बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
हतियार प्रकरण

दुर्गा प्रसाईंको हतियार कानुन अनुसार इजाजत दिन नमिल्ने : छानबिन समिति

सोमबार, १७ वैशाख २०८१, १८ : ५३
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट ५ चैत २०८० मा दुर्गा प्रसाईंका सुरक्षा गार्डबाट बरामद गरिएको हतियार ‘इजाजत दिन नमिल्ने’ प्रकृतिको रहेको छानबिन समितिको निष्कर्ष छ । सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाउँदै सो हतियार ‘इजाजत दिन मिल्ने खालको नदेखिएको’ ठहर गरेको हो ।

समितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा भनिएको छ,‘सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोके अनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको पाइएको छ ।’

छानबिन समितिमा कानुन महाशाखाका उपसचिव ऋषि पौडेल र प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य र उपसचिव एकदेव अधिकारी सदस्य–सचिव थिए ।

प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट २०७५ असार २१ मा हतियारको इजाजतपत्र लिएका हुन् । उनले लिएको हतियारको इजाजतपत्र (लाईसेन्स) नम्बर १०१३१ हो । झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुद्धशान्ती–३ झापा घर भएका दीपक खड्कालाई बाहक तोकेर प्रसाईको नाममा हतियार इजाजतपत्र दिएका थिए । खड्का दुर्गा प्रसाईंका व्यक्तिगत सुरक्षा गार्ड हुन् ।

मोडल नम्बर ५ र सिरियल नम्बर ए–३५४७५२ नम्बरको २२ बोर बन्दुको इजाजतपत्र लिएका प्रसाईंका सुरक्षा गार्डको साथबाट प्रहरीले जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ र १ सय राउण्ड गोली बरामद गरेको थियो । अदालत परिसरबाट जर्मन स्पोर्ट गनसहित पक्राउ परेपछि त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए ।

हातहतियार खरखजाना ऐन–२०१९ को संशोधित व्यवस्था २०७४ अनुसार प्रमुख जिल्ला अधिकारीले हतियार राख्ने इजाजत दिन्छन् । तर, प्रसाईंलाई प्रदान गरिएको हतियार अनुमति विवादित बनेको छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी दाहालले प्रसाईलाई नेपाल राज्यभर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने अनुमति दिएका हुन् । उनलाई प्रदान गरिएको लाइसेन्समा लेखिएको छ,‘हातहतियार खरखजाना राख्न पाउने (इलाका) : नेपाल राज्य भर जुनसुकै अवस्थामा लिएर हिँड्न पाउने साथै प्रयोग गर्न पाउने ।’

हातहतियार खरखजाना ऐन अनुसार निश्चित स्थानमा मात्र बोक्न पाउनेगरी इजाजतपत्र दिने व्यवस्था छ । प्रशासनले तोकिएको ठाउँभन्दा बाहेक अन्यत्र हतियार लैजानुपर्दा हरेक पटक प्रमुख जिल्ला अधिकारीसँग ‘यात्रा अनुमति’ लिनुपर्ने कानुनी व्यवस्था छ ।

प्रसाईंले लिएको हतियार इजाजत सिकार गर्न मिल्ने प्रकृतिको ‘टुटु’ गन हो । त्यसमा म्यागजिनको क्षमता अनुसार गोली राख्न मिल्छ । प्रहरीका एकजना उच्च अधिकृत भन्छन्,‘उनलाई अनुमति दिएको सेमि अटोमेटिक हतियार हो ।’ तर, प्रहरीले जर्मनमा बनेको जिएसजी–५ बरामद गरेको छ । इजाजत पत्रमा उल्लेख भएकै प्रकृत्तिको हतियार र बरामद हतियारबारे गृहका अधिकारीहरूले विश्लेषण गरेर प्रतिवेदन बुझाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप