सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सांसदका कुरा

पैदलयात्री सांसद लालवीर चौधरी : मलाई कालो चिया खान समस्या पर्छ, सांसदहरू कसरी कार चढ्छन् ?

रेशम चौधरीको बुवा भनेर चिने पनि मेरो आफ्नै पहिचान छ
सोमबार, ०४ मङ्सिर २०८०, १० : ३२
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । प्रतिनिधि सभा सदस्य लालवीर चौधरीले आफू कहिल्यै सांसद बन्ने सपना देखेका थिएनन् । २०४९ सालमा पोखरामा एक ज्योतिषीले हात हेराउँदा राजनीतिमा राम्रो छैन भने पनि उनी कुनै पार्टीमा सङ्गठित भएर अघि बढेनन् । तर २०७९ साल मङ्सिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा उनी बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित भए । 

सांसद भएपछि उनलाई धेरैले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीको बुवाका रूपमा चिन्ने गरेका छन् । तर लालवीरको परिचय यतिमा मात्र सीमित छैन, उनको आफ्नै परिचय र खँदिलो पृष्ठभूमि छ । 

२०१२ माघ २२ गते दाङको ढिकपुर पञ्चायत वडा नम्बर ३, भगुवा भन्ने ठाउँमा जन्मिएका लालवीर २०३० सालमा कक्षा १० मा अध्ययनका क्रममा थिए । त्यो बेला उनका बुवा क्षयरोगबाट पीडित भएपछि २०३४ सालसम्म बुवाको उपचारमा लाग्नुपर्दा उनको पढाइ त्यहीँ छुट्न पुग्यो । नजिकै अस्पताल नभएकाले भारतको बहराई पुगेर उपचार गरेका थिए । त्यसपछि उनले अध्ययनलाई अघि बढाउन सकेनन् । 

२०२८ सालदेखि कैलालीको टीकापुर बस्न थालेका उनले पढाइ छोडेपछि खेतीपातीमा लागेका थिए । परिवारको जेठो छोरा भएका कारण पारिवारिक जिम्मेवारी उनको काँधमा थियो । २०३० सालमा उनको विवाह गरेका लालवीरका जेठो छोरा रेशम २०३३ सालमा जन्मिएका थिए । 

२०३२ सालदेखि उनले कैलालीका खेतमा नहर बनाएर सिँचाइ गर्ने अगुवाका रूपमा काम गर्न थालेका थिए । कर्णाली नदीबाट कुलो खनेर गाउँ गाउँमा पानी लैजाने कामको नेतृत्व थालेका उनी त्यो बेला ३६ मौजाको लेखनदार भएका थिए । 

lalbir chaudhary (6)

पञ्चायतकालीन गृह र भूमि सुधारमन्त्री रहेका खड्गबहादुर सिंहले आफूलाई समाज सेवामा लाग्न प्रेरित गरेका थिए । 

२०४७ सालदेखि उनी कैलालीको सिँचाइ नहर व्यवस्थापनको अध्यक्ष भए । त्यतिबेला अध्यक्षलाई ‘चौधरी’ भनिन्थ्यो । 

झन्डै ९ वटा गाविसका किसानसँग जोडिएका लालवीरको पक्षमा ठूलो जनमत देखेपछि चुनावका बेला विभिन्न राजनीतिक दलका नेताहरू उनको घरमा धाउने गर्थे । उनले आफूलाई ठीक लागेको नेतालाई जिताउनका लागि आफ्नो नेतृत्वमा रहेका किसानहरूलाई आग्रह गर्ने गरेका थिए । 

उनी अध्यक्ष अर्थात् चौधरी भएपछि १५३ मौजा अर्थात् झन्डै २५ हजार बिघा क्षेत्रफल जमिनमा सिँचाइ व्यवस्थापन गर्ने नेतृत्वको थालनी गरेका थिए । त्यो भनेको लगभग ९ वटा गाविसभरिका खेतमा सिँचाइको व्यवस्था गर्ने जिम्मेवारी रहेको उनले बताए । 

सांसद चौधरीले भने– ‘सिँचाइका लागि कुलो बिस्तार गर्ने, गाउँका किसानहरूको बिचमा बैठक राख्ने, यति दिन यो क्षेत्रमा, यो किसानको खेतमा पानी जाने, यसरी काम गर्ने भन्ने बारेमा व्यवस्था गर्नुपथ्र्यो । सिँचाइका लागि कर्णालीको चिसापानीबाट कुलो खनेर लाने गरेका थियौँ ।’

झन्डै ९ वटा गाविसका किसानसँग जोडिएका लालवीरको पक्षमा ठूलो जनमत देखेपछि चुनावका बेला विभिन्न राजनीतिक दलका नेताहरू उनको घरमा धाउने गर्थे । उनले आफूलाई ठीक लागेको नेतालाई जिताउनका लागि आफ्नो नेतृत्वमा रहेका किसानहरूलाई आग्रह गर्ने गरेका थिए । 

उनले भने– ‘मेरो हातमा ठूलो जनमत भएपछि सबै नेताहरू सहयोग माग्न मेरो घरमा आउनुहुन्थ्यो । गाविस अध्यक्ष, सांसद पद जित्नका लागि सबै दलका मान्छे मकहाँ पुग्ने गर्नुहुन्थ्यो । तर त्यतिबेला मलाई राजनीतिक चासो थिएन । म समाज सेवामै भिजेर त्यसमै व्यस्त थिएँ । म राजनीतिमा लागेको भए २०४८ सालमै सांसद भइसकेको हुन्थेँ होला । दशौँ हजार जनता मेरो साथमा थिए, उनीहरूको नेतृत्व गरेर मैले सिँचाइको क्षेत्रमा काम गरेँ । मैले यति बजे, यो ठाउँमा आऊ भनेपछि १० हजार जनतालाई मैले आधा घण्टामा काम दिइसकेको हुन्थेँ । यति लम्बाइ, यति चौडाइ, यति गहिराइ, यति क्युफिटमा यति जना मान्छेले काम गर्ने भन्ने मेरो सूत्र थियो । १५३ वटा समूहलाई एकसाथ कुलो बनाउने कामको नेतृत्व गर्थें ।’

उनले त्यति बेला कुलो बनाउने काम आफ्नै स्रोत र साधनको प्रयोग गरेर गर्ने गरेको बताए । 

अहिले छोराले बनाएको नागरिक उन्मुक्ति पार्टीको नामबाट चिनिए पनि आफ्नो छुट्टै पहिचान र परिचय रहेको चौधरी बताउँछन् । सामाजिक रूपमा काम गर्ने मान्छे भएकाले सबै पार्टीका नेताहरूले आफूलाई पहिलेदेखि नै चिन्ने उनको भनाइ छ । 

उनले भने– ‘त्यतिबेला हामी तीन चार महिनासम्म कुलो खन्थ्यौँ । आफ्नै स्रोत, साधन, फौरा, झम्पल, ढकिया, झवैया, बेल्चा सबै लिएर जान्थ्यौँ । खानपान, बिस्तारा सबै लिएर जान्थ्यौँ । हामी थारूको जात अधिकांश जाँड खाने, सबै कुरा बोकेर जान्थ्यौँ । सधैँ एउटै मान्छेले काम गर्दा थाकिन्छ भनेर पाँच पाँच दिनमा मान्छे परिवर्तन गरिदिन्थेँ । यो गाउँको मान्छे ५ दिन काम गरेपछि फेरि अर्को दिन अर्को गाउँको मान्छेलाई बोलाउने । २० बिघा जमिन हुनेले ४ जना काम गर्ने मान्छे दिनुपर्ने नियम बनाएका थियौँ । मान्छे दिन नसके ४ जना बराबरको ज्याला दिनुपर्ने व्यवस्था गरेका थियौँ । त्यति बेला एक जना मजदुरले दिनभरि काम गरेको ज्याला ७ रूपैयाँ थियो । मजदुर पठाउन नसक्नेबाट आएको ज्याला पारदर्शी रूपमा सार्वजनिक गर्थें र काम गर्ने मजदुरका लागि पन्ध्र–बीसवटा सुँगुरको व्यवस्था गर्थें । पाँच ढोल जति रक्सी किनिदिन्थेँ । यो यो शीर्षकमा खर्च भएको भनेर सार्वजनिक गर्थें । जङ्गलमा बस्ने, सुँगुरको मासु खाने, बिहानदेखि साँझसम्म कुलो खन्ने, त्यसमै रमाउने गर्थ्यौं ।’

लालवीरले लगभग २०३२ सालदेखि २०६६ सालसम्म यसरी कुलो बनाएर सिँचाइ गराउने कामको नेतृत्व लिएका थिए । उनको जनआधार नै कैलालीका किसान थिए । कुलो नहर बनाउन, थप विस्तार गर्न उनी हरेक वर्ष काठमाडौँ धाउने गर्थे ।

चौधरीले भने– ‘मेरो मुख्य जनआधार नै सिँचाइसँग जोडिएको छ । सिँचाइ मन्त्रालय, सिँचाइ विभागका सबै कर्मचारी मलाई चिन्थेँ । २०४० सालदेखि हरेक वर्ष दुई तीन पटक म डेलिगेसनका लागि मन्त्रालय र विभागमा आउने गर्थें । डेलिगेसनका लागि जिल्लाका सभापति, सांसद, मन्त्री, प्रधानमन्त्रीसम्म पुग्थे । त्यति बेला प्रधानमन्त्री सूर्यबहादुर थापा, जलस्रोत मन्त्री पशुपतिशमशेर राणा हुन्थे । म सिँचाइका लागि काम गर्ने मान्छे भनेर शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली सबैले मलाई पहिलेदेखि नै चिन्थे ।’

अहिले छोराले बनाएको नागरिक उन्मुक्ति पार्टीको नामबाट चिनिए पनि आफ्नो छुट्टै पहिचान र परिचय रहेको चौधरी बताउँछन् । सामाजिक रूपमा काम गर्ने मान्छे भएकाले सबै पार्टीका नेताहरूले आफूलाई पहिलेदेखि नै चिन्ने उनको भनाइ छ । 

lalbir chaudhary (3)

उनले सिँचाइका लागि कुलो व्यवस्थापनको काम छोडेको २१ महिना मात्र भएको छ । उनले काम थालेदेखि अहिलेसम्म सो क्षेत्रमा २७ अर्ब बराबरको आयोजनका काम ल्याउन आफूले भूमिका खेलेको उनको भनाइ छ । 

आफ्नो जीवनकालमा झन्डै ३५ किलोमिटर लामो सिँचाइ कुलो निर्माणमा आफ्नो भूमिका रहेको चौधरी बताउँछन् । ३८ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने संरचना रहेको उनले बताए । चौधरीका अनुसार कैलालीका ३ वटा निर्वाचन क्षेत्रमा उनको नेतृत्वको सिँचाइ नहर फैलिएको छ ।  

उनी भन्छन्– ‘त्यति बेला कुलोको चौधरी भएको बेलामा मैले बोलेपछि कसैले काट्दैनथे । मैले कसैको मन दुखाइन, कसैलाई गाली गरिनँ । त्यो हिसाबबाट काम गर्दै अघि बढेको थिएँ । अहिले पनि मेरो आधार भनेको कैलाली हो । कैलाली क्षेत्र नम्बर १ मा मलाई जुन पार्टीले मलाई टिकट दिए पनि म चुनाव जित्छु ।’

बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिएर उनी अघिल्लो वर्षको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए । बर्दियाका जनताले आफ्नो काम गराइ देखेको हुनाले आफूलाई चुनाव जिताएर पठाएको चौधरी बताउँछन् । 

सांसद भएपछि सिँचाइको काममा लाग्न नपाएकोमा उनलाई बेला बखत खल्लो महसुससमेत हुने गरेको छ । स्थानीयले पनि उनले विगतमा गरेको कामलाई सम्झिरहेको र बेला बेला सिँचाइका भनेको जस्तो काम नहुँदा उनीहरूले सम्झने गरेको चौधरीले बताउँछन् । 

२०८४ सालको चुनावमा आफू बर्दियाबाट उठे पनि कैलालीबाट उठे पनि चुनाव जित्नेमा उनी ढुक्क छन् । बर्दियाको क्षेत्र नम्बर १ र २ तथा कैलालीका क्षेत्र नम्बर १, २ र ३ बाट आफूलाई चुनाव जित्न कुनै कठिनाइ नहुने उनको दाबी छ । 

उनले भने– ‘अहिलेको नयाँ प्रविधिमा भिज्न हामीलाई अलि गाह्रो छ तर त्यहाँको समाजमा म वर्षौंदेखि भिजेको छु । त्यहाँको तराई र पहाडे समुदायका सबैले मलाई मान्छन् । तपाईंलाई म भन्छु, कैलाली र बर्दियाका मान्छे कसैले यसले पैसा खाइदियो भनेर कोही वीर निस्कन सक्दैन र राज्यको पैसा पनि खाएको छैन । सिँचाइका लागि काम गर्दा पनि म कर्मचारी छैन, समाज सेवाका लागि निःशुल्क श्रमदानमा काम गरेँ । मेरा लागि सरकारी खर्च भएको कुरा गर्ने हो भने सरकारले गरेको आग्रह र व्यवस्थापनमा म दुई पटक विदेश पुगेको छु, त्यत्ति हो । कहिलेकाहीँ बैठकहरू गर्दा चार सय, पाँच सय दिन्थे, मैले लिएको भनेको त्यत्ति हो । त्यहाँ २७ अरबको काम हुँदा म चौधरी भएको मान्छेले २७ रूपैयाँ पनि खाएको छैन ।’

सांसद भएपछि सिँचाइका लागि गरेका कामहरू मिस गर्छु

सांसद भएपछि सिँचाइको काममा लाग्न नपाएकोमा उनलाई बेला बखत खल्लो महसुससमेत हुने गरेको छ । स्थानीयले पनि उनले विगतमा गरेको कामलाई सम्झिरहेको र बेला बेला सिँचाइका भनेको जस्तो काम नहुँदा उनीहरूले सम्झने गरेको चौधरीले बताउँछन् । 

उनले भने– ‘पहिला गरिरहेका काम अहिले छुटेको मलाई महसुस मात्र हुँदैन, त्यहाँका स्थानीयले मलाई फोन गरेर तपाईं चौधरी भएको बेला सबै काम समयमा हुन्थ्यो तर अहिले यो भएको छैन, त्यो भएको छैन, यो पुगेन भन्छन्, अहिलेकाले शासक भएर काम गरिरहेका छन्, तपाईं सामान्य जनता भएर काम गर्नुहुन्थ्यो भनेर मलाई पटक पटक फोनहरू आइरहन्छ । त्यहाँ गएपछि सम्मानका लागि गाउँ गाउँमा मानिसहरू उपस्थित भइदिन्छन् । त्यो किसिमले मलाई माया गर्छन् ।’ 

उनले कुनै दिन आफू सांसद भएर सिंहदरबार आउला भनेर कहिल्यै कल्पना गरेका थिएनन् । तर एक पटक उनले पोखरामा आफू राजनीतिमा जाँदा कस्तो होला भनेर ज्योतिषीलाई हात देखाएका थिए । २०४९ सालतिर ज्योतिषीले त्यसो भनेपछि उनी राजनीतितिर लागेनन् । 

तर सिँचाइको क्षेत्रमा भने उनले खानेपानी तथा सिँचाइ जिल्ला महासङ्घको २ पटक कैलाली जिल्ला अध्यक्ष भएर काम गरेका थिए । यस्तै २ पटक राष्ट्रिय सिँचाइ महासङ्घको केन्द्रीय सदस्य भएका थिए । यस्तै थारू कल्याणकारी समितिको पनि २ कार्यकाल सदस्य पदमा बसेका थिए । 

उनी भन्छन्– ‘सामाजिक काम गर्ने सम्बन्धमा मैले व्यक्तिगत सम्पत्ति गुमाएको छु । ३ बिघा १४ कठ्ठा जग्गा नै बेचेको छु । चार पाँचवटा घडेरी नै बेचेको छु । झन्डै १२ बिघा मेरो जमिन थियो । त्यसरी म अगाडि आएको छु । अहिले पनि म भन्न चाहन्छु, सबै माननीय म जस्तै भए, राज्यलाई ठीक ठाउँमा ल्याउँन सक्छौँ ।’

मलाई कालो चिया खान समस्या पर्छ, सांसदहरू कसरी कार चढ्छन् ?

सांसदको भूमिकामा आएपछि उनले नेताहरू, सांसदहरूलाई नजिकबाट देख्न र चिन्न पाएका छन् । नेता, सांसदहरूको भड्किलो खर्च, दैनिकी देखेर उनी चकित छन् । सधैँ पैदल हिँडेर गुजारा गर्ने उनलाई सांसदहरू कारमा हिँडेको, खर्चिलो खाजा खाएको र बिलासी दैनीकी बिताउन उनीहरूलाई कहाँबाट खर्च आउँछ भन्ने कुराले छक्क परेका छन् । 

सांसद चौधरी भन्छन्– ‘यो आठ–दस महिनाको अवधिमा हेर्दा सबै माननीयहरू लालचीका रूपमा देख्छु । यहाँ आइसकेपछि गाडी मात्रै चढ्ने गर्छन् । म जहिले पनि संसद् भवन र सिंहदरबार पैदल मात्रै आउँछु । शान्तिनगरमा मेरो डेरा छ, त्यहाँबाट सिंहदरबारसम्म आउन मलाई झन्डै ३० मिनेट जति लाग्छ । संसद् भवन बानेश्वरमा १५ मिनेटमा पुग्छु । कहिलेकाहीँ अप्ठ्यारो परेको बेलामा र समय छोटो भएको बेलामा पठाओ चढेर आउँछु  ।’

उनी अगाडि भन्छन्– ‘म बाहिर चिया खान पनि सक्दिनँ, मेरो कथा–व्यथा मलाई थाहा छ । सांसद भएपछि पार्टीलाई पनि पैसा दिनुपर्ने, हामी त झन नयाँ पार्टी भएकाले धेरै पैसा दिनुपर्ने, ३० हजार घरभाडा दिनुपर्ने, महिनामा एक दुई पटक प्लेनमा जाने आउने गर्दा त्यसमा खर्च हुने गर्छ । हामीलाई त कालो चिया खाने पैसा पनि बच्दैन । म देख्छु, माननीयज्यूहरू पजेरो चढेर आउँछन्, पजेरो चढेर जान्छन्, दिनमा त्यही किसिमले नास्ता गरेको देख्छु । कहाँबाट आउँछ, कसले दिन्छ पैसा ? म तराई बेल्टमा बसेको, अहिले पनि मेरो बाह्र तेह्र बिघा जग्गा छ, हामीसँग २ रूपैयाँ नहुने तर चुनाव जितेर आएलगत्तै धेरै खर्च गर्ने कसरी हुन्छन् । कसरी हुँदो रहेछ त्यो पनि बुझिरहेको छु ।’

सिँचाइको क्षेत्रमा नतिजामुखी काम गरेर नथाकेका चौधरीलाई संसद्को काम गराइ चित्त बुझेको छैन । तर ठूला दलका नेताहरूले साना दललाई पनि साथमा लिएर जानुपर्छ भनेर अघि बढेको कुरा भने उनलाई चित्त बुझेको छ । विकासको काम केही नभएकोमा भने उनले चिन्ता व्यक्त गरे । जिल्लामा १० हजार मान्छेलाई उठाएर नहर निर्माणको नेतृत्व गरेर खेतभरि पानी पु¥याएर नजिता देखाएका उनलाई अहिले केही पनि काम नभएको महसुस हुने गरेको छ । संसद्मा जति बोले पनि नसुनिएको र राजनीतिक नेताले नै कर्मचारी प्रशासनलाई बिगारेकाले देशमा ठोस ढङ्गले काम हुन नसकेको सांसद चौधरीको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप