बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

व्यवसाय नभए पनि धमाधम फिल्म निर्माण

आधा दर्जन फ्लोरमा, दर्जनभन्दा बढी छायाङ्कनको तयारीमा
सोमबार, २२ असोज २०८०, १२ : ४०
सोमबार, २२ असोज २०८०

काठमाडौँ । गत भदौमा ८ वटा नेपाली फिल्म प्रदर्शनमा आए । फिल्म थिए ‘हिँड्दा हिँड्दै’, ‘जुलेबी’, ‘जय हो’, ‘महानगर’, ‘गणपति’, ‘ऐँचो पैँचो’, ‘एक भागवत् र एक गीता’ र ‘नाङ्गो गाउँ’ । तीमध्ये ‘नाङ्गो गाउँ’ बाहेक अन्य कुनै पनि फिल्मले लगानी सुरक्षित गर्न सकेनन् । 

भदौ महिनामा ८ फिल्म रिलिज हुँदा एउटाले मात्र लगानी सुरक्षित गर्नु भनेको करिब ८८ प्रतिशत लगानी असुरक्षित हुनु हो । यसले नेपाली फिल्मको व्यवसाय अझै राम्रो भइनसकेको बुझाउँछ ।

व्यवसाय राम्रो नभए पनि फिल्म निर्माण हुने क्रममा भने घटेको छैन । यति बेला हेर्ने हो भने पनि आधा दर्जनभन्दा बढी फिल्म छायाङ्कनका लागि फ्लोरमा छन् । ती हुन् घनश्याम लामिछाने निर्देशित ‘चित्रा’, निर्देशक दिवाकर भट्टराई निर्देशित ‘मायावी’, रामबाबु गुरुङको ‘डिग्री माइला’, अर्जुन सुवेदी निर्देशक रहेको ‘रङ्गेली’, ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’ र सौरभ चौधरी निर्देशित ‘अगस्त्य’ रहेका छन् ।

यीमध्ये कुनै फिल्म केही महिनाअगाडिदेखि फ्लोरमा छन् भने केही भर्खर निस्किएका हुन् । सबै फिल्मको अहिले धमाधम छायाङ्कन भइरहेको छ ।

कस्ता छन् फ्लोरमा फिल्म

फिल्मको व्यवसाय नभए पनि निर्माता, निर्देशक स्टार कलाकारका पछाडि दौडिन भने छाडेका छैनन् । उनीहरूलाई नै मोटो रकम तिरेर फिल्म खेलाउने गरेका छन् । यतिबेला फ्लोरमा रहेका फिल्महरू पनि स्टार कलाकारले भरिएका नै देख्न सकिन्छ । फिल्मका विषयवस्तु फरक छन् ।

लामिछाने निर्देशित ‘चित्रा’ भदौको अन्तिमबाट फ्लोरमा रहेको फिल्म हो । फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरि, मेनुका प्रधान, शुभेच्छा खड्का, सन्तोष अधिकारीलगायतले अभिनय गरिरहेका छन् ।

त्यस्तै दिवाकर भट्टराईको निर्देशनमा बनिरहेको फिल्म ‘मायावी’ पनि अहिले फ्लोरमा छ । गत साताबाट छायाङ्कनमा निस्किएको फिल्ममा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, समिम खानलगायत मुख्य कलाकार छन् ।

‘डिग्री माइला’ पनि अहिले फ्लोरमा रहेको फिल्म हो । ‘कबड्डी’ सिक्वेलमा ४ हिट फिल्म दिएका रामबाबु गुरुङको  निर्देशनमा फिल्म निर्माण भइरहेको छ । गुरुङ निर्देशित गत वैशाखमा प्रदर्शनमा आएको फिल्म ‘जारी’ हिट मानिन्छ । फिल्मको विगत दुई सातादेखि ओखलढुङ्गास्थित रुम्जाटारमा छायाङ्कन भइरहेको ‘डिग्री माइला’ मा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिका रहनेछ ।

त्यस्तै अर्जुन सुवेदी निर्देशक रहेको फिल्म ‘रङ्गेली’ को पनि अहिले धमाधम छायाङ्कन भइरहेको छ । पूर्वका विभिन्न स्थानमा ४ सातादेखि छायाङ्कनमा रहेको फिल्मको मुख्य भूमिकामा पछिल्लो समयका हिट जोडी दयाहाङ राई र मिरुना मगर छन् । फिल्म मा अर्पण थापाको पनि अभिनय रहनेछ ।

लामो समयपछि अभिनेत्री रेखा थापा अभिनयमा कमब्याक गर्न लागेको फिल्म ‘उपहार’ पनि अहिले छायाङ्कनमा छ । ज्ञानेन्द्र देउजा निर्देशित फिल्मको काठमाडौँमा छायाङ्कन चलिरहेको छ । रेखाको अलवा बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाललगायतको अभिनय फिल्ममा रहनेछ । अभिनेत्री रेखा थापाकै निर्माण रहेको फिल्म छायाङ्कनको अन्तिम चरणमा छ ।

‘अगस्त्य’ पनि अहिले फ्लोरमा रहेको फिल्म हो । दुई महिनादेखि छायाङ्कन भइरहेको फिल्मको अहिले राजविराजमा छ । फिल्मको छायाङ्कन थालिएको ६० दिन बढी भइसक्यो । फिल्म ‘लार्ज स्केल’ मा बनिरहेको कारण छायाङ्कन लम्बिएको निर्देशक सौरभ चौधरीले बताए । सौरभकै लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, मलिका महत, अपर्ण थापा, नाजिर हुसेनलगायतको अभिनय रहनेछ । ‘अगस्त्य’ दुई शृङ्खलामा निर्माण हुन थालेको हो ।

के के छन् छायाङ्कनको तयारीमा ?

फ्लोरमा त आधा दर्जनभन्दा बढी फिल्म छन् नै, त्योभन्दा बढी फिल्म छायाङ्कनमा निस्कनका लागि प्रि–प्रोडक्सनमा छन् । जसमा रोहित अधिकारीको ‘फर्की फर्की’, प्रदीप भट्टराईको ‘महाजात्रा’, सन्तोष सेनको ‘बलिदान, मुस्कान ढकालको ‘पञ्चामृत’, यम शेर्पाको ‘कार्साङ’, नवीन चौहानको ‘ऊनको स्विटर’, दीपकराज गिरी समूहको ‘वडा नम्बर ६’ को सिक्वेल, वसन्त निरौलाको ‘ज्वाइँ साब’, विमलेश अधिकारीको ‘ह्याप्पी डिभोर्स’, जनकदीप पराजुलीको ‘पापी मान्छे ३’ लगायत हुन् ।

रोहित अधिकारीको ‘फर्की फर्की’ आगामी कात्तिकबाट फ्लोरमा जाने तयारीमा छ । अनमोल केसी, जसिता गुरुङ, समृद्धि अर्याल र रवि काफ्लेको मुख्य भूमिका रहने फिल्म सुयोग गुरुङले निर्देशन गर्न लागेका हुन् ।

प्रदीप भट्टराईको ‘महाजात्रा’ पनि अहिले छायाङ्कनको तयारीमा छ । हिट फिल्म ‘जात्रा’, ‘जात्रैजात्रा’ को सिक्वेलको रूपमा निर्माण हुन लागेको यो फिल्म षट्कोण आर्ट्सले निर्माण गर्न लागेको हो । म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानिया निर्माता रहने फिल्ममा विपिन कार्की, रवीन्द्रसिंह र रवीन्द्र झालगायतको अभिनय रहनेछ । फिल्म दसैँलगत्तै छायाङ्कनका लागि फ्लोरमा निस्कनेछ ।

यस्तै ‘प्रेमगीत’ का तीन शृङ्खला बक्स अफिसमा दिएका निर्माता सन्तोष सेनले आगामी फिल्मको रूपमा ‘बलिदान’ निर्माणको घोषणा गरेका छन् । तिहारपछि छायाङ्कनमा जाने फिल्म सोसियो–पोलिटिकल ड्रामा जनरामा बन्न लागेको हो । फिल्मको कलाकार खुलाइएको छैन ।

‘ह्याप्पी डिभोर्स’ अभिनेता विमलेश अधिकारीले निर्देशन गर्न लागेको फिल्म हो । केही समयअगाडि औपचारिक घोषणा भएको फिल्ममा विमलेश अधिकारी, केकी अधिकारी र रीमा विश्वकर्माको मुख्य भूमिका रहनेछ ।

निर्माता राजकुमार राईले अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै एड्भेन्चर–ड्रामा ‘पापी मान्छे ३’ निर्माणको घोषणा गरेका छन् । दोस्रो शृङ्खला निर्माण भएको १५ वर्षपछि चिम्पान्जीलाई शीर्ष भूमिकामा लिएर काल्पनिक कथामा फिल्म बन्न लागेको हो । फिल्ममा क्यानडाको एक म्याच–पेन्टिङ कम्पनीले काम गर्ने भएको छ । भीएफएक्सका लागि फ्रान्स, क्यानडा र मुम्बईको कुनै एक कम्पनीसँग सहकार्य गर्न तयारी छ । जनकदीप पराजुलीले निर्देशन गर्ने फिल्म दसैँ तिहारपछि छायाङ्कन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप