इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
सारांश
- नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा 'बृहत् एकता, साझा प्रतिबद्धता' नारासहित प्रदेश भेला आयोजना गर्यो।
- भेलाले पार्टी विभाजनको सम्भावना र शेखर कोइराला इतर पक्षको सर्वमान्य नेता बन्ने दुई सन्देश दिएको छ।
- नेताहरूले पार्टी विभाजनको चिन्ता व्यक्त गर्दै कोइरालालाई एकताको नेतृत्व लिन आग्रह गरे।
विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा आइतबार ‘बृहत् एकता, साझा प्रतिबद्धता’ भन्ने नाराका साथ प्रदेश भेला गर्यो ।
कार्यक्रमको आयोजक प्रदेश समिति भनिए पनि प्रदेश समितिका सभापति उद्धव थापा अनुपस्थित रहे । डा. शेखर कोइरालालाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा महामन्त्री भुपेन्द्र राईले सभापतित्व गरे भने विराटनगर महानगरपालिकाका सभापति दिपक चापकागाईंले कार्यक्रम सञ्चालन गरे ।
कांग्रेस सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिले एकलौटी ढंगले क्रियाशील सदस्यता अद्यावधिक र १५औँ महाधिवेशनको तयारी गरिरहेको बेला संस्थापन इतर पक्षमा रहेका सबै समूहहरू (देउवा, कोइराला र सिटौला लगायत)को यो भेलाले दुई वटा सन्देश दिएको छ । पहिलो सन्देश पार्टी विभाजन हुनसक्छ र दोस्रो इतर पक्षको नेता कोइराला सर्वमान्य हुन् ।
नेताहरूले सोही कुरालाई बल पुग्ने गरी भाषण गरे । कांग्रेस नेता बलबहादुर केसीले नामै लिएर डाक्टर शेखरलाई नेतृत्व लिएर अगाडि बढ्न आग्रह गरे । ‘नेपाली कांग्रेसलाई मिलाएर लिएर जानुपर्छ । यसको नेतृत्व शेखर कोइरालाले लिनुभएको छ, हामीले साथ दिनुपर्छ,’ केसीले भने ।

केसीले मात्रै होइन पार्टीका पूर्व महामन्त्री शशांक कोइरालाले पार्टी स्पष्ट रुपमा विभाजन भइसकेको दाबी गरे । ‘आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,’ उनले भने, ‘अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ ।’ उनले यति मात्रै भनेनन्, यसको नेतृत्व अब उनकै दाजु डाक्टर शेखर कोइरालाले गर्नेछन् ।
‘पार्टी एकता भएपछि मात्रै कांग्रेसमा शक्ति आउँछ । पार्टी एकताको लागि यो भेला गर्नुपर्यो । मेरो दाइ पनि हो । शेखर दाईले पार्टी एकताको नेतृत्व गरिरहनुभएको छ । हामी उहाँको साथमा छौं,’ शशांकले भने । गगन थापाले अब पार्टी चलाउन नसक्ने उनको दाबी थियो । ‘यत्रो मानिसलाई बाहिर राखेर पार्टी चलाउन सक्नुहुन्छ ?,’ उनको गगन थापालाई प्रश्न थियो ।
कांग्रेसका पूर्वउपसभापति समेत रहेका नेता विजयकुमार गच्छदारले भने कोइराला पक्षलाई सचेत पनि गराए । गच्छदारले नेता शेखर कोइरालालाई पार्टीको बृहत्तर हितका लागि आफ्नो अहम् (इगो) त्याग्न र फराकिलो छाती बनाउन सुझाव दिए । ‘तपाईंहरू पनि धेरै इगोको कुरा नगर्नुस् । इगोको कुरा गर्दाखेरि मैले नेपाली कांग्रेस विभाजन भएको देखेको छु । म शेखर दाइलाई पनि सन्देश दिन चाहन्छु— तपाईंहरू आफ्नो स्वार्थभन्दा माथि उठ्नुस् । तपाईं पनि एकदम ठूलो छाती लिएर जानुस्, ठूलो छाती नलिइकन हुँदैन,’ उनले भने ।
गच्छदारले गगन थापालाई विशेष महाधिवेशन र अदालती प्रक्रियाबाट राजनीतिक रूपमा सभापति भएपनि अहंकार नराख्न र अग्रजहरूबाट सिक्न आग्रह गरे । ‘गगन थापाजी, तपाईं कांग्रेसको सभापति भइसक्नुभयो विशेष अधिवेशनबाट । नट वनली द्याट, सर्वोच्च अदालतबाट तपाईं वैधानिक रूपले बलियो सभापति बन्नुभएको छ । अनि सभापतिको के भूमिका हुन्छ, तपाईंलाई आउँदैन भने सिक्नुस् ! कृष्ण सिटौला गुरूहरूसँग सिक्नुस्, मिनेन्द्र रिजालसँग सिक्नुस्,’ उनले भने ।

नेताहरूले डाक्टर शेखर कोइरालालाई प्रमुख अतिथि मानेर अगाडि बढ्नु भनेको इतर पक्षको नेता बनाएको सन्देश भएको बताएका छन् । निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका भीम पराजुलीले सबैले मानेर एउटा सन्देश दिएको बताए । ‘डाक्टर शेखरलाई प्रमुख अतिथि बनाएर एउटा एकताको सन्देश निद खोजिएको हो,’ उनले भने, ‘यसले नियमित महाधिवेशन पक्षधरहरू सबै समूह एक हुने संकेत गरेको छ ।’
कांग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईले पनि संस्थापनको विपक्षमा रहेको सबै एक हुने संकेत गरेको बताए । ‘हामी सबै पक्ष मिल्छौं भन्ने सन्देश हो,’ उनले भने । तरुण दलका पूर्वकेन्द्रीय सदस्य नेत्र पौडेलले अबको सर्वमान्य नेता डाक्टर शेखर कोइराला हुने दाबी गरे । ‘यो भेलाको सन्देश के हो भन्ने कुरा स्पष्टै छ नि,’ उनले भने, ‘पूर्वउपसभापति, महामन्त्री भइसकेका सबै नेताहरूले डाक्टर शेखरलाई प्रमुख अतिथि मानेर बस्नुभएको छ । अब पनि कुनै कन्फ्युजन छ र ?’
कसले के भने ?
कार्यक्रममा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माप्रति वक्ताहरूले तितो पोखे । अधिकांशले पार्टी विभाजनको दिशामा जान लागेको भन्दै चिन्ता व्यक्त गरे । यद्यपि नेता डा. शेखर कोइरालाले भने कुनै पनि हालतमा पार्टी फुट्न नदिने बताए । कांग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकाले त्यही दिशामा आफूहरू सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने उनले बताए ।
'कांग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ । एकताबिना कांग्रेस अगाडि बढ्न सक्दैन,’ कोइरालाले भने, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । कांग्रेस कमजोर हुँदा देशको सार्वभौमिकता र अखण्डता कमजोर हुन्छ ।’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाल तर्सनेहरूको देश भएको बताए । ‘राष्ट्रपति नै तर्सिनुभएको छ । आन्दोलन भयो । प्रतिनिधिसभा विघटन गरिदिनुभयो, प्रधानमन्त्री नियुक्त गरिदिनुभयो । संविधानमा त्यो कल्पना छैन, तर हामी पनि डराएर मान्यौँ,’ उनले भने । भय मेटाउन मनदेखि खण्डित कांग्रेसले नसक्ने उनले बताए ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले पार्टी विभाजनको अवस्थामा जाँदै गरेको दाबी गरे । नेता कुन्दनराज काफ्लेले पार्टी एकतामा जोड दिए । ‘कांग्रेसमा एकता हुनुपर्छ । तर अहिले कांग्रेस चोइट्याउन खोजिँदै छ । गगन र विश्व प्रकाशले पार्टी फुटाएर जान खोजिरहेको छ,’ काफ्लेले भने ।
वर्तमान केन्द्रीय सदस्य आनन्द सन्तोषी राईले कांग्रेसको एकता आफ्नो अभीष्ट भएको बताए । ‘कांग्रेस कठिन मोडमा छ । १५औँ महाधिवेशनमा एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ उनले भने । नेतृ सरिता प्रसाइँले कांगेस उपसभापति विश्वप्रकाश शर्मालाई लक्षित गर्दै पार्टी विभाजन तिर अग्रसर भएको बताइन् ।

नेता उमेशजङ्ग रायमाझीले विशेष महाधिवेशनले पार्टी दुई धार भएको दाबी गरे । उनले नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन भएको बताए । ‘विधान, विचार र सिद्धान्त नमानेका कारण नियमित महाधिवेशन भएन । हामी सत्तामा रमायौँ । विधान र सिद्धान्तलाई उल्लंघन गर्यौँ। त्यसैले कांग्रेस दुवै समूहले बिगारे,’ उनले भने । रायमाझीले पार्टी एकताका पहल सभापति गगन थापाले गर्नुपर्नेमा जोड दिए । कांग्रेसको पुरानो कुनै पनि नेतृत्व असफल भएको भन्दै मञ्चमा बस्ने सबैलाई पदको लोभ नगर्ने आग्रह गरे ।
नेता रामहरि खतिवडाले सिंहदरबार मात्रै जलाएर नपुगेर षड्यन्त्रकारीहरूले कांग्रेस जलाउन लागेको दाबी गरे । उनले पार्टी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । नेता गोविन्द शाहीले निर्वाचन आयोगले षड्यन्त्र गरेर दिएको चारतारे झण्डा र रूख चिह्न गगनको हातमा पुगेको बताए । भेलामा उपस्थित नेता तथा कार्यकलाईलाई इंगित गर्दै उनले भने, ‘यो समूहलाई नमिलाए प्रजातान्त्रिक शक्ति समाप्त हुनेछन् । लोकतन्त्र समाप्त हुन्छ ।’
नेता मीन विश्वकर्माले कांग्रेस बलियो नभए, व्यवस्था नरहने र व्यवस्था नरहे मुलुक नरहने दाबी गरे । विशेष महाधिवेशनले पार्टी विभाजित भएको र ९० सिट रहेको कांग्रेस अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेता मोहन बस्नेतले काग्रेस विभाजनको संघारमा रहेको दाबी गरे । उनले सभापति गगन थापालाई खलनायकको भूमिकामा रहेको आरोप लगाए । नेता, एनपी साउदले विराटनगरको भेला एकताका लागि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
-
नयाँ पार्टी निर्माण अघि धवलशमशेर राणा र दुर्गा प्रसाईंले बनाए २४ वटा समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण