मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
एन्टिबायोटिक दुरुपयोग

चिकित्सकको सिफारिसबिना २८ प्रतिशत नेपालीले एन्टिबायोटिक औषधि खान्छन्

एन्टिबायोटिक रेसिस्टेन्सको खतरा बढ्दो
शनिबार, ०६ असोज २०८०, १३ : ४१
शनिबार, ०६ असोज २०८०

काठमाडौ । विश्वमा एन्टिमाइक्रोबियल अर्थात् एन्टिवायोटिक औषधिको दुरुपयोग बढ्दा ‘साइलेन्ट’ महामारी तीव्र गतिमा फैलिएको विज्ञहरूको भनाई छ । नेपालमा एन्टिमाइक्रोबियलबारे ज्ञान पूर्ण नहुँदा भुसको आगोसरि फैलिएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट हालै गरिएको अध्ययनले नेपालमा ७० प्रतिशत मानिसले कडा खालको एन्टिबायोटिक औषधि सेवन गर्ने गरेको पाइएको छ । 

यस्तै, चिकित्सकको सिफारिसबिना २८ प्रतिशतले  एन्टिबायोटिक औषधि किनेर खाने गरेको पाइएको छ । उता, २२ प्रतिशतले एन्टिबायोटिक सेवन गर्दागर्दै बिचमै खान छाड्ने अर्थात् पूरा मात्रा नखाने गरेको पाइएको छ ।

यस्तै, परिषद्ले गरेको अध्ययनमा एमोक्सिसिलिन २० प्रतिशत, एजिथ्रोमाइसिन २४ प्रतिशत, सेफिक्सिम १४ प्रतिशत, सिप्रोफ्लोक्सासिन १४.१ प्रतिशत औषधि चिकित्सकको प्रिस्क्रिप्सन बिनै आफूखुसी किनेर सेवन गरेको पाइएको छ ।  

यसरी एन्टिमाइक्रोबियल (जैविक प्रतिरोध) औषधि चिकित्सकको प्रिस्क्रिप्सनबिना सेवन गर्ने दर बढ्नु राज्यको लागि चुनौती र व्यक्तिगत स्वास्थ्यमा खतरनाक स्थिति भएको सरुवा रोग विशेषज्ञ डा प्रभात अधिकारी बताउँछन् ।

यस्तै, चिकित्सकको सल्लाहबिना आवश्यक भन्दा बढी औषधि सेवन गर्ने, सल्लाहमा दिएको औषधि पुरा मात्रा सेवन नगर्नाले एन्टिमाइक्रोबियलको दुरुपयोगका कारण दीर्घ र अल्पकालमा  स्वास्थ्यमा गम्भीर खालका समस्या उत्पन्न हुने डा. सन्तोष दुलालले बताए । 

डा. अधिकारीका अनुसार रुघाखोकी, ज्वरो आउनासाथ एन्टिबायोटिक औषधि खाने चलन छ । यस्तो हुँदा प्रायःजसोमा रुघाखोकी भाइरल हुन्छ । 

उनी भन्छन्, ‘भाइरल ज्वरो आउँछ तर खानै नपर्ने एन्टिबायोटिक औषधि आफू खुसी खान्छौँ तर त्यसले काम गर्दैन ।’ 

एन्टिबायोटिक औषधिको साइड इफेक्ट धेरै हुन्छ । जस्तै पखाला लाग्ने, खान मन नलाग्ने, छालाको एलर्जी हुने कहिलेकाहीँ मिर्गौला, कलेजोमा समेत समस्या आउने भएकाले चिकित्सकको सिफारिसबिना औषधि सेवन गर्न नहुने डा. अधिकारीको भनाइ छ ।   

औषधि समूह

विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक औषधिको वर्गीकरण गरेको छ । एन्टीबायोटिक औषधिलाई एक्सेट, वाच र रिजर्भ समूहमा छुट्याइएको छ । अर्थात् पहिलो, दोस्रो तथा तेस्रो समूहको औषधि भनेर  विभाजन गरिएको छ । 

डा. दुलालका अनुसार एक्सेट अर्थात् पहिलो समूहको एन्टिबायोटिक औषधि सजिलै प्राप्त गर्न सकिन्छ भने कम खतरनाक पनि हुन्छ । सामान्य समस्या हुँदा यो डाक्टरको पे्रस्क्रिप्सनमा पाइने औषधि हो ।

वाच अर्थात् दोस्रो समूहको एन्टिबायोटिक औषधि हेरेर विचार गरेर मात्र सेवन गर्नुपर्छ ।

रिजर्भ अर्थात तेस्रो समूहको यो औषधि चिकित्सकको पे्रस्क्रिप्सनबिना सेवन गर्नै हुन्न । यो एकदम हाइ लेबलको औषधि हो, जसलाई थर्ड लाइन ड्रग भनिन्छ । रेड स्टिकर टाँसेको औषधि डाक्टरको प्रेस्क्रिप्सनबिना खान हुँदैन । 

एउटै रोग भएपनि हरेक बिरामीअनुसार लक्षण भिन्न भिन्न हुन सक्छ । जसले गर्दा चिकित्सकको सिफारिसमा लक्षण र आवश्यकताको आधारमा मात्रै एन्टिबायोटिक औषधि सेवन गर्नुपर्छ ।  

एन्टिबायोटिक रेसिस्टेन्सको खतरा बढ्दो 

डा दुलालका अनुसार आफू खुसी वा चिकित्सकको सिफारिसमा सेवन गरेपनि औषधिको पूर्ण मात्रा प्रयोग नगरीकन बिचैमा छाड्दा एन्टीमाइक्रोबियल रेसिस्टन्स हुन्छ । 

एन्टिबायोटिक अत्याधिक र पूर्ण मात्रा सेवन नगर्दा शरीरमा किटाणु रहिरहन्छ । औषधि सेवन गर्दा गर्दै निको भएको आभास भई बिचैमा छाड्दा र चिकित्सकहरूले नै सिफारिस गरेको औषधिले काम नगर्ने, निको हुन समय लाग्ने अवस्था एन्टीमाइक्रोबियल रेसिस्टेन्स हो । 

एन्टिबोटिकले काम नगर्दा लामो समयसम्म निको नभएर  अस्पताल धाउनुपर्ने बाध्यता र धेरै खर्च हुने भएकाले सचेत हुन जरुरी रहेको उनले बताए । 

एन्टिबायोटिक रेसिस्टेन्स  विरामीले  अरूलाई पनि रेसिस्टेन्स  सार्न सक्ने भएको सचेत हुन उनको सुझाव छ । एन्टिबायोटिक रेसिस्टेन्स साइलेन्ट महामारीको रुपमा विश्वमा बढिरहेको उनको जिकिर छ ।  

यस्तै, डा. अधिकारीका अनुुसार डेंग सङ्क्रमण हुँदा एन्टिबायोटिक सेवन गर्नु पर्दैन । पछि एन्टिबायोटिक सेवन गर्नुपर्ने अवस्थामा डेंगु सङ्क्रमण हुँदा खाएको औषधिले पछि काम नै नगर्ने खालको सङ्क्रमण भएका एन्टीमाइक्रोबियल रेसिस्टेन्स हुन्छ । 

यसरी शरीरलाई चाहिने मात्रा तथा निश्चित अवधिसम्म औषधि सेवन नगरेमा सोही रोगका जीवाणुलाई एन्टिबायोटिक औषधिले काम गर्दैन । सोही अवस्था नै एन्टीमाइक्रोबियल रेसिस्टेन्स हो ।

डा. दुलाल भन्छन्, ‘एक जनालाई दिएको एन्टिबायोटिक अर्को बिरामीलाई तिमी खाऊ भनेर दिन मिल्दैन । पुरा डोज खानुपर्छ । सुरु गरेपछि डोज पुर्‍याउनु पर्छ ।’ 

सबैले प्रेस्क्रिप्सन गर्न नपाइने 

सबै स्वास्थ्यकर्मी तथा डाक्टरहरूले बिरामीलाई औषधि सिफारिस गर्न पाउँदैनन् । सबै एन्टिबायोटिक  एकै खालको नहुने भएकाले सबै डाक्टरले सबै खालका औषधि सिफारिस गर्न नपाउने डा. अधिकारीले बताए । 

उनले भने, ‘थर्डलाई ड्रग वा कडा खालका औषधि विशेषज्ञले मात्रै प्रेस्क्रिप्सन गर्न पाउँछन् ।’ 

यस्तै, डा. दुलालका अनुसार चिकित्सकले कुन खालको एन्टिबायोटिकले काम गर्छ वा गर्दैन भनी  परीक्षण गरी थाहा पाएर मात्रै बिरामीलाई औषधि सिफारिस गर्नुपर्छ । 

यद्यपि नेपालमा चिकित्सकलाई औषधि सिफारिस गर्दा औषधिको वैज्ञानिक नाम लेख्न अनिवार्य भने पनि १५.४ प्रतिशतले मात्रै लेखेको परिषद्को अध्ययनले देखाएको छ । 

यहाँ सबै खालका एन्टिबायोटिक विशेषज्ञ, जुनियर मेडिकल अफिसर, फारमेसिस्टहरूको सिफारिस, बिरामी आफैले किनेर खाएको अवस्थामा सम्बन्धित निकायले अनुगमन गर्नुपर्ने सरुवारोग  विशेषज्ञ डा. अधिकारी बताउँछन् ।  

डब्ल्यूएचओका अनुसार  २० देखि २६.८ प्रतिशत भर्ना नभएका बिरामीलाई  एन्टिबायोटिक औषधि सेवनका लागि सिफारिस गर्नुपर्दछ । यद्यपि नेपालमा ३७.८ प्रतिशतले एन्टिबायोटिक सेवन गरेका छन् । 

डीडीए भन्छ– अनुगमनमा छौँ

औषधि व्यवस्था विभाग (डीडीए) का महानिर्देशक नारायणप्रसाद ढकाल नेपालमा धेरै स्थानमा प्रेस्क्रिप्सनबिना औषधि सेवन र विक्री वितरण भएको स्वीकार्छन् । 

उनले भने, ‘अनुगमनका क्रममा निरीक्षकहरूले विक्री वितरण रेकर्डमा प्रेस्क्रिप्सन राख्ने गरेको छैनन् । यी पक्षलाई डीडीएले सुधार गर्दै गइरहेको छ ।’

विभागले कतिपय एन्टिबायोटिक औषधि प्रयोगयोग्य छैन भनेर सूचना निकालेर अनुगमन गरिरहेको महानिर्देशक ढकालको जिकिर छ । 

डीडीएले प्रेस्क्रिप्सनको आधारमा रातो धर्का भएको औषधि सेवन र विक्री गर्न सूचना प्रकाशन गरी कार्यान्वयनको पाटोमा अनुगमन गरिरहेको ढकालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप