सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मेरै परिवार, छरछिमेक र साथीभाइ सर्कलबाट बिदेसिनेको कथा

सोमबार, १८ मङ्सिर २०८०, ११ : २७
सोमबार, १८ मङ्सिर २०८०

स्नातकोत्तर पढ्न भनेर चीन आएको पनि ठ्याक्कै १७ महिना पूरा भएछ । चीन आउने भनेर तयारी गर्दैगर्दा बुढी हजुरआमाले मेरी आमासँग सोध्दै हुनुहुन्थ्यो, ‘बाबु उतै त बस्दैन होला ?’ हजुरआमाको प्रश्न मेरो कानमा ठ्याक्कै ठोकियो, जवाफमा मैले हाँस्दै भनेँ, ‘दुई वर्षपछि बस्छु भने पनि त्यता बस्न पाउदिनँ आमा, जसरी नि फर्किनैपर्छ ।’

प्रश्न स्वाभाविक थियो किनकि छिमेकका अधिकांश बिदेसिएर फर्किएका छैनन् । हजुरआमाले टीका लगाइदिँदै भन्नुभयो, ‘ल राम्रोसँग पढ्नू, स्वास्थ्यको ख्याल गर्नू, फोन गर्दै गर्नू, म बूढी भइसकेँ, फर्केर आउँदा देख्न पाउँछु कि पाउँदिनँ !’ 

‘देख्न पाइन्छ नि आमा । हजुर पनि आफ्नो ख्याल गर्नू’ भन्दै म बिदा भएँ । मनमा कुरा अनेक खेल्दै थिए — पहिलोपटक विदेशको भूमि जाँदै छु । के हुने हो, चिनियाँ भाषा गाह्रो हुन्छ रे, अङ्ग्रेजी बोल्दै बोल्दैनन्, कतिको सहज होला यस्तै–यस्तै । 

एअरपोर्ट पुग्दानपुग्दै एकजनाले मलाई पछाडिबाट कोट्ट्यायो । फर्केर हेर्दा सँगै स्नातक पढेको साथी अस्ट्रेलिया जाँदै रहेछ, डिपेन्डेन्ट भिसामा । 

आफ्नो बारेमा बताइसकेपछि मैले उसलाई सोधेँ, ‘यहीँ जागिर राम्रो थियो होइन र ? अनि, तेरो त विदेश जाने मनसाय पनि थिएन । यहीँ केही गर्नुपर्छ भन्थिस् ।’ 

उसले भन्यो, ‘जागिर त ठिकै थियो । कोरोनापछि साहुले नै राम्रो चलेन डाक्टर साहेब, बिरामी कम छन्, अब अलि औषधि पेल्नुपर्‍यो भने । नसक्ने भए नि ठिकै छ, छाड्नुस् पनि भने । त्यसको एक महिनामा जागिर छाडियो । पाँच–सात महिनाजति अन्यत्र जागिर खोजेँ, केही सीप नलागेपछि अस्ट्रेलियातिरै लाग्नुको विकल्प भएन ।’

एअरपोर्टभरि अधिकांश हाम्रै उमेर समूहका मानिस घाँटीमा खादा, माला, निधारमा रातो टीका लगाएर परिवार र साथीभाइसँग फोटो खिच्दै थिए । कोही श्रीमती त कोही प्रेमी–प्रेमिकासँग अँगालो हाल्दै रुँदै थिए । यस्तै अनेक–अनेक दृश्य देखिन्थ्यो । 

आफैँलाई प्रश्न गरेँ — साँच्चीकै भविष्य हराएको नै हो नेपालमा ? काम गरेर खाने वातावरण नै नभएको हो ? 

पुल्चोक कलेजबाट इन्जिनियरिङमा स्नातक गर्नुभएको मेरो ठूलो दाइ आठ वर्षअघि स्नातकोत्तरका लागि अमेरिका जानुभयो । त्यो बेला अवसर खोज्नुपर्छ भन्ने मानसिकता घर–परिवार सबैको थियो । दाइले पढाइ सकिनासाथ नेपाल फर्कने बताउनुभएको थियो, अहिले उहाँ उतै हुनुहुन्छ । 

मेरी दिदीले दक्षिण कोरियाबाट नर्सिङमा स्नातकोत्तर त भिनाजुले फर्मास्युटिकल साइन्समा विद्यावारिधि गरेर फर्कनुभयो, नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ । तर यहाँ त्रिविले दिदीको स्नातकोत्तरको इक्विभ्यालेन्स नै दियो, न त भिनाजुको जागिर र आफ्नो कामको सुनिश्चितता नै भयो । उहाँहरुले नेपालमा रिसर्च सेन्टर खोलेर चार वर्षजति काम गर्ने कोसिस गर्नुभयो तर सरकारी निकायबाट पटकपटक व्यवधानका भएपछि सेन्टर नै बन्द गरेर अस्ट्रेलिया हानिनुभयो । उहाँहरूलाई किन देश छोड्नुपर्‍यो भनेर कसरी सोध्नु ! 

सानो–दाइ भाउजू दुवै नेपालमा राम्रो बैंकमा काम गर्नुहुन्थ्यो, दाइको त बैंक मेनेजर हुने समय पनि भाको थियो क्यारे । दुई वर्षअगाडि दाइको बिहे हुँदा हाम्रो भलाकुसरी भएको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘जागिर छ पुगिहाल्छ । बैंकको जागिर भन्ने कुरा आजभन्दा भोलि, भोलिभन्दा पर्सि राम्रो हँुदै जाने हो । भाउजूको पनि बैंकको जागिर हो, नेपाल नै बसिन्छ ।’ अहिले बिदेसिने निर्णय गर्नुभएको रहेछ । बैंकको क्षेत्रको पीडा झनै असहज पो रहेछ । 

भाइको विवाहमा म चीनमा थिएँ, उपस्थित हुन सकिनँ र एउटा भिडियो सन्देश पठाएको थिएँ, ‘अब सबैको जस्तो बिदेसिने निर्णय नगर्नू, म एक वर्षमा त फर्किने नै हो, मिलेर नेपालमै केही गर्नुपर्छ ।’ अस्ति उसले फोन गर्‍यो, ‘दाइ, अमेरिकाबाट पीएचडीका लागि स्कलरसिप आएको छ, अब भिसा आएपछि जाने तयारी गर्ने हो भन्दै फोन गर्दै थियो ।’ 

भाइको विवाहमा म चीनमा थिएँ, उपस्थित हुन सकिनँ र एउटा भिडियो सन्देश पठाएको थिएँ, ‘अब सबैको जस्तो बिदेसिने निर्णय नगर्नू, म एक वर्षमा त फर्किने नै हो, मिलेर नेपालमै केही गर्नुपर्छ ।’ अस्ति उसले फोन गर्‍यो, ‘दाइ, अमेरिकाबाट पीएचडीका लागि स्कलरसिप आएको छ, अब भिसा आएपछि जाने तयारी गर्ने हो भन्दै फोन गर्दै थियो ।’ 

मामाको छोरा, सानिमाको छोरा विदेश हानिइसके । फुपूको छोराको तयारी चल्दै छ । भर्खर ११ सकेको मामाको छोराले अहिलेदेखि जीआरई तयारी गर्दै रहेछ । यी त मेरो परिवारभित्रको उदाहरण मात्र हुन् । यस्तो अवस्था हरेक परिवारमा देखिन्छ । सँगै पढेका ७० प्रतिशत साथीहरू विदेश हानिइसके, जो फर्केर नेपाल आउने छाँटकाँट देख्दिनँ । देशको मेरुदण्ड भनिने डाक्टर, इन्जिनियर, खेलाडी, व्यापारी सबै विदेश हानिइसके । अझै बिहान–बेलुकाको छाक टार्न खाडी तथा भारत जानेको कथा बेग्लै छ । मलाई पनि विदेशमा हुने दाइ, भाइ, दिदी र साथीहरूले बिदेसिनका लागि प्रेरित नगरेको कहाँ हो र ! तँजस्तो मान्छे नेपालमा बसेर के काम, न भविष्य छ न केही । आउनु आउनु बेलैमा आएको राम्रो । बूढाबूढीसँगै आए त मालमाल पैसा कमाइन्छ । त्यो फोहोरी राजनीति हेर्दै कति त्यहीँ बस्छस् । यहाँ आइस् भने काम त गर्नुपर्छ । दुःख त छ तर दुःखको फल मिल्छ । जे भने पनि भविष्य सुनिश्चित त हुन्छ ।’

पहिला पहिला आस हुँदासम्म मैले पनि भन्ने गर्थें, ‘तपाईंहरूजस्तो योग्य व्यक्तिलाई नेपाल भित्र्याएर काम गर्ने वातावरण बनाउनुपर्छ । आज नभए नि भोलि कसो राम्रो नहोला र ! अहिले नै हतार गर्नुपर्ने छैन, राम्रो हँुदै छ ।’ 

आजकाल म सधैँ सोचमग्न र नाजवाफ हुन्छु । जवाफ फर्काउनु पनि कसरी, देशमा बस्ने हो भने रोजगारीको ग्यारेन्टी छैन, भविष्य अन्योल छ । बिदेसिने मन मान्दैन । 

अस्ति एउटा साथीलाई सोधेँ, ‘तँ पढाइ सकेर फर्कन्छु भनेको मान्छे, कहिले फर्किने ?’ उसले भन्यो, ‘फर्किने त भन्या हो तर हेर न नेपाल आएर स्थायी रूपमा न जागिर न तलब, यताको रहन–सहनमा भिजिसके, अब त कसरी आईएल, के गर्ने गर्ने दुविधामा छु ।’ 

दिन प्रतिदिन नेपाल छाड्ने संख्या बढ्दै छ । विदेश पलायन हुनेहरूको फर्किने तयारी छैन, तर पनि अस्ति एक अमुक मन्त्रीको अन्तर्वार्ता सुन्दै थिएँ, ‘शिक्षा र स्वास्थ्यका लागि नेपाल छाड्नुपर्ने स्थिति छैन । रोजगार पनि देशमा सिर्जना गर्न सकिन्छ ।’ बोल्नका लागि बोल्दिने तर काम नगर्ने यस्तै प्रवृत्तिले देश नै खाली हँुदै गएको भन्ने कुरा कहिले बुझ्ने हाम्रा मन्त्री तथा नेताहरूले ?

तीन महिनाअघि, एकजना बहालवाला युवा सांसदसँग अकस्मात भेट्ने अवसर प्राप्त भयो । कार्यक्रमको सिलसिलामा बेइजिङ आएका उनलाई मैले सोधिहालेँ, ‘यति नजिकको शक्तिशाली छिमेकी देशको छत्रछायामा हँुदा पनि किन हामी देशलार्ई निकास तथा विकास दिन सकेनौ ?’ उनले भने, ‘देशको सांसद बनेर चीन आएपछि बुझ्दै छु, हामी कति पछाडि रहेछौँ भन्ने । हामीले मान्दै आएको नेताले साँच्चिकै देशमा केही नगरेको रहेछन् ।’ 

मैले सोधेँ, ‘अब देश बन्छ त ! हामी पढेर नेपाल नै बस्न पाइएला कि अरुले जस्तै बिदेसिने उपाय खोज्नुपर्ने हो ?’ उनले काँधमा ढाप मार्दै भने, ‘देशको स्थिति सहज छैन, धेरै परिवर्तनको खाँचो छ । हामीजस्ता युवा साँच्चिकै लागिरहेका छौँ, हामी बोलिरहेका छौ, झकझकाइरहेका छौँ । आशा गरौँ, छिटै हामीले सोचेको र चाहेको जस्तो देश बन्ला ।’

त्यसो त अहिले मेरा चिनियाँ साथीहरू अमेरिका, युके जाने भनेर हुरुक्कै हुन्छन् । विश्वको नम्बर १ देश, हरेक कुरामा सुविधा सम्पन्न हुँदा त बिदेसिने मोह हुन्छ भने हाम्रो देशमा त यस्तो मोह जगाउने हजार कारण भेटिन्छन् । जुन सही कारण हुन् । 

मेरो एक छिमेकी दाइ हुनुहुन्छ, एमबीबीएस सकेर एमडी गर्नुभयो, सरकारी हस्पिटलमा काम गर्नुहुन्छ, बाहिर निजीमा पनि राम्रो बिरामी हेर्नुहुन्छ । आम्दानी पनि राम्रै छ रे तर अस्ति फोनमा कुरा गर्दा भन्दै हुनुहुन्थ्यो, ‘विदेश नै जानुपर्छ कि ! उता भएका जुनियरले तपाईंका लागि त राम्रो छ यहाँ यतै आउनु भन्छन् ।’ मैले सोधेँ, ‘अनि ११ तहको विशेषज्ञ डाक्टर, भाउज्यु पनि स्वास्थ्य अधिकृत, कसरी बिदेसिने सोच्दै हुनुहुन्छ ? उहाँ भन्नुहुन्छ, ‘देशको स्थिति दिन प्रतिदिन खस्किँदै छ, सुध्रिने छाँट छैन, अझै डाक्टरले त कतिबेला कुटाइ खाइन्छ पनि भर छैन । यस्तो परिवेशमा म नगए पनि छोराछोरी त विदेश जान खोजिहाल्छन् । अहिले हामी गाएर वातावरण बनायौँ भने छोरा छोरीलाई सजिलो होला ।’ 

म आश्चर्यमा परेँ । एकातर्फ छोराछोरीको ११–१२ को पढाइ सकिनेबित्तिकै विदेश पलायन हुने सोच, नेपालमा लगानी गर्न पैसा छैन भन्ने तर छोराछोरीलाई अस्ट्रेलिया–अमेरिका पठाउन हाँसीहासी खेतीयोग्य जग्गा बेचेर लगानी गर्ने बुबाआमा, देशमा पढाइको वातावरण र रोजगार सिर्जनाभन्दा पनि स्कुल–कलेज राजनीतिले ध्वस्त बनाउन र वैदेशिक श्रम स्वीकृति जति सक्दो धेरै खोल्न लागिपर्ने सरकार — सबैको भूमिका नियाल्दा लाग्छ, देश छिटै नै खालि हँुदै छ । यो देशमा न कसैलाई बस्न मन छ, न कसैले कसैलाई बस्नका लागि प्रेरित नै गर्न सक्छ । त्यसैले लाग्छ, यता देशमा केही गर्नुपर्छ भन्ने म र मजस्तै धेरै साथीहरूलाई कुनै देशले कुरिराख्या पो छ कि ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नरेन्द्र लामिछाने
डा. नरेन्द्र लामिछाने
लेखकबाट थप