मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

नवजात शिशुको मृत्युदर किन घटाउन सकिएन ?

सोमबार, १३ कात्तिक २०८०, ०६ : ४१
सोमबार, १३ कात्तिक २०८०

काठमाडौँ । नेपालले नवजात शिशुको मृत्युदरलाई कम गर्ने प्रतिबद्धता जनाए पनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन । पाँच वर्ष मुनिका बालबालिकाको मृत्युदर कम भए पनि नवजात शिशुको मृत्युदर कम गर्ने लक्ष्य पूरा गर्न कठिन हुने जनस्वास्थ्यविद्हरू सुनाउँछन् ।

नेपालले सन् २०३० सम्ममा नवजात शिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा १२ सम्म पुर्‍याउने लक्ष्य राखेको छ । २०३५ सम्ममा यो सङ्ख्या १० भन्दा कममा झार्ने भनिएको छ ।

तर, जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क अनुसार अब तोकिएको समयमा नवजात शिशुको मृत्युदर घटाउने उक्त लक्ष्य हासिल गर्न नसकिने प्रस्ट्याउँछ ।

यस सर्वेक्षणमा नवजात शिशु प्रतिहजार जीवित जन्ममा २१ जना कायम छ । २०१६ मा भएको सर्वेक्षणमा पनि नवजात शिशुको मृत्युदर प्रतिहजार जीवित जन्ममा २१ नै थियो । सहरी क्षेत्रमा नवजात शिशुको मृत्युदर १९ प्रतिशत छ भने ग्रामीण क्षेत्रमा २५ प्रतिशत छ ।

सात वर्षको अवधिमा नवजात शिशुको मृत्युदर कम नहुनुले दिगो विकास लक्ष्य हासिल गर्न असफल हुने देखिन्छ । यस्तै, एक वर्षसम्मका शिशुको मृत्युदर प्रतिहजार २८ छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार नेपालमा वर्षमा १३ हजार नवजात शिशुको मृत्यु हुन्छ । यस्तै हरेक दुई घण्टामा तीन जना नवजात शिशुको मृत्यु हुन्छ ।

नवजात भनेको जन्मिएको २८ दिनसम्मको शिशुलाई भनिन्छ । कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा रामहरि चापागाईँले दिगो विकास लक्ष्य हासिल गर्न कठिन हुने सुनाए ।

सरकारबाट लक्ष्य अनुसार नवजात शिशुको मृत्युदर घटाउन नसकेको उनको भनाइ छ । नवजात शिशुको मृत्युदर घटाउन सम्बन्धित निकायले प्रभावकारी कार्यक्रम गर्न नसकेको बालरोग विशेषज्ञहरू बताउँछन् ।

यी हुन् नवजात शिशुको मृत्युका कारण

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बालरोग विशेषज्ञ, नवजात शिशु विभागका प्रमुख डा. कल्पना उपाध्याय सुवेदीले नेपालमा नवजात शिशुको मृत्युको प्रमुख कारणमध्ये समय नपुगी जन्मिएर कम तौल भएका, जन्मिँदै निसास्सिएर जन्मिने र रगतमा सङ्क्रमण फैलिनु मुख्य रहेको बताइन् ।

पछिल्लो समय अस्पतालमा प्रसूति गराउने दर बढेसँगै बर्थडिफेक्ट अर्थात् जन्मजात नै विकलाङ्ग भएर जन्मने दर बढेकाले पनि नवजात शिशुको मृत्यु दर बढेको सुवेदीको भनाइ छ ।

जन्मजात नै ठुलो टाउको भएको शिशु जन्मने, श्वास नली राम्ररी नबन्ने, पेट बाहिर आउने जस्ता समस्याहरू बढ्दै गएकाले नवजात शिशुको मृत्यु दर बढेको उनको ठहर छ ।

सुवेदीले भनिन्, ‘विगतमा जन्मजात शिशु बर्थडिफेक्ट हुँदा नोटिस नगरेको हुन सक्छ । हाल अस्पतालमा सुत्केरी गराउने दर बढ्दै गएकाले विकलाङ्ग शिशुको आँकडा गणनामा आएको छ ।’

नवजात शिशु रोगसँग लड्ने क्षमता कमजोर हुने हुँदा बाहिरबाट हुने सङ्क्रमण जस्तै, सरसफाइको कमी, आमामा इन्फेक्सन भएमा नवजात शिशुमा सङ्क्रमण हुने उनले बताइन् ।

‘सुत्केरी आमामा इन्फेक्सन भएमा आमालाई चाँडै निको हुन सक्छ,’ सुवेदीले भनिन्, ‘सोही इन्फेन्क्सन नवजात शिशुलाई भएमा निको नहुन पनि सक्छ, जसका कारण मृत्यु हुन पनि सक्छ ।’

यस्तै, गर्भमा हुँदा हुने इन्फेक्सन, जन्मिदा हुन सक्ने सङ्क्रमण आदिका कारण पनि जोखिम बढ्ने उनको भनाइ छ । आमाको सालबाट पनि नवजात शिशुको शरीरमा सङ्क्रमण हुन सक्ने उनले बताइन् ।

‘गर्भावस्था ठिक छ कि छैन भनेर थाहा पाउन सकिँदैन । गर्भावस्थाबारे साधारण अल्ट्रासाउन्ड गराउँदा पनि कतिपय रोग थाहा हुँदैन । जन्मिसकेपछि मात्रै नवजात शिशुमा विभिन्न किसिमका रोग देखिने हुँदा नवजात शिशु मृत्युदर बढी भएको हो,’ उनले भनिन् ।

बालरोग विशेषज्ञ डा चापागाईँले मृत्यु हुने नवजात शिशुमध्ये करिब  ८५ प्रतिशतको मृत्यु जन्मिएको ४८ घण्टाभित्रै हुने गरेको बताए । त्यसैले बर्थिङ सेन्टर सङ्क्रमण मुक्त र प्रसूति गराउने स्वास्थ्यकर्मी तालिम प्राप्त तथा अनुभवी आवश्यक पर्ने उनको भनाइ छ ।

सरकारले नवजात शिशुको मृत्युदरमा कमी ल्याउन प्रसूति सेवा गुणस्तरीय बनाउनुको विकल्प नभएको उनी सुनाउँछन् । दिगो विकास लक्ष्य हासिल गर्नका लागि थप योजना बनाएर सम्बन्धित निकायले प्रदेश, स्थानीय तहमा कार्यक्रम बनाएर जान आवश्यक रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप