आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

फागुनको पहिलो साताभित्र विधान सम्मेलन गर्ने माओवादी केन्द्रको योजना

विधान सम्मेलन र महाधिवेशनबारे के भन्छन् नेताहरू ?
बिहीबार, २१ मङ्सिर २०८०, १० : ११
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले माघको अन्तिम सातादेखि फागुनको पहिलो साताभित्रमा विधान सम्मेलन गर्ने योजना बनाएको छ । गत साउन (१७–२१) मा राजधानीको कमलादीमा बसेको केन्द्रीय समिति बैठकले मङ्सिरमा विधान सम्मेलन गर्ने र सोही सम्मेलनले विशेष महाधिवेशनको मिति तय गर्ने निर्णय गरेको थियो ।

तर माओवादीले थालेको विशेष तीन महिने रुपान्तरण अभियान एक महिना लम्बिएपछि सम्मेलन प्रभावित हुने लगभग निश्चित भएको छ । थपिएको एक महिना आगामी पुस १६ मा सकिँदैछ । पुस १५ को डेडलाइनमा अभियानको समीक्षात्मक प्रतिवेदन केन्द्रमा पठाउन सम्बन्धित इन्चार्जहरूलाई माओवादीले निर्देशन दिएको छ ।

 यद्यपि पूर्वनिर्णय अनुसार विधान सम्मेलन गरी महाधिवेशनमा जाने वा महाधिवेशनमै नीति, सिद्धान्त, राजनीतिक, वैचारिक कार्यदिशा तथा कार्यक्रम टुङ्ग्याउने भन्नेमा माओवादी शीर्ष नेताहरू द्विविधामै देखिन्छन् । तथापि सम्मेलन र महाधिवेशन दुवै हुनेमा नेताहरूले विश्वास व्यक्त गरेका छन् ।

उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले दलहरूबिच आन्तरिक लोकतन्त्र मजबुत हुनु पर्नेमा जोड दिए । आन्तरिक लोकतन्त्रको कमीले विचारको विकास नहुँदा दलहरूमा समस्या देखिएको उनको बुझाइ छ । सम्मेलनको पूर्वनिर्धारित समयसीमा फेरबदल भए पनि विधान सम्मेलन र विशेष महाधिवेशन हुने उनले जिकिर गरे ।

‘अहिले पार्टीभित्र विचारको बहस नै हुँदैन । विचारले नै पार्टीलाई जीवन्त बनाउने हो । राजनीतिक पार्टीहरूले विचारमा विकास गर्न सकेन भने तिनीहरूको औचित्य समाप्त हुँदै जान्छ । मेरो विचारमा राजनीतिक पार्टीले आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्छ । राजनीतिक पार्टीहरूले कार्यक्रम गर्दै जानुपर्छ’, उनले भने ।

प्रवक्ता सापकोटाले सबै प्रदेशबाट अभियानको समीक्षात्मक प्रतिवेदन आएपछि त्यसको आधारमा विधान सम्मेलनको तयारी हुने बताए । त्यसबारे थप छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाउने तयारी भइरहेको सापकोटाले जानकारी दिए ।

सबै प्रदेशबाट अभियानको समीक्षात्मक प्रतिवेदन आएपछि केन्द्रीय समिति बैठकमा गम्भीर छलफल र बहस हुने उपाध्यक्ष पम्फा भुसाल बताउँछिन् । भुसालका अनुसार सोही बैठकले विधान सम्मेलनको तिथिमिति तय गर्नेछ । यस सम्बन्धमा थप निर्णय लिन अध्यक्ष प्रचण्डले केन्द्रीय पदाधिकारीको बैठक बोलाउने तयारी गरेका छन् । विधान सम्मेलनपछि पार्टीको विशेष महाधिवेशनको मिति तय हुने र सो महाधिवेशनमा बाबुराम र विप्लवसहितका नेताहरू सहभागी हुने उनले विश्वास व्यक्त गरिन् ।  

‘पुस १६ पछि अभियान र सम्मेलनको समीक्षा गर्छौं । पहिला विधान सम्मेलन हुन्छ । त्यसले सांगठनिक ढाँचा कस्तो बनाउने ? कमिटी कस्तो बनाउने ? त्यसको आधारमा महाधिवेशनको तयारी हुन्छ । कमिटीमा को पर्ने वा नपर्ने विषयमा विधान सम्मेलनले टुङ्ग्याउँछ’, रातोपाटीसँग कुराकानी गर्दै उनले भनिन्, ‘महाधिवेशन नीतिमा बहस हुनुपर्छ । विशेष महाधिवेशनमा बाबुराम, विप्लवसहित सहभागी हुन्छन् । यसका लागि दुवै पार्टीसँग निरन्तर छलफल भइरहेको छ ।’

वार्ता समितिले टुङ्ग्याएपछि एकता समितिको बैठक बस्ने पनि उनले जानकारी दिइन् । अभियानबाट निष्क्रिय भएका कमिटी सक्रिय भएको, संगठित भएको, नवीकरण भएको, विभिन्न पार्टीमा गएका नेता तथा कार्यकर्ता फर्किन थालेकाले पार्टीलाई जीवन्त बनाउन मद्दत गरेको उनको बुझाइ छ ।

एक हप्तादेखि भूकम्प प्रभावित क्षेत्रमा रहेका महासचिव देव गुरुङले पदाधिकारी बैठकले सम्मेलनबारे थप निर्णय गर्ने बताए । यद्यपि अभियानको सबै रिपोर्ट आएपछि सम्मेलनको मिति तय हुन सक्ने उनको भनाइ छ ।

‘म कामको सिलसिलामा अहिले जाजरकोटमा छु । २२ गतेमात्र काठमाडौँ फर्किन्छु, त्यसपछि बैठक बस्छ होला । बैठकले अहिलेका राजनीतिक परिस्थिति र सम्मेलनबारे थप समीक्षा गर्न सक्छ’, गुरुङले भने ।

सचिव दीनानाथ शर्माका अनुसार विधान मस्यौदा बनाएर सम्मेलन गर्ने तयारी भइरहेको छ । ‘विधानको मस्यौदा बनाएर विधान सम्मेलन गर्ने र त्यसलगत्तै विशेष महाधिवेशन गर्ने भन्ने छ । लगत्तै केन्द्रीय समिति बैठक बोलाएर त्यसको समीक्षा गर्छौं । विधान सम्मेलनको तिथिमिति तोक्नेछौँ’, शर्माले भने, ‘पुस १५ पछि केन्द्रीय समिति बैठक बस्छ । विधान सम्मेलनको तिथिमिति तोकिन्छ । सोही सम्मेलनले महाधिवेशनको मिति तोक्छ ।’

विधान सम्मेलनको मोडालिटी, सांगठनिक स्वरुप, राजनैतिक तथा वैचारिक बहसपछि एउटा निर्क्यौलमा पुग्ने उनको विश्वास छ । विधान सम्मेलन माघ वा फागुनको पहिलो हप्तामा र त्यसपछि विशेष महाधिवेशनको तयारीमा लाग्ने उनले बताए ।

‘रणनीति, कार्यनीति, कार्यदिशासहित समग्र कम्युनिस्ट आन्दोलनको समीक्षा, राजनीतिक समीक्षाको तयारीका लागि महाधिवेशन गर्न लागिएको हो । यसबारे महाधिवेशनमा अलि विस्तृत छलफल हुन्छ’, उनले भने, ‘विधान सम्मेलनबाट २१ औँ शताब्दीको समाजवादको लागि आवश्यक पर्ने सामग्री, सांगठनिक नीति विधानमा व्यवस्थित गर्छौं । यसअघि केन्द्रीय समितिको निर्णय फेरबदल हुँदैन । विधानको स्वरुप, संरचनाअनुसार नै महाधिवेशन गर्छौं ।’

शान्ति प्रक्रियामा आएको १७ वर्षमा पार्टीको नीति, नेतृत्व, संगठन कमजोर भएको र नेताहरूको जीवनशैली, कार्यशैली बुर्जुवा बन्दै गएको निष्कर्ष निकाल्दै पार्टी, नीति र नेतृत्व रुपान्तरणका लागि विधान सम्मेलन र विशेष महाधिवेशनको माग भएको थियो । माओवादीलाई थप बलियो बनाउन पदाधिकारीसहित स्थानीय तहसम्म निर्वाचन प्रक्रियाबाट समिति चयन गर्नुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

२०७९ पुस (११–१८) सम्म कमलादीमै भएको माओवादी केन्द्रको आठौँ महाधिवेशनले ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’सम्बन्धी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको थियो । साथसाथै तीन तहको निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप