रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित परिणामहरूलाई बदर गर्ने निर्णय गरेको छ।
- आयोगले उम्मेदवार र सदस्यहरूले दिएको सप्रमाण उजुरीका आधारमा अध्ययन गर्दा निर्वाचनमा गम्भीर त्रुटिहरू भेटिएको बताएको छ।
- निर्वाचन प्रक्रिया बदर हुनुमा प्रक्रियागत त्रुटि, कार्यविधिको उल्लंघन, सर्वस्वीकार्यताको अभाव र समावेशी प्रतिनिधित्वमा अवरोध जस्ता चार वटा तथ्य अगाडि सारिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित परिणामहरूलाई बदर गर्ने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले उक्त अधिवेशनका क्रममा भएका प्रक्रियाहरू विधान र कार्यविधि विपरीत भएको ठहर गर्दै खारेज गर्ने निर्णय गरेको हो।
आयोगका अनुसार जिल्लाका उम्मेदवार र सदस्यहरूले दिएको सप्रमाण उजुरीका आधारमा अध्ययन गर्दा निर्वाचनमा गम्भीर त्रुटिहरू भेटिएको बताएको छ । आयोगले निर्वाचन बदर गर्नुका मुख्य चार वटा आधारहरू सार्वजनिक गरेको छ।
जिल्ला अधिवेशनका क्रममा भएका कार्यहरू गैर प्रक्रियागत र विधान विपरीत भएकाले निर्वाचनको निष्पक्षता र वैधता खण्डित भएको निष्कर्ष निकालेको छ । कैलालीमा नयाँ प्रक्रियामार्फत पुनः अधिवेशन हुने वा नहुने भन्नेबारे थप जानकारी दिएको छैन । तर निर्वाचन प्रक्रिया बदर हुनुमा आयोगले चार वटा तथ्य अगाडि सारेको छ।
- प्रक्रियागत त्रुटि: प्राप्त तथ्य र उजुरीका आधारमा निर्वाचनको न्यूनतम आधारभूत प्रक्रियासमेत पालना नभएको पाइएको ।
- कार्यविधिको उल्लंघनः मतदान र मतगणनाका लागि तय गरिएका स्थापित नियम र निर्वाचन कार्यविधिको ठाडो उल्लंघन भएको ।
- सर्वस्वीकार्यताको अभाव: विभिन्न पदका अधिकांश मुख्य उम्मेदवारहरूले निर्वाचन प्रक्रियाप्रति लिखित असहमति जनाउँदै प्रक्रिया नै बहिष्कार गरेको ।
- समावेशी प्रतिनिधित्वमा अवरोध: स्थापित नामावली बमोजिमका योग्य सदस्य तथा प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नगरिएको ।
अधिवेशनबाट निर्वाचित कार्य समिति नै भङ्ग भएपछि आन्तरिक विवाद चर्किएको छ । निर्वाचित कार्य समितिका पदाधिकारीले चुनावी प्रतिस्पर्धामा सभापतिका दाबेदार रहेका महेश चौधरी र हरि रेग्मीको दबाबमा निर्वाचन प्रक्रिया बदर गरिएको आरोप लगाएका छन् ।
‘पाँच वटा निर्वाचन क्षेत्र र १३ वटा पालिकाका सभापति बसेर गरिएको निर्णयका आधारमा अधिवेशन सम्पन्न भएको हो । तर अहिले निर्वाचित समितिलाई मान्यता नदिने गरी निर्वाचन आयोगबाट पत्र आएको छ । यसबारे हामी कानुनी लडाइँ लड्छौँ । सबै निर्वाचन क्षेत्र र पालिकाका पदाधिकारीले संयुक्त रूपमा हस्ताक्षर गरी पत्र पठाउने तयारीमा हामी छौँ’, सचिव मदनराज जोशीले भने ।
अधिवेशनबाट कवीन्द्र ठकुल्लाको नेतृत्वमा १० सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण