बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
जलवायु परिवर्तन

हिमताल फुट्ने खतरा बढ्दो छ

सगरमाथा क्षेत्रमा दिसापिसाब लगायत फोहोर र शव थुप्रिएका छन्
बुधबार, २२ कात्तिक २०८०, १४ : ५३
बुधबार, २२ कात्तिक २०८०

नेपाल भ्रमणमा रहँदा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको चासो खासगरी जलवायु परिवर्तनको विषयमा थियो । उहाँले इम्जाताल लगायतलाई हेलिकप्टरबाट निरीक्षण गर्नुभयो । स्याङ्बोचेस्थित ‘एभरेस्ट भ्यु होटल’मा ब्रेक फास्ट गर्दा उहाँले हामीसँग छलफल गर्नुभएको थियो, खासगरी ब्रिफिङ लिनुभएको थियो । मैले उहाँलाई क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङले हिमाली क्षेत्र र हिमालवासीलाई पारेको असरबारे अवगत गराएको थिएँ । यसलाई न्यूनीकरण गर्न स्थानीय समुदाय, सरकार र विश्व समुदायले के गर्न सक्छ भन्नेबारे पनि आफ्नो अनुभव सुनाएँ । 

हाम्रो कुरा सुनिसकेपछि उहाँले भन्नुभएको थियो, ‘यो गम्भीर मुद्दा हो । यसको न्यूनीकरणका लागि विश्व समुदायले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । दुबईमा हुने कोप–२८ मा मैले यो विषय जोडदार ढंगले उठाउँछु ।’ 

अहिले क्लाइमेट चेन्ज, ग्लोबल वार्मिङ र नेचुरल हेजार्डको सबैभन्दा ठूलो असर हिमाली क्षेत्र र हिमाली समुदायमै परिरहेको छ । हिमालका हिउँ पग्लेर पहाडहरू काला पत्थरका रूपमा देखापरिरहेका छन् । वैज्ञानिकहरूको आकलन अनुसार, यस शताब्दीको अन्तिमसम्म हिमालको दुईतिहाइ हिउँ पग्लेर पहाडहरू कालापत्थरमा परिणत हुनेछन् । 

औद्योगिक क्षेत्रबाट निस्कने धुवाँको मुस्लो तातो बादलमा परिणत भएर उच्च हिमाली क्षेत्रमा ठक्कर खान पुग्छन्, जसकारण हिउँ पग्लने क्रम बढिरहेको छ । हामीकहाँ पहिले थुप्रै हिमनदी थिए, अहिले ती हिमतालको रूपमा परिणत भएका छन् । हिमतालहरू फुट्ने क्रम पनि बढ्दो छ । यसो हुँदा कालान्तरमा पानीको हाहाकार हुन सक्छ । हिमाल पग्लेर पानीको स्रोत भएन भने हामीलाई हाइड्रोपावर चलाउन समस्या हुन्छ । 

nit

सगरमाथा क्षेत्रको अहिले इम्जा हिमताल रहेको क्षेत्रमा हामी सन् १९६० तिर चिप्लेटी खेल्थ्यौँ । १९६२ तिर त्यहाँ सानो पोखरी देखापरेको थियो । त्यो ताल पछि २ किलोमिटरभन्दा लामो, एक किलोमिटर जति चौडाइ र एक सय ४९ मिटर गहिराइको हुन पुग्यो । पछिल्लो समय युएनको आर्थिक सहयोगमा नेपाली सेनाले यस तालमा पानीको तह साढे तीन मिटर घटाएका छन् । खतरा निम्त्याउने तालको पानीलाई पम्पिङ गरेर निकाल्न सकिन्छ ।

इसिमोडको तथ्यांक अनुसार, नेपालमा सन् २००६ मा २३१५ वटा हिमताल थिए । हिमाली क्षेत्रमा यस्ता हिमताल थुप्रै छन्, ती फुट्ने क्रम पनि जारी छ । हिमताल फुट्दा त्यसभन्दा तलको क्षेत्रमा ठूलो जनधनको क्षति भएका उदाहरण धेरै छन् । 

अहिलेसम्म सगरमाथा क्षेत्रमा तीन सय २८ आरोहीको मृत्यु भयो । तीमध्ये झन्डै ६० प्रतिशत शव तल ल्याइयो, बाँकी ४० प्रतिशत शव हिमालमै हुनुपर्छ भन्ने अनुमान छ ।

इम्जा ताल धेरै ठूलो ताल हो । यस्ता ताल फुट्दा ठूलो जनधनको क्षति हुन्छ । यसप्रति सरकार लगायत सरोकारवाला निकाय जागरुक हुनुपर्छ । 

यो समस्यालाई न्यूनीकरण गर्न विशेष गरेर सरकार, स्थानीय समुदाय, अन्तर्राष्ट्रिय समुदाय र वातावरणविद्ले पहलकदमी लिन अत्यावश्यक छ । सकेसम्म बढी मात्रामा रुखबिरुवा रोपेर पनि जोखिम कम गर्न सकिन्छ । यस्तै हामीले ‘फोसिल फ्युल’ अर्थात् जीवाश्म इन्धन (कोइला, ग्यास, तेल) र दाउराको प्रयोग कम गर्नुपर्छ । सोलार, विन्ड इनर्जी (हावाबाट निकालिने ऊर्जा), हाइड्रोपावर आदिको प्रयोगबाट हामीले जलवायु परिवर्तनलाई कम गर्न सक्छौँ । पृथ्वीका हिमाललाई जोगाउन धुँवादार उद्योग वा कार्यमा कमी ल्याउन आवश्यक छ । 

पर्यटन व्यवसाय धुवाँरहित उद्योग हो, तैपनि यसबाट वातावरणीय असर परिरहेको हुन्छ । यसकारण हाम्रा हिमाल चढ्ने मार्गमा फोहोर बढ्न सक्छ । यसको सरसफाइ समुदाय स्तरबाटै गर्न सकिन्छ । 

१९५० जुन ३ तारिखका दिन फ्रेन्च नागरिक मौरिस हर्जोग र लुइस लेचनलले सर्वप्रथम अन्नपूर्ण हिमालको आरोहण गरे । यस्तै, १९५३ मे २९ मा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा चढेपछि विश्वको ध्यान र चासो नेपाली पर्वतारोहणतर्फ तानियो । अहिलेसम्म सगरमाथा क्षेत्रमा तीन सय २८ आरोहीको मृत्यु भयो । तीमध्ये झन्डै ६० प्रतिशत शव तल ल्याइयो, बाँकी ४० प्रतिशत शव हिमालमै हुनुपर्छ भन्ने अनुमान छ । त्यसो त अन्य हिमालमा पनि दुर्घटना भएका छन् तर सगरमाथामा जति शव अन्य हिमालमा छैनन् । 

अहिले हाम्रा हिमालमा वातावरणीय असर छँदै छन्, यसमाथि मलमूत्रको पनि ठूलो समस्या छ । गएको वसन्त ऋतुमा सगरमाथाको बेसक्याम्पभन्दा माथि हजारभन्दा बढी मानिस डेढ महिनाका लागि गएका थिए । त्यहाँ शौचालयको व्यवस्था त छैन । हिमाल भनेको हाम्रो खानेपानीको स्वच्छ मुहान हो, त्यहाँ फोहोर हुँदा हाम्रो स्वास्थ्यमा पनि हानि हुन्छ । 

galcier 2

अहिले विकसित देशले ‘रेस्टो ब्याग’ बनाउन थालेका छन् । खासगरी यो अमेरिका र जापानमा बन्छ । त्यो ब्यागभित्र एक किसिमको इन्जायम हुन्छ, जो ‘डिकम्पोज मेटरियल’ हो । यस्तो खालको ब्याग पर्वतारोहण वा पदमार्गमा अनिवार्य गर्ने हो भने वातावरण फोहोर हुनबाट जोगिने मात्रै होइन हिमालहरू सुन्दर रहने थिए । अर्कोतिर राज्यले पर्वतारोहण वा पदमार्गमा जानेहरूलाई कुनै मापदण्डमा राख्न (के कस्तो सामान लैजान पाउने, लैजानुपर्ने आदि) र अनुगमनमा पनि ध्यान दिनुपर्छ ।

पर्वतारोहण गर्ने वा पदमार्ग जानेहरूको सहयोगी वा भरियालाई फोहोर व्यवस्थापनसम्बन्धी तालिम दिन सकिन्छ । हिमाली तथा पहाडी क्षेत्रमा पर्यटन व्यवसाय महत्त्वपूर्ण छ । यो व्यवसायबाट एक मुठी पनि निर्यात नगरी अर्बौं डलर आयात गर्न सकिन्छ । बढी संख्यामा पर्यटक जुन क्षेत्रमा पुग्छन्, त्यस क्षेत्रको क्रयशक्तिमा वृद्धि हुन्छ, त्यहाँका मानिसले तुरुन्तै प्रतिफल पाउन थाल्छन् । त्यसैले पर्यटन व्यवसायलाई पर्यटन उद्योगका रूपमा स्थापित गर्नुपर्छ, यो माग हामीले नेपाल सरकारसँग राख्दै आएका छौँ । 

हाम्रो कुरा सुनिसकेपछि महासचिव गुटेरेसले भन्नुभयो, ‘यो गम्भीर मुद्दा हो । यसको न्यूनीकरणका लागि विश्व समुदायले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । दुबईमा हुने कोप–२८ मा मैले यो विषय जोडदार ढंगले उठाउँछु ।’

हामीकहाँ वर्गीकरण गरेर उद्योगलाई छुट्टै प्राथमिकता दिइएको छ तर पर्यटन व्यवसायलाई त्यति प्राथमिकता दिइएको छैन । पर्यटनलाई उद्योगका रूपमा अगाडि बढाउन सके समृद्धि ल्याउन सहज छ । 

नेपालमा ५८०० मिटर माथिलाई हिमालमा गणना गर्छौं । यस्ता हिमाल नेपालमा एक हजार सात सय ९२ वटा छन् । यस्तै ८००० माथिका १४ वटा हिमाल नेपालमै छन् । यद्यपि अहिलेसम्म आठवटा हिमालले मात्रै ८००० माथिको अन्तर्राष्ट्रिय मान्यता पाएका छन् । यस्तो मान्यता विश्व पर्वतारोहण महासंघले दिने गर्छ । एसिएन पर्वतारोहण महासंघको महासम्मेलन भर्खरै नेपालमा सम्पन्न भयो । त्यसमा विश्व पर्वतारोहण महासंघका अध्यक्ष पनि आएका थिए । विश्व पर्वतारोहण महासंघको मानार्थ सदस्यको नाताले मैले हाम्रा बाँकी ६ वटा हिमाललाई मान्यता दिनका लागि आग्रह गरेँ, कागजपत्र पनि बुझाएका छौँ । 

glaicer

हिमालका फेदीमा पछिल्लो चार–पाँच वर्षयता व्यापक वृक्षरोपण गरिएको छ, खासगरी मनास्लु क्षेत्रमा । गत पाँच वर्षदेखि यहाँको चार हजार मिटरभन्दा तलको क्षेत्रमा पाँच लाख जति बिरुवा रोपियो होला, जापान लगायतको सहयोगबाट । रुखहरू हिउँ नभएको ठाउँमा रोप्ने हो, हिमाली भेगमा रुख उम्रनै धेरै समय लाग्छ । अर्कोतिर हावाको वेगका कारण यहाँ रूख हलक्क माथितिर बढ्दैनन्, जमिनतिरै फिँजारिन्छन् । यी रूखले अक्सिजनको उत्पादनदेखि पहिरो रोक्ने काम गर्छ । अर्कोतिर हरियालीले सुन्दरता पनि ल्याउँछ । 

पाँच हजार मिटरभन्दा माथि खासगरी नाङ्गा पहाडहरू हुन्छन् । यस्तो ठाउँमा रुख–बिरुवा रोप्ने तरिका चीनले तिब्बती क्षेत्रमा अपनाइरहेको छ, यो तरिका हामीले पनि सिक्नुपर्छ, यसमा सरकारी तहबाटै पहल गरिनुपर्छ । 

(विश्व पर्वतारोही महासंघका वरिष्ठ उपाध्यक्ष, विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य, नेपाल पर्वतारोहण संघको पूर्वअध्यक्ष, एसिएन पर्वतारोहण महासंघको निवर्तमान अध्यक्ष शेर्पासँगको कुराकानीमा आधारित ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आङ छिरिङ शेर्पा
आङ छिरिङ शेर्पा
लेखकबाट थप