बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा

बिहीबार, २८ जेठ २०८३, १३ : ३०
बिहीबार, २८ जेठ २०८३

सारांश

  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आगामी नेतृत्वले ऊर्जा क्षेत्रको नीतिगत सुधार र कानुनी व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा लैजान केन्द्रित हुनुपर्ने बताएका छन्।
  • वरिष्ठ उपाध्यक्ष डाँगीले इप्पानको आगामी नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदसहित चुनावी मैदानमा उत्रिएको उत्तम भ्लोन लामाको नेतृत्वमा रहेको टोलीलाई खुला समर्थन गर्ने घोषणा गरेका छन्।
  • डाँगीले लामाको टोलीले संस्थाको मर्यादा, आचारसंहिता र व्यावसायिक मूल्यहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको बताए।

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आगामी नेतृत्वले ऊर्जा क्षेत्रको नीतिगत सुधार र कानुनी व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा लैजान केन्द्रित हुनुपर्ने बताएका छन्। 

राजधानीमा आयोजित एक विशेष कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा अझै धेरै नीतिगत सुधारहरू गर्न बाँकी रहेकाले आगामी नेतृत्व त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।

इप्पानमा हाल कायम रहेको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ। सोही व्यवस्था बमोजिम डाँगी अबको केही दिनमै इप्पानको नयाँ अध्यक्ष बन्दै छन्। वरिष्ठ उपाध्यक्ष डाँगीले इप्पानको आगामी नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदसहित चुनावी मैदानमा उत्रिएको उत्तम भ्लोन लामाको नेतृत्वमा रहेको टोलीलाई खुला समर्थन गर्ने घोषणा गरेका छन्। उनले आफ्नो मत सोही टोलीलाई दिने स्पष्ट पार्दै ऊर्जा क्षेत्रका अन्य सम्पूर्ण मतदाताहरूलाई समेत लामाकै टिमलाई सघाउन सार्वजनिक आग्रह गरे।

ऊर्जा क्षेत्रलाई मर्यादित, व्यवस्थित र परिणाममुखी बनाउन सक्षम नेतृत्वको खाँचो रहेको औँल्याउँदै डाँगीले हाल ऊर्जा क्षेत्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको बताए। यस्तो जटिल समयमा अनुभवी र सक्षम टोलीको नेतृत्व आवश्यक रहेको र अहिलेको चुनावी दौड हेर्दा लामाको टिमले ऊर्जा क्षेत्रका जल्दाबल्दा मुद्दाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने विश्वास उनले व्यक्त गरे।

आफ्नो मत खुलाउँदै उनले कार्यक्रममा भने, ‘आजसम्म हामी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमै लागिरहेका थियौँ तर आज मैले पनि आफ्नो मत कहाँ हाल्ने भन्ने कुरा स्पष्ट गर्नुपर्छ भन्ने महसुस गरेको छु । मसँग पनि मताधिकार छ, र मैले आफ्नो मत कसलाई दिने भन्ने विषयमा खुला रूपमा धारणा राख्न चाहन्छु । म धेरै भोट माग्न चाहन्नँ, तर मेरो मत भने उत्तम ब्लोन लामाको नेतृत्वमा रहेको टोलीलाई जानेछ । आज यहाँ उपस्थित भएर र यसअघि पनि विभिन्न कार्यक्रममा उहाँहरूको प्रस्तुति र दृष्टिकोण सुनेपछि मैले आफ्नो मत यही टोलीलाई दिने निर्णय गरेको छु ।’

नेतृत्वको जिम्मेवारीमा रहेको व्यक्तिका रूपमा आफ्नो धारणा स्पष्ट पार्दै डाँगीले लामाको टोलीले संस्थाको मर्यादा, आचारसंहिता र व्यावसायिक मूल्यहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको बताए। उनले अरूतर्फ औँला उठाउँदा चारवटा औँला आफूतर्फ फर्किरहेका हुन्छन् भन्ने कुरा सधैँ सम्झनुपर्ने भन्दै सबैभन्दा पहिले आफूलाई सुधार्दै र संस्थालाई मर्यादित बनाउँदै अघि बढ्नुपर्ने सल्लाह दिए। यस्ता चुनौतीहरू बिच अनुभवी, सक्षम र विद्वत् टोलीको आवश्यकता पर्ने भएकाले उत्तम भ्लोन लामाको टोलीले नै यो क्षेत्रलाई सही दिशामा अगाडि बढाउन सक्ने उनको दाबी थियो।

वरिष्ठ उपाध्यक्ष डाँगीले इप्पानभित्र आचारसंहिता, व्यावसायिक मर्यादा र संस्थागत संस्कृतिलाई अझ बढी मजबुत बनाउनुपर्ने आवश्यकतामा जोड दिए। ऊर्जा क्षेत्रका सबै सरोकारवालाहरूले समयमै आत्मसमीक्षा गर्दै संस्थागत सुधारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप