आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रबाट सञ्चालन गर्न सुरु

शुक्रबार, २९ मङ्सिर २०८०, १४ : ३९
शुक्रबार, २९ मङ्सिर २०८०

काठमाडौँ । चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको छ । बन्दरगाह शुक्रबारदेखि निजी क्षेत्रको व्यवस्थापनमा सञ्चालन गर्न सुरु गरिएको हो । 

केही दिनअघि चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिबिच सम्झौता भएको थियो । सम्झौतामा समिति र प्रालिबिच पाँच वर्षका लागि दुई करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी हस्ताक्षर भएको थियो । सोही सम्झौताअनुरुप शुक्रबारदेखि बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टि आर एस लोजिपार्कले लिएको छ । 

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहमा रहेका ७ वटै पोर्टहरु निजी क्षेत्रमार्फत सञ्चालन भइरहेका बताए । अघिल्लो वर्ष पोर्ट सञ्चालनबाट १३५ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सकेको उनले जानकारी दिए । उनले समितिकै स्वीकृत दररेटमा बसेर निजी क्षेत्रले सेवा, सुविधा दिने बताए । उनले सुख्खा बन्दरगाहमा निजी क्षेत्रको विज्ञताको प्रयोगले सेवाको स्तर बढ्ने र राज्यको आम्दानी पनि बढ्ने बताए । उनले सार्वजनिक–निजी साझेदारीको अवधारणा अनुरुप बन्दरगाह निजी क्षेत्रलाई सञ्चालन गर्न दिँदा सेवा र आम्दानीको हिसाबले राम्रो परिणाम देखाएको बताए ।

गजुरेलले सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्ने आफूहरुको उद्देश्य रहेपनि काठमाडौँ–तराई/मधेस द्रुतमार्ग नबनेसम्म पूर्ण सञ्चालनमा नआउने बताए । यद्यपि आफूहरुले निजी क्षेत्रसँग सहकार्य गरेर चलायमान बनाउने कोसिस गर्ने बताए ।

सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिले चोभारमा सुख्खा बन्दरगाहको कामलाई नमुनाको रुपमा विकास गर्ने बताएको छ । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ट्रान्स नेपाल टि आर एस लोजिपार्क प्रालिका प्रतिनिधि अनन्त सिंहले आफूहरुले विराटनगर, काँकडभिट्टा, वीरगन्ज र तातोपानीमा पनि सेवा दिइरहेको भन्दै चोभारमा पनि सोही सेवाको निरन्तरता दिने बताए । उनले चोभारलाई नमुनाको रुपमा विकास गर्ने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप