बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बेला–बेलामा आफैँलाई पनि दिनुपर्छ उपहार

शुक्रबार, २४ कात्तिक २०८०, १८ : ०५
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । नोभेम्बर ५ मा दक्षिण अफ्रिकाविरुद्धको खेलमा भारतीय क्रिकेट टोलीका स्टार विराट कोहलीले शानदार शतक प्रहार गरे । यो ओडीआईमा उनले हानेको ४९ औँ शतक थियो । 

योसँगै उनले ओडीआईमा सबैभन्दा धेरै शतक हानेको भारतीय क्रिकेटर सचिन तेन्दुलकरको विश्व कीर्तिमानसँग बराबरी गरे । सोही दिन उनको जन्मदिन थियो ।

उनको यो शतकलाई कोहलीकी पत्नी तथा भारतीय अभिनेत्री अनुष्का शर्माले ‘आफ्नो बर्थडेमा आफैँलाई उपहार’ भनेकी थिइन् । मेरा केही साथी छन् जसले बेला बेलामा आफूलाई पनि उपहार दिइरहन्छन् । तपाई वा तपाईँका साथी वा आफन्तहमध्ये कोही त पक्कै हुनुहुन्छ होला जो बेला–बेलामा आफैँलाई उपहार दिइरहन्छन् ? कुनै पनि मानिसले आफैँलाई उपहार दिन्छन् ? या किन दिन्छन् ?

आफैँलाई उपहार दिने व्यक्ति बढी खुसी हुन्छन्

कञ्जुमर साइकोलोजी जरनलमा छापिएको एउटा अनुसन्धानका अनुसार जो व्यक्तिले आफैँलाई उपहार वा स्याबासी दिन्छ, त्यो व्यक्ति यस्तो नगर्ने व्यक्तिको तुलनामा बढी खुसी रहन्छन् । उनीहरुको मानसिक स्वास्थ्य पनि आफूप्रति कठोर व्यवहार गर्नेहरुको भन्दा राम्रो हुन पनि अनुसन्धानले देखाएको छ ।

आफैँलाई उपहार वा रिवार्ड दिनुको खुसी अरू व्यक्तिले दिने उपहारबाट पाइने खुसीभन्दा निकै धेरै हुने पनि बताइएको छ ।  आफूलाई राम्रो महसुस गराउने, माया गर्ने वा नयाँ नयाँ उपहारले खुसी बनाउन सबैभन्दा उत्तम व्यक्ति तपाई आफैँ हो । आफूप्रतिको माया अनि समर्पण संसारमा दोस्रो कुनै पनि वस्तुको तुलनामा सुन्दर र महत्त्वपूर्ण हुन्छ ।

किन जरुरी छ आफैँलाई उपहार दिन ?

विशेष भएको अनुभव प्राप्त हुन्छ ।

आत्मविश्वास बढ्छ ।

भविष्यमा राम्रोसँग काम गर्ने प्रेरणा मिल्छ ।

मानसिक स्वास्थ्य राम्रो हुन्छ ।

जीवनमा खुसी बढ्छ ।

कामलाई अझै राम्रोसँग गर्ने कारण पनि पाइन्छ ।

विशेष गरी तपाईँले कुनै अप्ठ्यारो खालको काम गरिरहनु भएको छ भने आफैँले आफैलाई उपहार दिनु जरुरी छ । आफूले कुनै राम्रो काम गरेको छ भने अरू व्यक्तिले आएर तपाईँलाई स्याबासी दियोस्, तारिफ गरिदियोस् भनेर किन कुर्नु हुन्छ ? आफैँले पनि आफ्नो लागि त्यो काम गर्न सक्नु हुन्छ । अफिसमा २–४ हप्ता व्यस्त सेड्युल भएपछि कतै घुमफिरका लागि जाने योजना बनाउनुस् । कार्यालयमा लामो समयसम्मको मिटिँपछि  आफैँलाई ५ मिनेटको ब्रेक दिनुस् ।

कुनै काम पूरा भएपछि आफैँलाई ट्रिट दिनुस् । आफ्ना सानातिना आवश्यकताको ख्याल राख्नुस् । जीवनमा चाहिने भन्दा धेरै सम्झौता नगर्नुस् । आफ्नो लागि पनि समय निकाल्नुस् । चाडपर्वहरुमा स्वास्थ्य नै बिग्रने गरी खानपिन नगर्नुस् । स्वस्थ बानी अपनाउनुस् । आफ्नो रुचि अनि पुराना इच्छाहरु पूरा गर्नुस् । आफूलाई मनपर्ने रेष्टुराँमा खान जानुस् । झिलिमिली ¥यापरमा बेरिएको वस्तु मात्रै उपहार हुन्न । आफैँले आफैँलाई उपहार दिन अन्य कयौँ चिज हुन सक्छ ।

केही राम्रो बानी, आफैँसँग गरिएको प्रेमिल वाचा आदि पनि हुन सक्छ । आफैलाई माया नगर्नेले अरुले पनि माया गर्न सक्दैन भनेर बुढापाकाले कहिलेकाहीँ भनेको त सुन्नु भएकै होला । अरूलाई माया गर्न, अरूको हेरचाह गर्न र अरूलाई उपहार दिन सक्ने हुन पनि तपाईँले पहिला आफैँलाई माया गर्ने, आफैँप्रति नम्र रहने अनि आफैँलाई उपहार दिने गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप