कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीको ८ वर्षदेखि बढेन तलब

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारी ८ वर्षदेखि तलब वृद्धिको पर्खाइमा छन् । प्रमुख सत्तारुढ कांग्रेसले ८ वर्षदेखि पार्टी कार्यालयकै कर्मचारीहरूको तलब वृद्धि नगरेको पाइएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा अहिले २२ जना कर्मचारी कार्यरत छन् ।
कांग्रेसले ६ जना सचिव (मुख्यसचिव सहित), एक जना उपसचिव, एक जना वरिष्ठ प्राविधिक अधिकृत, दुई जना शाखा अधिकृत, दुई जना वरिष्ठ कार्यालय सहायक, दुई जना कार्यालय सहायक, एक जना सुरक्षा गार्ड, एक जना चालक, दुई जना सहयोगी, एक जना इलेक्ट्रिसियन, एक जना माली र दुई जना स्वीपर गरी २२ जना कर्मचारी राखेको छ ।
राष्ट्रियसभा सदस्य भएपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले बेतलबी काम गरिरहेका छन् । तर, पौडेलले गाडी, चालक र इन्धन भने पार्टी कार्यालयकै प्रयोग गर्छन् ।
यता सचिव प्रदीप पराजुलीले मासिक ४५ हजार ५ सय तलब पाउँछन् भने सचिव प्रकाश शर्मा, प्रेम केसी, मुक्ति आचार्य र कृष्णप्रसाद दुलालको तलब ४५ हजार रुपैयाँ छ । सहसचिव रवीन्द्र बज्राचार्यको तलब ४० हजार छ भने वरिष्ठ प्राविधिक अधिकृत अमृत कार्कीले ३५ हजार रुपैयाँ तलब पाउँछन् ।
शाखा अधिकृतहरू सूर्यप्रसाद भट्टराई र शान्तमणि देवकोटाले ३२ हजार, वरिष्ठ कार्यालय सहायक विष्णुदेव ठाकुर र कृष्णप्रसाद रिजालको तलब २५ हजार रुपैयाँ छ ।
कार्यालय सहायक हरि खनाल र केशवराज जोशीले २२ हजार तलब पाउँदा सुरक्षा गार्ड निर्मल कुँवरको तलब २० हजार रुपैयाँ छ । कांग्रेसले चालक विनोद तामाङलाई २५ हजार तथा सहयोगी दानकुमारी काफ्ले र गीता बस्नेतलाई १६ हजार रुपैयाँ मासिक तलब दिएको छ ।
इलेक्ट्रिसियन मनोज तिवारीलाई १० हजार र माली आकाश तामाङलाई ८ हजार रुपैयाँ दिइएको छ । इलेक्ट्रिसियन तिवारी र माली तामाङ हप्तामा दुई पटक मात्र कार्यालय आए पुग्छ । यस्तै स्वीपर कवि देउला र केशरी देउलाले १६ हजार रुपैयाँ तलब पाउँछन् । सबै कर्मचारीको तलब ८ वर्षदेखि यही छ ।
१३ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएको दुई महिनाभित्रै शशांक कोइरालाले कर्मचारीको पद अनुसार तलबमा ५० देखि ८० प्रतिशतसम्मले बढाएका थिए ।
सचिवको तलब ८० प्रतिशतले बढेको थियो भने सहयोगीको तलब ५० प्रतिशत वृद्धि भएको थियो । त्यसयता कर्मचारीले तलब वृद्धिका लागि नेताहरुलाई हारगुहार गरे पनि अहिलेसम्म सुनुवाइ नभएको कर्मचारीहरूको गुनासो छ । सचिवहरूले पनि तलब वृद्धिका लागि चासो नदिँदा सुनुवाइ नभएको एक कर्मचारीले रातोपाटीलाई बताए ।
१४ औँ महाधिवेशनबाट महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएपछि तलब बढ्ने कर्मचारीको आशा थियो । महामन्त्रीद्वय थापा र शर्माले कर्मचारीका गुनासा सामूहिक र व्यक्तिगत रूपमा सुनेका पनि थिए । तर, महामन्त्रीद्वयले २२ महिनासम्म पनि तलब नबढाएको तल्लो तहका कर्मचारीको गुनासो छ ।
एक कर्मचारीले भने, ‘महामन्त्री गगन थापाज्यूले गत वैशाखमै तलब बढाउने भन्नु भएको थियो तर, बढेन । त्यसपछि उहाँले असारबाट हुन्छ भन्नुभयो । असारबाट पनि तलब बढेन । साउनमा तलब रोकेर भदौको अन्तिममा तलब नबढाई हालियो ।’
महामन्त्रीहरूले अहिले आफूहरूको कुरा सुन्न पनि नचाहेको कर्मचारीहरूको आरोप छ । ‘ह्याकाथान र बीपी साहित्य महोत्सवका नाममा यत्रो खर्च गरियो । पैसा बाँडियो । हामी ८ वर्षदेखि १६ हजारमा काम गर्न बाध्य छौँ । काठमाडौँमा १६ हजार रुपैयाँले के हुन्छ ?,’ ती कर्मचारीको प्रश्न छ, ‘महामन्त्रीहरू पनि त्यस्तै रैछन् । गफमात्र ठूला ।’
महामन्त्रीका साथै पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलप्रति पनि कर्मचारीको आक्रोश उस्तै छ । पौडेलले आफू बेतलबी काम गरिरहेको भन्दै अरूको तलब वृद्धिमा बेवास्ता गरेको ती कर्मचारीको आरोप छ ।
न्यूनतम ३० हजार हुने गरी तलब वृद्धि हुनुपर्ने उनीहरूको माग छ । उनीहरूका अनुसार पार्टी कार्यालयमा बिहान सात बजेबाट साँझ ८ बजेसम्म काम गर्नुपर्छ । कांग्रेसले पार्टी कार्यालयका कर्मचारीलाई सञ्चय कोषमा समेत लगेको छैन । यसबारे कुरा उठाउँदा मुख्यसचिव पौडेलले हप्काएको कर्मचारीहरूको आरोप छ ।
‘सबै सुविधा चाहिन भन्सारमा जागिर खाएको हो र ? पार्टी कार्यालयमा जागिर खाएको हो,’ पौडेलको भनाइ उद्धृत गर्दै एक कर्मचारीले रातोपाटीलाई भने, ‘भन्सारकै जस्तो सेवा सुविधा कहाँ पाइन्छ र ?’
ती कर्मचारीका अनुसार मुख्यसचिव पौडेलले हस्ताक्षर नगरिदिँदा सञ्चय कोषमा लाने प्रक्रिया रोकिएको छ । तर मुख्यसचिव पौडेलले भने यस विषयमा जवाफ दिन चाहेनन् ।
‘१५ वर्षभन्दा बढी जागिर गरेपछि वर्षको २ महिना अतिरिक्त तलब पाउँछौँ । जस्तै २० वर्ष जागिर गर्दा ४० महिनाको तलब आउँछ । महामन्त्रीले अहिले गरेको त्यति हो,’ ती कर्मचारीले भने । कर्मचारी नियमावलीमा कार्यालयमा आवश्यक कर्मचारी सङ्ख्या, कर्मचारीको नियुक्ति प्रक्रिया, पारिश्रमिक, सेवा–सुविधा लगायतका विषय उल्लेख छ ।
कांग्रेस कार्यालयमा कर्मचारीको वृत्ति विकासमा पनि मनलाग्दी छ । ‘१०–१५ वर्षसम्म हाम्रो प्रमोसन भएको छैन । यहाँ कोही लोकसेवा पास गरेर सचिव भएका होइनन् । नेताले सचिव भनेर तोक्ने हो । नेता दाहिने भए कसको कतिबेला बढुवा हुन्छ, थाहा हुँदैन,’ ती कर्मचारीले भने ।
८ वर्षदेखि तलब वृद्धि नभए पनि कांग्रेसले अहिले कार्यालयमा कार्यरत कर्मचारीका लागि उपदानको व्यवस्था भने गरेको छ । केही महिनाअघि महामन्त्रीद्वयले बनाएको कर्मचारी नियमावलीमा भने उपदानको व्यवस्था गरिएको छ । १५ वर्षभन्दा माथि जागिर गरेकाहरूका लागि दुई महिनाको तलब पाउने व्यवस्था गरिएको छ ।
‘१५ वर्षभन्दा बढी जागिर गरेपछि वर्षको २ महिना अतिरिक्त तलब पाउँछौँ । जस्तै २० वर्ष जागिर गर्दा ४० महिनाको तलब आउँछ । महामन्त्रीले अहिले गरेको त्यति हो,’ ती कर्मचारीले भने । कर्मचारी नियमावलीमा कार्यालयमा आवश्यक कर्मचारी सङ्ख्या, कर्मचारीको नियुक्ति प्रक्रिया, पारिश्रमिक, सेवा–सुविधा लगायतका विषय उल्लेख छ ।
विनियमावलीमा काममा निरन्तरता दिन इच्छुकका लागि वृत्ति विकास, तलबमा पुनरावलोकन, बिदा लगायतका विषय छन् । विनियमावलीमा दुई/दुई वर्षमा तलब बढ्ने भनिएको छ । उक्त नियमावली पूर्ण कार्यान्वयनमा आउन सकेको छैन ।
महामन्त्री थापा भन्छन्, ‘कर्मचारीको नियमावली र कार्यालय सञ्चालन निर्देशिका थिएन, त्यो बनाइयो । कति कर्मचारी र कुन शाखाका बनाउने भनेर चार दिनअघि टुङ्ग्याएको छु ।’
महामन्त्री थापाका अनुसार अब कांग्रेसले उपदानसहित स्वेच्छिक अवकाश लिन चाहने कर्मचारीका लागि मौका दिने छ । नयाँ कर्मचारीलाई फुलटाइम र पार्टटाइममा राखिने छ । ‘त्यो सँगसँगै कर्मचारीको तलबको कुरा टुङ्ग्याउँछौँ । कति कर्मचारी राख्ने, कति कर्मचारी छोडेर जान्छन् भन्ने थाहा नहुँदा बढी समय लागेको हो,’ महामन्त्री थापाले भने, ‘तलब बढ्छ बढ्छ, बढाइहालिन्छ ।’
महामन्त्री थापाका अनुसार यसअघि कार्यालयका कर्मचारीको अवस्था भद्रगोल थियो । ‘कसैको नियुक्ति थिएन, को के कर्मचारी हो भन्ने टुङ्गो थिएन, उपदान छैन, केही छैन । हामीले सारा कुरा गरेर कोही १८ लाख, कोही २० लाख लिएर बिदा भइरहेका छन्,’ उनी भन्छन् ।
आफूहरूले उपदानको व्यवस्था गर्दा सुरक्षा गार्डहरू १२–१२ लाख लिएर बिदा भएको महामन्त्री थापाको भनाइ छ । ‘सचिव, सहसचिव सबैको तलब यति भनेर तोकिन्छ । यति समयमा बढ्दै जाने भनेर नियम बनाइन्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी