बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

नेपाली फिल्मका १५ हिरो  : को के गर्दैछन् ?

कोहीलाई भ्याइनभ्याई, कोहीको बित्यो फिल्म छान्दै ५ वर्ष
मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : १४
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँँ । नेपाली फिल्म व्यवसाय राम्रो नभए पनि फिल्म निर्माण भने रफ्तारमै छ । फिल्म निर्माणको गतिसँगै नवप्रवेशीको सङ्ख्या पनि बढ्दो छ । तर अभिनयमा भने नयाँको तुलनामा पुराना कलाकार व्यस्त छन् । अभिनेता (हिरो) का कुरा गर्ने हो भने केहीलाई भ्याइननभ्याई छ । एकपछि अर्को फिल्म अभिनयले सास फेर्ने फुर्सद छैन । कतिपय भने केही समयदेखि फिल्म कुरेर बसेका छन् । कतिपयलाई भने राम्रो कथा र स्क्रिप्ट छान्दाछान्दै अभिनयमा ५ वर्षभन्दा बढी ग्याप भएको पत्तै छैन । नेपाली फिल्म क्षेत्रका १५ हिरो । यतिबेला को केकेमा व्यस्त छन् । त्यो चर्चा यहाँ गरिएको छ । 

राजेश हमाल  : अभिनेता राजेश हमालले फिल्म अभिनय नगरेको ५ वर्षभन्दा बढी भयो । त्यसो त उनी फिल्म क्षेत्रबाट पलायन भएको भने होइन । अहिले पनि राम्रो फिल्म छनोटमै रहेको उनी बताउँछन् । उनी अहिले म्युजिक भिडियो, विज्ञापनलगायतका सानातिना प्रोजेक्ट भने गरिरहेका छन् । ‘अहिले फिल्ममा मैले काम गरे भने पक्कै पनि पुरानो ढाँचामा काम गर्ने कुरो भएन । अहिले पनि फिल्ममा काम गर्दा मेरो उद्देश्य प्रभावकारी होस् भन्ने हुन्छ’, हमालले थपे । हमाल अभिनयका लागि राम्रो र प्रभावकारी भूमिकाको खोजीमा छन् ।

निखिल उप्रेती  : एक समयका एक्सन स्टार अभिनेता निखिलले पनि फिल्म अभिनय नगरेको धेरै भयो । उनी पछिल्लो समय अध्यात्ममा र घरपरिवारमा रमाइरहेका छन् । बेलाबेलामा उनले सार्वजनिक स्थानमा प्रवचनसमेत दिने गरेका छन् । गत भदौमा उनले एक अन्तर्वार्तामा एआईको सहयोगमा एक सुपरहिरो फिल्म बनाउनेसमेत सार्वजनिक गरेका थिए । त्यसपछि त्यो कुरो त्यतिकै सेलाएको छ ।

विराज भट्ट  : एक समय खलनायक, सिलसिला, दोस्तीलगायत थुप्रै सुपरहिट फिल्म दिएका विराज भट्ट पछिल्लो समय भोजपुरी फिल्म अभिनय व्यस्त छन् । केही समयअगाडि नेपाली फिल्म ‘साङ्लो’ अभिनय, निर्देशन र निर्माणसमेत गरेका उनको यो फिल्मले व्यवसाय भने सन्तोषजनक गर्न सकेन । अहिले उनी अर्को नेपाली फिल्म ‘१२ गाउँ’ निर्माणको तयारीमा छन् । फिल्मको केही अगाडि सामाजिक सञ्जाल फेसबुकमा एक थिम पोस्टर सार्वजनिक गर्दै उनले घोषणा गरेका थिए ।

प्रदीप खड्का  : ‘प्रेमगीत ३’ र ‘प्रकाश’ पछि कुनै फिल्म नगरेका प्रदीप अहिले ब्यक टुब्याक फिल्म घोषणा गरिरहेका छन् । उनी यतिबेला तीन फिल्म अभिनयमा छन् । फिल्म हुन् ‘ऐरी’, ‘एक्टर’ र ‘पूजार सार्की’ । 

‘ऐरी’ सिकारीको विषयमा बन्न लागेको फिन्म हो । हिन्दीसहित केही भाषामा बन्ने यो फिल्म बलिउड र नेपाली मेकरको सहकार्यमा बन्न लागेको हो । 

‘एक्टर’ राजन भुसालको निर्देशनमा अर्धृत फिल्मसको ब्यानरमा बन्न लागेको हो । ‘पूजार सार्की’ निर्देशक दिनेश राउतले बनाउन लागेका हुन् । अहिलेसम्म यी तीन फिल्म अभिनय तयारीमै प्रदीप व्यस्त छन् ।

अनमोल केसी  : ‘छड्के २’ पछि अनमोलको पनि कुनै फिल्म आएको छ । ‘छड्के २’ पछि उनी फिल्म साइन गर्ने र छोड्ने क्रियाकलापमा अल्झिए । त्यही क्रियाकलाप उनी केही समय प्रहरीको नियन्त्रणमा पनि रहे । एक वर्षदेखि कुनै पनि फिल्ममा काम नगरेका केसीले अहिले फिल्म ‘फर्की फर्की’ को छायाङ्कनमा व्यस्त छन् । ‘फर्की फर्की’को पछि उनले ‘जेरी अन टप’ को छायाङ्कन गर्ने बताइन्छ । 

दयाहाङ राई  : पछिल्लो समय सबैभन्दा व्यस्त अभिनेता हुन् दयाहाङ राई । उनी अहिले वर्षमै करिब दर्जन फिल्म अभिनय गरिरहेका छन् । बक्स अफिसमा अहिले उनको नै हालीमुहाली छ । यो वर्ष मात्र ‘जारी’, ‘नाङ्गो गाउँ’, ‘दिमाग खराब’ लगायत हिट फिल्म दिएका उनले भर्खर ‘एन्जिला’ को छायाङ्कन सकाएका छन् । उनी फिल्म ‘डिग्री माइला’ र ‘रङ्गेली’ को छायाङ्कन चलिरहेको छ । ‘हात्तीछाप’, ‘दयारानी’ लगायत केही फिल्म उनको यो वर्ष रिलिज हुनेछन् । उनी ‘डिग्रीमाइला’ र ‘रङ्गेली’ ‘वरिष्ठ बलराम’, ‘लोकल हिरो’, ‘कार्साङ’ लगायत फिल्ममा व्यस्त हुनेछन् ।

विपिन कार्की  : अभिनेता विपिन कार्की अहिले फिल्म गत महिनादेखि फिल्म ‘महाजात्रा’को छायाङ्कनमा गरिरहेका छन् । फिल्मको छायाङ्कन काठमाडौँका विभिन्न क्षेत्रमा भइरहेको छ । यसअघि विपिन फिल्म ‘पशुपति प्रसाद २  : भष्मे डन’को प्रचारमा व्यस्त देखिएका थिए । यो फिल्म बक्स अफिसमा सफल भएपछि विपिनलाई केही राहत भयो । ‘महाजात्रा’को छायाङ्कन सकेपछि उनले ‘काजी’ र ‘उनको स्विटर’ अभिनयमा समय दिनेछन् । यीबाहेक पनि उनका हातमा केही फिल्म छन् । जसको क्रमशः काम गर्ने विपिनले बताए ।

सौगात मल्ल  : अभिनेता सौगात मल्ल पछिल्लो समयका व्यस्त अभिनेता हुन् । उनको व्यस्तता पनि दयाहाङको जस्तै छ । उनी अभिनीत फिल्म ‘पशुपति प्रसाद २’ दसैँमा रिलिज भएको थियो । उनी भने अहिले फिल्म ‘अगस्त्य’ को काममा व्यस्त छन् । उनको अब अभिनय फिल्म ‘बलिदान’ मा पनि रहनेछ । सन्तोष सेनको निर्देशनमा बन्ने यो फिल्मको छायाङ्कन पुस महिनाबाट सुरु हुनेछ । ‘पञ्चामृत’ र ‘कोतपर्व’ पनि उनी जोडिएको फिल्म हो । यो फिल्मको काममा पनि उनी छन् । 

पुष्प खड्का  : अभिनेता पुष्प खड्काको अहिले फिल्म क्षेत्रमा त्यति चर्चा छैन । गत वर्ष ३ वटा फिल्म दिएका उनको तीनै फिल्म बक्सअफिसमा असफल भए । अहिले उनको हातमा कुनै पनि फिल्म छैन । तर उनको व्यस्तता भने कायम नै छ । उनी अहिले धमाधम म्युजिक भिडियो अभिनय गरिरहेका छन् । उनका म्युजिक भिडियो महिनामै दर्जनभन्दा बढी सार्वजनिक हुने गरेका छन् ।

मुकुन भुसाल  : मुकुन भुसालका यो वर्ष ‘ऐँचोपैँचो र ‘गणपति’ दुई फिल्म रिलिज भए । यी दुवै फिल्मले बक्सअफिसमा व्यवसाय गर्न सकेन । फिल्म बक्सअफिसमा असफल भए पनि उनी भने व्यस्त छन् । केही समयअगाडि मात्र रेखाको ‘उपहार’ अभिनय सकाएका मुकुन ‘ज्वाइँ साब’को छायाङ्कन सुरु गर्ने तयारीमा छन् । यस्तै उनी अभिनीत फिल्म ‘विच्छेद’ पनि रिलिजको तयारीमा छ । फिल्म ‘भाँडाकुटी’ र ‘बिजुली’ पनि उनले साइन गरेका छन् । उनी दुवै फिल्म मिलाएर छायाङ्कन गर्ने सुरमा छन् । अझै केही फिल्मको स्क्रिप्ट आफूले अध्ययन गरिरहेको उनी बताउँछन् । 

आर्यन सिग्देल  : अभिनेता आर्यन सिग्देल अहिले फिल्म ‘पूजार सार्की’ अभिनयको तयारी छन् । दिनेश राउतको निर्देशन रहने यो फिल्म केही अगाडि घोषणा भएको हो । आर्यनको केही समयअगाडि फिल्म ‘डिसेम्बर फल्स’ रिलिज भएको थियो । फिल्मले बक्सअफिसमा व्यवसाय भने गर्न सकेन । ‘पूजार सार्की’ को अलावा उनको हातमा अहिले ४ फिल्म छ । तीमध्ये दुई ‘सञ्जीवनी’ र ‘दौँतरी’ हो । अन्य दुईको भने नाम जुर्न बाँकी छ । फिल्म कम भए पनि आर्यन अहिले म्युजिक भिडियो र विज्ञापन अभिनयमा भने व्यस्त छन् ।

खगेन्द्र लामिछाने  : अभिनेता खगेन्द्र लामिछाने अभिनीत फिल्म ‘दिमाग खराब’ केही सातादेखि प्रदर्शनरत छ । फिल्मले राम्रो कमाई गर्न सफल भएको छ । उनको अभिनय निर्माण रहेको ‘पशुपति प्रसाद २’ले दसैँमा प्रदर्शन भएको थियो । उनी अहिले फिल्म ‘वरिष्ठ बलराम’को काममा व्यस्त छन् । लेखन समेत उनकै रहेको फिल्म छायाङ्कनको तयारीमा छ । यसको अलावा उनी ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ पनि सञ्चालन गरिरहेका छन् । यसको प्रचार प्रसार र फिल्मको रिलिजमा पनि लागिरहेका छन् । केही अगाडि फिल्म ‘पशुपति प्रसाद ३’ घोषणा भएको थियो । जसको लेखन समेत उनी आफैले गर्दैछन् । 

दीपकराज गिरी  : दीपकराज गिरी अहिले हल मालिक पनि भएका छन् । केही अगाडि उनले नयाँ बाँनेश्वरमा ‘आईएनआई सिनेमाज’ संचालनमा ल्याएका छन् । जसको व्यवस्थापनमा उनले समय दिइरहेका छन् । बक्सअफिसमा सफल फिल्म दिँदै आएका गिरी नयाँ फिल्म निर्माणको तयारीमा छन् । जसको लेखन कार्य समेत आफैले गरिरहेका छन् । केही अगाडि नयाँ फिल्म बनाउने घोषणा गरेका उनले नयाँ फिल्म २०८१ को दसैँ प्रदर्शन समेत तोकेका छन् ।

आकाश श्रेष्ठ  : अभिनेता आकाश श्रेष्ठसँग पनि अहिले फिल्म छैन । उनी अभिनीत पछिल्लो फिल्म ‘हिँड्दा हिँड्दै’ गत भदौमा रिलिज भएको थियो । फिल्मले राम्रो व्यवसाय गर्न सकेन । फिल्म नभएपनि उनी म्युजिक भिडियोमा भने व्यस्त छन् । उनी पछिल्लो समय अभिनयको कारण भन्दा पनि अभिनेत्री करुण श्रेष्ठसँगको प्रेमका कारण चर्चामा छन् । म्युजिक भिडियोको भने उनलाई अभाव छैन । महिनामै ८, १० वटा अभिनय गर्ने गरेका छन् । 

गौरव पहाडी  : अभिनेता गौरव पहाडीको कोरोना अगाडि केही फिल्म रिलिज भएको थियो । त्यसपछि कुनैपनि फिल्म आएको छैन । उनको अहिले ‘दुई कदम’, ‘नम्बरी सुन’ र ‘काडेतार’ रिलिजको तयारीमा छ । ‘दुई कदम’ आगामी शुक्रबारबाट रिलिज भएकोले उनी यतिबेला यसैको प्रचार प्रसारमा छन् । केही फिल्मको स्क्रिप्ट अध्ययन गरिरहेका उनी म्युजिक भिडियोमा भने व्यस्त छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप