सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘नेपाल–भारत सम्बन्धलाई चीनसँग तुलना गर्न मिल्दैन’

हरेक देशसँग फरक फरक नीति बनाउनुपर्छ : राजकिशोर यादव
मङ्गलबार, १९ मङ्सिर २०८०, १० : ५१
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत, चीन, अमेरिकालगायतको देश भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डको विदेश भ्रमणसँगै नेपालमा कुटनीतिक चहलपहल पनि निकै बढेको छ । भारत, चीन, अमेरिकामात्र होइन, अब अन्य देशले पनि नेपालमाथि चासो लिन थालेका छन् । तर देश पुरानै विदेश नीतिमा चलिरहेको छ । विदेश नीतिमाथि पटक पटक प्रश्न उठ्दै आएको छ ।

नेपालको परराष्ट्र नीति, विदेशीहरुको बढ्दो चासो लगायतका विषयमा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवसँग रातोपाटीका लागि एसके यादवले कुराकानी गरेका छन् । प्रस्तुत छ, जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति यादवसँग गरिएको कुराकानीको सम्पादित अंशः

  • तपाईं अहिले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति हुनुहुन्छ, नेपालको अन्तर्राष्ट्रिय मामिलालाई कसरी हेर्नुहुन्छ  ?

नेपालको विदेश नीति परिचालन गर्दा हाम्रो जियो लोकेशन, त्यसको संवदेनशीलता, यसको महत्त्वलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्ने हुन्छ । हाम्रो जियो लेकेशन जुन प्रकारको छ, त्यसमा हामी थोरै तलमाथि भयौँ भने देश ठुलो संकटमा फस्न सक्ने हुनसक्छ । विश्वमा आएको राजनीतिक परिवर्तन र नेपालले अख्तियार गर्ने विदेश नीतिको बिचमा सन्तुलन मिलाउनु अति आवश्यक छ । हाम्रो दुईतिर ठुला शक्ति राष्ट्रहरु छन् । नेपाल तीनतिर भारतबाट घेरिएको र एकतिर चीन छ । त्यसैले नेपालको विदेश नीति सन्तुलन र विश्वासयोग्य हुनुपर्छ ।

यस्तो अवस्थामा कसैको लागि कसैको अहितमा प्रयोग नहुने भनेर विश्वास दिलाउनु हाम्रो कर्तव्य बन्न जान्छ । हामी नन एलाइनमेन्टमा छौँ । शान्तिको पक्षधर, शान्तिको वकालत गर्ने, कुनै अतिवादमा नफसेको, यी सबै हाम्रो सम्पत्ति हो । यी सबै हाम्रो पहिचान हो । यसैको आधारमा अन्य मुलुकसँग सम्बन्ध बनाइ राख्नुपर्छ । अर्थात् नेपालले सबै कोणबाट सकारात्मक कुराहरु अगाडि बढाउन सक्यो भने विदेश नीतिको सबभन्दा सबल पक्ष हुन्छ । यसैगरी नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति अगाडि बढाउनुपर्छ ।

raj kishor yadav (1)

  • देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि देशको विदेश नीति पटक पटक विवादमा आएको हो । संसददेखि विभिन्न फ्लोरमा विदेश नीतिको बारेमा टिप्पणी हुने गरेको छ । बदलिँदो परस्थितिमा विदेश नीतिको बारेमा संसदले के गर्दैछ ?

यो कुरालाई दुई कोणबाट हेर्नुपर्छ जस्तो लाग्छ । विदेश नीति भनेको आन्तरिक शक्तिको एउटा एक्सपेन्सन रुप हो । हामी आर्थिक रुपमा, राजनीतिक रुपमा कति बलियो छौँ, त्यसको आधारमा पनि विदेश नीतिलाई मापन गर्न सकिन्छ । अर्को कुरा, नेपालमा एउटा गलत अभ्यास के सुरु भएको छ भने जे विषयमा जसले पनि बोल्ने, आफ्ना धारणा दिइहाल्ने । हामीले फ्रिडिम अफ एक्सप्रेशनको नाममा जे पनि बोल्छौँ, त्यो एउटा घातक र गलत अभ्यास सुरु भएको छ ।

आन्तरिक राजनीतिमा हामीले एक अर्कालाई जति हिलो छ्यापे पनि, जति विरोध गरे पनि त्यति फरक पर्दैन । तर विदेश नीतिको बारेमा हामी सबैभन्दा पहिले आफैँमा जिम्मेवार हुनुपर्छ, संवेदनशील हुनुपर्छ । र, हामीले विदेश नीतिको कुरा गर्दा नेपाली भएर, नेपालको रिप्रजेन्ट भएर कुरा गर्नुपर्छ ।

विदेश नीति एउटै सोलोडोलोमा बनाउनु हुँदैन । अब त्यसलाई स्पेसिफिक गर्नुपर्छ ।

तर दुर्भाग्य, नेपालमा त्यस्तो देखिएको छैन । राजनीतिक भिडका कारण कहिले काहीँ भए नभएका कुरा गरिरहेका हुन्छौँ । चुनाव तथा जनताको बिचमा विभिन्न प्रतिवद्धता दिइरहेका हुन्छौँ । आफ्ना कुरा राखेका हुन्छौँ । त्यही कुरा हामीले विदेश नीतिमा पनि लागु गर्छौं, जुन नेपालका लागि निकै घातक छ ।

विदेश मामिलामा हामी जिम्मेवार र संवेदनशील हुनुपर्छ । आजको सन्दर्भमा नेपालको विदेश नीति कस्तो हुनुपर्छ भन्ने कुरा गर्दा ग्लोबल पोल्टिक्समा, ग्लोबल पावरमा आएका चेन्जेजहरुलाई नेपालमा कसरी परिचालन गर्ने, कसरी लागु गर्ने भनेर बुझ्नुपर्छ । यसमा एक प्रकारको छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने हो । त्यो हाम्रो नितान्त आन्तरिक कार्य हो ।

  • यो विषयमा तपाईको समिति वा संसदले के के गरिरहेका छन् ?

यसमा हामीले एउटा सोच बनाएका छौँ कि अहिलेको सन्दर्भमा नेपालको सुहाउँदो विदेश नीति कस्तो हुनुपर्छ या हामीले गरिरहेको अभ्यासमा के परिवर्तन गर्न सकिन्छ, के के गर्नुपर्छ, त्यसका लागि हामीले यहाँका केही विज्ञ, त्यही विषयका जानकाहरुसँग अन्तरक्रिया तथा विभिन्न इङ्गेमेन्ट बढाएका छौँ । स्टकहोल्डरसँग भएका छलफलको विषयहरुलाई संस्थागत गर्ने प्रयासमा छौँ । अब सरकारपिच्छे, व्यक्तिपिच्छे उसलाई लागेको विदेश मामिलाको बारेमा कुरा गर्नुहुँदैन । देशमा जुन दलको सरकार आए पनि विदेश नीतिमा एउटै हुनुपर्छ, एउटै कुरा गर्नुपर्छ, त्यो गाइडलाइन हामीले तयार गरिरहेका छौँ । नत्र नेपालमा सरकार परिवर्तन हुनासाथ विदेशका बारे कुरा फरक फरक आइरहेका हुन्छन्, जसले यहाँका सबै कुरालाई खल्बल्याइदिएको हुन्छ ।

  • तपाईंले यो बिचमा धेरैसँग कुराकानी गर्नुभएको छ, छलफल गर्नुभएको छ, अहिलेको सन्दर्भमा कस्तो विदेश नीति हुनुपर्छ भन्ने बुझाइ पाउनु भएको छ ?

सबैको कुरा सुन्दा एउटा कमन कुरा के पाएँ भने विदेश मामिलाको विषयमा सबै चिन्तित छन् । नेपाल बन्नुपर्छ, नेपाललाई समृद्ध बनाउनुपर्छ भन्ने चिन्ता र चासो सबैमा देखिएको छ तर कसरी बनाउने भन्ने विषयमा एक खालको कन्फ्युजन र मतमतान्तर पनि देख्छु । विदेश नीतिको कुरा गर्दा हामीसँग जे छ, त्यसलाई फाइण्डिङ गरेर त्यसलाई राम्रो तरिकाले कसरी सञ्चालन गर्न सकिन्छ, त्यसको बारेमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

विश्व परिवेशमा अहिले जुन प्रकारको समीकरण फेरिएका छन्, त्यसमा बढीभन्दा बढी नेपालको सहभागिता र त्यसको पक्षमा कसरी वातावरण बनाउन सकिन्छ भनेर सोच्नुपर्ने हो । विदेश नीति एउटै सोलोडोलोमा बनाउनु हुँदैन । अब त्यसलाई स्पेसिफिक गर्नुपर्छ । भारतसँग हाम्रो जस्तो सम्बन्ध छ, त्यसका लागि हामीले छुट्टै नीति बनाउनुपर्छ । त्यस्तै, चीनसँग हाम्रो कस्तो सम्बन्ध छ, त्यसको आधारमा छुट्टै नीति बनाउनुपर्छ अर्थात् अमेरिका, युरोपियन देश, खाडी मुलुकलगायतका अलग अलग नीतिको व्यवस्था गर्नुपर्छ । एउटै नीतिले हरेक देशसँग सम्बन्धलाई अगाडि बढाउन सकिँदैन । क्याटोगोरी, पोलिटिकली हेर्ने हो भने भारत, चीन र अमेरिकासँग अलग अलग नीति बनाएर नेपाल अगाडि बढ्नुपर्छ । त्यसैगरी विकासका पार्टनर, डोनर एजेन्सीसँग कस्तो सम्बन्ध राख्ने, ती निकायसँग कस्तो व्यवहार गर्ने, ती सबैलाई स्पेसिफिक तरिकाले अगाडि बढाउनुपर्छ । स्पेसिफिक मुलुकसँग स्पेसिफिक गाइडलाइन हुनुपर्छ ।

आजको दिनमा हरेक देशसँग समान व्यवहार हुँदै हुँदैन । हामीले व्यवहार गर्दा दुई वटा कुरा साझा बनाउनुपर्छ । नेपाल र त्यो देशको समान सोच, समान स्वार्थ के के हुनसक्छन्, त्यसको आधारमा पनि इङ्गेज गर्न सकिन्छ ।

हामीले भारतसँग विदेश नीति सञ्चालन गर्दा अन्य मुलुकसँग तुलना गरेर बनाएको विदेश नीति काम लाग्दैन । किनभने भारतसँग हाम्रा धेरै कुरा एक अर्कासँग जोडिएका छन् । अमेरिकामा भारत हेर्ने मान्छे हिन्दी बोलेर कुरा गर्छन् । नेपालमा पनि चीन हेर्ने व्यक्तिलाई त्यस्तै बनाउनुपर्छ । अमेरिका, जापान, श्रीलंका हेर्नेलाई त्यस्तै बनाउनुपर्छ । त्यहाँको कल्चर के छ, जियोपोल्टिक्स के छ, रहनसहन लगायत हरेक कुराको जानकारी राख्नुपर्छ । यो फिल्डमा काम गर्न चाहने युवालाई पहिले नै त्यसरी स्पेसिफिक तरिकाले तयार गर्नुपर्छ ।

विगतको जुन शीतयुद्ध थियो, त्यसको आधारमा नेपालको विदेश नीति सञ्चालित छ । त्यसैले हामी जहिले पनि आफूलाई बचाउनेतिर लागेका हुन्छौँ, आफूलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्तामा हुन्छौँ । नेपाल दुई ढुङ्गाबिचको तरुल हो भन्ने मानसिकताबाट बाहिर निस्किनुपर्छ । आफ्नो देशको समृद्धि र डेभलपमेन्टका आधारमा विदेश नीति बनाउनुपर्छ । अब हामी कसैसँग डराउनुपर्छ भन्ने अवस्था छैन । हामीलाई कसैले खाइदेला भन्ने अवस्था छैन । नेपाल संवेदनशील छ, त्यो भूसंवेदनशिलतालाई बुझ्नुपर्छ तर नेपाल अब त्यति न कमजोर छ, न विश्व राजनीति त्यसरी हस्तक्षेपको मानसिकतामा छ । नेपालको विकास र समृद्धिलाई केन्द्रमा राखेर बहसलाई अगाडि बढाउनुपर्छ ।

  • तपाईंले देश अनुसार फरक नीति बनाउनुपर्छ भन्नुभयो, त्यसरी नीति बनाउँदा हरेक देशसँग समान व्यवहार हुन्छ त ?

आजको दिनमा हरेक देशसँग समान व्यवहार हुँदै हुँदैन । हामीले व्यवहार गर्दा दुई वटा कुरा साझा बनाउनुपर्छ । नेपाल र त्यो देशको समान सोच, समान स्वार्थ के के हुनसक्छन्, त्यसको आधारमा पनि इङ्गेज गर्न सकिन्छ । अर्को, जुन विश्व मान्यता छ, जस्तै हामी कसैको पक्षधर छैनौँ । हामी यो भूमि कसैका लागि दुरुपयोग हुन दिन्नौँ । हामी कुनै पनि मिलेट्री एलाइन्समा हुँदैनौँ । यी कमन कुराहरु भए । यी कमन कुरामा ध्यान दिएर फरक फरक देशसँग फरक फरक नीतिका आधारमा सम्बन्ध राखे फरक पर्दैन । नेपालजस्तो मुलुकले अब त्यसरी सोचेर पनि अगाडि बढ्नुपर्छ । यसरी अगाडि बढ्दा कोही रिसाउने वा खुसाउने कुरा हुँदैन । त्यो विश्वसनीयता कायम गर्नुपर्छ ।

  • अहिलेका प्रधानमन्त्री प्रचण्डले भारत र चीनको भ्रमण गरिसक्नु भएको छ । अमेरिकालगायत अन्य मुलुक पनि जानु भयो तर नेपालमा भारत र चीनप्रति छुट्टाछुट्टै माइन्डसेट छ । प्रधानमन्त्रीको विदेश भ्रमण र त्यो माइन्डसेटलाई तपाईंले सभापतिको रुपमा कसरी हेर्नुभएको छ ?

ग्राउण्डमा धेरै कुरा बुझेर, धेरै कुरा नबुझेर चर्चा हुने गरेको पाइन्छ । आमजनमा राजनीतिक दलले जे बुझाएका हुन्छन्, त्यही कुरा भइरहेका हुन्छन् एकतर्फी रुपमा । आफ्नो कुर्सी बचाउनका लागि सुरुदेखि नै एउटा भाष्य निर्माण गरेका हुन्छन् र त्यही आधारमा आमजनले विषयलाई उठाएको हुन्छ । एउटा दलले भारतको बारेमा आफ्ना कार्यकर्तालाई के पढाएका हुन्छन्, के भनेका हुन्छन्, त्यसैमा उफ्रिरहेका हुन्छन् । एउटा अर्को दलले चीनको बारेमा आफ्ना कार्यकर्तालाई के पढाएका हुन्छन्, त्यसमा उफ्रिरहेका हुन्छन् । त्यो कुरा नक्सा विवाद होस् या एमसीसी होस् अथवा बीआरआइका कुरा हुन्, त्यसमा एउटा मत बनेको छैन । दल अनुसार, फरक स्वार्थ अनुसार फरक मत देखिएका छन् । त्यसले गर्दा नेपालले ठुलो घाटा बेहोरेको छ । विकासको रुपमा नेपाल जहाँ हुनुपर्थ्यो, त्यहाँ हुन सकेन । जे कुरालाई राष्ट्रवादसँग जोडेर होहल्ला मच्चाउने गरेको पाइन्छ, त्यो खतरनाक रोग हो ।

प्रचण्डको भारत भ्रमण सफल भएको छ र यसले नयाँ कोर्स तयार गरेको छ ।

नेपाल–भारत सम्बन्धलाई एक कोणबाट हेर्न सकिँदैन । एउटा त दिल्ली र काठमाडौँको सम्बन्ध छ, जुन औपचारिक रुपमा सञ्चालित हुन्छ । अर्कोतिर भारतसँग व्यक्ति टु व्यक्ति सम्बन्ध, समाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध छ । नेपाल र भारतको सम्बन्ध विश्वमै दुर्लभ छ । भारत पाँचौँ अर्थतन्त्रबाट चौथो अर्थतन्त्रमा जाने तरखरमा छ, नेपालको लागि भारत ठुलो मार्केट भएको छ र अझै हुनसक्छ । भारतको पर्यटकलाई मात्र नेपालले भित्र्याउन सक्यो भने आर्थिक रुपमा धेरै ठुलो फड्को मार्न सक्छ । प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा भारतसँग जुन अविश्वास थियो, त्यसलाई हटाउने काम उहाँको भ्रमणले गरेको छ । भ्रमणको क्रममा जुन १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता भयो, त्यो निर्यातका लागि ठुलो ढोका खुलेको छ । नेपाललाई दीर्घकालीन फाइदा हुने काम भएको छ ।

प्रचण्डको भारत भ्रमण सफल भएको छ र यसले नयाँ कोर्स तयार गरेको छ । विगतका भ्रमणहरु राजनीतिक रुपमा अल्झेको हुन्थ्यो तर यसपटक आर्थिक रुपमा फाइदा हुने काम भएका छन् । प्रधानमन्त्री प्रचण्ड चीनसँग पनि अविश्वासको कन्फ्युजन हटाउन सफल हुनुभएको छ । चीनको लगानी नेपालमा कसरी ल्याउने, साझा स्वार्थमा कसरी मिलेर काम गर्ने, बीआरआइलाई कसरी अगाडि बढाउनेलगायतको क्षेत्रमा कुराकानी भएको छ । आर्थिक क्षेत्रको आधारमा चीनको भ्रमण पनि सफल रहेको देखिन्छ । दुई वटै भ्रमण सफल भएको मान्न सकिन्छ ।

  • आर्थिक क्षेत्रलगायतको विषयमा भारतसँग प्रधानमन्त्री प्रचण्डले जसरी खुलेर कुरा गर्नुभयो, चीनसँग त्यति खुलेर गर्न नसकेको विभिन्न मिडिया रिपोर्टमा देखिन्छ नि ?

मैले अघि पनि भनेको थिएँ कि नेपाल–भारत सम्बन्धलाई अरु देशसँग तुलना गर्न सकिँदैन र गरिनु पनि हुँदैन । बीपीको आत्मवृत्तान्त पढ्दा पनि के देखियो भने नेपालका नेताहरु चीन भ्रमणमा जाँदा चिनियाँहरुले भारतसँग सम्बन्ध नबनाएसम्म नेपालको विकास हुन सक्दैन, भारतसँग राम्रो सम्बन्ध राख्नुस् है भनि सुझाव दिएको कुरा हामीले पढ्छौँ र सुन्छौँ । त्यसैले नेपाल–भारत सम्बन्ध एक प्रकारको हुन्छ भने अरु देशसँगको सम्बन्ध अर्को प्रकारको हो । चीन छिमेकी देश, त्यसमा पनि ठुलो देश, श्रमिक, जनसांख्यिक हिसाबले पनि ठुलो हो । नेपालको लागि महत्त्वपूर्ण छिमेकीदेखि हो । त्यो देशसँगको सम्बन्ध पनि पुरानो छ तर नढाँटी भन्ने हो भने नेपाल–भारतको सम्बन्धसँग चीनको तुलना गर्न सकिँदैन । तर ती दुई देश शक्तिशाली ठुला राष्ट्र हुन् । ठुलो बन्ने होडबाजी दुई वटै देशमा देखिएको छ, त्यो बिचमा हामी भारत गएर चीनको विरोध गर्ने, चीन गएर भारतको विरोध गर्ने काम गर्नुहुँदैन । उनीहरुको जुन स्वार्थ छ, त्यसमा हामी कहीँ छैनौँ भनेर उनीहरुलाई विश्वास दिलाउनुपर्छ । यति गरियो भने नेपालले सन्तुलन कायम गर्न सक्छ र दुवै देशलाई उपयोग पनि गर्न सकिन्छ ।

म फलानो पार्टीको प्रधानमन्त्री, म फालानो पार्टीको मन्त्री भनेर आफैँ प्रस्तुत भएका हुन्छौँ र त्यही अनुसारको व्यवहार पनि अगाडि बढाउँछौँ भने पक्कै पनि उनीहरुले सोही अनुसार व्यहार गर्ने हो ।
  • विभिन्न आयामलाई अध्ययन गर्दा नेपालको विदेश नीति राजनीतिक दलबाट गाइडेड छ, राजनीतिक दलले विदेश नीति सञ्चालन गरेको देखिन्छ । दलअनुसार विदेशसँग फरक फरक सम्बन्ध भएको देखिन्छ, तपाईं एउटा पार्टीको शीर्ष नेता पनि हुनुहुन्छ, यसमा तपाईंको बुझाइ के छ ?

नेपाल कस्तो भन्ने कुरा विदेश नीतिले प्रस्ट गरेको हुन्छ । देशलाई चिनाउने नै विदेश नीतिले हो । यदि त्यसलाई राजनीतिक दलले डोर्‍याइरहेका छन्, राजनीतिक दलबाट गाइडेड छन् भने त्यो दुर्भाग्य हो । राजनीति त हाम्रो आन्तरिक व्यवस्थापनका लागि गर्ने विषय हो । त्यसलाई विदेश मामिलासँग जोड्नु हुँदैन । विदेश नीतिको बारेमा दलगत विचार फरकफरक होला, त्यसलाई राज्यसँग जोडेर हेर्नुहुँदैन । राज्यले एउटा विदेश नीति बनाइसकेको छ भने त्यो राज्यको नीति हो, कुनै दलको नीति होइन । कुनै प्रधानमन्त्री विदेश भ्रमणमा गएका छन् भने त्यो देशको प्रधानमन्त्री हो, कुनै दलको अध्यक्ष होइन । कुनै दलका अध्यक्ष विदेशमा गएका छन् भने मात्र पार्टीको नीति र विचार राख्ने हो । नेपालको विश्वसनियता घट्दै गयो, ओज घट्दै गयो भन्ने जुन कुरा आइरहेका छन् नि, त्यो विदेश मामिलामा राजनीतिक हस्तक्षेपले गर्दा नै भएको हो ।

  • यो कुरा त हामीले मात्र सोचेर हुँदैन नि ! भारत, चीन, अमेरिकालगायतका देशले कांग्रेसको सरकारसँग एक खालको व्यवहार, माओवादीको सरकारसँग अर्को खालको व्यवहार, एमालेको सरकारसँग एक खालको व्यवहार गरेको देखिन्छ, त्यो किन ?

हामी आन्तरिक रुपमा एक भयौँ भने यस्तो व्यवहार कसैले गर्न सक्दैन । हामी आफैँले पनि विदेशसँग सम्बन्ध राख्दा राजनीतिक रुपमा सम्बन्ध बनाएका हुन्छौँ । म फलानो पार्टीको प्रधानमन्त्री, म फालानो पार्टीको मन्त्री भनेर आफैँ प्रस्तुत भएका हुन्छौँ र त्यही अनुसारको व्यवहार पनि अगाडि बढाउँछौँ भने पक्कै पनि उनीहरुले सोही अनुसार व्यहार गर्ने हो । हामीले कस्तो व्यवहार गरेका छौँ, त्यही अनुसार उनीहरुले पनि व्यवहार गर्छन् । जस्तो, अमेरिकासँग कुरा गर्दा यो नेपालको कुरा हो भनेर कुरा गर्नुपर्छ । यदि यो कांग्रेसको कुरा हो, यो माओवादीको कुरा हो, एमालेको कुरा हो, यो जसपाको कुरा हो भनेर कुरा गर्‍यौँ भने उसले पनि त्यस्तै व्यवहार गर्छ ।

इजराइल आफैँ पीडित छ, इजरायलले चाहेर पनि विपिनलाई रिहा गराउन सक्दैन । हमाससँग हामीले कुरा गर्न सक्दैनौँ किनभने त्यो कुनै स्टेट होइन । त्यो हमलाबर समूह हो ।
  • नेपालको छिमेकमा दुई ठुला देश भारत र चीन छन् । ती दुवैसँग हामीले आफ्नो अनुकुल सम्बन्ध बनाउनुपर्छ भन्नुभयो तर पछिल्लो समय नेपालको नक्सा बारेमा भारत र चीनले नेपालसँग एउटै खालको व्यवहार गरेको देखिन्छ, यस्तो किन ?

नक्साको विषय अलि संवेदनशील विषय हो । हामीले पछिल्लो समय  जुन नक्सा (चुच्चे नक्सा) जारी गर्‍यौँ, त्यो भारतले स्वीकारेको छैन । हामीले नक्सा सार्वजनिक गरिसकेपछि चीनलगायत अन्य मुलुकलाई जानकारीका लागि जुन नोट पठाउनुपर्ने थियो, त्यो पनि पठाएको देखिएन । चुच्चे नक्सा आएपछि तत्कालीन परराष्ट्रमन्त्री (प्रदीप ज्ञवाली)ले चीनलगायतका देशलाई जानकारीका लागि नोट पठाएको छु भन्नुभयो । मैले यही समितिमा वर्तमान परराष्ट्रमन्त्री र सचिवलाई बोलाएर सोध्दा त्यस्तो कुनै नोट पठाएको छैन भन्नुभयो । यदि विदेशलाई केही जानकारी गराएको छ वा कुरा गरेको भने मन्त्रालयलाई जानकारी हुनुपर्थ्यो नि ! त्यो देखिएको छैन । त्यसैले यो कुरामा हामी कति कमजोर छौँ भने कुरा यसले देखाउँछ । जसलाई जे मन लाग्यो, त्यसरी कुरा गर्‍यो । त्यसले सबै कुरा बिग्रेको हो ।

raj kishor yadav (2)

  • इजराइल र हमासबिच युद्ध चलिरहेको छ, त्यो युद्धमा नेपाललाई पनि क्षति भएको छ, एक जना नेपालीको अझै उद्धार भएको छैन । त्यसमा नेपालले कुटनीतिक रुपमा पहुँच पुर्‍याउन नसकेको टिप्पणी भइरहेका छन् । तपाईंको समितिले पनि यसबारेमा केही पहल गरिरहेको छ कि ?

अहिलेसम्मको जानकारी अनुसार एक जना नेपाली युवा विपिन जोशी जो इजराइलमा अध्ययनका लागि गएका थिए, उनलाई हमासद्वारा बन्धक बनाएर राखिएको छ । उनको निःशर्त रिहाइका लागि नेपालले माग गरेको छ । त्यसको लागि नेपाल सरकारले राम्रैसँग पहल गरिरहेको छ । अहिले रिजल्ट नदेखिँदा केही टिप्पणी भएको हुनुपर्छ । तर प्रधानमन्त्री प्रचण्ड स्वयं पनि यसमा लागिपर्नु भएको छ । परराष्ट्र मन्त्री एनपी साउद पनि खुब मेहनत गरिरहनु भएको छ ।

सरकारले कतारसँग कुरा गरेर रिहाइका लागि पहल भइरहेको छ । इजराइल आफैँ पीडित छ, इजरायलले चाहेर पनि विपिनलाई रिहा गराउन सक्दैन । हमाससँग हामीले कुरा गर्न सक्दैनौँ किनभने त्यो कुनै स्टेट होइन । त्यो हमलाबर समूह हो । पहल गर्ने इजराइलसँग नै हो । पछिल्लो समय कतारले मध्यस्थता गरिरहेको छ । त्यो देशसँग पनि मिलेर रिहाइका लागि प्रयास भइरहेको छ । सरकारले केही गरेको छैन भन्ने कुरा गलत हो । सरकारले सक्दो प्रयास गरिरहेको छ ।

  • नेपालको आकाश सुरक्षित छैन भनेर इयुले जसरी ब्ल्याक लिस्टमा राखेको छ, त्यसलाई अझै रिलिज गरेको छैन । त्यसले त अन्तर्राष्ट्रिय रुपमा नेपालको छविलाई राम्रो बनाउँदैन, नेपाल यसमा किन चुकेको हो ?

इयुले अहिलेसम्म बन्देज हटाएको छैन । गत हप्ता ब्रसेल्समा उनीहरुको बैठक थियो । नेपालका प्रतिनिधिले पनि भाग लिएका थिए । नेपालका प्रतिनिधिसँग उनीहरुले छलफल गरेका थिए । यसपाली आशा गरेका थियौँ कि ती बन्देज हटाइदिन्छन् तर त्यो भएन । त्यसलाई कायम नै राख्यो । यो सुरक्षासँग जोडिएको विषय हो । हामी पनि यसमा जिम्मेवार बन्नुपर्छ । यो यो पक्ष सुधार गर्नुपर्छ भनेर केही बुँदा उनीहरुले दिएका छन् । त्यो अनुसार हामीले पनि गर्नुपर्ने हो । हामीले पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाईजहाज सञ्चालन गर्नुपर्छ । यसका लागि हामी (समिति)ले क्यानको महानिर्देशकलाई बोलाएर त्यसको बारेमा जानकारी लिएका छौँ । नेपाल एयरलाइन्सका डीजीलाई पनि बोलाउने तयारी भइरहेको छ । त्यसपछि पर्यटन मन्त्रालयलाई बोलाएर हामीले जानकारी लिन्छौँ । त्यसपछि अध्ययनका लागि एउटा कार्यदल गठन गर्ने सोच बनाएका छौँ । त्यसको रिपोर्टको आधारमा नीति बनाउँछौँ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप