शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
प्रतिवेदन

मीन घलेको टीमले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष

आइतबार, ०८ पुस २०८०, १३ : ४४
आइतबार, ०८ पुस २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष निकालिएको छ । १४ किलो सुन तस्करी प्रकरणमा गठन भएको छानबिन समितिले उक्त निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको छ ।  

समितिले घलेले दुवईमा तथाकथित अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको निष्कर्ष निकालेको छ । घले स्वयं तथा चन्द्र घले र कृष्ण कुमार श्रेष्ठ समेतले पटक–पटक दुवईबाट सुन लिई आउने गरेको अनुसन्धानबाट खुल्न आएको समितिको भनाइ छ । 

यस्तै मीन घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भनिने दन बहादुर गुरुङ्गलाई प्रयोग गरेको देखिन आएको पनि समितिको ठहर छ । 

यस्तै एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा कामगर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर सेर बहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको समितिको भनाइ छ । 

भरियाले ल्याएको सुन् एयरपोर्टबाट बाहिर निकालिसकेपछि रमेश देउला, राधा कृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौँको बानियाटार स्थित सूर्यदर्शन हाइटमा रहेको डिवी गुरुङको घरमा पुर्याउने गरेको देखिएको समितिले जनाएको छ । 
उक्त सुन मिन बहादुर घले र उनका साथी जोन भन्ने जीवन गुरुङ्गले अंकित अग्रवालले भनेको स्थानमा लगी दिने गरेको पनि खुलेको छ । 

समितिले भनेको छ, ‘पटक पटक गरी मिन बहादुर घले, चन्द्र घले र कृष्ण कुमार श्रेष्ठले गरी जम्मा १३८ केजी सुन ल्याई विमानस्थलबाट सेटिङ्ग मिलाई वाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।’ 

गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखा, बारपाकका चन्द्र घलेको पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप