बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी तीन महिने अभियान : प्रचण्ड पाँच प्रदेशको ६ वडामा पुगे, नारायणकाजी कतै गएनन्

नेताहरू भन्छन्– माओवादी फेरि बलियो शक्ति हुनेमा आशा छ, विश्वास छैन
शुक्रबार, १५ मङ्सिर २०८०, २० : ०७
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । माओवादी केन्द्रले थालेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीन महिने अभियान शनिबार तीन महिना पूरा हुँदैछ । गत साउन (१७–२१)सम्म राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बैठकको निर्णयअनुसार गत भदौ १६ देखि ७५३ वटै पालिकाको ६ हजार ७४३ वडामा अभियान सुरू गरिएको हो । २०७० को निर्वाचनपछि पार्टीले लगातार धक्का खाएको र प्रतिस्पर्धी दलको तुलनामा निकै कमजोर भएको निष्कर्ष निकाल्दै बैठकले अध्यक्ष प्रचण्डसहित सिङ्गो केन्द्रीय समिति वडा केन्द्रित भएको छ । बिचमा दसैँ, तिहार र छठजस्ता चाडपर्व परेकाले अभियान प्रभावित भएको भन्दै थप एक महिना लब्याइएको छ ।

अध्यक्ष प्रचण्डले बैठकको निर्णय सार्वजनिक गर्दै त्यतिबेला आफू र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सात प्रदेशको सात वडामा जाने प्रतिबद्धता जनाएका थिए ।

प्रतिबद्धता जनाएअनुसार प्रचण्डले तीन महिनामा चार प्रदेशको चार वडामा गएर जनतासँग प्रत्यक्ष कुराकानी गरिसकेका छन् । भदौ १६ गते काठमाडौंको चन्द्रागिरि–२ स्थित घट्टे डाँडामा पुगेर अभियान उद्घाटन गरेका उनले स्थानीयका प्रत्यक्ष गुनासोसमेत सुनेका थिए ।

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग स्थानीयले नागढुंगा सुरुङ मार्गले पारेको प्रभाव, स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, विद्युतलगायतका समस्या सुनाएका थिए । नागढुंगा सुरुङमार्ग प्रभावित क्षेत्रका जनताका गुनासापछि कार्यक्रम स्थलबाटै उनले आयोजना प्रमुख नविनमान श्रेष्ठलाई फोन गरी ७ दिनभित्र समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

काठमाडौँ उपत्यकाभर माओवादीले धक्का खाइरहेका अवस्थामा उक्त वडामा प्यानलै विजयी भएको भन्दै उनले अभियानपछि पार्टी फेरि झाङ्गिएर आउने विश्वास व्यक्त गरेका थिए ।   

२०७९ वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि–२ मा वडाध्यक्षसहित माओवादीले प्यानलै जितेको थियो । सोही आधारमा माओवादीले त्यहीँबाट विशेष रूपान्तरण अभियान सुरु गरेको थियो ।

असोज २९ गते समाजवादी मोर्चाले अयोजना गरेको सन्देश सभामा भाग लिन कैलालीको धनगढी पुगेका प्रचण्डले गौरीगंगा नगरपालिका–७ का कार्यकर्ताको गुनासो सुनेका थिए । स्थानीय कार्यकर्ताले शान्तिप्रक्रियामा आएपछि पार्टी नेतृत्व टाढिँदै गएको, विकास निर्माणमा ध्यान नदिएको, सहिद तथा अपाङ्ग परिवारलाई दीर्घकालीन व्यवस्था नगरेको उनीहरुको गुनासो थियो ।

तेस्रोपटक माओवादी जनयुद्धको जनाधार क्षेत्र रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका ६ र ७ नम्बर वडाका जनतासँग प्रचण्डले प्रत्यक्ष भेटघाट गरे । कात्तिक ९ गते बाफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रम २०८० को उद्घाटन समारोहमा भाग लिन उनी त्यसतर्फ गएका थिए ।

सभालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विधेयक सदनमा पुगेको, विधेयक टुङ्गिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुने, सहिद पार्क, स्तम्भहरू बनाउने, सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुने लगायतका आश्वासन दिएका थिए ।

त्यहाँका सहिद परिवार, घाइते अपाङ्गता तथा बेपत्ता परिवारले नेताहरू सहरमुखी भएको, जनयुद्धमा रुकुमेलीले दिएको बलिदानीलाई भुलेको, सहिद मार्ग र सहिद पार्क बनाउन उचित ध्यान नदिएको गुनासो पोखेका थिए ।

त्यसपछि प्रचण्ड अभियान अन्तर्गत रोल्पाको थवाङ पुगे । कात्तिक २४ गते रोल्पा पुगेका उनले सुरुमा थवाङ गाउँपालिका बैठकको ‘इञ्चार्जसीप’को भूमिका निर्वाह गरे । प्रचण्ड लगायत शीर्ष नेताहरू लामो समयदेखि रोल्पा नगएको त्यहाँका नेता तथा कार्यकर्ताहरूले गुनासो पोखका थिए ।  युद्धको बेला सबैलाई सुगम हुने, अहिले सबैलाई दुर्गम हुने स्थिति किन आयो भन्दै सहिद तथा बेपत्ता र अपाङ्गता भएका परिवारहरूले प्रश्न उठाएका थिए । सत्तामा पुगेपछि नेताहरू सुविधाभोगी भएको, रोल्पाको विकासमा भूमिका नखेलेको, सहिद मार्ग, पार्क निर्माणमा ध्यान नदिएको जस्ता गुनासो पोखेका थिए ।

जवाफमा प्रचण्डले रोल्पाली जनताले पार्टीभित्र युद्धकालमा दुई लाइन संघर्षलाई बचाएको, शीर्ष नेतृत्वलाई बचाएको चर्चा गर्दै आफू फेरि जनयुद्धको आधारभूमि रोल्पा आउन पाउँदा गर्व लागेको बताएका थिए ।

गण्डकी प्रदेशअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका १ र २ मा निर्माण भएको १५ बेड क्षमताको आँबुखैरेनी अस्पताल र  आँबुखैरेनी र गोरखाको गोरखा नगरपालिका जोड्ने मर्स्याङ्दी नदीमा निर्माण भएको मोटरेबल पुलको उद्घाटन गर्न उनी मङ्सिर १ गते त्यहाँ पुगे । सोही क्रममा प्रचण्डले राजनीतिक कार्यकर्ता भेटघाट र जनप्रतिनिधिसँग अन्तरक्रिया गरेका थिए ।

मङ्सिर ३ गते प्रचण्ड लुम्बिनी प्रदेशकै अर्को जिल्ला रुकुम(पूर्व)को पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट पुगेर स्थानीयसँग प्रत्यक्ष अन्तक्र्रिया गरे । ६० प्रतिशत भू–भाग ढोरपाटन सिकार आरंक्षण जोडिएको जिल्ला भएकाले आरक्षणका कारण स्थानीय पीडित हुनुपरेको गुनासो स्थानीयले पोखेका थिए । सहिद मार्गलाई डोल्पा हुँदै चीनको स्वशासित क्षेत्र तिब्बत जोड्न ट्रयाक खोल्नु पर्ने, विकट क्षेत्र भएकाले प्याकेजमै योजना पार्नुपर्ने, जल, जमिन, जंगलमा स्थानीयको अग्राधिकार दिनुपर्ने, २०२९ को पुरानो वन ऐन संशोधन गर्नुपर्ने माग स्थानीयले राखेका थिए ।

यस्तै संघीयता, गणतन्त्रको लागि ठुलो त्याग, तपस्या र बलिदान गरेको स्मरण गराउँदै सहिद परिवार, घाइतेहरूको समस्या समाधान गर्न प्याकेजमै योजना ल्याउनुपर्ने माग उनीहरुले राखेका थिए । मैकोट उक्त जिल्लाको निकै विकट र पर्यटकीय क्षेत्रसमेत हो । स्थानीयको गुनासोपछि ढोरपाटन आरक्षणबाट भएका अप्ठ्यारा हटाउन प्रचण्डले वन ऐन २०२९ हटाउने प्रतिबद्धता जनाएका थिए ।

मङ्सिर १९ गते मधेशस्तरीय प्रशिक्षण कार्यक्रममा भाग लिन उनी मधेश प्रदेश जान लागेका छन् । सोही बेला प्रचण्ड सहभागी हुने वडा छनोट गरिने स्थायी कमिटी सदस्य प्रह्लाद बुढाथोकीले जानकारी दिए ।

मङ्सिरको अन्तिम साता प्रचण्ड कोशीको मिक्लाजुङ गाउँपालिका–६ मा जाने तयारी भइरहेको माओवादी कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले जानकारी दिए । जनयुद्धको बेला ठुल्ठुला भिडन्त भएको र विजय प्राप्त गरेकाले उक्त वडामा अभियान अन्तर्गत जान अध्यक्ष प्रचण्डलाई सिफारिस गरिएको उनको भनाइ छ ।

बिरामीका कारण नारायणकाजी श्रेष्ठ अभियानमा गएनन्

तर उपप्रधान तथा गृहमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ मुटुसम्बन्धी बिरामीका कारण पूर्वनिर्धारित घोषणा अनुसार कुनै पनि वडा गएका छैनन् । चीन भ्रमणमा रहेका बेला गृहमन्त्री श्रेष्ठलाई कात्तिक २ गते ‘माइल्ड हर्टअट्याक’ भएको थियो । समस्या देखिएपछि तत्कालै पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि कात्तिक ८ गते स्वदेश फर्किएका थिए । अहिले उनी बेड रेस्टमै भएकाले अभियानमा जान नसकेको श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

‘पूर्वघोषणा अनुसार सातै प्रदेशको सात वडामा जाने भनिएको थियो । उहाँ बिरामी भएकाले बेड रेस्टमा हुनुहुन्छ । सक्नुभयो भने पछि जानुहुन्छ कि’, गौतमले भने ।

तीन महिने अभियानको प्रारम्भिक समीक्षा– आशा छ, विश्वास छैन

अभियान सञ्चालन भएको तीन महिना पूरा भएको अवसरमा सात वटै प्रदेशमा माओवादीको समीक्षात्मक बैठक बसिरहेको छ । बैठकले अहिलेसम्म भएका काम, प्रगति, समस्या र चुनौतीबारे समीक्षा गरेर प्रतिवेदन बनाउने नेताहरूले बताएका छन् ।

स्थायी कमिटी सदस्य प्रह्लाद बुढाथोकीले तीन महिने अभियानले जनतामा केही आशा र उत्साह जगाएको बताए । तर पूरै जाग्ने गरी अभियानले जनतालाई घचघच्याउन नसकेको उनले स्वीकार गरे ।

मधेस प्रदेशको बारा इन्चार्ज रहेका बुढाथोकीले तीन महिने अभियानको समीक्षा गर्दै भने, ‘अभियानले जनतालाई केही झकझक्याएको छ । नेता तथा कार्यकर्ता आशावादी देखिएका छन् । तर नेतृत्वले भनेजस्तै पूरै आशावादी हुने अवस्था देखिँदैन । मुख्य कुरा पार्टी गतिशील हुन नसक्दा समस्या आएको छ । गुटबन्दीले पनि केही असर गरेको छ । माओवादीलाई पूरै जगाउनका लागि संगठन चलायमान बनाउनुको साथै जनतालाई आकर्षित हुने गरी कार्यक्रम ल्याउनुपर्छ ।’

यस्तै रुकुम पूर्वकी इन्चार्ज एवं स्थायी कमिटी सदस्य कमला रोक्काले माओवादी जनाधार क्षेत्र भएकाले कर्णाली र रोल्पामा त्यति समस्या नदेखिए पनि विकास निर्माण र सहिद, अपाङ्ग र बेपत्ता परिवारप्रति जनता, नेता तथा जनताका गुनासा रहेको बताइन् । तीन महिने अभियानले आफू निकै उत्साहित भएको उनले जिकिर गरिन् ।

‘तीन महिने अभिायनबाट म निकै उत्साहित छु । माओवादी फेरि जाग्नेमा यहाँका जनताहरू आशावादी छन्’, उनले भनिन् ।

यस्तै अछामका इन्चार्ज एवं केन्द्रीय सदस्य ओमप्रकाश पुनले तीन महिने अभियानले संगठनलाई केही चलायमान बनाए पनि विश्वास गर्ने स्थिति नभएको स्वीकार गरे ।

कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले अभियानले पहिलेकै लयमा फर्काउन निकै मेहनत गर्नुपर्ने बताए । माओवादीप्रति जनआकर्षण बढाउन संगठन चलायमान र जनलक्षित प्याकेजमै कार्यक्रम तय गर्नुपर्ने उनको बुझाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप