शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका पुगेर उपेन्द्र यादवले भने– नेपालमा राजनीतिक परिवर्तन भयो, अब आर्थिक परिवर्तन गर्नुपर्छ

आइतबार, १४ असोज २०८०, १४ : ३३
आइतबार, १४ असोज २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको शासन प्रशासनमा निकै परिवर्तन भएको बताएका छन् ।

अमेरिकामा आयोजित ‘एसोसिएसन अफ नेपाली तराइन इन अमेरिका’को सातौँ महाधिवेशनलाई उद्घाटन गर्दै अध्यक्ष यादवले लोकतन्त्र बहाली र शासन प्रशासनको परिवर्तनका लागि नेपालमा लामो सङ्घर्ष गर्नु परेको बताए ।

नेपालमा भाषिक, सामाजिक, सांस्कृतिक विविधता रहेको उल्लेख गर्दै उनले न्यायपालिका, प्रशासन, सुरक्षा, नीति निर्माण तहमा भने त्यो विविधता नदेखिएको बताए । उनले हरेक ठाउँमा एकै समुदायको पकड रहेको र मधेसीको पहुँच नदेखिएको पनि चर्चा गरे ।

अध्यक्ष यादवले भने, ‘मधेसीलाई अधिकार र पहिचानबाट वञ्चित राख्नका लागि नागरिकताबाट वञ्चित राखिएको थियो । त्यसका लागि पनि लामो सङ्घर्ष गर्नुप¥यो ।’

मधेस आन्दोलनपछि राज्यसँग भएको सम्झौता सम्झौताको आधारमा ३१ लाख जनाले नागरिकता पाए पनि थुप्रै मधेसी नागरिकताबाट वञ्चित रहेको र त्यसपछि पुनः सङ्घर्ष गर्नुपरेको उनले बताए । उनले नागरिकता ऐन संशोधन भएको र सोही अनुसार नागरिकता वितरण भइरहेको जनाए ।

अध्यक्ष यादवले नागरिकता विधेयक दुवै सदनबाट पारित भएको अवस्थामा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अनुमोदन गर्न नचाहेपछि त्यो त्यतिकै फेल भएको चर्चासमेत गरे । उनले नयाँ सरकार आएपछि बनेका राष्ट्रपतिले त्यो विधेयकलाई अनुमोदन गरेपछि नागरिकता ऐन संशोधन भएको र नेपाली नागरिकले सहज रूपमा नागरिकता पाउन थालेको बताए ।

नेपालमा मधेस आन्दोलनकै देनका रूपमा संघीय गणतन्त्र स्थापना भएको अध्यक्ष यादवको भनाइ थियो । ‘गणतन्त्र स्थापनापछि पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेसी थिए,’ उनले भने, ‘मधेसका लागि यो ठुलो उपलब्धि हो, यो पनि सङ्घर्षको उपलब्धि नै हो ।’

नेपालमा सबैभन्दा ठुलो उपलब्धि भनेको मधेसी पहिचानसहितको मधेस प्रदेशको स्थापना नै रहेको अध्यक्ष यादवले बताए । तर मधेसीले अझै थुप्रै अधिकार पाउन बाँकी रहेको उनको भनाइ छ ।

सुरक्षा, न्यायपालिकामा मधेसीको उपस्थिति निकै न्यून रहेको जिकिर गर्दै यादवले नेपालमा आर्थिक असमानता, अशिक्षा व्याप्त रहेको र एसियामै नेपाल सबैभन्दा बढी पिछडिएको देश रहेको धारणा राखे ।

नेपालमा पर्यटन, जलविद्युत, जडीबुटीमा प्रचुर सम्भावना रहेको चर्चा गर्दै उनले त्यसमा यदि काम भयो भने विश्वमै नेपाल परिचित र आर्थिक रूपमा पनि समृद्ध हुने दाबी गरे । नेपालमा राजनीतिक रूपमा परिवर्तन भए पनि आर्थिक परिवर्तन हुन नसकेको उनले बताए । आर्थिक रूपमा परिवर्तनका लागि अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, ‘नेपालमा विकासको निकै सम्भावना छ, त्यो विकासलाई अगाडि बढायो भने बाहिरबाट पनि कामदार मगाउनुपर्ने हुन्छ, त्यसका लागि सबै क्षेत्रबाट प्रयत्न हुनुपर्छ ।’

मधेसको आर्थिक अवस्था बलियो बनाउनका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने उनले बताए ।

‘प्रत्येक दिन सातदेखि आठ हजार युवा विदेश जान्छन् तर नेपालमा काम गर्ने मान्छे पाइँदैन,’ उनले भने, ‘विदेशमा गएर कडा परिश्रम गर्छन् तर आफ्नो देशमा मेहनत गर्न युवाले नै चाहेका छैनन् ।’

मधेस आर्थिक रूपमा पिछडिएको क्षेत्र हुनको मुख्य कारण अशिक्षा रहेको भन्दै उनले मधेसमा शिक्षाको अवस्था कमजोर रहेको बताए ।  

अध्यक्ष यादवले अमेरिकामा बसेका मधेसीलाई मधेसका लागि केही गर्न सुझाव दिए । उनले एउटा टिम बनाएर शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा काम गर्न सुझाव दिए ।

उनले भने, ‘तपाईँहरूसँग भएको अनुभवलाई मधेसमा कसरी ट्रान्सफर गर्न सकिन्छ त्यसको बारेमा पनि सोच्न सकिन्छ, तपाईँहरूसँग ठुलो क्षमता र योग्यता छ त्यो अमेरिकाका लागि मात्र होइन, मधेसका लागि पनि सदुपयोग गर्नुपर्छ र त्यो कसरी गर्ने त्यसको बारेमा चिन्तन गर्न सकिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप