बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

जब डीजीको ठाडो आदेशमा ‘रन वे’मा गुड्दागुड्दैको जहाज फर्काइयो...

बुधबार, १७ असोज २०८०, २० : ४४
बुधबार, १७ असोज २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार एउटा गजबको घटना भएको छ । बुधबार बिहान काठमाडौँबाट दिल्लीका लागि उड्नै लागेको जहाज नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको (डीजी) को ठाडो आदेशमा ‘रन वे’बाटै फर्काइएको छ । यो घटनाले हवाई जगतमा तरङ्ग फैलिन पुगेको छ ।

बुधबार बिहान भुटान एयरलाइन्सको बी३–७७३ नम्बरको जहाज ९८ जना यात्रु लिएर भारतको दिल्लीतर्फ प्रस्थान गर्न लागेको थियो । बिहान ८ः४० बजे उडान तालिका रहेको जहाज १५ मिनेट ढिला गरी ८ः५५ बजे ‘रन वे’मा उत्रियो । तर, जब जहाज ‘ट्याक्सी–वे’ बाट ‘टेक अफ’ (उडान) का लागि ‘रन वे’मा प्रवेश गर्यो, तब विमानस्थलको एटीसी (एयर ट्राफिक कन्ट्रोल) रुमबाट एउटा सन्देश आयो, ‘जुनकुनै अवस्थामा जहाज फर्काउनू ।  डीजी साबको निर्देशन छ ।’

उड्नै लागेको जहाजलाई जसोतसो पुनः ‘ट्याक्सी वे’मा फर्काइएको भुटान एयरलाइन्सका एक कर्मचारीले रातोपाटीलाई बताए ।

के थियो घटना ?

सामान्यतया उड्नका लागि ‘रन वे’मै उत्रिसकेको जहाजलाई सामान्यतया रोकिँदैन । उस्तै आकस्मिक घटना, जहाजमा प्राविधिक समस्या देखिएमा वा असम्बन्धित व्यक्ति जहाजमा रहेको थाहा पाएको खण्डमा घटनाको प्रकृति हेरी जहाज रोकिने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन् ।

प्रवक्ता निरौलाले रातोपाटीसँग भने, ‘कहिलेकाहीँ बोर्डिङ पास लिइसकेको तर छुटेको प्यासेन्जरका कारण पनि जहाज रोक्ने गरिन्छ । तर यस्तो घटना बिरलै हुन्छ, गम्भीर प्रकृतिको घटनामा मात्र जहाज रोकिन्छ ।’

तर, बुधबार भुटान एयरलाइन्सको घटनामा भने पुरानै प्यासेन्जर (जसले ३ दिन अघिकै फ्लाइटको टिकट काटेको तर छुटेको)का कारण जहाज रोकिएको हो ।

योगिता राईले गत सोमबार अर्थात् असोज १५ गते काठमाडौँ–दिल्लीका लागि भुटान एयरलाइन्सको टिकट काटेकी थिइन् । अनलाइनमार्फत टिकट काटेकी राईको उडान टिकट नम्बर थियो ७८६२६६९९६३९८८ ।

भुटान एयरलाइन्सको सञ्चालक टासी एयर प्रा.लि.का अनुसार उक्त टिकट अनुसार जहाजको उडान तालिका बिहान ८ः४० बजेको थियो । सो दिन ५८ यात्रु बोकेको जहाज १० मिनेट ढिला गरी करिब ८ः५० बजे दिल्ली उड्यो । तर, सोही उडानका लागि टिकट काटेकी राई त्रिभुवन विमानस्थलमै छुटिन् ।

‘सम्पूर्ण यात्रुको बोर्डङ पास प्रदान गरिसकिएपछि उडान समयभन्दा कम्तीमा एक घण्टा अघि काउन्टर बन्द गरिन्छ । सोमबार ८ः४० बजे उडान तालिका रहेको जहाजका लागि ७ः५० बजेसम्म काउन्टर खुला गरिएको थियो । तर, ७८६२६६९९६३९८८ नम्बर टिकट भएका यात्रु करिब ७ः५५ बजेतिर मात्र काउन्टर पुग्नुभयो । काउन्टर बन्द भइसकेको थियो,’ कम्पनीको कर्मचारीले रातोपाटीसँग भने, ‘काउन्टर खोल्न सम्भव नभएपछि अर्को दिनका लागि प्रतीक्षा गर्न आग्रह गर्यौँ । उक्त जहाज सो दिन दिल्ली गएर पुनः काठमाडौँ फर्किएर भुटान जानुपर्ने थियो । बेलुका अबेर गरे भुटान जान प्रायः असम्भव नै थियो ।’

घाम अस्ताएपछि भुटानमा जहाज ल्याण्ड (अवतरण) गर्न गाह्रो हुने भएकाले केही क्षणको ढिलाइले पनि ठुलो असर पर्न सक्ने उनको भनाइ थियो ।

एयरलाइन्सले सातामा चार दिन शनिबार, आइतबार, सोमबार र बुधबार काठमाडौँ–दिल्ली उडान गर्नेगर्छ । उक्त दिन छुटेको यात्रुलाई अर्को दिनका लागि टिकट रिसेड्युलिङ गर्न भनिएको ती कर्मचारीको भनाइ छ । तर, टिकट रिसेड्युल नगरिकन बुधबारका लागि दिल्ली उड्न राई एयरपोर्ट पुगिन् ।

बिजनेश क्लासको टिकट काट्न नमानेपछि लफडा !

सोमबार–काठमाडौँ–दिल्ली उडानका लागि भुटान एयरलाइन्सको बी३–७७३ फ्लाइट तयार थियो । ७ः२५ बजे काठमाडौँ ओर्लिएको जहाज पुनः ८ः४० बजे दिल्लीका लागि उड्दै थियो । कुल ९८ यात्रु रहेको जहाजमा इकोनोमिक क्लास भरिएको थियो । अघिल्लो सोमबार नै सोही इकोनोमिक क्लासको टिकट काटेर छुटेकी यात्रु राई पुनः उडानका लागि विमानस्थल पुगिन् । तर, जहाज चढ्न पाइनन् ।

‘उहाँ (राई) बिहान ६ः४५ बजे नै एयरपोर्ट आइपुग्नु भएको हो । तर उहाँले टिकटको रिसेड्युलिङ गर्नुभएको थिएन,’ एयरलाइन्सको कर्मचारीले भने, ‘उडानको इकोनोमिक क्लास भरिएको थियो । उहाँलाई हामीले चार्ज तिरेर बिजनेश क्लासको टिकट काट्न भन्यौँ । तर उहाँले मान्नु भएन । बरु उहाँ अभद्र व्यवहारमा उत्रिनु भयो । कर्मचारीहरुलाई तथानाम गाली गर्नुभयो । केहीबेर वातावरण अस्वाभाविक बन्न पुग्यो,’ ती कर्मचारीले रातोपाटीसँग भने ।

बिजनेश क्लासको टिकट काट्न उनले थप १०० डलर खर्च गर्नुपर्ने थियो । तर, उनले नमानेको र अभद्र व्यवहारमा उत्रिएको कर्मचारीको आरोप छ ।

‘लगत्तै जहाज उड्न रन–वे प्रवेश गर्यो । ट्याक्सी–वे बाट जहाज टेक अफका लागि ‘रन वे’ मा प्रवेश गर्ने बित्तिकै विमानस्थलको टर्मिनड ड्युटी अफिसबाट फोन आयो र जहाज रोकियो,’ उनले भने, ‘डीजीको ठाडो आदेशमा रोकिएको जहाज एक घण्टा जति रोकियो तर ९ः३० बजे योगिता राईलाई नलिइ दिल्ली उड्यो ।

रन–वेमा पुगिसकेको जहाज अकस्मात किन रोकियो ? रातोपाटीले बुझ्न खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जीएम) प्रतापबाबु तिवारीले आफूले जहाज नरोकेको जवाफ दिए ।

‘जहाज मैले रोकेको होइन । के कारणले रोकियो, प्रवक्तासँग बुझ्नुस्,’ गैरजिम्मेवार हुँदै जीएम तिवारीले अहिले आफू मिटिङमा रहेकाले सबै घटनाको विवरण प्रवक्तासँग माग्न भने ।

तर, विमानस्थलका प्रवक्ता सुवास झाले सो घटनाबारे आफूलाई केही पनि थाहा नभएको जवाफ दिए । यस घटनाबारे नागरिक उड्डयन प्राधिकरणलाई समेत जानकारी नभएको प्रवक्ता जगन्नाथ निरौलाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप