आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती प्रदेशसभा : पुरातात्त्विक सामग्रीको खोजी गर्न माग

६ समितिको वार्षिक प्रतिवेदन पेस
आइतबार, ३१ जेठ २०८३, १७ : २६
आइतबार, ३१ जेठ २०८३

मकवानपुर । बागमती प्रदेशसभा बैठकमा सडक सञ्जालको विस्तार तथा स्तरोन्नति र हराएका ऐतिहासिक सामग्रीको खोजी गर्न माग गरिएको छ। 

आइतबार बसेको बागमती प्रदेश सभाको बैठकमा आकस्मिक समय लिएर धारणा राख्दै सडकको नियमित मर्मत सम्भार गर्न र हराएका ऐतिहासिक सम्पदाहरूको खोजी कार्यमा चासो दिएका हुन्।

बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद रामकृष्ण चित्रकारले ललितपुरको ग्वार्को–इमाडोल–पनौती सडक विस्तार बारे सरकारको ध्यानाकर्षण गराए। 

ग्वार्को–इमाडोल–सिद्धिपुर–लुभु–लाकुरी भञ्ज्याङ हुँदै पनौती र दालटारसम्म पुग्ने सडकलाई राष्ट्रिय राजमार्गमासमेटिएकोमा उनले आपत्ति जनाए। उक्त सडक प्रदेश लोकमार्गको रुपमा कायम गरिराख्दा सडकको मापदण्ड अनुसार दायाँबायाँ ६२ मिटर चौडा हुने र यसले ग्वार्को, इमाडोल, लुभु लगायतका सबै शहरी बस्तीहरु भत्काउनु पर्ने स्थिति बन्ने उनले बताए।

भौगोलिक स्थिति तथा आवश्यकताको सिद्धान्त अनुसार उक्त क्षेत्रमा नरहेको सो राजमार्ग जरुरी नरहेको उनले बताए। उक्त सडकलाई शहरी सडकमा रूपान्तरण गरी आन्दोलनको चरणमा पुगेका आम जनताको निराशा र आक्रोशलाई तत्काल सम्बोधन गर्न प्रदेश सरकारले प्रयत्न गर्नुपर्ने उनको भनाइ छ।

उनले रातो मच्छिन्द्रनाथको रथसँग सम्बन्धित हराएको पुरातात्त्विक सामग्रीको विषयमा सरकारले पहल गर्नुपर्ने बताए। रातो मच्छिन्द्रनाथ रथको धःमाको दायाँबायाँ राखिने पुरातात्त्विक र सांस्कृतिक महत्वको सामग्री ‘मंगःहिटी नेपाः पाः’ हराएको महिनौँ भएपनि त्यसबारे सरकारको चासो नपरेको उनले बताए। 

उनका अनुसार असार ६ गते भोटो देखाउने जात्रा हुँदैछ, तर अहिलेसम्म सो सामग्री फेला परेको छैन । प्रहरी प्रशासन, गुठी संस्थान र संस्कृति मन्त्रालयलाई यसबारे चाँडो अनुसन्धान गर्न उनले माग गरे।

बैठकमा बागमती प्रदेशसभाका ६ वटा समितिका वार्षिक प्रतिवेदन पेस गरिएको छ । ६ संसदीय समितिका सभापतिहरूले वार्षिक प्रतिवेदन पेस गरेका हुन्। 

प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले समितिको कार्यसम्पादन र भावी योजनाबारे प्रतिवेदन पेस गरेका थिए भने अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्यले विकास निर्माण र आर्थिक व्यवस्थापनका क्षेत्रमा समितिको अनुगमन र सुझावहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए।

सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछानेले वार्षिक प्रतिवेदन पेस गर्दै बागमती प्रदेशमा बेरुजुको अवस्था अन्य प्रदेशको तुलनामा कम (०.८३ प्रतिशत) भए तापनि वित्तीय अनुशासन कायम गर्न अझै धेरै चुनौतीहरू रहेको बताए । उनले अनुत्पादक खर्च, बजेट विनियोजनमा सुधार र सुशासनका लागि सरकारलाई सचेत गराए।

शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले सरकारी अस्पतालहरूमा चिकित्सकको अभाव हटाउन प्रदेश सरकारले आफ्नै छात्रवृत्तिमा पढेका चिकित्सकहरूलाई अनिवार्य सेवामा खटाउनुपर्ने र कृषि क्षेत्रमा मलको अभाव अन्त्य गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन पेस गरे।

उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले उद्योग र पर्यटन क्षेत्रका नीतिहरूको प्रभावकारी कार्यान्वयन र वातावरण संरक्षणका लागि समिति खलेको भूमिका बारे प्रतिवेदन पेस गरेका थिए भने विशेषाधिकार समितिकी सभापति मायादेवी शर्माले तेस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेकी थिइन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप