बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म

सोमबार, २९ वैशाख २०८२, ०० : १६
सोमबार, २९ वैशाख २०८२

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
१. ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित
सरकारको वार्षिक नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट पारित भएको छ । प्रतिनिधि सभामा यसअघि नीति तथा कार्यक्रममा परेको ३७ संशोधन अस्वीकृत भएको थियो ।

२. संसदमा बजेटको सिद्धान्त र प्राथमिकता पेश
सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३)को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ । आइतबार प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमाथि छलफल गर्ने प्रस्ताव पेश गरेका हुन् ।

३. प्रचण्डले मागे हर्क साम्पाङको साथ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको साथ मागेका छन् । पहिचानका मुद्दा स्थापित गर्न आफूलाई साथ दिन उनले साम्पाङसँग आग्रह गरेका हुन् ।

४. जेठ १५ देखि हुने आन्दोलन गर्ने तयारीमा जुटे राजावादी
राजावादीहरू जेठ १५ देखि हुने आन्दोलनको तयारीमा जुटेका छन् । आइतबार उनीहरूको बैठकले काठमाडौँ बाहिरबाट व्यापक मान्छे भित्र्याएर आन्दोलन गर्ने निर्णय गरेको हो ।

५. काठमाडौँका दुई निजी विद्यालयमा छापा
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका दुई निजी विद्यालयमा छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका–६ मा रहेको युरो स्कुल र टोखा नगरपालिका–४ मा रहेको मिल्सवेरी इन्टरनेशनल स्कुलमा विभागले छापा मारेको हो ।

६. माओवादी र नेसपाबिचको एकता प्रक्रिया जेठभित्रै टुङ्ग्याइने
नेकपा माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीबिच जेठ मसान्तभित्र एकता प्रक्रियालाई टुङ्ग्याउने गरी सहमति भएको छ । शुक्रबार माओवादीका अध्यक्ष प्रचण्ड र यादवबिच खुमलटारमा आधा घण्टा लामो कुराकानी भएको स्रोतको दाबी छ । यता जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिचको एकता प्रक्रिया भने अन्योलमा परेको छ ।

७. रविको रिट ‘हेर्न नमिल्ने’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदन हेर्न नमिल्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएकोमा हेर्न नमिल्ने भएको हो ।

८. बालेनसँगको विवादपछि काठमाडौँका सडकबाट हात झिक्दै विभाग
काठमाडौँ महानगरप्रमुख बालेनसँग गत वर्ष भएको विवादपछि सडक विभागले काठमाडौँका अधिकांश सडकबाट हात झिक्ने तयारी थालेको छ । अबदेखि राष्ट्रिय राजमार्ग बाहेकका सबै सडक स्थानीय तहलाई हस्तान्तरण गर्न गृहकार्य थालिएको विभागले जनाएको छ । 

९. एक वर्ष अघि नै पक्राउ पुर्जी जारी भएका एमाले सांसद अझै पक्राउ परेनन्
नेकपा एमालेका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि नै पक्राउ पूर्जी जारी गरेको खुलेको छ । यद्यपि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।

१०. फिल्म सिटीको चर्चा कहाँ सेलायो ?
नेपालमा फिल्म सिटी बनाउने चर्चा चलेको धेरै भयो । यद्यपि देखिने गरी काम भएको छैन । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

११.  नोरा फतेहीको नेपाल कार्यक्रम,  दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउँदैछिन् । शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’ को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि उनी नेपाल आउन लागेकी हुन् ।

१२. सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
सिरियाको लाताकिया प्रान्तको गाउँले क्षेत्रमा बुधबारदेखि सुरु भएको डढेलोले ३० हेक्टरभन्दा बढी जमिन जलेको सिरियाली नागरिक सुरक्षा विभागले आइतबार जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप