मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भालेवादी अभिमान अन्त्यका लागि नारी-पुरुषको हातेमालो

शुक्रबार, २४ कात्तिक २०८०, १५ : १८
शुक्रबार, २४ कात्तिक २०८०

भालेवाद भाले अर्थात् पुरुष हुनुको पहिचान र चिह्न मात्रै होइन शोषण, दमन गर्ने सोच र मानसिकता पनि हो । प्रभुत्व र वर्चस्वशाली हुनुको मानक पनि हो । भालेवादी हुन पुरुष नै हुनु पर्छ भन्ने कुनै वाञ्छनीय योग्यता छैन । जसरी ब्राह्मणमा मात्र ब्राह्मणवाद हुँदैन अर्थात् सबै ब्राह्मणमा ब्राह्मणवाद नहुन सक्छ । दलित, जनजातिमा पनि ब्राह्मणवाद हुन्छ, त्यसरी नै महिलाभित्र पनि भालेवाद शिर ठाडो गरेर बसेको हुन्छ । 

भालेवाद लैङ्गिक पहिचान होइन । अहङ्कार र नारीलाई वस्तुकरण गर्ने विचारधारा, संस्कृति, सोच, संस्कार र वर्चस्व पनि हो । तसर्थ एकसेएक अधिकारवादी, महिलावादी पुरुष र महिलासँग भालेवाद भूतको हावा सवार हुन्छ, भालेवादी संस्कृति मनोविज्ञान र व्यवहार रहेको हुन्छ । नारी अधिकार र हकको कुरा गर्दा गर्दै भालेवादी सोच र व्यवहार अनायसै आउँछ । यो सामाजिक, सांस्कृतिक कारखानाको उत्पादन हुनुको दोष हो । 

भालेवाद नारी एवं पुरुषका लागि सामाजिक, सांस्कृतिक रूपमा निर्मित भूमिका, बानीबेहोरा, क्रियाकलाप तथा विशेषता हो । यसले सामाजिक, सांस्कृतिक सत्ताको सम्बन्धलाई जनाउँछ । स्त्री र पुरुष (भाले र पोथी) लिङ्गत कोटी हुन् । यो जीव वैज्ञानिक हुन्छ भने लैङ्गिकता सामाजिक कोटी हो । यो सामाजिक सांस्कृतिक अभ्यास र मूल्यद्वारा निर्धारित र निर्देशित हुन्छ । 

भालेवाद सामाजिक, सांस्कृतिक एकाइद्वारा महिला र पुरुषले सम्पादन गर्ने कम कर्तव्यको परम्परागत परिभाषालाई पुठ दिने अवधारणा हो । लेखक कमला भासिनाका अनुसार ‘सामाजिकीकरणको प्रक्रियामा नै समाजमा छोरालाई साहसिक, शक्तिशाली तार्किक, आत्मविश्वासी, प्रतिस्पर्धी स्वभावमा प्रवृत्त हुन उत्प्रेरित गरिन्छ भने छोरीलाई लजालु, सहनशील, समर्पण, सहिष्णु र नमनियताका गुण हुनुपर्ने धारणासहित प्रशिक्षित गरिन्छ । सामाजिकीकरणको प्रोसेसमै विभेदक लक्षणसहित नारी र पुरुषको लैङ्गिकता निर्धारण गरिन्छ । त्यसैले भालेवाद यत्रतत्र सर्वत्र व्याप्त छ । 

भालेवादमुक्त घर, समाज सायद छैन । भालेवाद पुरुषमा मात्र नभएर महिलामा पनि हुनु यो संस्कृतिको अन्तरघुलन हो । परिणामतः महिला भएर पनि भालेवादी मानसिकता बन्ने परिस्थिति सिर्जना हुन्छ । यो हाम्रो समाजको प्राचीन समयदेखि आजपर्यन्तको चरित्र बनेको छ । नेपाली राजनीतिमा पनि पुरुष सत्ताको हैकम चुपचाप पालन गर्नु र गर्न लगाउनु नारीभित्रको भालेवादको विशेषता हो । 

हामी जब्बर भालेवादको जन्जिरमा छौँ । त्यो जन्जिरको लक बनाउन भालेवादी महिलाको पनि ठुलो हात छ । प्रयोग हुनु र प्रयोग भएको नबुझ्नु महिलाको ठुलो कमजोरी छ । महिलामाथि हुँदै आएको उत्पीडन र नकारात्मक भेदभावका जराहरू केलाउन नजानेको, नसकेको कारण महिला पुरुषबाट पीडित मात्र छैनन्, नारी स्वयंबाट नारी प्रताडित छन् । डामिएका र सामाजिक जीवन चौपट पारिएका छन् ।

हाम्रो भालेवाद समाजका सबै निकाय अवयवको धुरी चढेर कुखुरी काँ भनेर बासेको छ । भाले नबास्ने कुनै धुरी भेट्टाउन मुस्किल छ । चाहे त्यो गाउँको गरिबको झुपडीको धुरी होस् या सहरको महलको धुरी या होस् सिंहदरबारको धुरी । भालेवाद बासेकै हुन्छ । सत्ता र शक्तिको धुरीमा भालेवाद अत्यधिक हाबी छ । 

भालेवादी विचारधाराले नारीलाई दोस्रो दर्जाको भोग्य वस्तुका रूपमा हेरेकै हुन्छ । नारी आफैँले पनि कतिपय मामलामा पुरुष हैकमलाई आफ्नो नियतिका रूपमा स्वीकार गरेको देखिन्छ । त्यसैले पुरुष अहम्लाई पोथी बासेको उसै मन पर्दैन । झन् पोथीको प्रतिरोधी चेतना कसरी पचोस् ? कदाचित महिलाले प्रतिरोधी चेतना राखे भने त्यो असह्य हुन्छ । यसर्थ भाले जातिमा रहेको छिद्रान्वेषी पुरातन पुरुष भाष्य र पुरुष सत्ता अनेकन सन्दर्भ झिकेर, निर्धाे तर्क गरेर, आफ्नो हित प्रवद्र्धन गर्न र पुरुष दण्डको भागीदार बन्न सक्तैन र हुँदैन भनेर हुङ्कार गरिरहेका हुन्छ । सबै परिस्थितिको दोष नारीमाथि थोपरिरहेको पाइन्छ । 

महिलामाथिको उत्पीडनलाई साथ दिन महिलाकै काँध चढेर महिलाविरुद्ध अपमानको विष घोप्ट्याइरहेछ भालेवाद । जसलाई साथ र समर्थन दिन नारीहरू नै तँ छाड म छाड गरेर सतहमा देखिएका छन् । सडकमा पोखिएका छन् ।

पुरुष सत्तालाई काँध हाल्न नारी सत्ता आएको छ । आफ्नो स्वार्थ, पुरुष हित र वादलाई धक्का नपरोस् भनेर नारीलाई होच्याउँदै, गिज्याउँदै सस्ता पुच्छ«े प्रश्न गरेर प्रतिरोधी चेतनालाई धूलिसात पार्न नारी अस्मितामा औँलो तेस्र्याउँदै, नैतिकताको कुरा निकालेर चरित्र दोष देखाउँदै कमजोरीको सबै कारण नारी भएको मत प्रकटीकरण गर्दै बसेको छ पुरुष चेतना ।

 पुरुष चेतनाको भाष्यलाई लाल मोहर लगाउने काममा नारीहरू लागिपरेका छन् । आफ्नो प्रभाव र वर्चस्वमा रहेका भाषा, शक्ति, सन्दर्भ, माध्यम र अधीनस्थ चेतनालाई प्रयोग गरेर पुरुष भाष्य र प्रभुत्वलाई चुनौती दिँदै उठ्न लागेको प्रतितन्त्रलाई अविवेकी घन र भालेवादको अहम्ले हिर्काइरहेका पुरुषलाई बल दिन तम्सिएका नारीहरूको झुन्ड देख्दा लाग्छ नारी अधीनस्थ भएर बस्न चाहन्छन् ।

नारी पराधीन हुन नै मजा मान्छन् कि क्या हो ? नारी पुरुष सत्ताकी अर्धाङ्गिनी बन्न राजी छ । आफ्नो अस्मितालाई बन्धक बनाएर नारी पुरुष नीचतालाई पुरस्कृत गर्न जमानी बस्न हरहमेसा तयार छ । निरुत्साहन दिनुपर्ने चरित्रलाई प्रोत्साहन दिन प्रतिस्पर्धा देखिन्छ । 

नारीहरूको समर्थन र शुभेच्छा पाएको पुरुष आफ्नो शक्तिमा क्षय हुन नदिन पुरुष एक हुनुको नारा भट्याइरहेको छ । भालेवादको सारथि बन्न मन्जुर छ नारी । त्यसैले सहरमा रमिता छ । रमिताको पात्र बनिरहेकी छ कानुनको नजरमा सेक्सका लागि अयोग्य एक बालिका । बैँसालु उमेर, लोभ, मोह, माया र अवसरको भुलभुलैयामा परेर एक नाबालिग कसैसँग यौन सम्पर्क गर्न पुग्छे । 

परस्पर सम्झौतामा सेक्स रहर थियो, रुचि थियो होला ? अनि बाध्यता पनि हुनसक्छ ? तर त्यो अवोध बालिका प्रयोग हुन्छे सेक्स गर्ने पुरुषबाट अनि उनीहरूले सेक्स गरेको थाहा पाउने अर्काे पुरुषबाट । तब अनेकन षड्यन्त्रको तानाबाना बुनिन्छ । त्यो बालिका प्रयोग हुन्छे अनि सुरु हुन्छ मुद्दा मामला । मान्छेको रूपमा गल्ती जोसुकैले गर्न सक्छ । मुद्दा मामला परेपछि त्यसको छानबिन गर्ने सरकारी निकायहरू छन्, प्रहरी प्रशासन र अड्डा अदालत छ ।

 एउटा सेलिब्रेटीको नाममा त्यसलाई प्रभाव पार्न मान्छेहरू सडकमा निस्कन्छन् । प्रहरी आफँै बन्छन्, वकिल र न्यायाधीश आफँै हुन्छन् र फैसला गर्छन् । राजनीतिक कार्यकर्ताहरू पढेलेखेका मान्छेहरू नबोल्ने कुरामा बोल्छन् । मौन रहने कुरामा समर्थन गर्छन् । 

महिलाको योनीमा रहेको इज्जतको कुरा चल्छ । बेइमानी गर्ने पुरुष लिङ्गलाई इज्जतले छुँदैन तर महिला योनीमा चरित्र र इज्जतको कुरा जोडिन्छ । समान कसुरमा असमान दण्डको कुरा चल्छ । नेपाली समाजको यौन मनोविज्ञानको स्थिति कति भयानक एक पक्षीय र असन्तुलित छ । हाम्रा वरपरका घटना सार्वजनिक मिडियामा आएका समाचारहरूले पुष्टि गरिरहन्छन् । 

पारस्परिक सहमतिको सम्बन्धमा महिला सामाजिक र नैतिक रूपमा च्यूत ठहरिन्छे भने पुरुषको हकमा इज्जतको सवालमा कुनै आपत्ति पर्दैन । यौन सम्बन्ध पुरुषको एकलौटी हक हो । केवल कानुनले मात्रै अपराधको परिभाषाभित्र राख्छ । 

पुरुष लिङ्गका कारण मात्र बलियो छैन, पुरुष मानसिकताका कारण बलियो र महिला मानसिकताकै कारण निर्बल र निस्तेज बनाइएका छन् । प्राकृतिक रूपमा नै महिलाभन्दा म स्वतः बलियो छु भन्ने एक अवधारणा छ । राजनीतिकर्मी र साहित्यकार कुन्ता शर्मा भालेवादविरुद्ध आक्रोश पोख्दै व्यङ्ग्य लेख्छिन्– 

‘सधैँ सधैँ घरका धुरीहरूमा, आँगनहरूमा,

बार्दलीहरूमा.... 

घाँटी तन्काउँदै, सिउर हल्लाउँदै,

बास्ने काम भालेको हो । 

आवाज उकास्ने काम भालेको हो । 

पोथीले मात्र कुकुराउनु पर्छ 

आक्रोशका घुड्काहरू चुपचाप निल्नु पर्छ 

अण्डा पार्नु पर्छ, ओथारो बस्नु पर्छ 

अनि तन्मयतापूर्वक बच्चा हुर्काउनु पर्छ । 

उन्मुक्त हाँसो हाँस्नु हुँदैन । 

पोथी बास्नु हुँदैन ।’

म शारीरिक रूपमा पुरुषभन्दा कमजोर छु भन्ने हीनताबोधी मानसिकता महिलामा छ । तसर्थ पुरुष अधीनस्तता स्वीकार्य मनस्थिति निर्मित छ । पुरुष नारीलाई केवल भोग्य वस्तु, मनोरञ्जनको साधन र सन्तान उत्पादनको कारखाना मान्छ । सामाजिक रूपमा पुरुषलाई बहादुर, मर्द, सहासी र नारीलाई कमजोर दुर्बल र पुरुष अधीनस्थ बन्नुपर्ने प्राकृतिक बाध्यता नै रहेको भ्रमपूर्ण अवास्तविकता वास्तविक लाग्ने समाज मनोविज्ञान तयार छ । 

महिला केवल सुन्दर बन्नु पर्छ, देखिनु पर्छ र सुन्दर बन्ने बनाउने सांस्कृतिक अवधारणाभित्र उनलाई कमजोर पारेर आफ्नो अधीनस्थ बनाउने खोटपूर्ण पुरुष अभिप्राय रहेको छ । जसलाई महिलाले चाहेर नचाहेर बुझ्न सकेका छैनन् ।

महिलाको इज्जत र प्रतिष्ठा पनि उनको कसिलो योनीमा फिट गरिदिएको छ पुरुष हैकमवादले । तसर्थ पुरुष आश्रित बन्नु महिलाको नियति र संस्कृति दुवै हो । महिला पुरुषको आपसी समझदारीको सहवासलाई सार्वजनिक चर्चा र चासोको विषय बनाइन्छ । 

इज्जत पुरुषको नजाने र महिलाको मात्रै जाने भाष्य निर्माण गरिन्छ । जसलाई बदल्नु आजको समय र परिवेशको दायित्व हो । यो दायित्व महिलाको मात्र नभएर आम पुरुषको पनि हो । समाज, संस्कृति, परम्परा चालचलन, राज्य अर्थतन्त्र, शिक्षा, राजनीति सबैतिर रहेका छिद्रहरू नियाल्नु र केलाउनु जरुरी छ । अन्यथा समाज अरू अराजक र संस्कारहीन प्रवृत्ति उन्मुख रहन्छ । भालेवादको अन्त्य गर्न स्वयं भाले जातको सुझबुझपूर्ण व्यवहार र नैतिकता इमानदारी र निष्ठाको खाँचो छ । त्यस्तै आश्रित हुने मनोविज्ञानबाट महिलाहरू पनि माथि उठ्नु पर्छ । प्रतिरोधी चेतना जागृत हुनु पर्छ । 

नारी पुरुषका जीव वैज्ञानिक केही शारीरिक विशेषताबाहेक महिलालाई चिनाउन भालेवादले थुप्रै सामाजिक असमता निर्माण गरेको छ । प्राकृतिक रूपमा नभएर सामाजिक, सांस्कृतिक रूपमा नारीलाई कज्याउन र ऊमाथि हैकम जनाउन पितृसत्ता र सिङ्गो भालेवाद लागिपरेको छ । 

हाम्रो भालेवादको व्याख्यात्मक टिप्पणी आफ्नो अनुकूल देखिन जहाँ र जताबाट पनि आएको छ यो दुर्भाग्यपूर्ण छ । व्याख्यात्मक टिप्पणी आफ्नो बचाउका लागि होइन कानुन, नीति, नियम र नैतिकताका लागि वैध हुनु पर्छ । अवैध व्याख्या विश्लेषण र टिप्पणी फगत सस्तो मनोरञ्जन र नैतिकता क्षयका लागि मात्रै हो । समाज र मानवका लागि हुन सक्दैन । समाज सुसङ्गत न्याय र निष्पक्षताले मात्र सभ्य र सुसंस्कृत बन्छ । भालेवादको समूल अन्त्यका लागि नारी पुरुषको हातेमालो जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप