बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
ट्राफिक कारबाही

तीव्र गतिको सवारीमा ट्राफिकको कारबाही तीव्र

हाइ स्पिड र लेन क्रसको कारबाही बढ्यो, मापसे घट्यो
बुधबार, १५ कात्तिक २०८०, ११ : ४०
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । काठमाडौँको कलंकीदेखि कोटेश्वर र कोटेश्वरदेखि सूर्यविनायक सडक ६ लेनको बनाइएको छ । ६ लेनको सडक भएपछि सवारीसाधनहरू तीव्र गतिमा गुडाउँदा ती स्थानमा हुने दुर्घटनामा पनि अत्यधिक वृद्धि भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा विगत तीन आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट ५ सय ४४ जनाको मृत्यु भएको छ ।

तीन आर्थिक वर्षको दुर्घटनामा परी काठमाडौँ उपत्यकाको दुर्घटनामा मृत्यु भएका ५ सय ४४ जनामध्ये अधिकांश दुर्घटनाको कारण भनेको चालकको लापरबाही र तीव्र गति नै रहेको छ ।

सडक फराकिलो बनेपछि चालकले अत्यधिक तीव्र गति र लापरबाहीपूर्वक सवारीसाधन चलाउन थालेपछि ट्राफिक प्रहरीले काठमाडौँका तीन स्थानमा स्पिड राडार विथ नम्बर प्लेट रिकग्नेसन सिस्टम अर्थात् एएनपीआर क्यामेरा जडान गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कोटेश्वर, थसिखेल र धोबिघाटमा यस्तो क्यामेरा जडान गरेको छ भने ८ थान लिडार स्पिड गनबाट तीव्र गतिमा गुड्ने सवारीसाधनलाई कारबाही गर्ने गरेको छ ।

ट्राफिक प्रहरीले एएनपीआर क्यामेरा जडान र लिडार स्पिड गनबाट अनुगमन र कारबाही सुरु गरेपछि यतिबेला तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई गर्ने कारबाहीमा पनि ६६ प्रतिशतले वृद्धि भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार गत आर्थिक वर्षमा तीव्र गतिमा सवारीसाधन चलाएको भन्दै ५८ हजार ७०२ जना सवारी चालक कारबाहीमा परेकामा यस आर्थिक वर्षको पहिलो तीन महिनामै २४ हजार ३७७ जना चालक कारबाहीमा परिसकेका छन् । गत आर्थिक वर्षमा मासिक औसतमा ४ हजार ८ सय ९२ जना चालक तीव्र गतिमा सवारीसाधन चलाएका कारण कारबाहीमा परेकामा यस आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्क केलाउँदा मासिक औसतमा ८ हजार ११२ जना सवारी चालक कारबाहीको दायरामा परेको देखिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टका अनुसार एएनपीआर क्यामेरा जडान र लिडार स्पिड गनका कारण तीव्र गतिमा सवारी साधन चलाउनेमाथिको कारबाही तीव्र भएको हो । कारबाही बढाउनुको कारण नियम विपरीत सवारी साधन चलाएको मात्रै नभई सवारी दुर्घटना न्यूनीकरणका लागि पहल भएको एसएसपी भट्टले बताए ।

उपत्यकाको तीन स्थानमा जडान भए एएनपीआर क्यामेरा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार ट्राफिक प्रहरीले अहिले कोटेश्वरको भाटभटेनी नजिक, थसिखेल र धोबीघाट नयाँबाटोको सडकमा एएनपीआर क्यामेरा जडान गरी तीव्र गतिमा सवारी साधन चलाउनेमाथि निगरानी र कारबाही गरिरहेको छ । थप स्थानमा पनि एएनपीआर क्यामेरा जडान गर्ने तयारी भएको ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसैगरी म्यानुअल्ली रुपमा ८ वटा लिडार स्पिड गनबाट समेत तीव्र गतिको निगरानी र कारबाही गरिरहेको छ । यस आर्थिक वर्षको सुरुवातबाट तीव्र गतिमा सवारी चलाएमा कारबाही गर्ने नीति लिएको ट्राफिक प्रहरीले सोही अनुपातमा कारबाहीसमेत गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टका अनुसार फराकिलो सडक भएको चक्रपथ क्षेत्रमा अधिकतम ५० किलोमिटर प्रतिघण्टाका दरले सवारी साधन चलाउन छुट दिइएको छ । त्योभन्दा बढी गतिमा सवारी साधन चलाएको अवस्थामा उनीहरु ट्राफिक प्रहरीको कारबाहीमा पर्ने गरेका छन् । भित्री सडक वा सहरी क्षेत्रमा भने अधिकतम ३० किलोमिटर प्रतिघण्टाका दरले सवारी साधन चलाउन पाउने ट्राफिक प्रहरीले जनाएको छ ।

कसरी काम गर्छ एएनपीआर क्यामेराले ?

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीन स्थानमा एएनपीआर क्यामेरासहित सवारीको गति हेर्न राडारसमेत जडान गरेको छ । जब सवारी साधनको गति राडारमा देखा पर्छ र सवारी साधनको गति ५० किलोमिटर प्रतिघण्टाभन्दा बढी हुन्छ, त्यसको जानकारी राडारले क्यामेरालाई पठाउँछ । त्यसलगत्तै क्यामेराले उक्त सवारीसाधनको भिडियो र नम्बर प्लेटको फोटो खिचेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको सर्भरमा पठाउँछ ।

ट्राफिक नियमको उल्लङ्घन गरेको तथ्याङ्क सर्भरमा प्राप्त भएलगत्तै कन्ट्रोलरुममा बसेका ट्राफिक प्रहरीले सञ्चारसेट मार्फत उक्त सवारी साधनलाई तत्कालै कारबाही गर्न सर्कुलर जारी गर्न सक्छ भने उक्त सवारी साधन तत्काल कारबाहीमा नपरेमा पनि पछि कारबाहीमा पर्न सक्नेछ ।

ट्राफिक प्रहरीको कन्ट्रोल रुममा सडक अनुशासनको उल्लङ्घन गरेको तथ्याङ्क प्राप्त भएलगत्तै ट्राफिक प्रहरीले यातायात कार्यालयसँग समन्वय गरेर उक्त सवारी साधन कसको नाममा दर्ता छ र सम्पर्क नम्बर कति राखिएको छ, सो तथ्याङ्कको आधारमा सवारी धनीलाई सम्पर्क गरी जरिवाना तिर्न आउन सम्पर्क गर्नेछ । सडक अनुशासन उल्लङ्घन गर्ने व्यक्ति ट्राफिक प्रहरीमा जरिवाना तिर्न नआएमा ती सवारी साधन धनी वा चालकका कागजात नियन्त्रणमा लिई सवारी साधनसम्म नियन्त्रणमा लिने सक्ने व्यवस्था गरिएको छ ।

हाइ स्पिड र लेन क्रसको भ्वाइलेसन बढ्यो, मापसे घट्यो

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा हाई स्पिड र लेन क्रस भ्वाइलेसनको घटना बढेको भए पनि मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेको सङ्ख्यामा भने कमी आएको छ ।

गत आर्थिक वर्षमा कुल ५३ हजार ८९८ जना सवारी चालक मादक पदार्थ सेवन गरी सवारी चलाएको कारण कारबाहीमा परेका थिए । गत आर्थिक वर्षमा औसतमा मासिक ४ हजार ४ सय ९२ जना सवारी चालक मादक पदार्थ सेवन गरी सवारी चलाएका कारण कारबाहीमा परेकामा यस आर्थिक वर्षको पहिलो तीन महिनामा ८ हजार ३ सय २४ जना सवारी चालक मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको कारण कारबाहीमा परेका छन् । यस आर्थिकको पहिलो तीन महिनामा औसतमा मासिक २ हजार ७ सय ७५ जना सवारी चालक मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका कारण कारबाहीमा परेका छन् ।

तर हाई स्पिड र रेड लाइट भ्वाइलेसनको घटना भने बढेको छ । गत आर्थिक वर्षमा कुल ५९ हजार ७ सय २ वटा सवारी साधन हाइ स्पिडमा चलाएका कारण कारबाहीमा परेका थिए । गत आर्थिक वर्षको तथ्याङ्क अनुसार औसतमा मासिक ४ हजार ८ सय ९२ सवारी साधन हाइ स्पिडका कारण ट्राफिक भ्वाइलेसनमा परेका थिए । तर यस आर्थिक वर्षको पहिलो तीन महिनामा २४ हजार ३ सय ३७ वटा सवारी साधन हाइ स्पिडमा सवारी साधन चलाएका कारण कारबाहीमा परिसकेका छन् ।

यस आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्क हेर्दा औसतमा मासिक ८ हजार १ सय १२ जना सवारी चालक हाइ स्पिडमा सवारी साधन चलाएका कारण कारबाहीमा परिसकेका छन् । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो तीन महिनामा ट्राफिक प्रहरीले तीव्र गतिमा चलेका सवारी साधनलाई कारबाही तीव्र बनाउँदा गत आर्थिक वर्षको भन्दा ६६ प्रतिशतले कारबाहीमा वृद्धि भएको छ ।

त्यसैगरी ट्राफिक प्रहरीले लेन क्रस भ्वाइलेसनको घटनामा संलग्न सवारी साधन र चालकलाई समेत कारबाही बढाएको छ । गत आर्थिक वर्षमा कुल ३९ हजार ५ सय ९६ वटा सवारी साधन र चालकलाई लेन अनुशासनको कारबाही गरेकामा औसतमा मासिक ३ हजार ३ सय सवारी साधन कारबाहीमा परेका थिए । तर यस आर्थिक वर्षको पहिलो तीन महिनामा १४ हजार ७ सय २७ सवारी साधनलाई लेन अनुशासन कायम नगरेको भन्दै कारबाही भइसकेको छ ।

यस आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्याङ्क हेर्दा औसतमा मासिक ४ हजार ९ सय ९ सवारी साधन र चालक लेन क्रस गरेको कसुरमा कारबाहीमा परिसकेका छन् ।

दुर्घटना र मृत्यु घटाउने उद्देश्य

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र भट्टका अनुसार मादक पदार्थ सेवन, हाइ स्पिड, लेन क्रस आदिमा निगरानी र कारबाही बढाउनुको कारण दुर्घटना न्यूनीकरण गर्नु नै रहेको बताउँछन् । एसएसपी भट्ट भन्छन्, ‘काठमाडौँ उपत्यकामा भएका अधिकांश दुर्घटनाको कारण भनेको हाइ स्पिड र चालकको लापरबाहीका नै छन् । हाइ स्पिड कन्ट्रोल र लेन अनुशासन कायम गर्न सकियो भने दुर्घटना आधाभन्दा बढीले घट्छ । त्यसकारण यी दुई विषयको कारबाही बढाउनुको उद्देश्य पनि दुर्घटना घटाउनु नै हो ।’

विगत तीन आर्थिक वर्षको तथ्याङ्क केलाउँदा पनि आर्थिक वर्ष २०७७/०७८ मा कुल ९ हजार ५ सय ९५ पटक सवारी दुर्घटना हुँदा ८२ प्रतिशत अर्थात् ७ हजार ८ सय ७० दुर्घटना चालकको लापरबाहीका कारण भएको छ भने ८ सय १० वटा दुर्घटना तीव्र गतिमा सवारी चलाएका कारण भएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा आइपुग्दा १० हजार ७ सय ३३ दुर्घटना हुँदा करिब ५८ प्रतिशत अर्थात् ६ हजार १ सय ९१ दुर्घटना चालकको लापरबाही तथा ३३ प्रतिशत अर्थात् ३ हजार ५ सय ४३ दुर्घटना तीव्र गतिका कारण भएका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा पनि कुल १० हजार ६ सय ७५ दुर्घटना भएकामा ३० प्रतिशत अर्थात् ३ हजार २ सय १९ दुर्घटना तीव्र गतिका कारण भएका छन् । दुर्घटनाका अन्य कारणमा मादक पदार्थको सेवन, यान्त्रिक गडबडी, ओभरटेक, मौसम तथा सडकको अवस्था र पैदलयात्रुको लापरबाहीका कारण पनि भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप