बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कृष्णप्रसाद भट्टराईको १५औँ स्मृति दिवस

बुद्धिजीवी वर्गमा लोकप्रिय किसुनजी

आइतबार, ०८ पुस २०८०, २१ : ११
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । ‘कृष्णप्रसाद भट्टराईको भौतिक सम्पत्ति भनेको– केही पुस्तक, एउटा दराज, एउटा बिछ्यौना, डायरी राख्ने एउटा टिनको बाकस, ओढ्ने छाता र पानी खाने माटाको सुराही मात्र हो । उनी प्रधानमन्त्री हुँदा पत्रपत्रिकाहरूले ‘वितरागी सन्तले सिंहासन पाए’ भनी टिप्पणी लेखेका थिए’ (डा. सूर्यमणि अधिकारीको पुस्तक ‘नेपाली कांग्रेसको इतिहास’) ।

कांग्रेसले आज (पुस ८ गते) उनै दिवङ्गत सन्त नेताको शताब्दी जन्मजयन्तीका अवसरमा पार्टी कार्यालय सानेपामा विमर्शसभा गर्यो । सय वर्षअघि (वि.सं. १९८१ पुस कृष्ण द्वादशी तिथिमा) भारतको बनारसमा जन्मेका कृष्णप्रसाद भट्टराई (किसुनजी)बारे सयौँ आलेख र केही पुस्तक लेखिएका छन् । दुई–दुईपटक देशको प्रधानमन्त्री भएका किसुनजीलाई बिर्सेर नेपाली कांग्रेसको मात्रै होइन, देशकै राजनीतिक इतिहास अपुरो हुन्छ । 

किसुनजीका पुर्खा गोरखाका हुन् । ०५७ सालमा प्रकाशित प्रा.डा. राजेश गौतमको पुस्तक ‘कर्मयोगी राजनीतिज्ञ कृष्णप्रसाद भट्टराई’ अनुसार, नेपाल राज्यको विस्तारपछि पृथ्वीनारायणसँगै गोर्खाबाट काठमाडौँका आएर यज्ञश्वर भट्टराईका पुत्र श्रीपति भट्टराई दरबारका पुरोहित बनेका थिए । 

यज्ञश्वरपछिको भट्टराई वंश विष्णुहरि, कृष्णलाल, मोहिनीधर, कमलाकान्त, विश्वनाथ हुँदै संकटाप्रसादसम्म आइपुग्छ । किसुनजी संकटाप्रसादका चार छोरामध्ये कान्छा हुन् । 

किसुनजीको बनारसमा जन्म हुनुको पनि राजनीतिक कथा छ । कोतपर्वपछि राजा राजेन्द्र शाहकी कान्छी महारानी राज्यलक्ष्मी निर्वासित भएर बनारस गइन्, महारानीका गुरूपुरोहित रहेका कमलाकान्त र उनका सन्तान पनि महारानीसँगै बनारस गए ।

किसुनजीका पुर्खाको काठमाडौँमा तीनवटा घर थिए । यसमाथि राजेन्द्रविक्रम शाहले भारतकै रामनगरमा केही जमिन दिएका थिए भने बनारसमा पनि तीनवटा घर किनिदिएका थिए । भारततिर लागेपछि उनका पुर्खाले काठमाडौँका घर बिक्री गरे । 

कृष्णप्रसाद भट्टराईले जित्ने भनी राय प्रकट गर्ने ४०.५२ प्रतिशतमध्ये ४८.४० प्रतिशत बुद्धिजीवी थिए । यस्तै, २५.७४ प्रतिशत मजदुर रहेका थिए । मदन भण्डारीले जित्ने भनी प्राप्त ३७.५० प्रतिशत मतमध्ये ५७.४३ प्रतिशत मजदुर र सबैभन्दा कम २५ प्रतिशत गृहिणी थिए । 

किसुनजीले बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । सुरुवातमा कृष्णप्रसाद उपाध्याय नामले चिनिने उनी १८ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय हुन थालेका थिए । त्यतिबेलै उनलाई सहकर्मी तथा साथीहरूले ‘किसुनजी’ नामले सम्बोधन गर्थे । 

सन् १९४२ मा भारतको स्वाधीनताका लागि भएको ‘भारत छोडो’ आन्दोलनमा प्रत्यक्ष भाग लिएर किसुनजीको राजनीतिक जीवन सुरु भएको थियो । त्यतिबेला उनलाई तत्कालीन अंग्रेज शासकले एक महिना जेल सजाय गरेको थियो । 

सन् १९४६ मा बनारसमा पढिरहेका नेपाली विद्यार्थीले ‘नेपाली छात्र संघ’को गठन गरे । भारतीय प्राध्यापक विश्वनाथ प्रसाद मिश्रलाई अध्यक्ष बनाइएको यस संघमा कृष्णप्रसाद भट्टराई उपाध्यक्ष रहे । 

१५ कात्तिक २००३ सालमा बनारसमा केही नेपाली मिलेर ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामक संस्था खोले, देवीप्रसाद सापकोटा सभापति रहेको यस संस्थामा किसुनजी महामन्त्री थिए । यसैताका कलकत्तामा धर्मनारायण प्रधान, देवव्रत परियार, दिलीपकुमार शाही, धनमान परियार लगायतले अर्को संस्था खोलेका थिए– अखिल भारतीय गोर्खा कांग्रेस । 

यसै वर्षको माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा विभिन्न क्षेत्रका नेपालीको प्रतिनिधित्व गराई एक अधिवेशन गरियो । यस अधिवेशनले ‘अखिल भारतीय’ शब्द हटाई पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्यो । जसमा टंकप्रसाद आचार्य सभापति, बीपी कोइराला कार्यकारी सभापति रहँदा किसुनजी संगठन मन्त्री थिए । 

४ मार्च १९४७ मा विराटनगरमा हडतालको घोषणा गरियो । भट्टराई ८ मार्चदेखि सुरु हुने विश्वविद्यालयको एमए (अर्थशास्त्र)को अन्तिम परीक्षा छाडेर ७ मार्चकै दिन बनारसबाट विराटनगर हिँडेका थिए । उनीसँगै कांग्रेसका जनरल सेक्रेटरी बालचन्द्र शर्मा पनि विराटनगर आएका थिए । 

त्यतिबेला कांग्रेसका अधिकांंश कार्यकर्ता, नेता तथा मजदुर र महिलाहरू पक्राउ परे । सबै पक्राउ पर्दा अप्ठेरो परिस्थिति उत्पन्न हुने आशंकाले किसुनजी बाहिरै बसेका थिए, बिपीसँग सल्लाह गरेर । त्यसपछि उनी कलकत्ता गए । त्यतिबेला बीपीलगायत नेता पक्राउ परे । मजदुर आन्दोलनपछि २००३ चैत २८ गते जेलबाहिर रहेका कांग्रेस कार्यकर्ता जोगबनीमा भेला भई मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा सम्मेलन गर्यो । 

यसपछि नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा गर्‍याे। पार्टीको नवगठित वर्किङ कमिटीको बैठकले सरकारलाई १५ दिनको अल्टिमेटम दिँदै २००४ सालको नयाँ वर्षदेखि देशव्यापी सत्याग्रह गर्ने घोषणा गरेको थियो । आन्दोलनकाे १५ दिनमै (वैशाख १५ गते) पद्मशमशेरले वैधानिक सुधार समिति गठन गरेर ।

देशव्यापी सत्याग्रहको घोषणापछि समर्थन र सहयोग जुटाउन कृष्णप्रसाद दार्जिलिङतिर गए । त्यहाँ सूर्यविक्रम ज्ञवालीको सहयोगमा आमसभा गरियो । दशौँ हजार मानिसको उपस्थिति रहेको त्यस सभामा कृष्णप्रसादले नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहयोग गर्न आह्वान गरे । त्यस आमसभामा धेरैले स्वयंसेवक भएर काम गर्ने इच्छा जाहेर गरे । भट्टराईले त्यहाँ अध्ययनरत विद्यार्थीहरूमध्ये केहीलाई स्वयंसेवक छनोट पनि गरे ।

त्यसपछि पार्टीको आह्वानमा देशका पाँच ठाउँहरूका सत्याग्रह सुरु भयो । काठमाडौँ, वीरगन्ज र विराटनगरमा आन्दोलन पूर्ण रूपमा सफल भयो, भट्टराईले वीरगन्जपूर्वको इन्चार्जका रूपमा काम गरेका थिए ।

सत्याग्रहपछि कांग्रेसमा केही टुटफुट देखापर्यो । बीपी कोइराला र डिल्लीरमण रेग्मीको दुई समूहले गतिविधि गर्न थाले । २००४ सालदेखि २००६ सालको चैत २७ गतेसम्म यी दुई समूह एउटै झन्डा र एउटै नाममा अस्तित्वमा रहे । यही दिन कलकत्तामा सम्मेलन गरी ‘नेपाली कांग्रेस’ नामको पार्टी बन्यो । जसमा किसुनजी सहायक महामन्त्री थिए ।

२००७ सालको असोज १० र ११ गते भारतको बैरगनियामा सम्मेलन गरी कांग्रेसले सशस्त्र क्रान्ति नभनी ‘जुनसुकै उपायद्वारा’ आन्दोलन गर्ने निर्णय गरेको थियो । अन्ततः उसले सशस्त्र क्रान्ति नै गर्‍याे । कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरी महोत्तरीदेखि उदयपुरसम्मको युद्धमा खटिएका थिए । दिगम्बर झा र भद्रकाली मिश्रको पनि यस क्षेत्रमा सहयोग रह्यो । पार्टीका प्रमुख व्यक्तिमध्येका एक कृष्णप्रसाद भएकाले यसले क्षेत्रमा हतियार र खर्चको कुनै कमी भएन र उदयपुरगडीसम्म कब्जा गर्न धेरै समय पनि लागेन । 

कृष्णप्रसाद र रुद्र गिरीको नेतृत्वको मुक्ति सेनाले ११ नोभेम्बर १९५० का दिन उदयपुरगडी कब्जा गर्‍याे । १३ नोभेम्बरका दिन उदयपुरमा अस्थायी सरकारका स्थापना भयो । त्यही टोलीले एक हप्तापछि लाहानको कर अफिस र प्रधानमन्त्री मोहनशमशेरको व्यक्तिगत सम्पत्ति पनि गरी करिब १७ हजार रुपैयाँ आफ्नो कब्जामा लियो । भट्टराईको नेतृत्वमा रहेको त्यही मुक्ति सेनाले जनकपुर, महोत्तरी क्षेत्र पनि आफ्नो कब्जामा लियो । 

देशव्यापी भएको आन्दोलनमा मुक्ति सेनाले विजय प्राप्त गर्न थालेपछि राणाहरू कांग्रेससँग सम्झौताको पक्षमा पुगे । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको मध्यस्थतामा राणा र नेपाली कांग्रेसबीच भएको आन्दोलन सम्झौतामा टुंगियो । 

२००४ सालतिर पहिलोपटक काठमाडौँ आएका कृष्णप्रसाद २००७ सालदेखि स्थायी रूपमा काठमाडौँमा बस्न थालेका थिए । सुरुमा उनी गणेशमान सिंहकहाँ र त्यसपछि केही समय सूर्यप्रसादकहाँ बसेका थिए । यसपछि कमलपोखरीमा डेरा लिएर बस्न थाले ।

kp-bhattarai

पत्रकार किसुनजी

बनारसमा किसुनजीका पुर्खा भट्टराई बन्धुका नामले चिनिन्थे । व्यापारिक क्षेत्रमा त्यहाँ भट्टराई बन्धु वा भट्टराई ब्रदर्स नामले ठूलै गद्दी पनि थियो । नेपालमा प्रजातन्त्रको स्थापना भएपछि उनीहरुले भट्टराई प्रकाशनका नाममा बनारसबाट युगवाणी साप्ताहिक पनि प्रकाशित गरे । यस प्रकाशनको प्रमुख गोपालप्रसाद (कृष्णप्रसादका दाइ) थिए भने कृष्णप्रसाद सम्पादकका रूपमा थिए । 

२००७ र २०१५ बिचको अस्थिर राजनीतिक अवस्थामा पनि कृष्णप्रसाद भट्टराई समाजवादी चिन्तनधारामा निरन्तर लागिरहेको पाइन्छ । सन् १९५२ मा रंगुनमा आयोजित प्रथम एसियाई समाजवादी कांग्रेसमा भट्टराईले भाग लिएका थिए । उनी सन् १९५५–५६ बीचमा नेपाल पत्रकार संघको प्रथम अध्यक्षका रूपमा रहे । उनले नेपाल पुकार र युगवाणी जस्ता त्यसबेलाका प्रमुख एवं चर्चित पत्रिकाहरूको सम्पादक भएर काम गरेका थिए । 

भट्टराईले सन् १९५७ मा तत्कालीन सोभियत रुसका प्रधानमन्त्री र पार्टीका महासचिव निकिता ख्रुस्चेभसँग विविध विषयमा अढाइ घन्टा लामो अन्तर्वार्ता लिएका थिए । ख्रुस्चेभसँग अन्तर्वार्ता लिने उनी प्रथम विदेशी संवाददाता थिए । 

२०१५ सालमा सभामुख, ०४६ मा प्रधानमन्त्री

प्रजातन्त्र स्थापनाको आठ वर्षपछि देशमा आमचुनाव भयो । १०९ वटा क्षेत्रका लागि भएको चुनावमा कांग्रेसले शतप्रतिशत उम्मेदवार उठाएको थियो । 

त्यतिबेला किसुनजीले आफ्नो पुख्र्याैली थलो रोजे– क्षेत्र नम्बर १०४, गोर्खा जिल्लाको उत्तरी भूभाग । तर उनी ‘नेपाल राष्ट्रिय गोर्खा परिषद्’का उम्मेदवार विश्वनाथ सुवेदीसँग ३२५ मतले पछाडि परे । सुवेदीले ३,१३३ मत पाउँदा किसुनजीले २८०८ मत प्राप्त गरेका थिए । ७४ स्थानमा विजय हासिल गरेको कांग्रेसले २०१६ जेठ १३ गते बीपीको अध्यक्षतामा सरकार बनायो । १०१६ असार १८ गते बसेको प्रतिनिधिसभा बैठकले किसुनजीलाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गर्‍याे। २०१५ सालको संविधानमा प्रतिनिधिसभाको सभामुख प्रतिनिधिसभाको सदस्य नरहेको व्यक्ति पनि हुन सक्ने व्यवस्था थियो ।

२०१७ सालमा महेन्द्रले शासन हत्याएपछि सुरक्षा कानुन अन्तर्गत भट्टराईलाई जेल हालियो । सुन्दरीजल सैनिक जेल र नखु जेलमा गरी उनलाई ९ वर्ष तीन महिना जेलमा राखियो । जबकि सुरक्षा कानुनको व्यवस्था अनुसार उनलाई तीन वर्ष मात्रै जेल सजाय हुनुपर्ने थियो । जेलबाट छुटेपछि कांग्रेसका अन्य नेताहरू भारत निर्वासनमा लागे । भट्टराईले भने देशव्यापी भ्रमण सुरु गरे । वीरगन्जदेखि पूर्वका सबै जिल्ला घुमेर त्रिशुली, पोखरा, स्याङ्जा, पाल्पा र बुटवलसम्म पुगेका उनलाई २०२९ साउनमा बुटवलबाट पुनः समातियो । त्यसपछि उनी २०३२ मंसिरमा मात्रै जेलबाट छुटे । यसपछि उनी बीपीलाई भेट्न बनारस पुगे । 

२०३३ पुस १६ गते बीपी नेपाल आउने कार्यक्रम तय भएको थियो । किसुनजीले करिब १५ सय जति मानिसहरू लिएर एयरपोर्टमा गए । सरकारले त्यस दिन डेढ सय जति मानिसलाई पक्राउ गरेको थियो । बीपी, किसुनजी लगायत नेता पनि पक्राउ परे । यसरी पटक–पटक गरी किसुनजीले १३ वर्ष नौ महिना जेल जीवन बिताए । 

भट्टराई २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछिको सर्वदलीय अन्तरिम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री भए । उनलाई २०४७ वैशाख ३ गते कांग्रेसका सर्वोच्च नेता गणेशमानले प्रधानमन्त्रीका रूपमा प्रस्तावित गरेका थिए । उनले आमनिर्वाचन २०४८ सम्पन्न गराए । तर २०४८ को आमनिर्वाचन, ०४८ कै उपनिर्वाचन र ०५१ को मध्यावधि निर्वाचनमा समेत उनी पराजित भए । 

०४८ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट किसुनजीसँगै एमालेका मदन भण्डारी पनि उम्मेदवार थिए । यो प्रतिस्पर्धालाई निकै रोचक रूपमा हेरिएको थियो । 

त्यतिबेलो ‘कोमेड सर्भिसेज प्रालि’ले ‘कृष्णप्रसाद भट्टराई कि मदन भण्डारी ?’ भनी राजनैतिक सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणको प्रतिवेदन अनुसार, प्रधानमन्त्री तथा नेकाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराईले जित्ने भनी राय प्रकट गर्ने ४०.५२ प्रतिशतमध्ये ४८.४० प्रतिशत बुद्धिजीवी थिए । यस्तै, २५.७४ प्रतिशत मजदुर रहेका थिए । मदन भण्डारीले जित्ने भनी प्राप्त ३७.५० प्रतिशत मतमध्ये ५७.४३ प्रतिशत मजदुर र सबैभन्दा कम २५ प्रतिशत गृहिणी थिए । अर्थात् किसुनजी बुद्धिजीवी वर्गमा र भण्डारी मजदुर वर्गमा प्रिय थिए । 

२०५६ को आमनिर्वाचनमा पर्साबाट प्रतिनिधि सभामा निर्वाचित भए । कांग्रेस संसदीय दलले उनलाई दलको नेता छनोट ग¥यो । यसपछि उनी २०५६ जेठ १३ गते दोस्रोपटक प्रधानमन्त्री भए । १० महिना प्रधानमन्त्री रहेर (२०५६ चैत ३ गते) राजीनामा दिए । २०६७ फागुन २० गते उनको निधन भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप