मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ विशेष

दसैँमा राजधानीका अस्पतालले यसरी दिँदैछन् सेवा

शनिबार, ०४ कात्तिक २०८०, १२ : ३०
शनिबार, ०४ कात्तिक २०८०

काठमाडौँ । दसैँ हिन्दूहरूको महान् चाड हो । यो चाड धनीले मात्र होइन गरिबले पनि ऋणधनको जोहो गरेर मीठो मसिनो खाने चलन छ । यस्ता चाडपर्वमा लुवाइखुवाइमा मानिसले देखासिकी पनि गर्छन् । तर स्वास्थ्यमा भने ध्यान पुर्‍याउँदैनन् । त्यसैले धेरै मानिसको स्वास्थ्यमा समस्या आउने चिकित्सकहरू बताउँछन् । 

दसैँमा मासु र चिल्लोचापुल्लोको बढी उभोग हुन्छ । यस्ता चिल्लो, पिरो र मसलेदार खाने कुरा बढी भयो भने पाचन प्रक्रियामा असर गर्छ । त्यसैले खानपिनमा ध्यान दिइएन भने बिरामी हुने खतरा रहेको चिकित्सकहरूले सचेत हुन आग्रह गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार दसैँको समयमा खानपानमा ध्यान नदिँदा फुड पोइजनिङ, पखाला, बान्ता, हैजा, अपच, ग्यास्ट्रिक जस्ता स्वास्थ्य समस्या आउन सक्छन् । यस्तै यस पटक मानिसलाई मात्रै दसैँ नलागेर लामखुट्टेलाई पनि दसैँ लागेको उनी सुनाउँछन् । 

उनी भन्छन्, ‘काठमाडौँमा डेङ्गु फैलिरहेको छ । अहिले धेरै मानिस दसैँ मनाउन उपत्यका छाडेर गृहजिल्लामा पुग्नु भएको छ । यहाँबाट जानेहरू र सङ्क्रमण बढी फैलिएको जिल्लाबाट दसैँ मनाएर काठमाडौँ फर्किनेबाट र काठमाडौँदेखि गाउँ र गाउँदेखि सहरसम्म डेङ्गु सङ्क्रमणको त्रास बढेको छ ।’  

त्यस्तै सिभिल अस्पतालका निर्देशक डा. विधाननिधि पौडेल दसैँलाई खानपान अर्थात् मासु खाने पर्वका रूपमा लिइने भएकाले खानपानमा ध्यान नदिँदा रोग नलागेकालाई रोग लाग्ने, रोग लागेकालाई अझ च्याप्ने बताउँछन् । 

बढी मात्रामा मासु, माद्यपान, अन्य चिल्लो, पिरो, मसलेदार खानपानका कारण युरिक एसिड, रक्तचाप, मुटु, मिर्गौला, झाडाबान्ता, ग्यास्ट्रिकका बिरामी बढ्छन्, त्यसैले सचेत हुनुपर्ने डा. पौडेल सुनाउँछन् । 

दसैँ अवधिभर सार्वजनिक बिदा रहेको छ। स्वास्थ्य संस्था खुला भए पनि जनशक्ति तुलनात्मक रूपमा कम हुन्छन् । तर सबै खुला हुने राजधानीका मुख्य अस्पतालहरूले दसैँका बेला फूलपातीदेखि एकादशीसम्म बहिरङ्ग सेवा तथा आकस्मिक सेवा कसरी दिइरहेका छन् ? पर्वका समयमा कस्ता बिरामी अस्पतालमा उपचार गर्न पुग्छन् ? ओपीडी र आकस्मिक सेवा कसरी सञ्चालन हुन्छ भनेर काठमाडौँका केही अस्पतालसँग कुरा गरेका छौँ । 

collage

राष्ट्रिय ट्रमा सेन्टर 
राष्ट्रिय ट्रमा सेन्टरले दसैँको समयमा आकस्मिक सेवा नियमित सञ्चालन गरेको बताएको छ । 
ट्रमा सेन्टरमा धेरैजसो बिरामी आकस्मिक सेवाका लागि आउने भएकाले निरन्तर रूपमा आकस्मिक सेवा दिइएको सेन्टरका प्रशासन शाखा प्रमुख नवराज गौतमले बताए ।

‘यहाँ ओपीडी सेवा लिन कम बिरामी आउँछन्, आकस्मिक सेवा लिन बढी आउने भएकाले दसैँमा आकस्मिक सेवा निरन्तर सञ्चालन हुन्छ,’ उनले भने, ।
यस्तै दसैँ बिदामा इमर्जेन्सीको ओटी पनि खुला रहेको प्रमुख गौतमले बताए । 

इमर्जेन्सीमा आउने बिरामीको प्रायः जीवनको सुरक्षासँग सम्बन्धित हुने भएकाले यस्ता पर्वका समयमा झन् ट्रमा सेन्टर अलर्ट भएर बस्ने उनले बताए । 

‘तत्काल जीवन जोगाउनुपर्ने भएकाले इमर्जेन्सी ओटी गर्नुपर्ने केसका लागि पनि तत्काल ओटी सेवा सञ्चालन गरिन्छ,’ गौतमले थपे ।

यस्ता चाडपर्वमा अन्य समयमा भन्दा धेरै दुर्घटना हुन्छन् । त्यसैले अन्य अस्पतालभन्दा ट्रमा सेन्टर चनाखो भएर बस्नुपर्ने भएकाले निरन्तर बिरामीको उपचारमा लागिने उनले बताए ।

सिभिल अस्पताल 
मीनभवनस्थित सिभिल अस्पतालले पनि दसैँ बिदाको समयमा आकस्मिक सेवा नियमित रूपमा सञ्चालन गरेको छ । 
अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले सप्तमीदेखि दशमीसम्म ओपीडी सेवा बन्द रहेको बताए । तर, आकस्मिक सेवा र इन्डोर सेवा खुला रहेको उनको भनाइ थियो । 

अहिले अस्पतालमा डेङ्गुका बिरामी बढेकाले दसैँ अवधिमा अझ बढ्न सक्ने उनले बताए । उनले भने, ‘अहिले अस्पतालमा ४० जना डेङ्गुका बिरामी छन् । डेङ्गु सङ्क्रमणको मौसम भएकाले अझै बिरामी बढ्न सक्छन् ।’

दसैँमा बढी मात्रा चिल्ला, पिरो, मसलादार खानेकुरा र माछा मासु, रक्सी खाएर झाडापखाला, बान्ता भई अस्पतालमा बिरामी बढी हुने भएकाले सोही अनुसार अस्पतालमा जनशक्ति व्यवस्थापन गरिएको निर्देशक डा. पौडेलले सुनाए ।

 ‘मानिसहरु मादक पदार्थ सेवन गरी कुटपिट गरी चोटपटकको उपचार गर्न आउँछन् । त्यस्तै बाटो खाली हुने भएकाले सवारी तीव्र गतिमा सवारी कुदाउँदा दुर्घटना हुन्छ र उपचारका लागि आउने बिरामी पनि बढ्ने भएकाले सोही अनुसार जनशक्ति व्यवस्थापन गरिएको छ,’ उनले भने । 

पाटन अस्पताल 
पाटन अस्पतालमा दसैँ बिदा अवधिमा आकस्मिक सेवा २४ घण्टा खुला रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. रवि शाक्य अस्पताल सप्तमी अर्थात् फूलपातीदेखि पाँच दिनसम्म ओपीडी सेवा बन्द रहने बताउँछन् । 

यद्यपि यस अवधिमा भर्ना भएका बिरामीको उपचारमा भने निरन्तर खटिने उनले बताए । दसैँ र तिहार मनाउन डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीको ड्युटी विभाजन गरिएको उनले बताए । त्यसैले आकस्मिक सेवा र भर्ना भएका बिरामीको उपचारका लागि स्वास्थ्यकर्मी निरन्तर खटिने उनले बताए ।

यो समय सडकमा ट्राफिक जाँच कम हुने हुँदा रक्सी सेवन गरी सवारी चलाउँदा दुर्घटना बढ्छ । त्यस्तै मीठो मसिनो खाने भनेर चिल्लो, पिरो, अमिलो, माछा, मासु र रक्सी बढी मात्रा खाँदा धेरै बिरामी भएर अस्पताल आउने उनले बताए । 

त्रिवि शिक्षण अस्पताल (टिचिङ)
त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले शुक्रबारसम्म अस्पतालबाट दिइने सम्पूर्ण सेवाहरू निरन्तर दियो । अस्पतालका उपनिर्देशक तथा छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार आज फूलपातीदेखि एकादशीसम्म भने ओपीडी सेवा बन्द रहने भएको छ । 

यस समयमा ओपीडी सेवा बन्द भए पनि आकस्मिक सेवा भने २४ घण्टा खुला रहेको उनको भनाइ छ । यस्तै अस्पतालमा भर्ना भएका बिरामीको उपचार सेवा निरन्तर हुने उनको भनाइ छ । त्यसपछि द्वादशीदेखि सबै सेवा सञ्चालन हुने उनको भनाइ छ । 

काठमाडौँ बाहिर दसैँ मनाउन जाने डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीले दसैँ र तिहारमा आलोपालो गरी बिदाको व्यवस्था मिलाइएको उनले सुनाए । 

वीर अस्पताल

केन्द्रीय अस्पताल वीर अस्पतालमा दसैँमा पनि आकस्मिक सेवा खुला रहेको छ । आकस्मिक सेवा लिन आउने बिरामीका लागि चिकित्सक, स्वास्थ्यकर्मी निरन्तर खटिएको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले बताए । दसैँका बेला देखिन सक्ने रोग र हाल देखिरहेको डेङ्गुका बिरामीको चापलाई ध्यान दिई स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको उनले सुनाए । 

वार्ड र आकस्मिक कक्ष भने दसैँ बिदामा पनि निर्वाध रूपमा सञ्चालन गरिएको उनले बताए । तर ओपीडी सेवा भने फूलपातीदेखि दशमीसम्म बन्द रहने निर्णय भएको अस्पतालको भनाइ छ । 

गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र
गङ्गालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा पनि दसैँको बिदाको समयमा आकस्मिक सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले दसैँका चार दिनसम्म ओपीडी सेवा बन्द हुने बताए ।

यद्यपि आकस्मिकतर्फका बिरामीलाई भने निरन्तर सेवा दिइएको अस्पतालका निर्देशक अधिकारीले जानकारी दिए । ‘तत्काल गर्नुपर्ने शल्यक्रिया निरन्तर सञ्चालन हुन्छन् । साथै केही समयपछि गर्नुपर्ने शल्यक्रिया पालो अनुसार दसैँपछि गर्छौं,’ उनले भने ।
 
कान्ति बाल अस्पताल 
कान्ति बाल अस्पतालमा दसैँमा ओपीडी सेवा बन्द रहेको छ । यद्यपि आकस्मिकतर्फ २४ घण्टा सेवा सञ्चालन रहेको अस्पतालका निर्देशक डा. पङ्कज रायले बताए ।  आकस्मिक सेवा प्रदान गर्न कात्तिक ५ गतेदेखि ९ गतेसम्मको अवधिलाई जनशक्तिको व्यवस्थापन गरिसकिएको उनले बताए । अस्पतालमा आएका अन्य बिरामीलाई पनि आकस्मिक कक्षबाट सेवा प्रदान गरिने उनले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप