बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एसिया कपमा उदाहरणीय कार्य : ‘ग्राउन्ड स्टाफ’ लाई पनि नगद पुरस्कार

सोमबार, ०१ असोज २०८०, १३ : २९
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको १६ औं संस्करण भारतलाई आठौं पटक च्याम्पियन बनाउँदै सकिएको छ । भारतले फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । 

प्रतियोगिताको मुख्य आयोजक राष्ट्र पाकिस्तान भए पनि अधिकांश खेल भने सह—आयोजक राष्ट्र श्रीलंकामा खेलाइएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाको कारण देखाउँदै आफ्ना खेलाडीलाई पाकिस्तान नपठाउने अडान लिएपछि एसिया कपका अधिकांश खेल श्रीलंकामा सारिएको थियो ।

तर, श्रीलंकामा खेलिएका अधिकांश खेल वर्षाका कारण प्रभावित भएको थियो । भारत र पाकिस्तानबीचको समूहगत चरणको खेल त वर्षाका कारण रद्द नै हुन पुग्यो । नेपाल र भारतबीचको खेल पनि वर्षाले बिथोलिएको थियो । त्यसैले उक्त खेलमा हारजितको निणर्य ‘डकवर्थ एन्ड लुइस’ नियमबाट गरिएको थियो ।

यसका अतिरिक्त अन्य थुप्रै खेल वर्षाबाट प्रभावित बन्न पुगेको थियो । ‘सुपर फोर’ चरणका अधिकांश खेलसहित फाइनल पनि कोलम्बोमै खेलाइएको थियो । खेलका क्रममा वर्षा हुने र रोकिनेक्रम जारी रहेपछि त्यसले सबैभन्दा बढी कोलम्बोस्थित आर। प्रेमादासा रंगशालाका ‘ग्राउन्ड स्टाफ’ लाई हैरान पारेको थियो ।
 तैपनि आर. प्रेमादासा रंगशालाका ‘ग्राउन्ड स्टाफ’ ले कुनै झर्को नमानी आफ्नो जिम्मेबारीलाई कुशलतापूर्वक सम्पन्न गरेका थिए । त्यसैबाट प्रभावित भएर एसिया कपको पुरस्कार वितरण समारोहमा आर। प्रेमादासा रंगशालाका ‘ग्राउन्ड स्टाफ’ लाई विशेष पुरस्कार दिने निणर्य गरियो । 

उपाधि विजेता र उपविजेता टोलीका खेलाडीसँगै समापन समारोहमा आर प्रेमादासा रंगशालाका ‘ग्राउन्ड स्टाफ’ पनि पुरस्कृत भए । ‘ग्राउन्ड स्टाफहरु’ लाई ५० हजार अमेरिकी डलर (करिब ६६ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार प्रदान गरियो । अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो जिम्मेबारीलाई सफलतापूर्वक निर्वाह गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको हो । 

एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष जय शाहले ‘ग्राउन्ड स्टाफ’ लाई पनि नगद पुरस्कार दिने घोषणा गरेका हुन् । त्यसअघि एसीसी र श्रीलंका क्रिकेट बोर्डबीच यस विषयमा छलफल भएको थियो । जय शाह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव पनि हुन् । 

यसैगरी भारतीय टोलीका बलर मोहम्मद सिराज फाइनलमा प्लेयर अफ दी म्याच घोषित भएका थिए । उनी एक्लैले फाइनलमा श्रीलंकाका ६ जना ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । त्यसवापत आफूले पाएको नगद पुरस्कार पनि उनले ‘ग्राउन्ड स्टाफ’ लाई नै दिन घोषणा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप