आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा

आइतबार, ३१ जेठ २०८३, २० : ४२
आइतबार, ३१ जेठ २०८३

सारांश

  • भारतीय सीमा सुरक्षा बल (आईटीबीपी) का महानिर्देशक सवार हेलिकोप्टर नेपाली अनुमतिबिना नेपालको आकाशमा प्रवेश गरेको पाइएको छ।
  • कुनै पनि देशको अनुमतिबिना अर्को देशको विमान वा हेलिकोप्टर प्रवेश गर्नुलाई अन्तर्राष्ट्रिय कानुनअनुसार हवाई क्षेत्र उल्लंघन मानिन्छ।
  • यस विषयमा दार्चुलाका प्रमुख जिल्ला अधिकारीले भारतीय प्रशासनसँग मौखिक रूपमा कुरा भइसकेको र आवश्यक परे पत्राचार गरिने जानकारी दिएका छन्।

धनगढी । इन्डो टिबटिबटियन बोर्डर पुलिस (आईटीबीपी) का महानिर्देशक सवार हेलिकोप्टर नेपाली अनुमतिबिना नेपालको आकाशमा प्रवेश गरेको पाइएको छ । आइटीबीपीका महानिर्देशक सत्रुजिजित कपुर कालापानी क्षेत्रको गुञ्जीस्थित युनिट निरीक्षणमा जाने क्रममा भारतीय हेलिकोप्टर नेपाली आकाश प्रयोग गर्दै उडेको पाइएको हो । 

कुनै पनि देशको अनुमतिबिना अर्को देशको विमान वा हेलिकोप्टर प्रवेश गर्नुलाई अन्तर्राष्ट्रिय कानुनअनुसार एयर स्पेस भ्वाइलेसन’ हवाई क्षेत्र उल्लंघन मानिन्छ । गत मंगलबार दार्चुलाको आकाशमा उक्त हेलिकोप्टर उडेको हो ।

यस विषयमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भारतीय प्रशासनसँग मौखिक रूपमा कुरा भइसकेको र आवश्यक परे पत्राचार गरिने जानकारी दिए । 

‘हेलिकोप्टर नेपाली भूमिमा बसेको त होइन, नेपाली आकाश प्रयोग गरेको देखिन्छ । कहिलेकाहीँ प्राविधिक समस्याका कारण यस्तो हुन सक्ने भए पनि प्रशासनिक रूपमा अर्को देशको आकाश बिनाअनुमति प्रयोग गर्न पाइँदैन । यसबारे हामीले भारतीय प्रशासनलाई यस्तो गर्न पाइँदैन’ भनेर र मौखिक रूपमा ध्यानाकर्षण गराएका छौँ । आवश्यकता हेरेर थप औपचारिक पत्राचारको प्रक्रिया पनि अगाडि बढ्नेछ,’उनले भने । 

भौगोलिक विकटता वा प्रतिकूल मौसमका कारण कहिलेकाहीँ उडान मार्ग परिवर्तन हुन सक्ने भए पनि सो दिन मौसम सामान्य थियो । उडानअघि पूर्वजानकारी दिनुपर्ने सामान्य प्रक्रिया भए तापनि भारतीय पक्षले यसबारे कुनै जानकारी नगराएको प्रशासनको भनाइ छ । यसबारे पिथौरागढस्थित भारतीय जिल्ला अधिकारी डिस्ट्रिक्ट मजिस्ट्रेटको कार्यालयलाई पनि औपचारिक रूपमा सोध्ने तयारी भइरहेको छ । 

दार्चुला क्षेत्रमा भारतीय हेलिकोप्टरले नेपाली आकाश प्रयोग गरेको घटनाहरु सार्वजनिक हुने गर्छन् । केही समयअघि पनि दार्चुला सदरमुकाम खलंगाको आकाश हुँदै भारतीय हेलिकोप्टरहरू निरन्तर कालापानीतर्फ उडेपछि नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएर ध्यानाकर्षण गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप