शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कृष्णप्रसाद भट्टराईको शताब्दी जन्मजयन्ती

बुद्धिजीवी वर्गमा लोकप्रिय किसुनजी

आइतबार, ०८ पुस २०८०, २१ : ११
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । ‘कृष्णप्रसाद भट्टराईको भौतिक सम्पत्ति भनेको– केही पुस्तक, एउटा दराज, एउटा बिछ्यौना, डायरी राख्ने एउटा टिनको बाकस, ओढ्ने छाता र पानी खाने माटाको सुराही मात्र हो । उनी प्रधानमन्त्री हुँदा पत्रपत्रिकाहरूले ‘वितरागी सन्तले सिंहासन पाए’ भनी टिप्पणी लेखेका थिए’ (डा. सूर्यमणि अधिकारीको पुस्तक ‘नेपाली कांग्रेसको इतिहास’) ।

कांग्रेसले आज (पुस ८ गते) उनै दिवङ्गत सन्त नेताको शताब्दी जन्मजयन्तीका अवसरमा पार्टी कार्यालय सानेपामा विमर्शसभा गर्यो । सय वर्षअघि (वि.सं. १९८१ पुस कृष्ण द्वादशी तिथिमा) भारतको बनारसमा जन्मेका कृष्णप्रसाद भट्टराई (किसुनजी)बारे सयौँ आलेख र केही पुस्तक लेखिएका छन् । दुई–दुईपटक देशको प्रधानमन्त्री भएका किसुनजीलाई बिर्सेर नेपाली कांग्रेसको मात्रै होइन, देशकै राजनीतिक इतिहास अपुरो हुन्छ । 

किसुनजीका पुर्खा गोरखाका हुन् । ०५७ सालमा प्रकाशित प्रा.डा. राजेश गौतमको पुस्तक ‘कर्मयोगी राजनीतिज्ञ कृष्णप्रसाद भट्टराई’ अनुसार, नेपाल राज्यको विस्तारपछि पृथ्वीनारायणसँगै गोर्खाबाट काठमाडौँका आएर यज्ञश्वर भट्टराईका पुत्र श्रीपति भट्टराई दरबारका पुरोहित बनेका थिए । 

यज्ञश्वरपछिको भट्टराई वंश विष्णुहरि, कृष्णलाल, मोहिनीधर, कमलाकान्त, विश्वनाथ हुँदै संकटाप्रसादसम्म आइपुग्छ । किसुनजी संकटाप्रसादका चार छोरामध्ये कान्छा हुन् । 

किसुनजीको बनारसमा जन्म हुनुको पनि राजनीतिक कथा छ । कोतपर्वपछि राजा राजेन्द्र शाहकी कान्छी महारानी राज्यलक्ष्मी निर्वासित भएर बनारस गइन्, महारानीका गुरूपुरोहित रहेका कमलाकान्त र उनका सन्तान पनि महारानीसँगै बनारस गए ।

किसुनजीका पुर्खाको काठमाडौँमा तीनवटा घर थिए । यसमाथि राजेन्द्रविक्रम शाहले भारतकै रामनगरमा केही जमिन दिएका थिए भने बनारसमा पनि तीनवटा घर किनिदिएका थिए । भारततिर लागेपछि उनका पुर्खाले काठमाडौँका घर बिक्री गरे । 

कृष्णप्रसाद भट्टराईले जित्ने भनी राय प्रकट गर्ने ४०.५२ प्रतिशतमध्ये ४८.४० प्रतिशत बुद्धिजीवी थिए । यस्तै, २५.७४ प्रतिशत मजदुर रहेका थिए । मदन भण्डारीले जित्ने भनी प्राप्त ३७.५० प्रतिशत मतमध्ये ५७.४३ प्रतिशत मजदुर र सबैभन्दा कम २५ प्रतिशत गृहिणी थिए । 

किसुनजीले बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । सुरुवातमा कृष्णप्रसाद उपाध्याय नामले चिनिने उनी १८ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय हुन थालेका थिए । त्यतिबेलै उनलाई सहकर्मी तथा साथीहरूले ‘किसुनजी’ नामले सम्बोधन गर्थे । 

सन् १९४२ मा भारतको स्वाधीनताका लागि भएको ‘भारत छोडो’ आन्दोलनमा प्रत्यक्ष भाग लिएर किसुनजीको राजनीतिक जीवन सुरु भएको थियो । त्यतिबेला उनलाई तत्कालीन अंग्रेज शासकले एक महिना जेल सजाय गरेको थियो । 

सन् १९४६ मा बनारसमा पढिरहेका नेपाली विद्यार्थीले ‘नेपाली छात्र संघ’को गठन गरे । भारतीय प्राध्यापक विश्वनाथ प्रसाद मिश्रलाई अध्यक्ष बनाइएको यस संघमा कृष्णप्रसाद भट्टराई उपाध्यक्ष रहे । 

१५ कात्तिक २००३ सालमा बनारसमा केही नेपाली मिलेर ‘अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस’ नामक संस्था खोले, देवीप्रसाद सापकोटा सभापति रहेको यस संस्थामा किसुनजी महामन्त्री थिए । यसैताका कलकत्तामा धर्मनारायण प्रधान, देवव्रत परियार, दिलीपकुमार शाही, धनमान परियार लगायतले अर्को संस्था खोलेका थिए– अखिल भारतीय गोर्खा कांग्रेस । 

यसै वर्षको माघ १२ र १३ गते कलकत्ताको भवानीपुरमा विभिन्न क्षेत्रका नेपालीको प्रतिनिधित्व गराई एक अधिवेशन गरियो । यस अधिवेशनले ‘अखिल भारतीय’ शब्द हटाई पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्यो । जसमा टंकप्रसाद आचार्य सभापति, बीपी कोइराला कार्यकारी सभापति रहँदा किसुनजी संगठन मन्त्री थिए । 

४ मार्च १९४७ मा विराटनगरमा हडतालको घोषणा गरियो । भट्टराई ८ मार्चदेखि सुरु हुने विश्वविद्यालयको एमए (अर्थशास्त्र)को अन्तिम परीक्षा छाडेर ७ मार्चकै दिन बनारसबाट विराटनगर हिँडेका थिए । उनीसँगै कांग्रेसका जनरल सेक्रेटरी बालचन्द्र शर्मा पनि विराटनगर आएका थिए । 

त्यतिबेला कांग्रेसका अधिकांंश कार्यकर्ता, नेता तथा मजदुर र महिलाहरू पक्राउ परे । सबै पक्राउ पर्दा अप्ठेरो परिस्थिति उत्पन्न हुने आशंकाले किसुनजी बाहिरै बसेका थिए, बिपीसँग सल्लाह गरेर । त्यसपछि उनी कलकत्ता गए । त्यतिबेला बीपीलगायत नेता पक्राउ परे । मजदुर आन्दोलनपछि २००३ चैत २८ गते जेलबाहिर रहेका कांग्रेस कार्यकर्ता जोगबनीमा भेला भई मातृकाप्रसाद कोइरालाको अध्यक्षतामा सम्मेलन गर्यो । 

यसपछि नेपाली राष्ट्रिय कांग्रेसले नागरिक अधिकारको माग गर्दै देशव्यापी आन्दोलनको घोषणा ग¥यो । पार्टीको नवगठित वर्किङ कमिटीको बैठकले सरकारलाई १५ दिनको अल्टिमेटम दिँदै २००४ सालको नयाँ वर्षदेखि देशव्यापी सत्याग्रह गर्ने घोषणा गरेको थियो । आन्दोलनकाे १५ दिनमै (वैशाख १५ गते) पद्मशमशेरले वैधानिक सुधार समिति गठन गरेर ।

देशव्यापी सत्याग्रहको घोषणापछि समर्थन र सहयोग जुटाउन कृष्णप्रसाद दार्जिलिङतिर गए । त्यहाँ सूर्यविक्रम ज्ञवालीको सहयोगमा आमसभा गरियो । दशौँ हजार मानिसको उपस्थिति रहेको त्यस सभामा कृष्णप्रसादले नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहयोग गर्न आह्वान गरे । त्यस आमसभामा धेरैले स्वयंसेवक भएर काम गर्ने इच्छा जाहेर गरे । भट्टराईले त्यहाँ अध्ययनरत विद्यार्थीहरूमध्ये केहीलाई स्वयंसेवक छनोट पनि गरे ।

त्यसपछि पार्टीको आह्वानमा देशका पाँच ठाउँहरूका सत्याग्रह सुरु भयो । काठमाडौँ, वीरगन्ज र विराटनगरमा आन्दोलन पूर्ण रूपमा सफल भयो, भट्टराईले वीरगन्जपूर्वको इन्चार्जका रूपमा काम गरेका थिए ।

सत्याग्रहपछि कांग्रेसमा केही टुटफुट देखापर्यो । बीपी कोइराला र डिल्लीरमण रेग्मीको दुई समूहले गतिविधि गर्न थाले । २००४ सालदेखि २००६ सालको चैत २७ गतेसम्म यी दुई समूह एउटै झन्डा र एउटै नाममा अस्तित्वमा रहे । यही दिन कलकत्तामा सम्मेलन गरी ‘नेपाली कांग्रेस’ नामको पार्टी बन्यो । जसमा किसुनजी सहायक महामन्त्री थिए ।

२००७ सालको असोज १० र ११ गते भारतको बैरगनियामा सम्मेलन गरी कांग्रेसले सशस्त्र क्रान्ति नभनी ‘जुनसुकै उपायद्वारा’ आन्दोलन गर्ने निर्णय गरेको थियो । अन्ततः उसले सशस्त्र क्रान्ति नै ग¥यो । कृष्णप्रसाद भट्टराई र रुद्रप्रसाद गिरी महोत्तरीदेखि उदयपुरसम्मको युद्धमा खटिएका थिए । दिगम्बर झा र भद्रकाली मिश्रको पनि यस क्षेत्रमा सहयोग रह्यो । पार्टीका प्रमुख व्यक्तिमध्येका एक कृष्णप्रसाद भएकाले यसले क्षेत्रमा हतियार र खर्चको कुनै कमी भएन र उदयपुरगडीसम्म कब्जा गर्न धेरै समय पनि लागेन । 

कृष्णप्रसाद र रुद्र गिरीको नेतृत्वको मुक्ति सेनाले ११ नोभेम्बर १९५० का दिन उदयपुरगडी कब्जा ग¥यो । १३ नोभेम्बरका दिन उदयपुरमा अस्थायी सरकारका स्थापना भयो । त्यही टोलीले एक हप्तापछि लाहानको कर अफिस र प्रधानमन्त्री मोहनशमशेरको व्यक्तिगत सम्पत्ति पनि गरी करिब १७ हजार रुपैयाँ आफ्नो कब्जामा लियो । भट्टराईको नेतृत्वमा रहेको त्यही मुक्ति सेनाले जनकपुर, महोत्तरी क्षेत्र पनि आफ्नो कब्जामा लियो । 

देशव्यापी भएको आन्दोलनमा मुक्ति सेनाले विजय प्राप्त गर्न थालेपछि राणाहरू कांग्रेससँग सम्झौताको पक्षमा पुगे । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको मध्यस्थतामा राणा र नेपाली कांग्रेसबीच भएको आन्दोलन सम्झौतामा टुंगियो । 

२००४ सालतिर पहिलोपटक काठमाडौँ आएका कृष्णप्रसाद २००७ सालदेखि स्थायी रूपमा काठमाडौँमा बस्न थालेका थिए । सुरुमा उनी गणेशमान सिंहकहाँ र त्यसपछि केही समय सूर्यप्रसादकहाँ बसेका थिए । यसपछि कमलपोखरीमा डेरा लिएर बस्न थाले ।

kp-bhattarai

पत्रकार किसुनजी

बनारसमा किसुनजीका पुर्खा भट्टराई बन्धुका नामले चिनिन्थे । व्यापारिक क्षेत्रमा त्यहाँ भट्टराई बन्धु वा भट्टराई ब्रदर्स नामले ठूलै गद्दी पनि थियो । नेपालमा प्रजातन्त्रको स्थापना भएपछि उनीहरुले भट्टराई प्रकाशनका नाममा बनारसबाट युगवाणी साप्ताहिक पनि प्रकाशित गरे । यस प्रकाशनको प्रमुख गोपालप्रसाद (कृष्णप्रसादका दाइ) थिए भने कृष्णप्रसाद सम्पादकका रूपमा थिए । 

२००७ र २०१५ बिचको अस्थिर राजनीतिक अवस्थामा पनि कृष्णप्रसाद भट्टराई समाजवादी चिन्तनधारामा निरन्तर लागिरहेको पाइन्छ । सन् १९५२ मा रंगुनमा आयोजित प्रथम एसियाई समाजवादी कांग्रेसमा भट्टराईले भाग लिएका थिए । उनी सन् १९५५–५६ बीचमा नेपाल पत्रकार संघको प्रथम अध्यक्षका रूपमा रहे । उनले नेपाल पुकार र युगवाणी जस्ता त्यसबेलाका प्रमुख एवं चर्चित पत्रिकाहरूको सम्पादक भएर काम गरेका थिए । 

भट्टराईले सन् १९५७ मा तत्कालीन सोभियत रुसका प्रधानमन्त्री र पार्टीका महासचिव निकिता ख्रुस्चेभसँग विविध विषयमा अढाइ घन्टा लामो अन्तर्वार्ता लिएका थिए । ख्रुस्चेभसँग अन्तर्वार्ता लिने उनी प्रथम विदेशी संवाददाता थिए । 

२०१५ सालमा सभामुख, ०४६ मा प्रधानमन्त्री

प्रजातन्त्र स्थापनाको आठ वर्षपछि देशमा आमचुनाव भयो । १०९ वटा क्षेत्रका लागि भएको चुनावमा कांग्रेसले शतप्रतिशत उम्मेदवार उठाएको थियो । 

त्यतिबेला किसुनजीले आफ्नो पुख्र्याैली थलो रोजे— क्षेत्र नम्बर १०४, गोर्खा जिल्लाको उत्तरी भूभाग । तर उनी ‘नेपाल राष्ट्रिय गोर्खा परिषद्’का उम्मेदवार विश्वनाथ सुवेदीसँग ३२५ मतले पछाडि परे । सुवेदीले ३,१३३ मत पाउँदा किसुनजीले २८०८ मत प्राप्त गरेका थिए । ७४ स्थानमा विजय हासिल गरेको कांग्रेसले २०१६ जेठ १३ गते बीपीको अध्यक्षतामा सरकार बनायो । १०१६ असार १८ गते बसेको प्रतिनिधिसभा बैठकले किसुनजीलाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित ग¥यो । २०१५ सालको संविधानमा प्रतिनिधिसभाको सभामुख प्रतिनिधिसभाको सदस्य नरहेको व्यक्ति पनि हुन सक्ने व्यवस्था थियो ।

२०१७ सालमा महेन्द्रले शासन हत्याएपछि सुरक्षा कानुन अन्तर्गत भट्टराईलाई जेल हालियो । सुन्दरीजल सैनिक जेल र नखु जेलमा गरी उनलाई ९ वर्ष तीन महिना जेलमा राखियो । जबकि सुरक्षा कानुनको व्यवस्था अनुसार उनलाई तीन वर्ष मात्रै जेल सजाय हुनुपर्ने थियो । जेलबाट छुटेपछि कांग्रेसका अन्य नेताहरू भारत निर्वासनमा लागे । भट्टराईले भने देशव्यापी भ्रमण सुरु गरे । वीरगन्जदेखि पूर्वका सबै जिल्ला घुमेर त्रिशुली, पोखरा, स्याङ्जा, पाल्पा र बुटवलसम्म पुगेका उनलाई २०२९ साउनमा बुटवलबाट पुनः समातियो । त्यसपछि उनी २०३२ मंसिरमा मात्रै जेलबाट छुटे । यसपछि उनी बीपीलाई भेट्न बनारस पुगे । 

२०३३ पुस १६ गते बीपी नेपाल आउने कार्यक्रम तय भएको थियो । किसुनजीले करिब १५ सय जति मानिसहरू लिएर एयरपोर्टमा गए । सरकारले त्यस दिन डेढ सय जति मानिसलाई पक्राउ गरेको थियो । बीपी, किसुनजी लगायत नेता पनि पक्राउ परे । यसरी पटक–पटक गरी किसुनजीले १३ वर्ष नौ महिना जेल जीवन बिताए । 

भट्टराई २०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछिको सर्वदलीय अन्तरिम सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री भए । उनलाई २०४७ वैशाख ३ गते कांग्रेसका सर्वोच्च नेता गणेशमानले प्रधानमन्त्रीका रूपमा प्रस्तावित गरेका थिए । उनले आमनिर्वाचन २०४८ सम्पन्न गराए । तर २०४८ को आमनिर्वाचन, ०४८ कै उपनिर्वाचन र ०५१ को मध्यावधि निर्वाचनमा समेत उनी पराजित भए । 

०४८ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट किसुनजीसँगै एमालेका मदन भण्डारी पनि उम्मेदवार थिए । यो प्रतिस्पर्धालाई निकै रोचक रूपमा हेरिएको थियो । 

त्यतिबेलो ‘कोमेड सर्भिसेज प्रालि’ले ‘कृष्णप्रसाद भट्टराई कि मदन भण्डारी ?’ भनी राजनैतिक सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणको प्रतिवेदन अनुसार, प्रधानमन्त्री तथा नेकाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराईले जित्ने भनी राय प्रकट गर्ने ४०.५२ प्रतिशतमध्ये ४८.४० प्रतिशत बुद्धिजीवी थिए । यस्तै, २५.७४ प्रतिशत मजदुर रहेका थिए । मदन भण्डारीले जित्ने भनी प्राप्त ३७.५० प्रतिशत मतमध्ये ५७.४३ प्रतिशत मजदुर र सबैभन्दा कम २५ प्रतिशत गृहिणी थिए । अर्थात् किसुनजी बुद्धिजीवी वर्गमा र भण्डारी मजदुर वर्गमा प्रिय थिए । 

२०५६ को आमनिर्वाचनमा पर्साबाट प्रतिनिधि सभामा निर्वाचित भए । कांग्रेस संसदीय दलले उनलाई दलको नेता छनोट ग¥यो । यसपछि उनी २०५६ जेठ १३ गते दोस्रोपटक प्रधानमन्त्री भए । १० महिना प्रधानमन्त्री रहेर (२०५६ चैत ३ गते) राजीनामा दिए । २०६७ फागुन २० गते उनको निधन भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप