आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
बालसंसार

प्रेरक प्रसङ्ग : वेद र बाइबल

आइतबार, २८ असोज २०८०, १३ : ४७
आइतबार, २८ असोज २०८०

स्वामी विवेकानन्दको नामबारे प्रायः सबै परिचित छन् । सायद भाइबहिनीहरूले पनि उनको नाम सुनेको हुनुपर्छ । यी भारतीय सन्यासी प्रकाण्ड वैदिक विद्वान्मा पर्छन् । सानै उमेरमा स्वामी रामकृष्ण परमहंससँग सन्यास दीक्षा लिएका विवेकानन्दले शिकागोमा आयोजित विश्वधर्म सभामा समग्र विश्वलाई वैदिक धर्मदर्शनप्रति नतमस्तक बनाएका थिए । मानव सेवा नै माधव (भगवान्) सेवा हो भन्ने मान्यता राख्ने यी सन्यासीले पूरा जीवन समाज कल्याण तथा मानव उत्थानमा व्यतीत गरेका थिए । 

एक दिनको कुरा हो स्वामीजी कुनै कार्यक्रममा भाग लिएर आफ्नो आश्रमतर्फ फर्कँदै थिए । त्यतिबेला अहिलेको जस्तो यातायातको साधन थिएन । नजिकपुँडोको यात्रा पैदल नै तय गरिन्थ्यो भने टाडाको यात्रामा टागाँ वा वैलगाडीको प्रयोग गर्नुपर्ने हुन्थ्यो । सायद उनी केही टाडैबाट आएका हुनुपर्छ । त्यसैले उनले यात्रामा टाँगा प्रयोग गरेका थिए तर केही पर पुगेपछि टाँगाबाट ओर्लेर कुनै वृक्षको छायाँमा विश्राम गर्न लागे । विश्रामकै क्रममा लामो समय बित्यो । उनीसँगै विश्राम गर्न बसेकाहरू सबै हिँडे तर उनले भने आसनबाट उठ्ने नामै लिएनन् ।   

एकजना सज्जनले निकै अघिदेखि उनलाई हेर्दैै आएका थिए । स्वामीजीको त्यस्तो अवस्था देखेर मनमा केही कौतुहलता जागेर आएकाले नजिकै सोधे–

‘स्वामीजीलाई निकै अघिदेखि एकै स्थानमा देखेको छु । कसैको प्रतीक्षामा हुनुहुन्छ कि कसो ?’ 

उनको कुरा सुनेर स्वामीजीले अनकनाउँदै भने–

‘त्यसो त केही होइन तर कारणै त्यस्तैै परेर बसेको हुँ ।’

‘कारण ?’

‘हो त्यस्तै बुझ्नुस् ।’

‘के कारण हो जान्न सक्छु ?’

‘वास्तवमा भन्नुहुन्छ भने साथमा पैसा नभएकाले बसेको हुँ ।’

‘टाँगालाई भने त पु-याइदिहाल्छ नि होइन र ?’

‘हुन हो तर त्यसो भन्न सक्दिन ।’

‘किन ?’

‘किन कि उसलाई पनि यहाँभन्दा उताको भाडा दिने पैसा छैन ।’

‘अनि पैदल जान पनि सक्नुहुन्न ?’

‘सक्दिन ।’

‘किन ?’

‘किन कि एक त आश्रम अझै टाडै छ । दोस्रो कुरा हिजोदेख केही खाएको छैन ।’ 

उनको कुरा सुनेर सज्जनलाई साह्रै नमज्जा लाग्यो । उनले स्वामीजीलाई कुनै तरिकाले मनाएर आफ्नो घरमा लगेर स्वागत सत्कार गरे । खानपिनको काम सकिएपछि सज्जनले सोधे–

अघिदेखि नै तपाईँको साथमा एउटा झोला देखेको छु । यदि अनुमति पाउँछु भने सोध्न चाहन्छु कि यस झोलामा के राख्नुभएको छ ।’

त्यसपछि स्वामीजीले भने–

‘यहाँ एउटा गीताको पुस्तक र अर्को बाइबलको पुस्तक राखेको छु ।’

त्यसपछि सज्जनले आश्चर्य मान्दै भने–

‘गीता र बाइबल त्यो पनि एकै स्थानमा ?’

‘किन एकै स्थानमा राख्नुहुन्न र ?’

‘त्यसो त होइन, यस्तो कसरी सम्भव भयो भनेको नि ।’

‘असम्भव हुनुको कारण ?’ 

‘यी दुई अलगअलग धर्मका ग्रन्थ होइनन् र ?’ 

‘हुन त हो ।’

‘अनि ?’

‘के अनि ?’

‘यही कि दुई अलग धर्मको पुस्तक एकै स्थानमा राख्न मिल्छ र ।’

त्यसपछि स्वामीजीले सम्झाउँदै भने–

‘यसमा नमिल्न भन्ने कुरै के छ र । धर्म, सम्प्रदायमा आफैँमा विरोधी होइन् । उनीहरूले कतै विरोध गरेका पनि छैनन् । हो बाटो अलग हुन सक्छ तर सबैको गन्तव्य एउटै । जब गन्तव्य एउटै हो भने केको विरोध, केको झगडा । न कुनै धर्मको आपसमा विरोध छ न धर्म ग्रन्थमै छ । विरोध तिनका कारण हुुने गरेका छन् जोजसले त्यसलाई पछ्याएका छन् । वास्तवमा संसारमा मानव कल्याणभन्दा उत्तम मार्ग अर्को पनि छैन र मानतवाभन्दा ठूलो अर्को धर्म पनि छैन ।’

स्वामीजीको कुरा सुनेर सज्जनको आँखा खुल्यो । त्यस दिनदेखि उनी कुनै पनि धर्म सम्प्रदायको विरोध गर्न छाडेर मानव कल्याणको बाटोमा लागे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप