विजय गच्छदारले भने, ‘सिध्याइदिने अरे...’
सारांश
- पूर्व उपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
- गच्छदारले थापालाई विशेष महाधिवेशन र अदालती प्रक्रियाबाट राजनीतिक रूपमा सभापति भए पनि अहङ्कार नराख्न र अग्रजहरूबाट सिक्न आग्रह गरे ।
- उनले पार्टीभित्र पुराना नेताहरूलाई किनारा लगाउन खोजिएको भन्दै आक्रोश व्यक्त गरे र कांग्रेसजनहरूलाई नडराउन आग्रह गरे ।
विराटनगर । नेपाली कांग्रेसका पूर्व उपसभापति विजयकुमार गच्छदारले पार्टी सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
विराटनगरमा आइतबार आयोजित संस्थापन इतर पक्ष काँग्रेसको एकता भेलालाई सम्बोधन गर्दै उनले गगन थापालाई विशेष महाधिवेशन र अदालती प्रक्रियाबाट राजनीतिक रूपमा सभापति भएपनि अहङ्कार नराख्न र अग्रजहरूबाट सिक्न आग्रह गरे ।
‘गगन थापाजी, तपाईं कांग्रेसको सभापति भइसक्नुभयो विशेष अधिवेशनबाट । नट ओन्ली द्याट, सर्वोच्च अदालतबाट तपाईं वैधानिक रूपले बलियो सभापति बन्नुभएको छ । अनि सभापतिको के भूमिका हुन्छ, तपाईंलाई आउँदैन भने सिक्नुस् ! कृष्ण सिटौला गुरूहरूसँग सिक्नुस्, मिनेन्द्र रिजालसँग सिक्नुस्,’ गच्छदारले भने ।
पार्टीभित्र पुराना र स्थापित नेताहरूलाई किनारा लगाउन खोजिएको भन्दै गच्छदारले आक्रोश व्यक्त गरे । ‘सिध्याइदिने अरे ! विजय गच्छदार, कृष्ण सिटौला, शेखर कोइरालाहरूलाई सिध्याइदिने अरे... शशांक कोइरालालाई सिध्याइदिने अरे... अनि कोइरालाहरू कहिलेकाहीँ भड्किनुहुन्छ । त्यसैले सुन्नुस् साथीहरू, तपाईंहरुले नै गगन थापालाई महामन्त्री बनाइ दिनुभएको होइन ?, कसले बनाइदियो ?,’ डाक्टर शेखरलाई इंगित गर्दै उनले भने, ‘गगन थापाजी तपाईं यसैगरी सभापति चलाएर नेपाली कांग्रेसलाई ठिक ठाउँमा पुर्याउन सक्नुहुन्छ ? नेतृत्व दिन सक्नुहुन्छ ? दिन सक्नुहुन्न ।’
उनले सभापति थापालाई पार्टीका वरिष्ठ नेताहरूसँग संवाद गर्न र उनीहरूको मान–सम्मान राख्न आग्रह गरे । ‘मैले सभापतिजीलाई खबर पठाइराखेको छु— तपाईं नेताहरूसँग कुरा गर्नुस्, नेताहरूको मान–सम्मान कसरी राख्न सक्नुहुन्छ गर्नुस् । मलाई पनि तपाईं दर्शन भेट दिनुस् ! म सहयोग गर्न चाहन्छु, कसरी तपाईं पार्टीलाई मिलाएर लैजान चाहनुहुन्छ, म सहयोग गर्न तयार छु,’ गच्छदारले भने ।
नेता गच्छदारले आफू कुनै पनि डर वा धम्कीबाट विचलित नहुने स्पष्ट पार्दै कांग्रेसका कार्यकर्ताहरूलाई पनि नडराउन आग्रह गरे । उनले विगतमा सङ्कटको समयमा ज्यान हत्केलामा राखेर लोकतन्त्रका लागि लडेको स्मरण पनि गरे ।
‘म डराएर राजनीति गरेको होइन । जुन बेला गोली हानेर सोझै मार्ने आदेश हुन्थ्यो, त्यो बेला नडराएको मान्छे म । डर नामको चिज मैले उहिले नै त्यागिसकेको छु । त्यसैले तपाईं कांग्रेसजनहरू पनि नडराउनुस्, आफ्नो पुर्खाहरूबाट सिक्नुस्,’ उनले भने, ‘गला मिलाएर, दिलमा दिल मिलाएर, हातमा हात मिलाएर एकै ठाउँमा उभिएर एकताको सन्देश दिन सक्यौँ भने मात्र कांग्रेस जोगिन्छ ।’
गच्छदारले नेता शेखर कोइरालालाई पार्टीको बृहत्तर हितका लागि आफ्नो अहम् (इगो) त्याग्न र फराकिलो छाती बनाउन सुझाव दिए ।
‘तपाईंहरू पनि धेरै इगोको कुरा नगर्नुस् । इगोको कुरा गर्दाखेरि मैले नेपाली कांग्रेस विभाजन भएको देखेको छु । म शेखर दाइलाई पनि सन्देश दिन चाहन्छु– तपाईंहरू आफ्नो स्वार्थभन्दा माथि उठ्नुस् । तपाईं पनि एकदम ठुलो छाती लिएर जानुस्, ठुलो छाती नलिइकन हुँदैन,’ गच्छदारले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
-
‘लिटिल मिस एन्जल’को उपाधि आर्याहीलाई
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण