आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी

१४ किलो सुन व्यवस्थापनमा ४ टिम

दुबई, सिंगापुर, हङकङ र थाइल्यान्ड आउजाउ गर्ने यात्रुलाई निगरानी गर्न सुझाव
आइतबार, ०८ पुस २०८०, १७ : ५६
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । गत मङ्सिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गर्यो । उक्त सुन गोरखा बारपाक घर भएका ४५ वर्षी चन्द्र घलेले दुबईबाट ल्याएका थिए ।

यही तस्करीबारे छानबिन गर्न गठित समितिले १४ किलो सुन तस्करी र व्यवस्थापनमा चारवटा टिम सक्रिय रहेको निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ । आइतबार छानबिन समितिका संयोजक मणिराम पौडेलले सुझावसहितको छानबिन प्रतिवेदन त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेलाई हस्तान्तरण गरेका हुन् । दुबईबाट सुन पठाउने समूह, भरिया समूह, नेपाली समूह र विमानस्थल समूह गरी सुन तस्करी र व्यवस्थापनमा चारवटा टिमको कनेक्सन देखिएको छ । 

दुबईबाट अङ्कित अग्रवाल र गुरु नामका व्यक्तिहरूले सुन पठाउने गरेको समितिको निष्कर्ष छ । गोरखा बारपाक घर भएका मीनबहादुर घलेले कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरेर दुबईबाट प्रतिखेप १४ किलो दरमा सुन नेपालमा ल्याउने गरेका हुन् । मीनबहादुर घले, चन्द्र घले र  कृष्ण कुमार श्रेष्ठले अहिलेसम्म १३८ केजी सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट थाहा भएको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले रातोपाटीलाई बताए । 

स्याङ्जा घर भएका कृष्ण कुमार श्रेष्ठ र गोरखाको बारपाक सुलिकोट नगरपालिका–१ घर भएका चन्द्र घले भरिया हुन् । दुई वर्षमा कृष्ण कुमार श्रेष्ठ ५२ पटक दुबई र नेपाल आउजाउ गरेको अनुसन्धानबाट थाहा भएको छ । एयरपोर्टस्थित आगमन कक्षको शौचालयभित्रको पाइप मर्मत गर्ने भोइड सेक्सनमा ल्याएर उनले सुन छाड्ने गरेका थिए । भोइड सेक्सनको साँचो उनले मीनबहादुर घलेबाट लिएको छानबिन समितिको निष्कर्ष छ । 

सुन तस्करीमा त्रिभुवन विमानस्थलमा कार्यरत ५ जना कर्मचारीको भूमिका देखिएको छ । छानबिन समितिले सो समूहलाई ‘एयरपोर्ट टिम’ नामकरण गरेको छ । त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका कार्यालय सहयोगी लेखबहादुर तामाङ र एयर साइड अफिसमा कार्यरत रमेश देउला, अनिल श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ र शेर बहादुर बस्नेतले विमानस्थलबाट सुन बाहिर ल्याउन तस्करलाई सहयोग गर्ने गरेका थिए । 

काठमाडौँ महानगरपालिका वडा नम्बर–८ घर भएका शेरबहादुर बस्नेतले शौचालय भित्रको पाइप मर्मत गर्ने भोइड सेक्सनको साँचो नक्कल बनाएर रमेश देउलालाई दिएका थिए । देउलाले एउटा साँचो टीडीओका कार्यालय सहयोगी लेकबहादुर तामाङ र अर्को साँचो मीनबहादुर घलेलाई दिएको छानबिनबाट थाहा भएको छ । बस्नेतले सुन आउने पूर्व जानकारी पाएपछि शौचालयमा गएर सुन राखेको वा नराखेको बारेमा ‘रेकी’ गर्ने गरेका थिए । काठमाडौँ महानगरपालिका–८ घर भएका राधाकृष्ण श्रेष्ठले टीडीओमा कार्यरत लेकबहादुरसँग सुन रिसिभ गरेर आपत्कालीन ढोका हुँदै अन्तर्राष्ट्रिय टर्मिनल भवनको बाहिर सुन ल्याउँथे । त्यसमा उनलाई एसी (एयर कन्डिसन) शाखामा कार्यरत अनिले श्रेष्ठले सहयोग गर्ने गरेको छानबिनको निष्कर्ष छ । 

काठमाडौँमा तस्करीको सुन व्यवस्थापनमा मीनबहादुर घले र डीबी भन्ने दानबहादुर गुरुङ संलग्न थिए । भरियाले ल्याएको सुन एयरपोर्ट बाहिर निकालिसकेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले टोखा नगरपालिका बानियाँटार स्थित सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा लैजान्थे ।

तस्करीको सुन मीनबहादुर घले र निजको साथी जोन भन्ने जीवन गुरुङले अङ्कित अग्रवालले भनेको स्थानमा लगेर दिने गरेको छानबिन समितिको निष्कर्ष छ । 

४ मुलुकमा आउजाउ गर्नेलाई निगरानीमा राख्न सुझाव 

छानबिन समितिले ४ मुलुकमा लगातार आउजाउ गर्नेलाई निगरानीमा राख्नुपर्ने सुझाव दिएको छ । विमानस्थल अध्यागमन कार्यालयले दुबई, सिंगापुर, हङकङ र थाइल्याण्डमा लगातार आउजाउ गरिरहेका यात्रुहरूको सूचना भन्सार तथा प्रहरीलाई दिने व्यवस्था मिलाउनुपर्ने छानबिन समितिका संयोजक मणिराम पौडेलले रातोपाटीलाई बताए । 

भन्सार विभागले दुबई, सिंगापुर, हङकङ, थाइल्याण्ड लगायतका देशमा आवागमन गरिरहेका यात्रुहरूको ती देशका भन्सारमा घोषणा गरेको विवरण अग्रिम रूपमा प्राप्त गर्न आवश्यक व्यवस्था मिलाउनु पर्ने समितिको सुझाव छ । 

समितिले विमानस्थलमा तस्करी नियन्त्रण गर्न ‘संयुक्त समन्वय कक्ष’ स्थापना गर्न सुझाएको छ । समितिको प्रतिवेदनमा भनिएको छ–‘टीआईए ले प्यासेन्जर मेनिफेस्ट अनिवार्य रूपमा प्रहरी र भन्सारलाई पठाउने व्यवस्था मिलाउनुपर्छ । त्यस्तै, एडभान्स प्यासेन्जर इन्फर्मेशन सिस्टम कार्यान्वयन गर्न गृह प्रशासन र भन्सार प्रशासनले पहल गर्नुपर्ने देखिन्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप