बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एकपछि अर्को गर्दै तीव्र गतिका बलर घाइते भएपछि पाकिस्तान दबाबमा

बिहीबार, २८ भदौ २०८०, ११ : ४९
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । पाकिस्तानका तीव्र गतिका बलर नसिम शाह एसिया कप क्रिकेटको बिहीबार खेलिने ‘सुपर फोर’ चरणको महत्त्वपूर्ण खेलमा अनुपस्थित रहने छन् । एसिया कप क्रिकेटको ‘सुपर फोर’ चरणमा बिहीबार आयोजक पाकिस्तानले सह-आयोजक श्रीलंकाको सामना गर्दैछ ।

उक्त खेल श्रीलंकाको कोलम्बोमा खेलिने छ । यो खेल पाकिस्तान र श्रीलंका दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो खेलमा विजयी हुने टोली एसिया कपको फाइनलमा पुग्ने दोस्रो राष्ट्र बन्नेछ । यसअघि भारत प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । 

त्यसैले बिहीबार हुने खेलमा पाकिस्तान र श्रीलंका दुवै टोली ‘गर या मर’ को स्थितिमा रहने छन् । उक्त खेलमा विजयी हुने टोली फाइनलमा पुग्नेछ भने पराजित हुने टोली उपाधि होडबाट बाहिरिने छ । नेट रन रेटमा भने पाकिस्तानभन्दा श्रीलंका अगाडि छ ।

महत्त्वपूर्ण खेलमा २० वर्षीय दायाँ हाते तीव्र गतिका बलर नसिम शाह अनुपस्थित रहने भएपछि पाकिस्तान केही दबाबमा परेको छ । पाकिस्तानी टोलीको सबैभन्दा ठुलो हतियार भनेकै तीव्र गतिका बलर हुन् । नसिम शाह ‘सुपर फोर’ चरणको भारतविरुद्धको खेलमा घाइते भएका थिए । 

नसिम शाहले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १४ खेल खेलेर ३२ विकेट लिएका छन् । एक दिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन ३३ रन दिएर पाँच विकेट हो । जारी एसिया कपमा पनि नसिम शाहले सात विकेट लिइसकेका छन् । 

नसिम शाहको स्थानमा जामन खानलाई टोलीमा समावेश गरिएको छ । २२ वर्षीय जामन खान पनि तीव्र गतिका बलर हुन् । तर, जामन खान एक दिवसीय प्रतियोगितामा अनुभवी बलर भने होइनन् । आईसीसी एक दिवसीय विश्वकप संघारमै रहेकाले पनि पाकिस्तानले नसिम शाहको स्वास्थ्यको विषयमा जोखिम मोल्न नचाहेको समाचारमा जनाइएको छ । 

‘सुपर फोर’ चरणको भारतविरुद्धको खेलमा पनि नसिम शाह चोटका कारण ब्याटिङ गर्न आएका थिएनन् । त्यसैले भारतविरुद्धको उक्त खेलमा नौजना खेलाडीले मात्र ब्याटिङ गरेका थिए । नसिम शाहका अतिरिक्त अर्का घाइते बलर ह्यारिस रउफले पनि उक्त खेलमा ब्याटिङ गरेका थिएनन् । 

तीव्र गतिका बलर ह्यारिस रउफ पनि भारतविरुद्धको खेलका क्रममा घाइते भएका थिए । उनको पनि हाल उपचार चलिरहेको पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जनाएको छ । ह्यारिस रउफ जारी एसिया कपमा सर्वाधिक विकेट लिने खेलाडीमध्ये एक हुन् । उनले नौ विकेट लिएका छन् ।

भारतका कुलदिप यादव, श्रीलंकाका वेल्लालागे र बङ्गलादेशका तासकिन अहमदले पनि नौ-नौ विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप