आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी

१४ किलो सुन प्रकरण : विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

बिहीबार, २८ मङ्सिर २०८०, १२ : ३१
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजरलाई छानबिन समितिले नियन्त्रणमा लिएको छ । घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।

छानबिनका लागि एकजनालाई नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले रातोपाटीलाई बताए । उनले भने– ‘छानबिन पुरा गरेर यथार्थ बाहिर ल्याउँछौँ ।’  

मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट  विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो ।  गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् । घले त्यतिबेला पक्राउ परेका थिए ।

चन्द्र घलेको बयानका आधारमा सुन तस्करीमा संलग्न गोरखा घर भएका मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ । भित्री ज्याकेटमा सुन लुकाएर चन्द्र ‘निर्धक्क’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । चन्द्र घले सुनको ‘भरिया’ भएको प्रहरी र भन्सार कार्यालयका अनुसन्धान अधिकृतहरूको अनुसन्धान निष्कर्ष छ । चन्द्रले दुबईबाट सुन ल्याउँदा एक पटकमा ६० हजार पाउने गरेको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।

दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरी सुन कारोबारीहरूले योजना बनाएको विमानस्थल भन्सार कार्यालयले गरेको अनुसन्धानबाट थाहा भएको छ । डस्टबिनमार्फत सुन बाहिर ल्याउन ‘सेटिङ’ मा संलग्न रहेको देखिएपछि सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप