मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
जाजरकोट–रुकुम पश्चिम स्थलगत

‘जनताको पीडा मेरो पीडा हो, त्यही सम्झेर आफ्नो ड्युटी पूरा गरिरहेको छु’

आइतबार, १७ मङ्सिर २०८०, १० : ०८
आइतबार, १७ मङ्सिर २०८०

रुकुम पश्चिम (छेपारे) । १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाको कमान्ड गरेर त्यो बेलाको राज्यसत्ताका विरुद्ध संघर्ष गरेका जनार्दन शर्मा ‘प्रभाकर’ गत कार्तिक १७ गते मध्यरातिको भूकम्पले तहसनहस बनाएको आफ्नो गृह जिल्ला रुकुम पश्चिममा तीन हजारभन्दा बढी स्वयंसेवकको कमान्ड गरिरहेका छन् ।

उनकै कमान्डमा अहिले जिल्लाभर अस्थायी आवास निर्माणको काम भइरहेको छ । प्रतिनिधि सभा सदस्य शर्मा आफैँ पनि एउटा भोलेन्टियरको रुपमा आवास निर्माण गरिरहेको अवस्थामा भेटिन्छन् । शनिबार आठबिसकोट नगरपालिका–१२, अरबारेमा शर्माकै नेतृत्वमा तीन वटा अस्थायी आवास निर्माण भए । त्यसलगत्तै सोही पालिकाका विभिन्न बस्तीमा पुगेर पीडितलाई हौसला दिन व्यस्त थिए उनी ।

सोही क्रममा क्रममा रातोपाटीले शर्मासँग भूकम्पपछिको समग्र अवस्थाको विषयमा रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मासँग गरिएको कुराकानीको सम्पादित अंश :

  • भूकम्प प्रभावित क्षेत्रमा दौडधुप निकै चलिरहेको छ, हैन त ?

हजुर ! एउटा जनप्रतिनिधि भएका नाताले आफ्नो ड्युटी पूरा गरिरहेको छु ।

  • अहिले अस्थायी आवास निर्माणमा सक्रिय हुनुहुन्छ, समग्र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको प्रक्रिया कसरी चलिरहेको छ ?

हामीले अस्थायी आवास निर्माणमा जिल्लाभित्रबाट, त्यो पनि आफ्नो पार्टीभित्रबाट मात्रै म लगायत तीन हजारभन्दा बढी भोलेन्टियर परिचालन भएका छौँ । बाहिरबाट पनि नेता, कार्यकर्ता आइरहनुभएको छ । शनिबार मात्रै कालिकोटबाट विद्यार्थीको टोली आएको छ । यस्तै नेकपा एमालेको पनि साथीहरु आएर काम गरेर केही जानुभयो, केहीले अझै गरिरहनुभएको छ । साथै स्थानीय जनसहभागितालाई पनि सहभागी गराइ सिङ्गो जनपरिचालनबाट काम भइरहेको छ ।  अझ भनौँ, हाम्रो सिङ्गो पार्टी नै परिचालन छ ।

  • पीडित नागरिकको अवस्था निकै कष्टकर छ । चिसोले मर्ने सम्भावना बढी देखिएको छ यद्यपि अस्थायी आवासको काममा ढिलाइ हुनाका साथै अनुदान दिने काममा पनि ढिला भएको छ, पीडितहरु कहिलेसम्म त्रिपालमुक्त हुन्छन् ?

हामीले यही महिनाभित्र टहरा निर्माण गरिसक्ने लक्ष्य हो । त्यही अनुसार काम भइरहेको छ ।

  • अनि लगत संकलन र अनुदान वितरणमा चाहिँ किन ढिलाइ ?

छैन । हाम्रा सरकारी प्रक्रिया, जटिलता, कागजी प्रक्रिया पुर्‍याउनुपर्ने हुन्छ । अहिले प्रक्रियामै छ । त्यसमा हाम्रा साथीहरु खटिनुभएको छ, स्थानीय जनप्रतिनिधिहरु खटिएका छन् । शिक्षक साथीहरुलाई पनि हामीले खटाएका छौँ । हिजो (शुक्रबार) नै कतिपय पालिकामा दिइसकिएको छ भने अन्य पालिकाहरुमा पनि वितरण गर्ने काम भइरहेको छ ।

एकातिर आवास निर्माण गर्ने काम भइरहेको छ भने अर्कोतिर अनुदान पनि वितरणको काम पनि सँगसँगै भइरहेको छ, ढिलाइ भएको भन्न मिल्दैन ।

janardan sharma (2)

  • कुनैबेला माओवादी लालसेनाको कमान्ड गर्नुभएको तपाईं अहिले विपत्तिमा तीन हजारभन्दा बढी भोलेन्टियरको कमान्डसहित आफैँ टहरा निर्माणमा सक्रिय भएको देखियो, तपाईलाई कुन कुराले बढी छोयो ?

म जनताको प्रतिनिधि हुँ र जनता मेरो अभिभावक हो । म एउटा सिपाही भएका नाताले जनतालाई दुःख परेको बेला काम गर्नु मेरो नैतिक जिम्मेवारी पनि हो ।

सिङ्गो पार्टी नै काममा जुटिरहेको छ । म पनि उहाँहरु सरहकै मान्छे हुँ । सबै साथीहरु काममा भएको बेला मैले पनि आवश्यकता ठानेर नै उहाँहरुमा उत्साह थप्न आफैँ पनि खटिएको हुँ ।

  • भूकम्प गएको अर्को दिनदेखि नै नै तपाईं लगातार प्रभावित क्षेत्रमै हुनुहुन्छ, काम गर्दै गर्दाको अनुभवचाहिँ कस्तो छ ?

म सुरुदेखिनै जनताकै साथमा छु । सुरुमा सिङ्गो सरकार नै उद्धारमा खटियो । त्यसपछि विभिन्न संघसंस्था लगायतको सहयोगले राहत वितरणको काम भए, र अहिले अस्थायी आवास निर्माणको कार्य सुरु भयो । यो एउटा प्राकृतिक विपत्ति आएको बेला जनताले आफ्नो प्रतिनिधिको रुपमा मलाई जुन जिम्मेवारी दिनुभएको थियो, त्यो भनेको जनताको सेवा गर्नका लागि हो । प्रतिनिधि चाहिने भनेको आपतविपदमा हो । अहिले विपत्ति छ, सबै पार्टीका साथीहरु जिम्मेवार भएर लागिरहनुभएको छ, म पनि उहाँहरुको साथमा उत्साह थप्न पछिपछि लागिरहेको छु ।

  • यो बिचमा तपाईंले बिर्सनै नसक्ने त्यस्ता कुनै क्षण महसुस गर्नुभयो ?

त्यस्ता क्षण धेरै छन् नि ! घरहरु भत्किएपछि मान्छेका सपनाहरु भत्किएका छन् । जिन्दगीभरि मान्छेले कमाई गरेर घर बनाएको हुन्छ, कोठा, विस्तरा सजाएको हुन्छ । र, ती सपनासँग गाँसिएका हुन्छन् । सपना भत्किएपछि सबै मर्माहत भएको, भावुक भएको, विचलित भएको अवस्था छ ।

मैले सुरुमा सबै टोलमा पुगेर नागरिकलाई काउन्सिलिङ गर्ने काम गरेँ । म छु, तपाईंहरुको लागि, पार्टी छ, सरकार छ र हामी छौँ, हामी गर्छौं भनेर उहाँहरुलाई ढाडस दिने काम गर्‍यौँ । तपाईंहरु आत्तिनु पर्दैन भनेर हामीले सम्झाउने प्रयास गर्‍यौँ । अहिले त्यही अनुसार सबै पार्टीका साथीहरुलाई काम गर्न भनिरहेको छु । विपद्को बैठकमा पनि सबै दलका साथीहरुलाई मिलेर काम गर्न आह्वान पनि गरेको थिएँ । गक्ष अनुसार सबै लागिरहनुभएको छ ।

तर, मुख्य कुरा के हो भने जनता अभिभावक भएका नाताले जनताको दुःख मेरो दुःख हो, उहाँहरुलाई परेको पीडा मेरो हो, त्यही रुपमा बुझेर म लागिरेहको छु । धेरै सुत्केरी महिलालाई हामीसँग प्राप्त साधन, स्रोतहरु टेन्ट, कम्बल लगायत दिने काम भइरहेको छ । राहतको कुरा जो छ, अहिले राहतका नाममा एकथरीले ल्याएर दिने अनि गाउँमा विवाद हुने काम भइरहेको छ । मेरो के आग्रह छ भने अब उहाँहरुलाई उपलब्ध भएको चिज हैन कि हामीलाई आवश्यकता परेको चिज दिनुहोस् । गाउँमा विवाद सिर्जना हुने गरी एकथरीलाई दिने अर्को थरीलाई नपुग्ने हुँदा स्थानीय जनप्रतिनिधिलाई समस्या परिरहेको छ । मैले प्रधानमन्त्रीज्यूलाई फोन गरेर सेना, प्रहरीलाई यसमा जोडिदिनुहोस् भनेको छु । क्याबिनेटले निर्णय पनि गरेको छ ।

janardan sharma (3)

उहाँहरु आएपछि हामीसँगै जोडिएर काम गर्छौँ र छिटोभन्दा छिटो आवास निर्माण हुन्छन् । पानी पर्छ कि भन्ने चिन्ता लागिरहेको छ । किनभने पानी आएर भिजेपछि बुढाबुढी र बच्चाबच्चीलाई समस्या आउँछ कि भन्ने चिन्ता छ ।

जनताको चिन्ताको केन्द्रिकृत चिन्ता ममा छ । त्यसो भएको हुँदा सिङ्गो पार्टी परिचालन छ र सबै कुरा पार्टीले गरिरहेको छ । जनताको पनि पार्टीप्रति, जनप्रतिनिधिप्रति विश्वास छ । उहाँहरु भएपछि हामी अप्ठ्यारोमा पर्दैनौँ भन्ने उहाँहरुले महसुस गरिरहनुभएको छ । हाम्रो लागि त्यही ठुलो कुरा हो ।

  • जनयुद्धमा लालसेनाको कमान्ड गर्दा र अहिले विपत्तिको बेला भोलेन्टियरहरुको कमान्ड गर्दा भिन्नता के पाउनुभयो ? परिस्थिति अनुसार सबै कुराको कमान्ड गर्नु पर्ने रहेछ, हैन ?

हैन, त्यो बेला र अहिलेको त फरक छ नि ! त्यो बेला त राज्यसत्तासँग दमनका विरुद्धको प्रतिरोधको अभियान थियो । तर, यी दुवै संघर्ष हुन् । यो पनि एउटा संघर्ष नै हो, प्राकृतिक विपत्तिले हामीलाई क्षतविक्षत बनायो । धेरै आफ्ना मान्छे गुमायौँ, धेरै घाइते हुनुभयो । जसरी सपना एक तरिकाले चकनाचुर भएको छ । मैले सबै पीडित दाजुभाइलाई के भनेको छु भने प्राकृतिक विपत्ति हामीले रोक्न सक्दैनौँ तर, त्यसबाट निराश हुने हैन, मान्छेले नयाँ कुराको सिर्जना गर्न सक्छ । मान्छेले आविस्कार गर्न सक्छ, नयाँ बस्ती बनाई नयाँ जीवन दिन सकिन्छ । हामीले आफ्ना गाउँबस्ती बनाएर नयाँ सन्देश दिनसक्छौँ, त्यसैले निराश हुनुहुँदैन भनेर जनतालाई हौसला दिइरहेको छु ।

अहिले पुनर्निर्माणको विषयमा जनतासँग गाँसिएर काम गर्ने अवसर हो भने त्यो बेला (जनयुद्धमा) पनि जनतासँग गाँसिएर त्यो बेलाको निरंकुश राजतन्त्रका विरुद्धमा लडाइँ गर्ने कुरा थियो ।

दुवै लडाइँ नै हुन् तर त्यो बेलाको भिन्न थियो, अहिले भिन्न छ । अहिलेको लडाइँ प्राकृतिक विपत्तिका विरुद्धको लडाइँ, भूकम्पले गरेको क्षतिका विरुद्ध पुनर्निर्माण मार्फत नयाँ जीवनयापनको विकास गर्ने प्रक्रिया हो । भिन्न अनुभूति पनि छन्, भिन्न परिस्थिति पनि छ ।

  • तपाईं जसरी खटिरहनुभएको छ, त्यसले जनताप्रति समर्पित भएको सन्देश दिन्छ नै । रुकुममा तपाईंको टिमवर्कको पनि चर्चा भएको देखिन्छ । यद्यपि एउटा राष्ट्रिय नेता आफ्नो जिल्लामा मात्रै केन्द्रित हुनुभयो भन्छन् नि ?

एउटा जनप्रतिनिधिले गर्ने काम र मैले आफ्नो ड्युटी निर्वाह गरेको हो । सन्देशभन्दा पनि दुःखबाट छिटोभन्दा छिटो मुक्त हुने र जाडोबाट बचाउने उपाय हामीले खोजिरहेका हौँ । मैले जाजरकोटका साथीहरुसँग पनि समन्वय गरिरहेको छु । म शुक्रबार पनि नलगाड नगरपालिकामा गएको थिएँ, त्यहाँ सबैलाई भेटेर जसरी हुन्छ, टहरा निर्माणमा लाग्नुहोस् भनेर सुझाव दिएँ ।

उहाँहरुले मलाई केही जिम्मेवारी पनि दिनुभएको छ, टेलिफोन, विद्युत र भासिएको जमिनको समस्याको विषयमा अध्ययन गर्ने विषयमा । मैले त्यो विषयमा कुरा गरिरहेको छु । दुवै जिल्लामा समन्वय गरेर नै काम गरिरहेको छु । अब प्रतिनिधि यहाँ (रुकुम) भएको नाताले म यहाँ अलि बढी लाग्ने कुरा स्वाभाविक हो । तर, जाजरकोटलाई ध्यान नदिएको भन्ने हैन । त्यहाँका सबै साथीहरुसँग समन्वय गरिरहेको छु ।

  • यतिका बाबजुद पनि विवादमुक्त रहनु भएन नि ? राहत पहुँचका आधारमा वितरण गरिएको भन्ने गुनासो सुनिन्छन् ।

त्यो वाहियात कुराहरु हो । मैले खण्डन गरिसकेको छु । एउटा मिडियाले अनावश्यक कुरा लेखेर दुष्प्रचार गरेको हो । त्यो उदाङ्गो भइसकेको छ ।

janardan sharma (1)

  • अब अस्थायी आवास निर्माणपछि भूकम्प प्रभावितहरुको दीर्घकालीन योजना के छ र कस्तो हुनुपर्छ ?

पुनर्निर्माणको कुरा हो, त्यसमा हामी आवश्यक समन्वय गर्छौं, आफ्ना सुझाव दिन्छौँ । पुनर्निर्माण यहाँको सापेक्षता हुनुपर्छ । घरको टहरा हाल्ने कुरामात्र पुनर्निर्माण होइन, भूकम्पबाट त्रसित जनताको मनोविज्ञानलाई र यहाँको बेरोजगारीलाई अन्त्य गर्ने कुरासँग जोडी भौतिक पूर्वाधार समेत निर्माण गरिनुपर्छ ।

भौतिक पूर्वाधारमा घरमात्र पर्दैन, विद्यालय, स्वास्थ्य केन्द्र, प्रहरी कार्यालय, सिँचाइ खानेपानी, विद्युत समग्र भौतिक पूर्वाधारको क्षेत्र र मनोवैज्ञानिक, सामाजिक, आर्थिक क्षेत्रको एकीकृत एउटा स्वरुप नै पुनर्निर्माण हुनुपर्छ । भूकम्प भएको घर पुनर्निर्माण गर्ने तर, मान्छे नबस्ने भयो भने त्यो खालको पुनर्निर्माणको औचित्य रहन्न । आर्थिक जीवनसँग जोडिएको, रोजगारीसँग जोडिएको समग्र प्लान बनाएर जानुपर्छ भनेर सोचिरहेको छु । म फिल्डमै भएकाले यो विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न पाइरहेको छैन ।

अस्थायी आवास निर्माण गर्ने अभियान सकिएपछि म सबै प्रभावित जनताको प्रतिनिधित्व गरेर पुनर्निर्माणको विषयमा सरकारसँग छलफल गरी एउटा निष्कर्षमा पुग्ने गरी सोचिरहेको छु ।

  • एउटा राजनीतिक प्रश्न पनि सोधिहालौँ, कुनैबेला तपाईंहरुले नै संघर्ष गरेर ल्याएको गणतन्त्रविरुद्ध यो बिचमा आन्दोलन पनि भयो, गणतन्त्र फेलियर भयो भनेर प्रश्न उठिरहेको छ । भूकम्प प्रभावित क्षेत्रबाट त्यो आन्दोलन, आक्रोशलाई कसरी नियाल्नुभएको छ ?

हेर्नुस्, जनता सर्वोपरी छन् । जनता नै मुख्य कुरा हो । सबै कुराको फैसला जनताले गर्छ । हामीले भन्दैमा सबै कुरा हुँदैन । नेपालका जनताले के चाहन्छन् भन्ने कुरा हो । जनताले अन्त्य गरेका राजतन्त्र, जनताले निर्माण गरेको संविधान, संविधान बनाउँदा पनि हामीले जनतालाई सोधेका थियौँ । जनताले दिएको सुझाव अनुसारको संविधान बनेको हो, जनताको जनमतलाई टेकेर निर्माण गरिएको हो ।

आजको प्रश्नलाई पनि मैले अनौठो रुपमा लिएको छैन । आन्दोलन त भइरहन्छन् नै तर, त्यसको जग के हो ? त्यसको उद्देश्य के हो ? जनतालाई के लाभ हुन्छ, के हुँदैन भन्ने कुराको निर्धारण गर्छ । एकछिन आउने हावाहुरीको स्थायित्वको कुरा हुँदैन, त्यसको जग हेर्नुपर्छ । कुन जगमा उभिएर, कुन मुद्दामा उभिएर र कुन उद्देश्यमा आधारित भएर आन्दोलन भइरहेको छ भन्ने कुराको फैसला जनताले गर्छ, त्यो अधिकार जनतालाई छ ।

त्यसकारण मैले त्यतातिर ध्यान दिएको छैन, मेरो आन्दोलन भनेको अहिले भूकम्पमा परेका जनतालाई त्यसबाट छिटो छतमुनि ल्याउनु छ । मेरो ध्यान यही आन्दोलनमा छ । माथितिरका आन्दोलनले काठमाडौँमा ठुलै समस्या भइहाले पनि पछि आएर लड्नुपर्ने भए लडौँला । आज चाहिँ मेरा जनताको सेवा गर्छु भनिरहेको छु । आन्दोलन मुद्दा र जगतका आधारमा हेर्ने कुरा हो । निर्णय गर्ने जनता भएकाले चिन्ता गर्नु पर्दैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप