसँगै रह्यौँ । जब पछि गएर पार्टी फुट्यो, पार्टी विभाजन हुँदा पनि हाम्रोबीचका सम्बन्ध जारी नै रहे ।

नेकपा एमालेमा रहँदासम्म हामी सँगसँगै अघि बढ्यौँ । केन्द्रीय कमिटीमा पनि उहाँसँगै काम गर्‍यौँ ।

२०६२/०६३ को परिवर्तनपछि संविधान सभा निर्वाचन भयो । नेम्वाङ संविधान सभाको अध्यक्ष बन्नुभयो । २०६४ को पहिलो निर्वाचनमा अरू धेरै साथीहरू हार्नुभयो, म र उहाँ जितेरै आयौँ । त्यसबेला एमालेको पार्टी र संसदीय दलको नेता म थिएँ र मैले देशको ३४ औँ प्रधानमन्त्री बन्ने मौका पनि पाएँ । उहाँ संविधान सभाको अध्यक्ष, म प्रधानमन्त्री भएर पनि काम गर्‍यौँ ।

यसरी सँगसँगै आएको हुनाले हामीबीचमा आत्मीयता र घनिष्ठता धेरै गहिरो थियो । पछि नेकपा रहँदासम्म सँगसँगै रह्यौँ । जब पछि गएर पार्टी फुट्यो, पार्टी विभाजन हुँदा पनि हाम्रोबीचका सम्बन्ध जारी नै रहे । त्यो बीचमा पनि टेलिफोन सम्पर्क भइरहन्थ्यो । पार्टी विभाजनपछि यी दुई पार्टीलाई कसरी नजिक्याउने ? कसरी मिलाउने भनेर हामी विचार आदानप्रदान गरिरहन्थ्यौँ ।

नेम्वाङ पनि पार्टी विभाजनप्रति बडो दुःखी हुनुहुन्थ्यो । पार्टी मिलाउने नयाँ उपाय खोज्न पाए हुन्थ्यो भन्ने उहाँको सधैँ भनाइ रहन्थ्यो । म पनि त्यसकै पक्षमा थिएँ । केही दिनअघि मात्रै पनि हाम्रो कुराकानी भएको थियो । कुरा हुँदा कसरी यो वामपन्थी आन्दोलनलाई निकट बनाउने ? कसरी सँगै हिँड्ने भन्नेमै उहाँ र मेरो चिन्ता हुन्थ्यो । कम्युनिस्ट आन्दोलनमा रहेको दक्षिणपन्थी भड्कावलाई हटाउँदै कम्युनिस्ट बीचमा कम्तीमा पनि कार्यगत एकता गरेर अघि बढ्नुपर्छ भन्नेमा उहाँ पनि वैचारिक रूपमा सहमत हुनुहुन्थ्यो, म पनि त्यही कुरा गर्थेँ ।

सहमति र सहकार्यमार्फत नै अघि बढ्नुपर्छ भन्नेमा नेम्वाङको जोड रहन्थ्यो । संविधान बनाउँदै हामीले सहमति र सहकार्यको भावनालाई प्रतिबिम्बित गरेका थियौँ । त्यो भावनाअनुसार नै उहाँ सहमति र सहकार्यमा जोड गर्नुहुन्थ्यो । नेपाली समाज आफैँमा एउटा सहकार्य, सहअस्तित्व र शान्तिको प्रक्रियाबाट रूपान्तरित भएर आएकाले उहाँले पनि यो कुरालाई बारम्बार जोड दिनुहुन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

झलनाथ खनाल
झलनाथ खनाल
लेखकबाट थप