आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित

आइतबार, ३१ जेठ २०८३, २० : ००
आइतबार, ३१ जेठ २०८३

सारांश

  • नेकपा एमाले बागमती प्रदेशका बहुमत नेता–कार्यकर्ता पार्टी पुनर्गठन र पुनर्संरचनाको पक्षमा उभिएपछि पुनर्गठन पक्षधर नेता–कार्यकर्ता उत्साहित बनेका छन् ।
  • काठमाडौंको जडिबुटीमा सम्पन्न भेलामा सहभागी ८० प्रतिशत नेता–कार्यकर्ताहरूले अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने ठहर गर्दै नेतृत्व परिवर्तनसहित पार्टीको पुनर्संरचना गर्नुपर्ने धारणा राखेका थिए ।
  • बागमती भेलाको निष्कर्ष सुनेपछि अध्यक्ष केपी शर्मा ओली आक्रोशित हुनुभएको छ भने उपाध्यक्ष पौडेल र महासचिव पोखरेल उत्साहित देखिएका छन् ।

काठमाडौं । पार्टी पुनर्गठन र पुनर्संरचनाको पक्षमा नेकपा एमाले बागमती प्रदेशका बहुमत नेता–कार्यकर्ता उभिएपछि पुनर्गठन पक्षधर नेता–कार्यकर्ता उत्साहित बनेका छन् ।

बागमतीपछि अन्य सबै प्रदेशमा यस्ता भेला र सुझाव सङ्कलन गर्ने तयारीमा रहेको नेकपा एमालेका लागि बागमतीको सन्देश अन्य प्रदेशमा समेत प्रवाह हुने भएको छ । जसले एमालेभित्रको आन्तरिक किचलो बढ्दै जाने र अन्ततः पार्टी चोइटिनेसम्मको अवस्था आउने स्वयम् नेताहरूले नै स्वीकार गर्न थालेका छन् ।

यसको सङ्केत अरू कसैले नभई पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयम्‌ले शनिबार गुण्डुमा केही नेताहरूको संवादका क्रममा गरिसकेका छन् ।

काठमाडौंको जडिबुटीमा शनिबार सम्पन्न चुनावी समीक्षा र पुनर्गठन कार्यदलको बागमती प्रदेशस्तरीय भेलामा सहभागी ८० प्रतिशत नेता–कार्यकर्ताहरूले अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने ठहर गर्दै नेतृत्व परिवर्तनसहित पार्टीको पुनर्संरचना गर्नुपर्ने धारणा राखेका थिए ।

‘अहिलेकै अवस्था र यही नेतृत्वमा पार्टी अघि बढ्न सक्दैन । पार्टी पुनर्गठन र पुनर्संरचना आवश्यक छ भन्ने सार ८० प्रतिशत नेताहरूको थियो’, प्रदेशस्तरीय एक नेताले रातोपाटीसँग भने ।

त्यसमध्येका एक नेता आनन्द पोखरेलले पुनर्जागरणको पक्षमा रहेका वा विपक्षमा रहेकाहरूले एमालेलाई कमजोर बनाएर वा फुटको दिशामा धकेलेर कुनै किसिमको पुनर्जागरण सम्भव नहुने चेतावनी दिएका थिए ।

पार्टीभित्रको वैचारिक सङ्घर्षलाई सङ्गठनभित्रै राखेर, कार्यकर्ताको बलमा लोकतान्त्रिक प्रक्रियाबाट अघि बढाउनुपर्नेमा जोड दिँदै पुनर्जागरणको लक्ष्य पार्टी तोड्नु होइन, पार्टीलाई पुनर्जीवित गर्नु रहेको पोखरेलको भनाइ थियो ।

पोखरेलले आलोचनालाई शत्रुता ठान्ने प्रवृत्ति नेतृत्वले त्याग्नुपर्ने सुझाव दिँदै भनेका थिए, ‘नेतृत्व पक्षले आलोचनालाई शत्रुता ठान्ने प्रवृत्ति त्याग्नुपर्छ । पार्टीभित्र उठेका प्रश्नहरूलाई दमन गरेर होइन, संवाद गरेर समाधान गर्नुपर्छ ।’ पोखरेलले भेलामा राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘इतिहासले देखाएको छ कि बहसलाई दबाइएका सङ्गठनहरू अन्ततः कमजोर भएका छन्, जबकि बहसलाई संस्थागत गर्ने सङ्गठनहरू दीर्घकालसम्म टिकेका छन् ।’

गत फागुन २१ को निर्वाचनपछि एमालेमा ओलीमाथि नेतृत्व छाड्न दबाब छ । तर, ओली त्यसमा सहमत छैनन् । बरु उनी पार्टी पुनर्गठनको पक्षमा लागेका नेताहरूले विपक्षीको योजना र षड्यन्त्रअनुसार पार्टी फुटाउन सक्ने भन्दै सचेत रहन आफूनिकटका नेता–कार्यकर्ताहरूलाई अल्मल्याइरहेका छन् ।

‘यदि एमालेलाई भविष्यमा पनि नेपालको प्रमुख कम्युनिस्ट शक्ति बनाइराख्ने हो भने पार्टीभित्र उठेका पुनर्जागरणका आवाजलाई सुन्नैपर्छ’, एमालेका एक पदाधिकारी भन्छन्, ‘अध्यक्षले यसलाई विभाजनको रूपमा होइन, सुधारको आग्रहका रूपमा बुझ्नुपर्छ ।’

  • पौडेल–पोखरेल उत्साहित, ओली आक्रोशित !

बागमती प्रदेशको उक्त भेलामा नेताहरू आफ्नो विपक्षमा उभिएको थाहा पाएलगत्तै अध्यक्ष केपी शर्मा ओलीले सोही दिन शनिबार बेलुका प्रदेशका केही नेताहरूलाई निजी निवास गुण्डुमै बोलाएर छलफल गरेका थिए । उक्त छलफलमा ओलीले पुनर्गठन पक्षधर नेताहरूलाई ‘लोभी’ र ‘पापी’ को संज्ञा मात्र दिएनन्, उनीहरूप्रति आक्रोशसमेत व्यक्त गरे । साथै उनले आफूले केही गल्ती नगरेकाले आफूलाई कुन विधिबाट हटाउँछन् र कसले नेतृत्व गर्छन् हेरौँ भन्दै चेतावनीको शैलीमा प्रतिप्रश्न गरेका थिए ।

‘बागमती भेलाको निष्कर्ष सुनेपछि अध्यक्ष ओली आक्रोशित मुद्रामा प्रस्तुत हुनुभयो’, शनिबार साँझ गुण्डु पुगेका एक नेताले भने, ‘विधि–पद्धति मैले मात्र कुल्चेको हो ? उहाँ (विष्णु, शङ्कर र पीएस) हरूले नै होइन देवत्वकरण गरेको ?’ ओलीको प्रश्न थियो ।

आफ्नो विपक्षमा माहोल बढ्दै गएको थाहा पाएका ओली आक्रोशित बनिरहेका बेला उपाध्यक्ष पौडेल, महासचिव पोखरेललगायतका नेताहरू भने उत्साहित देखिएका छन् ।

सोही सङ्केतस्वरूप उपाध्यक्ष पौडेलले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज नेकपा (एमाले), बागमती प्रदेश सङ्गठन कमिटीको आयोजनामा काठमाडौंको जडिबुटीमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका सम्बन्धमा सुझाव सङ्कलन कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । छलफलमा भाग लिनुहुने र सशक्त ढङ्गले आ–आफ्ना विचार तथा विश्लेषण प्रस्तुत गर्नुहुने सम्पूर्ण कमरेडहरूलाई हार्दिक धन्यवाद ।’

त्यति मात्र होइन, पौडेलले निर्वाचनको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न सक्षम हुने अपेक्षा व्यक्त गरेका छन् । ‘जरुर हामी कमरेडहरूले अपेक्षा गर्नुभएअनुरूप नै आमनिर्वाचन–२०८२ को वस्तुनिष्ठ समीक्षा गर्न र नेकपा (एमाले) को गुमेको जनमत र प्रतिष्ठा पुनर्स्थापित हुने गरी पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न सक्षम हुनेछौँ’, पौडेलले भनेका छन् ।

उपाध्यक्ष पौडेल मात्र होइन, महासचिव शङ्कर पोखरेलले पनि पौडेलको आशयप्रति समर्थन र अध्यक्ष ओलीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै जनभावनाविपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने जिकिर गरेका छन् ।

‘जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन । जनभावनाको सम्मान गर्दै जनसम्बन्ध सुदृढ गरौँ, किनकि जनता नै इतिहासका निर्माता हुन्’, महासचिव पोखरेलले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । पोखरेलको यो भनाइ अध्यक्ष ओली पार्टीका आम नेता–कार्यकर्ता र जनभावनाविपरीत अभिव्यक्ति दिन तल्लीन रहेको अर्थका रूपमा बुझिएको एमाले नेता–कार्यकर्ताहरू नै बताउँछन् । पौडेल र पोखरेल विगत लामो समयदेखि ओलीको रक्षाकवचका रूपमा उभिँदै आए पनि निर्वाचनपछि पार्टी पुनर्संरचनाको पक्षमा खुल्दै आएका छन् ।

एमालेभित्र पार्टीको पुनर्संरचना र पुनर्गठनको पक्ष–विपक्षमा मतहरू प्रकट भइरहँदा अर्का एमाले नेता डा. विजय सुब्बाले दुवै पक्षलाई सङ्केत गर्दै अन्ततः एमाले सक्ने नै भयौ होइन ? भनेर प्रश्न गरेका छन् ।

‘गम्भीर आत्मसमीक्षा र नेतृत्व पुनर्गठनको विषयमा बोल्नुपर्नेमा को कतापट्टि भन्ने कुरा सुरु गरेर अन्ततः एमाले सक्ने भयौ हैन ?’, नेता सुब्बाले गम्भीर प्रश्न उठाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप