बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी– सदिरा समिराविक्रमा (श्रीलंका)

बिहीबार, ०९ कात्तिक २०८०, ११ : २९
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । श्रीलङ्काली टोलीका विश्वासिला ब्याट्सम्यान हुन्, सदिरा समिराविक्रमा । २८ वर्षीय सदिराले टोलीका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् । यद्यपि, उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेका छैनन् ।

टोलीलाई आवश्यक पर्दा उनी विकेटकिपरको भूमिका पनि निर्वाह गर्न सक्छन् । जारी विश्वकपमा पनि उनले टोलीका लागि दुई सय ३० रन बनाइसकेका छन् । यी दायाँ हाते ब्याट्सम्यानले जारी विश्वकपको दक्षिण अफ्रिकाविरुद्धको खेलमा २३ रन बनाएका थिए ।

त्यसपछि सदिराले पाकिस्तानविरुद्धको खेलमा टोलीका लागि एक सय आठ रनको योगदान गरेका थिए । त्यो खेलमा उनले आक्रामक ब्याटिङ गर्दै ८९ बलमा दुई छक्का र ११ वटा चौका पनि हिर्काएका थिए । उनले अस्ट्रेलियाविरुद्धको खेलमा भने उनी आठ रनभन्दा अगाडि बढ्न सकेनन् ।

तर, नेदरल्यान्ड्सविरुद्धको खेलमा भने उनले टोलीका लागि अविजित ९१ रनको योगदान गरेका थिए । उनले एक सय सात बलमा सात चौका पनि हिर्काएका थिए । उनकै उत्कृष्ट ब्याटिङका कारण त्यो खेलमा श्रीलंका पाँच विकेटले विजयी भएको थियो । 

सदिराले सन् २०१७ को अक्टोबर २० मा पाकिस्तानविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले देशका लागि २७ एकदिवसीयको २४ पालीमा ३८.४० को औसतले कुल आठ सय ४५ रन बनाएका छन् । 

एकदिवसीय खेलमा उनले एक शतक र ६ वटा अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर एक सय आठ रन हो । उनले त्यो शतक जारी विश्वकपमै हिर्काएका हुन् । उनले पाँचवटा क्याच पनि लिएका छन् । 

यसैगरी उनले श्रीलंकाका लागि आठ टेस्ट खेल्दै २३.४१ को औसतले कुल दुई सय ८१ रन बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर अविजित एक सय चार रन हो । टेस्ट क्रिकेटमा उनले १० वटा क्याच पनि लिएका छन् । 

यसका अतिरिक्त उनले देशका लागि नौवटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । त्यसमा उनले कुल एक सय ११ रन बनाएका छन् । टी—२० मा उनले चार क्याच र दुईवटा स्टम्पिङ पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप