सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राजस्व

वीरगन्ज भन्सारको राजस्व संकलनमा सुधार हुन सकेन

पेट्रोलियम पदार्थ र सवारी साधन आयात घट्दा राजस्वको लक्ष्य प्रभावित
आइतबार, ०७ असोज २०८०, १८ : १४
आइतबार, ०७ असोज २०८०

पर्सा । वीरगन्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्षको २ महिनामा राजस्व संकलन निराशाजनक देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा राजस्व संकलन थोरै सुधार देखिए पनि भदौ महिनाको राजस्व संकलन निराशाजनक देखिएको हो ।

भदौ र असोज चाडपर्वको महिना भएकाले साउनको तुलनामा भदौ, असोजमा राजस्व संकलन अधिक हुने गर्दछ । यस वर्ष साउन महिनाको राजस्व संकलन लक्ष्यको ७५ दशमलव ९३ प्रतिशत छ । भदौ महिनामा लक्ष्यको ६५ दशमलव ३५ प्रतिशतमात्रै राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालय पर्साले जनाएको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा १५ अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ११ अर्ब ७८ करोड रुपैयाँ संकलन भएको छ । भदौ महिनामा १९ अर्ब ३८ करोड लक्ष्य रहेकोमा जम्मा १२ अर्ब ६६ करोड राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सार कार्यालय प्रमुख डिलाराम पन्थी साउन र भदौ महिनाको राजस्व संकलनको अवस्था हेरेर चालु आर्थिक वर्षको राजस्व संकलनको अवस्थालाई आकलन गर्न नसकिने बताउँछन् ।

v3

‘करको दरमा सुधार भएपछि चैतदेखि राजस्व संकलन केही बढेको छ, चालु आर्थिक वर्षमा आर्थिक ऐन अनुसार ल्याएको करको दर केही वस्तुमा परिवर्तन गरेका छौँ, त्यसको प्रभाव बजारमा देखिन थालेको छ,’ भन्सार प्रमुख पन्थीले रातोपाटीसँग भने ।

वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनको मुख्य स्रोत पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारी साधनको आयात नै हो । यी  वस्तु तथा सेवाको प्रयोगमा गत वर्षको तुलनामा खासै सुधार आएको छैन ।

गत वर्ष पेट्रोलियम पदार्थको आयातमा २५ प्रतिशतले गिरावट आएको थियो भने सवारी साधनको आयात ८० प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको २ महिनामा सवारी साधनको आयात छिटफुट बाहेक ठप्प प्रायः छ ।

सवारी साधनको आयातमा सरकारले अधिकतम् २ सय प्रतिशत कर लगाएको छ । उद्योगमा प्रयोग हुने कच्चा पदार्थको हकमा पनि पछिल्लो समय बजारमा वस्तु तथा सेवाको माग घटेपछि फलामजन्य उद्योगहरुमा उत्पादन ह्वात्तै घटेको छ ।

वीरगन्ज भन्सार प्रमुख पन्थीले उद्योगीहरुसँग निरन्तर छलफल भइरहेका बताएका छन् । छलफलमा उद्योगीहरुले बजारमा वस्तुको माग नभएकाले उत्पादन बढाउन नसकिने जवाफ दिएको पन्थीको भनाइ छ ।

गत वर्ष बिहान, दिउँसो, राति गरी ३ सिफ्टमा सञ्चालन भएका उद्योग अहिले एक सिफ्टमा मात्रै सञ्चालन भइरहेको पन्थीले जनाए । बजारमा वस्तुको माग नबढेसम्म उत्पादन नबढ्ने र त्यसको प्रत्यक्ष असर राजस्व संकलनमा पर्ने देखिन्छ । बारा–पर्सा औद्योगिक करिडोरमा अधिकांश निर्माणजन्य, तेलजन्य, खाद्यान्न र औषधिजन्य उद्योग छन् ।

‘चालु आवमा गत वर्षको तुलनामा ६० प्रतशितले राजस्व वृद्धि गर्ने हाम्रो लक्ष्य छ, तर यो लक्ष्य पूरा गर्न हाम्रोलागि चुनौतीपूर्ण नै देखिन्छ,’ भन्सार प्रमुख पन्थीले भने ।

v4

गत वर्ष राजस्व संकलनको लक्ष्य २ खर्ब ६० अर्ब रहेकोमा १ खर्ब ५७ अर्बमात्रै संकलन भएको थियो, जो लक्ष्यको ६० दशमलव २ प्रतिशत हो । वीरगन्ज भन्सारले चालु आर्थिक वर्षका लागि २ खर्ब ५१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

‘चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा अलि सुधार हुन्छ कि भन्ने हामीले अनुमान गरेका छौँ,’ पन्थीले भने ।

राजस्व संकलनलाई पुँजीगत खर्च र राजस्व परिचालनले पनि प्रभाव पार्ने गर्दछ । देशभित्र पुँजीगत खर्चको मात्रा बढ्दै जाँदा राजस्व संकलन पनि बढ्दै जान्छ । ‘हामीकहाँ पुँजीगत खर्चको दायरा नै साँघुरो हुने र भएको बजेट पनि खर्च नहुने समस्या छ,’ उनले भने ।

गत वर्ष सरकारले १० प्रकारमा वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो भने तीनै तहका निर्वाचनका कारण पनि बजेट खर्च प्रभावित भएको थियो ।

प्रमुख भन्सार अधिकृत धन बहादुर बरुवालले चाडपर्वको महिना भएको हिसाबले साउनको तुलनामा भदौ, असोजमा राजस्व संकलन अधिक हुनुपर्ने भए पनि यसपटक त्यस्तो लक्षण नदेखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप