सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आईसीसी एकदिवसीय विश्वकप

सोएब अख्तरको विश्व कीर्तिमान, शेन वार्नको चर्तिकला र राजनीतिक गन्धसहितको आठौँ विश्वकप

बुधबार, १७ असोज २०८०, १९ : ४५
बुधबार, १७ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको आठौँ संस्करण तीनवटा राष्ट्रमा आयोजना भएको थियो । दक्षिण अफ्रिका, केन्या र जिम्बाबेले संयुक्त रूपमा प्रतियोगिताको आयोजना गरेका थिए । एकदिवसीय विश्वकप पहिलो पटक अफ्रिकी महादेशमा आयोजना गरिएको थियो ।

प्रतियोगिता सन् २००३ को फेब्रुअरी ९ देखि मार्च २३ तारिखसम्म आयोजना भएको थियो । यो विश्वकपमा पहिलो पटक दोस्रो हुने टोलीलाई रजत पदकको व्यवस्था गरिएको थियो । यो विश्वकप प्रतिबन्धित लागू औषधका कारण पनि चर्चित बनेको थियो ।

अस्ट्रेलियन टोलीका प्रभावशाली खेलाडी शेन वार्न प्रतिबन्धित लागू औषध परीक्षणमा असफल भएका थिए । सोही कारणले उनलाई खेल सुरु हुनुभन्दा एक दिनअघि नै अस्ट्रेलिया फर्काइएको थियो । यो विषयले त्यतिबेला निकै ठुलो चर्चा पाएको थियो ।

प्रभावशाली लेग स्पिनर वार्नले भने आफूले प्रतिबन्धित लागू औषध सेवन नगरेको दाबी गरेका थिए । उनले रुघा—खोकी लागेकाले आमाले दिएको औषधि आफूले सेवन गरेको उनको दाबी थियो । तर, परीक्षणको नतिजा पोजेटिभ आएपछि उनले विश्वकप खेल्न पाएनन् । 

यसैगरी त्यो विश्वकपमा खेलाडीको सुरक्षा पनि निकै चासोको विषय बनेको थियो । तीनवटा आयोजकमध्येको एक जिम्बाबेको राजनीतिक अवस्था त्यतिबेला राम्रो थिएन । रोबर्ट मुगाबेको शासनविरुद्ध आन्दोलन भइरहेको थियो । 

एन्डी फ्लावर, हेनरी ओलोंगाजस्ता चर्चित खेलाडी त खेल मैदानबाटै मुगाबे सरकारको विरोध गरेका थिए । उनीहरू पाखुरामा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए । इङ्ल्यान्डका नागरिकले पनि आफ्नो टोलीलाई जिम्बाबेमा क्रिकेट नखेल्न चर्को दबाब दिएका थिए । 

043014

आफ्ना नागरिकको चर्को विरोधपछि अन्ततः इङ्ल्यान्डको टोली जिम्बाबेमा खेल्न गएन । त्यसपछि त्यो खेलमा जिम्बाबेलाई विजयी घोषित गरिएको थियो । सोही कारण इङ्ल्यान्ड समूहगत चरणबाट बाहिरिएको थियो भने जिम्बाबे अघिल्लो चरणमा प्रवेश गरेको थियो । 

यसैगरी सुरक्षाको कारण देखाउँदै न्युजिल्यान्ड पनि केन्यामा खेल्न गएन । उक्त खेलमा केन्यालाई विजयी घोषित गरिएको थियो । सोही कारणले अङ्क तालिकामा न्युजिल्यान्डभन्दा अगाडि रहँदै केन्या अघिल्लो चरणमा पुग्न सफल भयो । यद्यपि, आफ्नो समूहमा तेस्रो हुँदै न्युजिल्यान्ड पनि अघिल्लो चरणमा पुगेको थियो । 

विश्वकपको आठौँ संस्करणमा १४ वटा टोलीले सहभागिता जनाएका थिए । यसअघि यति धेरै टोलीले एकदिवसीय विश्वकपको कुनै पनि संस्करणमा भाग लिएका थिएनन् । प्रतियोगिताका क्रममा कुल ५४ वटा खेल खेलाइएको थियो । यसअघि विश्वकपको कुनै पनि संस्करणमा ५४ खेल खेलाइएको थिएन ।

222833

सहभागी टोलीलाई दुईवटा समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, जिम्बाबे, इङ्ल्यान्ड, पाकिस्तान, नेदरल्यान्ड्स र नामिबिया रहेका थिए ।समूह ‘बी’ मा श्रीलङ्का, केन्या, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, क्यानडा र बंगलादेश रहेका थिए । 

समूह ‘ए’ बाट अस्ट्रेलिया, भारत र जिम्बाबे क्रमशः पहिलो, दोस्रो र तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा पुगेका थिए । समूह ‘बी’ बाट भने श्रीलङ्का पहिलो, केन्या दोस्रो र न्युजिल्यान्ड तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेका थिए । 

प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा सबै टोलीले एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए । ‘सुपर सिक्स’ चरणमा अस्ट्रेलिया पहिलो, भारत दोस्रो, केन्या तेस्रो र श्रीलङ्का चौथो हुँदै प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेका थिए । न्युजिल्यान्ड र जिम्बाबे भने ‘सुपर सिक्स’ चरणबाटै बाहिरिएका थिए ।

प्रतियोगिताको सेमिफाइनलमा अस्ट्रेलियाले श्रीलंकालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । अर्को सेमिफाइनल खेलमा केन्यालाई हराउँदै भारत फाइनलमा प्रवेश गरेको थियो । त्यसपछि फाइनल खेलमा भारतलाई एक सय २५ रनले हराउँदै अस्ट्रेलियाले विश्वकपको उपाधि चुमेको थियो । 

GettyImages-1866579

सोही संस्करणपछि अस्ट्रेलिया तीनपटक विश्वकपको उपाधि उचाल्ने पहिलो राष्ट्र बनेको थियो । अस्ट्रेलियाली टोलीले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा दुई विकेट गुमाएर तीन सय ५९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारत भने ३९.२ ओभरमा दुई सय ३४ रन बनाउँदै अलआउट भएको थियो । 

फाइनल खेलमा अस्ट्रेलियाका लागि कप्तान रिकी पोन्टिङले अविजित एक सय ४० रन बनाएका थिए । डामिन मार्टिनले पनि अविजित ८८ रनको योगदान गरेका थिए । ओपनर एडम गिलक्रिस्ट ५७ र म्याथ्यु ह्याडेनले ३७ रन जोडेका थिए । 

124984

अस्ट्रेलियाले अतिरिक्त रूपमा ३७ रन पाएको थियो । बलिङतर्फ अस्ट्रेलियाका ग्लेन म्याग्राले तीन तथा ब्रेट ली र एन्ड्र्यु साइमन्ड्स दुई—दुई विकेट हात पारेका थिए । ब्राड हग र एन्डी बिकेलले पनि एक—एक विकेट लिएका थिए । फाइनल खेलमा रिकी पोन्टिङ म्यान अफ दी म्याच घोषित भएका थिए । भारतका सचिन तेन्दुल्कर म्यान अफ दी सिरिज घोषित भएका थिए । 

170733

आठौँ विश्वकपमा भारतका सचिन तेन्दुल्कर सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनले १० खेलमा कुल ६ सय ७३ रन बनाएका थिए । उनले एक शतक र ६ वटा अर्धशतक प्रहार गरेका थिए । दोस्रो स्थानमा रहेका भारतीय खेलाडी सौरभ गांगुलीले ११ खेलमा चार सय ६५ रन बनाएका थिए । उनले तीनवटा शतक बनाएका थिए । 

तेस्रो स्थानमा रहेका अस्ट्रेलियाका रिकी पोन्टिङले चार सय १५ रन जोडेका थिए । चौथो स्थानमा रहेका अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एडम गिलक्रिस्टले चार सय आठ रन बनाएका थिए । पाँचौँ स्थानमा रहेका दक्षिण अफ्रिकाका हर्सेल गिब्सले तीन सय ८४ रन बटुलेका थिए । 

Main-1

यसैगरी सर्वाधिक विकेट लिने बलरहरूको सूचिमा श्रीलङ्काका चामिण्डा भास पहिलो स्थानमा रहेका थिए । उनले कुल २३ विकेट लिएका थिए । उनले एउटै खेलमा २५ रन खर्चिएर ६ विकेट पनि लिएका थिए । अस्ट्रेलियाका ब्रेट लीले २२, अस्ट्रेलियाकै ग्लेन म्याग्राले २१, भारतका जहिर खानले १८ र न्युजिल्यान्डका शेन बोन्डले १७ विकेट हात पारेका थिए । 

आठौँ विश्वकपमा पाकिस्तानी बलर सोएब अख्तरले पनि कीर्तिमान बनाएका थिए । उनी विश्वकै सबैभन्दा तीव्र गतिका बलर बनेका थिए । त्यो विश्वकपको इङ्ल्यान्डविरुद्धको खेलमा उनले १६१.३ किलोमिटर प्रतिघण्टाको गतिमा बल फालेर कीर्तिमान बनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप