सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार त्रिभुवन विश्वविद्यालयका १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुँदै

निमित्त उपकुलपतिको भरमा त्रिवि
आइतबार, ०१ पुस २०८०, १७ : ३५
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सोमबार ४९ औं दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रंगशालामा आयोजना हुने उक्त कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन् । बिहान १० बजेदेखि विद्यार्थीहरूका लागि प्रवेश खुला गरिनेछ  भने साढे ११ बजेबाट औपचारिक कार्यक्रम सुरू गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेको त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले बताए । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये उक्त सङ्ख्यामा दीक्षित हुन लागेका हुन् ।

अनलाइन मार्फत आवेदन दिएका विद्यार्थीहरू दीक्षित हुन लागेको उनको भनाइ छ । यो वर्ष एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट विभूषित गराइँदै छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । त्यस्तै एमफील र पीएचडी तर्फगरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गरिने सूचना अधिकारी दाहालले बताए ।

दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ । एमफील/पीएचडीका विद्यार्थी र पदक पाउने विद्यार्थीलाई भने स्टलहरूबाट नभई राष्ट्रपतिको हातबाट नै पदक प्रदान गरिनेछ । ती बाहेक विद्यार्थीलाई भने ५३ वटा स्टलबाट वितरण गरिने दाहालले बताए ।

विद्यार्थीको सङ्ख्या धेरै भएपछि त्रिविलाई कार्यक्रम आयोजना गर्न समस्या पर्दै आएको छ । त्यसैले यो वर्ष कुर्सीको समस्या नहोस् भनेर त्रिविले दशरथ रंगशालामा दीक्षान्त समारोहको आयोजना गरेको हो ।

‘विगतमा सधैँ व्यवस्थापनको समस्या हुन्थ्यो । विद्यार्थी धेरै हुँदा बस्न कुर्सीको अभाव हुने गरेको थियो । यो वर्ष त्यो समस्या नहोस् भनेर दशरथ रंगशालामा आयोजना गरेका हौँ’ सूचना अधिकारी दाहालले भने ।   

यो वर्षदेखि सबैभन्दा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘कुलपति पदक’ भने बन्द गरेको छ । लेटर ग्रेडिङ प्रणालीबाट नतिजा सार्वजनिक गर्दै आएको त्रिविले उत्कृष्ट विद्यार्थी पाउन गाह्रो भएको भन्दै उक्त पदक बन्द गराएको हो । उक्त पदक बाहेक अन्य पदकहरू भने यथावत् रहेको त्रिविले जनाएको छ ।

निमित्त उपकुलपतिको भरमा त्रिवि

त्रिभुवन विश्वविद्यालय यति बेला निमित्त उपकुलपतिको भरमा चलिरहेको छ । चार वर्षे कार्यकाल पुरा भएपछि प्राडा धर्मकान्त बास्कोटा गत कात्तिक १७ गतेदेखि बिदा भएका थिए । त्यसपछिबाट शिक्षाध्यक्ष प्राडा शिवलाल भुसाललाई कार्यकारी उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनकै भरमा यो पटक त्रिविले दीक्षान्त समारोह आयोजना गर्न लागेको हो ।

तीन महिनाको कार्यकारी अधिकारसहित जिम्मेवारी लिएका भुसालले दीक्षान्त समारोहलाई भव्य बनाउन लागि परेका छन् । उनले विगतका गल्ती तथा कमजोरीहरू हुन नदिन सोही आधारमा काम गर्न निर्देशन दिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप