सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

मुस्लिम भए पनि यसरी दसैँ मनाउँछन् सांसद असिम शाह

‘चङ्गा उडाउने कुरामा एक्स्पर्ट नै थियौँ’
सोमबार, ०६ कात्तिक २०८०, १६ : १६
सोमबार, ०६ कात्तिक २०८०

‘पत्रकार, चलचित्र निर्देशक हुँदै हाल प्रतिनिधि सभा सदस्यको भूमिकामा रहेका असिम शाह मुस्लिम धर्मावलम्बी हुन् । तर उनको सम्बन्ध नेपालीहरूको महान् पर्व दसैँबाट अछुतो रहन भने सकेको छैन । अघिल्लो वर्षदेखि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गरेका शाह यतिबेला दसैँ, तिहार जस्ता चाडपर्वका अवसरमा आयोजना गरिएका शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी भइरहेका छन् ।

दसैँका बेला बाल्यकालमा हुने रमाइलो उनले अहिलेसम्म भुल्न सकेका छैनन् । साथीभाइसँग चङ्गा उडाउने प्रतिस्पर्धाको क्षणलाई अहिले पनि उनले सम्झिरहेका छन् । मुस्लिम समुदायको सदस्य भए पनि दसैँका बेला उनी सधैँ ‘फेस्टिभ मुड’मा हुने गर्छन् । परिवारका सदस्यसँग बढी समय बिताउने, हिन्दु समुदायका साथीहरूले बोलाउने खानपान कार्यक्रममा पनि उनी सहभागी हुने गर्दछन् । राजनीतिमा आउनुभन्दा अगाडि पनि दसैँका बेला उनी भेटघाट र घुमघाम गर्दै रमाउँदै आएका थिए ।

रातोपाटीसँग कुरा गर्दै सांसद साहले भने, ‘सामान्यता दसैँ भन्ने बित्तिकै देशभरि नै हर्षोल्लासको एउटा तरङ्ग फैलिएको हुन्छ । अघिपछि अति व्यस्त भइरहेको हाम्रो दैनिकीले पनि एउटा आरामको अवसर पाउँछ । दसैँ म र मेरो परिवारका लागि एउटा राम्रो सम्बन्ध स्थापित गर्ने अवसर हुने गरेको छ ।’

दसैँको बेलामा आफूहरू कहीँ न कहीँ घुम्न निस्कने गरेको उनले सुनाए । उनले भने, ‘कहिले देशभित्रै, कहिले देश बाहिर विभिन्न ठाउँमा घुम्न जाने गर्छौँ । प्रायः दसैँको समय नयाँ ठाउँ घुमेरै बित्ने गरेको छ ।’

दसैँलाई हिन्दु धर्मावलम्बीले जति महत्त्व दिन्छन्, त्यसमा मुस्लिम समुदायको पनि  सदाशयता रहने उनले बताए । हिन्दुले जसरी दसैँ नमनाए पनि साथीभाइ, आफन्त भेटघाट हुने, भ्रमणमा जाने काम हुने उनको भनाइ छ । विदेश भ्रमणमा रहेको बेला पनि त्यहाँ रहेका साथीहरूसँग बसेर दसैँ मनाएको उनले स्मरण गरे ।  

अघिल्ला वर्षहरूमा चलचित्र निर्देशकको भूमिकामा रहेका उनको यो वर्षको दैनिकी र भूमिका भने फेरिएको छ । प्रतिनिधि सभा सदस्य भएका कारण उनको यो वर्ष दसैँको दैनिकीमा केही परिवर्तन आएको छ ।

सांसद शाहले भने, ‘अघिल्लो वर्षभन्दा यो वर्षको दसैँ अलि फरक छ । अघिल्ला दसैँहरूमा विज्ञापन बनाउने काममा बढी केन्द्रित हुने गरेका थियौँ । घटस्थापनाको दिनसम्म नै पोष्ट प्रोडक्सनको काम रहन्थ्यो । फुलपाती आएपछि मात्र हामीले छुट्टी पाउने, घुम्ने अवसर आउने गर्थ्यौँ, देश विदेशतिर घुम्ने गर्थ्यौँ ।’

उन यो वर्षको आफ्नो दसैँ राजनीतिक गतिविधि, संगठन विस्तार, शुभकामना आदान–प्रदान जस्ता कार्यक्रममा सहभागी भएर बित्ने सुनाए । उनले भने, ‘गाउँघरमा गएर जनताका समस्या सुन्नतिर पनि लाग्यौँ । भर्खर पार्टीको दुई दिने विचार मन्थनको कार्यक्रम सकेका छौँ । काठमाडौँमा रहेका पार्टीका सदस्यहरुसँग दसैँको शुभकामना आदानप्रदान गरियो, दसैँ लगत्तै पार्टीको के कस्ता कार्यक्रम गर्ने भन्ने छलफलहरूमा व्यस्त छु ।’

दसैँको बेला आफ्नो परिवारसँग बस्ने, कहीँ घुम्न जाने पहिलेदेखि नै चलन रहेको बताउँदै उनले यो वर्ष पनि परिवारसँग बसेरै समय सदुपयोग गर्ने योजना रहेको बताए ।

‘धार्मिक सहिष्णुतामा नेपाल एक अनुपम उदाहरणीय देश हो’

सांसद शाह नेपाल धार्मिक सहिष्णुतामा उदाहरणीय देश रहेको बताउँछन् । एक अर्काको धार्मिक कार्यक्रममा सहभागी हुने, सौहार्द्रता आदानप्रदान गर्ने यस्तो सम्बन्ध अरु देशमा पाउन मुस्किल रहेको उनको बुझाइ छ ।

उनी भन्छन्, ‘धार्मिक सहिष्णुता यो देशको एउटा अनुपम उदाहरणीय नमुनाको रुपमा रहेको छ । हिन्दु, मुस्लिम, बुद्धिष्ट सबै आपसमा मिलेर बसेका छन् । जस्तो कि हिन्दुहरुको विवाहमा, पूजाको समयमा चाहिने महत्त्वपूर्ण सामान चुरा–पोते, जसको एकल व्यापार मुस्लिम समुदायले गर्छ । मुस्लिम समुदाय बाहेक अन्य समुदायले खासै पोतेको व्यापार पनि गर्दैनन् । देवीहरुको मन्दिरमा चुरा, पोते, धागो चढाउने चलन छ । हाम्रो समाजमा हिन्दु र मुस्लिमबिच यसरी सद्भाव बसेको छ ।’

धार्मिक आस्था मुस्लिम भए पनि बाल्यकालमा दसैँको बेलाको उल्लास आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए । दसैँको समयमा बाल्यकालमा सबैभन्दा रमाइलो पक्ष लामो स्कुल बिदा हुनु र धित मरुञ्जेल चङ्गा उढाउन पाउनु रहेको उनको भनाइ छ ।

काठमाडौँमा जन्मे हुर्केका शाह काठमाडौंका विभिन्न पर्व, उत्सवमा सहभागी हुने गरेका छन् । नेवारी संस्कृति अनुसारका कार्यक्रममा सहभागी हुँदै आएका उनले भने, ‘हामीले पहिलेदेखि नै विभिन्न सांस्कृतिक पर्व, जात्राहरुमा, लाखे नाँच हुँदा, इन्द्रजात्रा हुँदा सहभागी हुने गरेका थियौँ । यस्तै हाम्रा पर्वहरुमा साथीभाइलाई बोलाउने विरयानी खुवाउने, सेवाई खुवाउने, सदाशयता बढाउने, हिन्दु–मुस्लिम समुदायहरुमा पहिलेदेखि नै चलिआएको छ ।’

अन्यत्रै कतै पनि यस्तो सद्भाव नरहेको भन्दै उनले यस्तो सद्भाव बिथोल्न कसैले पनि प्रयास नगरे हुन्छ भन्ने प्रस्ट पारे । सांसद शाहका पुर्खा सातौँ पुस्ताअघि भारतको काश्मिर क्षेत्रबाट काठमाडौँ आएका थिए । उनी जन्मिएको र हुर्किएको ठाउँ काठमाडौँ नै हो ।

उनका पूर्वजहरु काश्मिरबाट शिल्करोडको बाटोहुँदै तिब्बतमा व्यापार गर्थे । व्यापारका क्रममा उनीहरुको काठमाडौँका मल्लराजाहरुसँग सम्बन्ध बढेको थियो । तिनै व्यापारीका सातौँ पुस्ता रहेका शाहले आफ्ना पुर्खाबारे यसरी सम्झिए, ‘मल्ल राजा पनि व्यापारी, हाम्रा पुर्खा पनि व्यापारी भएकाले तिब्बतसँग हाम्रो पनि सम्बन्ध जोड्नुपर्‍यो भनेर मल्ल राजाहरुले काठमाडौँमै बस्नुपर्‍यो, हामीलाई पनि व्यापार सिकाउ भनेर हाम्रा पुर्खालाई यहीँ बसाइएको थियो । काठमाडौँको इन्द्रचोकतिर हाम्रो बसाइ भयो । पञ्चतकिया कश्मिर भन्ने मस्जिद हामीले पायौँ भने कश्मिरबाट आएका हाम्रा पुर्खाहरुको बसाइ असन, इन्द्रचोक वटुतिर भयो ।’

मल्ल राजाहरुसँग दोस्तीपछि उनीहरुको पनि तिब्बतसँग ब्यापार बढेको उनको भनाइ छ । यसरी काठमाडौँमा बसोबास गरेका कारण आफ्नो समुदाय यहाँको संस्कृति तथा पर्वहरुसँग अत्यन्तै निकट रहेको उनले सुनाए ।

‘बाल्यकालको दसैँको बेलाको उल्लास अहिले पनि मिस गरिरहेको हुन्छु’

धार्मिक आस्था मुस्लिम भए पनि बाल्यकालमा दसैँको बेलाको उल्लास आफूले कहिल्यै बिर्सन नसक्ने उनले बताए । दसैँको समयमा बाल्यकालमा सबैभन्दा रमाइलो पक्ष लामो स्कुल बिदा हुनु र धित मरुञ्जेल चङ्गा उढाउन पाउनु रहेको उनको भनाइ छ ।

बाल्यकालको समय स्मरण गर्दै सांसद शाहले भने, ‘बच्चा बेलामा बिदाले नै हामीलाई रमाइलो हुन्थ्यो । हामी जुन परिवेसमा हुर्किएका थियौँ, त्यसको मुख्य विशेषता भनेको नै चङ्गा हो । चङ्गा र लट्टाईका लागि असन, इन्द्रचोक त हव नै हो । टाढा टाढाबाट चङ्गा र लट्टाई लिन मानिसहरु आउने भनेको नै असन, इन्द्रचोक हो । हामी त झन् त्यही ठाउँकै पर्‍यौँ ।’

चङ्गा उडाउनेमा आफूहरू ‘प्रो’ नै मानिने उनले सुनाए । ‘अझ हामी त भारतबाट धागो आयात गर्ने, यस्तो धागोले अरु धागोलाई काट्न सक्छ भनेर विज्ञ नै थियौँ । असन, इन्द्रचोकमा चङ्गा–धागो ल्याएर चङ्गा उडाउने गर्थ्यौँ,’ उनले भने, ‘चङ्गा उडाएर हर्षोल्लासका साथ, क्यासेट प्लेयर बजाएर सबैजना छत छतमा हुन्थ्यौँ, अहिले त्यस्तो हुँदैन । त्यतिबेला त्यो खालको वातावरण थियो । सम्झँदा अहिले पनि त्यो क्षण मिस हुन्छ ।’

यो वर्ष फरक भूमिका र पदीय जिम्मेवारीमा रहेका सांसद शाह यो वर्षको दसैँमा केही दिन खाली समय मिले कतै घुम्न जाने कि भन्ने सोचाइमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप