शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साढे २ वर्षमा सक्नुपर्ने पुल ५ वर्ष बितिसक्दा पनि सकिएन

बिहीबार, १२ पुस २०८०, ११ : ३९
बिहीबार, १२ पुस २०८०

कास्की । पोखरा–बागलुङ जोड्ने हाइवे  ६ लेनको भए पनि पुल चाहिँ मुस्किलले २ लेनको छ । पोखरा–५ पर्स्याङस्थित फिर्के खोलामाथिको पुल साँघुरो भएपछि विस्तार गर्न योजना परे पनि अझै सम्पन्न हुन सकेको छैन । २०७५ सालको असोज ८ गते पुलको ठेक्का सम्झौता भएको थियो । साढे २ वर्षमा सक्ने भनिएको पुल अहिलेसम्म निर्माण सुरु हुन नसकेको हो । सम्झौता हुने बित्तिकै एकापट्टि रड गाडेर राखिएको छ । त्यसयता काम गर्ने छाँटकाँट छैन ।

पुलकै कारण पटक पटक दुर्घटना भइरहेको छ । वडा नम्बर ४ का पूर्व वडाध्यक्ष शंकरप्रसाद बास्तोला भन्छन्, ‘पुल बनाउन धेरै पटक डेलिगेसन गयौँ । योजना पनि प¥यो । तर अहिले काम भएको छैन । नियामक निकाय पनि मौन छन् ।’ हरेक वर्ष केही महिना केही कामदार ल्याएर काम गर्न खोजेजस्तो गर्छन् तर काम हुँदैन । पोखराको मध्ये भागबाट बग्ने फिर्के खोलामा दैनिक जसो दुर्घटना हुन्छ ।

वडा नम्बर ४ र ५ जोड्ने यो पुल निर्माणका लागि १२ करोड ३२ लाख २६ हजारको लागतमा निर्माण हुने गरी शान्ति आरोग्य जेभी सानेपा, ललितपुरले ठेक्का पाएको हो । पुल २०७७ साल चैत ३० गतेसम्म सक्नुपर्ने सम्झौता छ । पुल निर्माणका लागि ताकेता गर्ने भन्दा सडक डिभिजन कार्यालयले पनि पटक पटक म्याद सजिलै थपिदिन्छ । अहिले पुनः २०८१ वैशाख सम्म पुल निर्माणको सम्झौता थप गरिएको कार्यालयका इन्जिनियर शहनशीला कायस्थले जानकारी दिइन् । यही पुलबाट ओहोरदोहोर गर्ने जिरोदेखि हरिचोकसम्मको सडक ६ लेनको बनेको छ । कार्यालयका अनुसार ३० प्रतिशत भौतिक प्रगति भएको छ । तर फिल्डमा त्यस्तो देखिँदैन ।

‘सडक ६ लेन पुल २ लेनको हुँदा दैनिक जसो दुर्घटना हुने गरेका छन् । ६ लेनको सडकमा २ लेनको पुलबाट ओहोरदोहोर गर्दा पक्कै अप्ठ्यारो हुन्छ,’ उनले भनिन्, ‘हामी ठेकेदारलाई ताकेता गरिरहेका छौँ । जतिसक्दो छिटो पुल बनाउन भनेका छौँ ।’ यहाँका जनप्रतिनिधिहरूले पहुँचका भरमा ठेकेदारले काम नगरी म्याद मात्रै थपिरहेको आरोप लगाएका छन् । महालेखा परीक्षकको कार्यालयले समेत प्रश्न उठाइरहेको छ ।

ठेकेदारले चाहिँ कोरोना संकट देखाएर निर्माणमा ढिलाइ गरेको हो । मुआब्जामा समेत समस्या रहेको कम्पनीले जनाएको छ । मुआब्जाको प्रक्रिया टुंगिसकेको बताइएको छ । पोखरा ४ का नागरिकले प्रति वर्गमिटर ६५ हजार र पोखरा ५ का स्थानीयले प्रतिवर्गमिटर ५५ हजारका दरले मुआब्जा बुझेका डिभिजन कार्यालयको भनाई छ । तर अझै समस्या सुल्झिएको छैन । खानेपानी र सुकुम्बासी समस्या समाधान नहुँदासम्म निर्माणमा अवरोध हुने ठेकेदार कम्पनीले जनाएको छ । अहिले भइरहेको पुललाई यथावत राखेर दायाँ बायाँ २/२ लेनका दुईवटा पुल निर्माण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप