शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
लन्डनस्थित नेपाली दूतावासमा  विशेष कार्यक्रमबीच मनाइयाे संविधान दिवस (तस्बिरहरू)

लन्डनस्थित नेपाली दूतावासमा  विशेष कार्यक्रमबीच मनाइयाे संविधान दिवस (तस्बिरहरू)

बिहीबार, ०४ असोज २०८०

लन्डन । लन्डनस्थित नेपाली दूतावासमा बुधबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय दिवस मनाइएको छ । नेपालको संविधान दिवसको अवसर पारेर बेलायतकी विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यानको  प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त समारोहमा बेलायती संसदका सदस्यहरू, उच्च सरकारी अधिकारीहरू, बेलायतस्थित विभिन्न मुलुकका राजदूत तथा उच्चायुक्तहरू र बेलायतस्थित नेपाली सङ्घसंस्थाका प्रतिनिधि एवम् व्यवसायीहरूको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विदेश राज्यमन्त्री ट्रेभल्यानले नेपाल र बेलायतबीचको सुमधुर सम्बन्धको चर्चा गर्दै संविधान दिवसको शुभकामना दिइन् । भावी दिनहरुमा पनि दुई देशबीच व्यापार, लगानी र जलवायु परिवर्तन जस्ता विश्वव्यापी सरोकारका विषयमा थप सहकार्य हुने   धारणा व्यक्त गरिन् । नेपाल भ्रमणको स्मरण गर्दै उनले दुई देशबीचको जनताको सौहार्दता र पारस्परिक सम्बन्धको बारेमा उल्लेख गरिन् ।

दुई देशबीचको मैत्री सन्धिको शताब्दी र बेलायती टोलीको नेतृत्वमा पहिलो सगरमाथा आरोहणको ७० औँ वार्षिकोत्सव नेपाल बेलायत द्विपक्षीय सम्बन्धका महत्त्वपूर्ण पाटो रहेको बताउँदै उनले गोर्खालीहरूको योगदानको स्मरण गरेकी थिइन् ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले स्वागत मन्तव्य दिँदै नेपालको वर्तमान संविधानको महत्त्व, विशेषता र परराष्ट्र नीतिका बारेमा उल्लेख गरेका थिए । पछिल्ला  दशकमा  नेपालले विभिन्न क्षेत्रमा गरेको प्रगतिको बारेमा उल्लेख गर्दै अर्थतन्त्रको पुनर्संरचना र जनताको जीवनस्तर उकास्नेलगायतका संविधानका प्रमुख उद्देश्यहरू हासिल गर्न नेपाल सरकारको प्रयास केन्द्रित रहेको बताए । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानलगायत क्षेत्रीय सहयोग प्रवर्द्धन र विश्व शान्तिका लागि नेपालले पुर्‍याएको योगदानको बारेमा राजदूत आचार्यले प्रस्ट्याएका थिए ।  

सगरमाथा आरोहणको ७० औँ वार्षिकोत्सवको स्मरण गर्दै राजदूत आचार्यले ब्रिटिस गोर्खाहरूले पुर्याएको योगदान तथा  नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको बारेमा उल्लेख गरे । सन् १९२३ को नेपाल–बेलायत मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकी रहेको स्मरण गर्दै राजदूत आचार्यले आधुनिक कूटनीतिक सम्बन्धमा नयाँ युगको सुरुवात गर्न सन्धिको महत्वलाई जोड दिए। सोही शतवार्षिकीको अवसर पारेर राजदूत आचार्य र विदेश राज्यमन्त्री एनी म्यारी ट्रेभल्यानले   दुई देशको झन्डासहितको केक काटेर खुसीयाली बाँडेका थिए ।

राष्ट्रिय दिवसको शुभकामना आदानप्रदानका साथै स्थानीय नेपालीद्वारा सांस्कृतिक प्रस्तुति दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया