बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तानले श्रीलंकालाई दियो दुई सय ५३ रनको लक्ष्य

बिहीबार, २८ भदौ २०८०, २१ : ४२
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको ‘सुपर फोर’ चरणको महत्वपूर्ण खेलमा पाकिस्तानले श्रीलंकालाई जितका लागि दुई सय ५३ रनको लक्ष्य दिएको छ । वर्षाका कारण केही समय अवरुद्ध भएपछि ४२ ओभरमा झारिएको खेलमा पाकिस्तानले सात विकेट गुमाएर दुई सय ५२ रनको सम्मानजक स्कोर बनायो । 

पाकिस्तान जारी एसिया कपको आयोजक हो भने श्रीलंका सह—आयोजक । यो खेलमा विजयी हुने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोली उपाधि होडबाट बाहिरिने छ । भारत भने यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । 

यो खेल वर्षाका कारण प्रभावित भए नेट रन रेटमा अगाडि रहेका कारण श्रीलंकालाई फाइदा पुग्नेछ । पाकिस्तानले पालीको खराब सुरुआत गरेको थियो । पाकिस्तानले नौ रनको कुल स्कोरमै पहिलो विकेट गुमाएको थियो । ओपनर ब्याट्सम्यान फाखर जामन चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । 

अर्का ओपनर अब्दुल्लाह सफिकले भने टोलीका लागि ५२ रनको योगदान गरेका थिए । उनले ६९ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । पाकिस्तानको पाली भने चौथो नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले समालेका थिए ।

उनले टोलीका लागि अविजित ८६ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएको रिजवानले केवल ७३ बलको सामना गरी दुई छक्का र ६ चौका हिर्काए । रिजवान र इफ्तिखार अहमदले टोलीका लागि एक सय आठ रनको साझेदारी गरे । 

इफ्तिखार अहमले ४०.३ ओभरमा आउट हुनुअघि ४७ रन बनाए । उनले केवल ४० बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काएका थिए । त्यसअघि तेस्रो नम्बरका ब्याट्सम्यान बाबर आजमले टोलीको खातामा २९ रन थपेका थिए ।

कप्तान आजमले ३५ बलको सामना गरी तीन चौका पनि हिर्काएका थिए । मोहम्मद नवाजले १२ बलमा १२ रन बनाए । मोहम्मद ह्यारिस तीन रनमा पेभेलियन फर्किएका थिए । पाकिस्तानले अतिरिक्त रुपमा १५ रन पाएको थियो । 
सदाब खान तीन रनमा आउट भए । श्रीलंकाली टोलीका बलर मथिसा पाथिरानाले तीन विकेट लिए । प्रमोद मदुसनले पनि दुई विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप