सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

ब्रेक प्याडको कार्टुनमा ‘रेड च्यानल’ लेख्दा पनि भन्सारबाट कसरी बाहिरियो सुन ?

यस्तो छ भन्सारका कर्मचारीहरूको बयान
आइतबार, ३१ भदौ २०८०, २२ : ४३
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । ३६२ किलो ७७८ ग्राम भनिएको सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकारीहरूको मिलेमतो र गम्भीर लापरबाही देखिएको छ । पछिल्लोपटक साउन २ गते बरामद गरिएको ६० किलो ७१६ ग्राम सुन कार्यालयकै कर्मचारीको मिलेमतोमा बाहिरिएको काठमाडौँ जिल्ला अदालतमा आइतबार दायर गरिएको अभियोग पत्रमा उल्लेख छ ।

भन्सार कार्यालयबाट प्राप्त सिसिटिभी फुटेजमा एक्स(रेमा खटिएका कर्मचारीले सुन राखिएको ब्रेक प्याडको कार्टुनमाथि शङ्का लागेर आरसी (रेड च्यानल) को सङ्केत गरे पनि त्यसलाई जाँच नै नगरी बाहिर पठाइएको देखिएको हो । भन्सार अधिकृत सन्तोष चन्दसँग पक्राउ परेका राजेन्द्रकुमार राई र सुदर्शन गौतमसमेतले कुराकानी गरी सामानहरू छुटाएको देखिन आएको अभियोग पत्रमा उल्लेख छ ।

एक्स–रे टेक्निसियन सरोज श्रेष्ठले आफ्नो बयानमा पनि सो कुरा खुलाएका छन् । प्रज्ञापन नम्बर एम ३५०७९ रहेको ब्रेक प्याड भएको कार्टुनहरूमा भएको मालवस्तुको आकृति जुम गरेर हेर्दा चारैतिर निलो रङ र बीचको भागमा कालो देखिएकोमा उक्त आकृतिलाई फूल जुम गरेर हेर्दा कुनै भागमा एक्स–रे पास भएको र कुनै भागमा रे पास नभएको श्रेष्ठले बताएका छन् ।

‘त्यसलाई खोलेर चेक जाँच गर्नुपर्छ भनी मैले ८ कार्टुन मालवस्तुमध्ये ४ वटा कार्टुनमा रातो पर्मानेन्ट मार्कर पेनले ठुलो अक्षरमा प्रष्ट देखिने गरी ‘आरसी’ लेखेर पठाएको,’ उनले बयानमा भनेका छन्, ‘मैले कोही कसैलाई मौखिक तथा लिखित रिपोर्ट गरिनँ ।’

श्रेष्ठका अनुसार कार्टुनमा आरसी लेखेपछि त्यसलाई मालवस्तुको प्रत्येक कार्टुन खोली भौतिक रूपमा चेक जाँच गरी प्रत्येक सामान एक–एक गरी हेरी आवश्यक परेमा कोतरी, च्याती यकिन हुन नसकेमा नमुना छानी सामान फोडी वा खोली हेर्ने कर्तव्य त्यस दिन खटिएका जाँचकी कुमार ढकालको थियो ।

‘त्यसो गर्दासमेत माल वस्तु यही हो भनेर यकिन हुन नसकेमा भन्सार अधिकृत समक्ष प्रतिवेदन गरी भन्सार अधिकृत र जाँचकीको रोहबरमा पुनः मालवस्तुको एक्स–रे गर्न सकिनेमा जाँचकी खरिदार ढकालले राम्रोसँग माल वस्तु नहेरी, मलाईसमेत नसोधी ४ वटा कार्टुनमा आरसी लेखेकोलाई बेवास्ता गरी जाँच पास गरेको देखिन्छ ।’

उनका अनुसार मूल्याङ्कन शाखाका नायब सुब्बा वीरेन्द्र नेपाली र अधिकृत गणेश पौडेलले पनि मूल्याङ्कनको क्रममा कागजात र माल वस्तु चेकजाँच नगरी आरसी लेखेकोमा आफूसँग सोधपुछ तथा समन्वय नगरी नजरअन्दाज गरी मूल्याङ्कन गरेको देखिएको छ ।

त्यस्तै, प्रमुख भन्सार अधिकृत तथा उपसचिव श्रीधर टण्डनले पनि आरसी लेखेको मालवस्तुलाई राम्रोसँग नबुझी, पुनः भौतिक रूपमा चेकजाँच गर्न नलगाई कसरी आशिकुडा सिस्टममा सदर गरे भन्दै श्रेष्ठले प्रश्न उठाएका छन् ।

‘आरसी लेखेको प्रस्ट देखिने हुँदा हुँदै के कति कारणले भन्सार जाँचपास गरी सिस्टममा कन्ट्रोल रिजल्ट गरी सिस्टममा डकुमेन्टलाई ग्रिन गर्नुभयो र भन्सार अधिकृतले समान यही हो भनी कसरी माल वस्तु पास गर्नुभयो ?,’ बयानमा उनले सोधेका छन् ।

श्रेष्ठको आरोपलाई जाँचकी कुमार ढकालले खण्डन गरेका छन् । बरु उनले सो दिन एक्स–रेमा खटिएका श्रेष्ठले उक्त मालवस्तुमा आरसी लेखेको सम्बन्धमा मौखिक जानकारी नगराएको हुँदा आफूले उक्त माल वस्तु ठिकै छ भनेर जाँचपास गरेको बयानमा दिएका छन् ।

ढकालले जोखिम व्यवस्थापन शाखाको पनि कमजोरी औँल्याएका छन् । उक्त शाखालाई मालवस्तुको सम्बन्धमा शङ्का लागेमा डकुमेन्ट लक गर्ने वा क्वेरीमा राख्ने र भन्सार अधिकृतबाट ग्रिन भइसकेका डकुमेन्ट समेतलाई रिचेक गराउन सक्ने अधिकार हुन्छ ।

‘लेटर अफ क्रेडिट नखोली किन उस्तै प्रकारका माल वस्तु पटक–पटक दोहोरिएर आइरहेका छन् भन्ने सम्बन्धमा जोखिम व्यवस्थापन शाखा र मूल्याङ्कन शाखाले हेर्नुपर्ने हो । अमेरिकी डलर पाँच सयभन्दा कम गरी पटक–पटक एउटै प्रकृतिको समान किन आइरहेको छ भनेर हेर्नुपर्नेमा चुपचाप बसेको देखियो ।’

त्यस्तै भन्सार अधिकृत सन्तोष चन्दले साउन २ गते प्रज्ञापनका बेकप्याड भौतिक परीक्षण गर्दा उक्त मालवस्तुको परिणाम अनुरूप नै रहेको जानकारी आएपछि त्यही प्रकृतिको ब्रेड प्याड केही दिन अगाडि आफूले भौतिकरुपमा परीक्षण गरी भन्सार जाँचपास समेत गरिसकेको हुँदा मूल्याङ्कन शाखाका नायब सुब्बाले मालवस्तुहरुको डकुेमन्ट भेरिफिकेसन र मूल्याङ्कन अधिकृत र प्रमुख भन्सार अधिकृतबाट भ्यालिडेट भएर आएपछि, कन्ट्रोल रिजल्ट गरी प्रज्ञापन पत्र ग्रिन रहेकोमा मालवस्तुमा आरसी लेखेको बारे आफूलाई कहीँ कतैबाट पनि जानकारी प्राप्त नभएकाले जाँचपास गरेको बयान दिएका छन् ।

आरसी लेखिएको मालवस्तुमा जाँचकीले भौतिक परीक्षण गर्दा शङ्का लागेमा त्यसलाई पुनः एकसरे गर्न सक्ने र सो गर्दा पनि माल वस्तु यही नै हो भन्ने यकिन हुन नसकेमा आशिकुडा सिस्टममा विवरण खुलाई कैफियत लेख्न सकिने व्यवस्था छ । यस्तोमा भन्सार अधिकृतलाई पनि मौखिक रूपमा आरसी लेखेको जानकारी गराउनुपर्ने चन्दको भनाई छ । यसबारे सरोज श्रेष्ठ र कुमार ढकालले आफूलाई कुनै जानकारी नै नगराएको उनको भनाई छ ।

यता नायब सुब्बा वीरेन्द्र नेपालीले भन्सारमा एक्स–रे अपरेटरले आरसी लेख्दा सो कुराको जानकारी जाँचपासमा खटिएका कर्मचारी, भन्सार अधिकृत र प्रमुख भन्सार अधिकृतलाई लिखित वा मौखिक जानकारी गराउनुपर्ने बताउँछन् । सो कुरा जाँचपासमा खटिएका कर्मचारीले आरसी खेलेको सामानमा कुनै कैफियत देखेमा अनलाइन सिमस्टमा तथा म्यानुअल्ली मूल्याङ्कन शाखामा जानकारी गराउने सक्ने उनले बताएका छन् ।

एक्स–रे र भौतिक परीक्षणबाट कुनै कैफियत उल्लेख नभई जाँचपास भई आएको हुँदा पेस भएको प्रज्ञापन पत्र र कागजातहरूको आधारमा मूल्याङ्कन गरी सदर गर्न नियमित प्रक्रिया पुरा गरी मूल्याङ्कन सदरको लागि प्रमुख भन्सार अधिकृत समक्ष पठाएको उनको जिकिर छ ।

‘ती मालवस्तुहरु जाँचपासबाट कुनै कैफियत नलेखी आएको र मालवस्तुको घोषणा अनुसार सन्दर्भ मूल्य र दरबन्दी ठिक भएको र मूल्याङ्कन गर्दाका बखत मूल्याङ्कन गर्न आएका मालवस्तुहरुको भौतिक निरीक्षण गर्नै पर्छ भन्ने प्रावधान भन्सार ऐनमा नभएको हुँदा मैले उक्त मालवस्तुहरुको भौतिक निरीक्षण नगरी प्रज्ञापन पत्र र कागजातहरूका आधारमा मूल्याङ्कन सिटमा सही गरेको हुँ,’ नेपालको बयान छ ।

भन्सार अधिकृत गणेश पौडेलले पनि एक्स रे अपरेटर, जाँचकी तथा भन्सार अधिकृत, मूल्याङ्कन शाखाका नायब सुब्बा कसैले पनि कार्टुनमा आरसी लेखिएको जानकारी नगराएको बयान दिएका छन् ।

त्यस्तै, भन्सार एजेन्टले पनि स्वघोषणा गरेको माल वस्तु ठिक छ फरक परे कानुन बमोजिम सहुँला भनी दस्तखत गरेकोले सबैको विश्वासमा परेर माल वस्तु ब्रेकप्याड नै हो भनेर भौतिक रूपमा नहेरी मूल्याङ्कन गरी सदरका लागि पेस गरेको उनको भनाई छ । पौडेलले पनि यस प्रकरणमा जोखिम व्यवस्थापन शाखाको कमजोरीलाई औँल्याएका छन् ।

यता प्रमुख भन्सार अधिकृत श्रीधर टण्डनले पनि उक्त मालवस्तुहरु शंकास्पद भएको भन्ने सम्बन्धमा आफूलाई कुनै सूचना तथा मातहतका कर्मचारीबाट कुनै लिखित था मौखिक जानकारी नगराएको बयानमा उल्लेख गरेका छन् । कार्यालयको मूल गेटबाहिर ट्याक्सीबाट ब्रेक प्याडमा सुन बरामद भएको समाचार अनलाइन मिडियाबाट मात्र थहा पाएको उनको भनाई छ ।

‘उक्त मालवस्तुमा सुन राखी अवैध पैठारी भई आएको सम्बन्धमा मलाई कुनै सूचना तथा जानकारी कहीँ कतैबाट नभएकोले असल नियतले मूल्याङ्कन सदर गर्ने पदीय जिम्मेवारी मात्र निर्वाह गरेको हुँ,’ टण्डनले बयानमा भनेका छन्, ‘उल्लेखित ब्रेक प्याडमा सुन भएको कुरा थाहा नभई ब्रेक प्याड नै भनी मूल्याङ्कन शाखाबाट मूल्याङ्कन सदरको लागि आएपछि र सो सम्बन्धमा कुनै कैफियत रहेको जानकारी नभएकोले मूल्याङ्कन सदर गरेका हुँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप