शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बढ्दै ट्रेडमार्क नक्कल गर्ने क्रम, यशोदा फुड्सले  नै चोर्‍यो वाईवाईको ‘लेबल’

सोमबार, १६ पुस २०८०, १७ : ३६
सोमबार, १६ पुस २०८०

काठमाडौँ । उच्च अदालत पाटनले करेन्ट चाउचाउले पाएको ट्रेडमार्क कार्यान्वयन नगर्न आदेश दिएसँगै नयाँ विवाद सुरु भएको छ । अदालतले विवादित मुद्दाको टुङ्गो नलाग्दासम्म उद्योग विभागले गरेको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएसँगै यशोदा फुड्सले नयाँ विवाद सुरु भएको हो ।

उच्च अदालतले अन्तरकालीन आदेशमा भनेको छ, ‘विवादित मुद्दाको टुङ्गो नलाग्दासम्म उद्योग विभागबाट २०८० जेठ २९ गते भएको निर्णय (ट्रेडमार्क) यथास्थितिमा राखी लागु नगर्न/नगराउन विपक्षीका नाममा अन्तरकालीन आदेश जारी गरिएको छ ।’ यसमा स्पष्टरुपमा उच्च अदालतले मुद्दाको टुङ्गो नलाग्दासम्म यशोदा फुड्सले उद्योग विभागबाट यही वर्षको जेठ २९ गते पाएको करेन्ट चाउचाउको ट्रेडमार्क कार्यान्वयन नगर्न भनिएको छ ।

वाईवाईको ट्रेडमार्क चोरी गरेको मुद्दा खेपिरहेको यशोदा फुड्सले नै नयाँ विवाद सुरु गरेको छ । यशोदा फुड्सले उच्च अदालतबाट ट्रेडमार्क दर्ताको प्रमाणपत्र मात्रै रोक्न भनेको र बिक्री वितरण गर्न पाउने भन्दै विवाद सुरु गरेको हो । अदालतले स्पष्टरुपमा उद्योग विभागले जेठ २९ गते गरेको निर्णय (यशोदा फुड्सलाई ट्रेडमार्क दिने निर्णय) मुद्दा टुङ्गो नलाग्दासम्म यथास्थितिमा राख्न भनेको छ । जबकि, यशोदा फुड्सले विभागलाई प्रमाणपत्र मात्रै रोक्न भनेको र बिक्री वितरण रोक्न नमिल्ने बताएको हो ।

जबकि, विभागले २०८० जेठ २९ गते चौधरी समूहको सिजी फुड्सले गरेको ट्रेडमार्क चोरीविरुद्धको मुद्दा प्रमाण नपुगेको भन्दै कानुन बमोजिम गर्नु भनेको थियो । विभागले कानुन बमोजिम गर्न भनेसँगै सिजी फुड्सले यशोदा फुड्सलाई विपक्षी बनाउँदै उच्च अदालत पाटन पुगेको थियो । सो मुद्दाको अन्तरकालीन फैसला गर्दै अदालतले विपक्षीको नाममा विचाराधीन विषयवस्तु मुद्दाको टुङ्गो नलाग्दासम्म यथास्थितिमा राख्न भनेको हो । यससँगै, अन्तिम फैसला नआउँदासम्म उद्योग विभागले यशोदा फुड्सलाई दिएको वाईवाईको जस्तै लेबल भएको ट्रेडमार्क यथास्थितिमा रहन्छ ।

अन्तिम फैसला नआउँदासम्म पाएको ट्रेडमार्क कार्यान्वयन नहुँदा सोही ट्रेडमार्कमा उत्पादित चाउचाउको बिक्री वितरण भने निरन्तर गर्न मिल्ने यशोदा फुड्को दाबी छ । तर, उजुरीकर्ता सिजी फुड्स भने यशोदा फुड्सले उच्च अदालतको मानहानी गरेको बताउँछ । ‘यदि अदालतको यो आदेशलाई पालना नगरेमा मानहानिसँगै अदालतलाई नटेर्ने र कानुनी व्यवस्था हातमा लिएर जबरजस्ती गर्न खोजेको ठहरिने छ,’ सिजी फुड्स भन्छ ।

कस्तो छ नक्कल गरिएको करेन्टको ट्रेडमार्क ?

यशोदा फुड्सले करेन्ट ट्रेडमार्क लिएर धेरै प्रकारका वस्तु उत्पादन गर्दै आइरहेको छ । यशोदा फुड्सले करेन्ट नामको पिरो चाउचाउ उत्पादन थालेयता यसको चर्चा चुलिएको थियो । तर, यही क्रममा यशोदा फुड्सले वाईवाईको जस्तै लेबल राखेर करेन्ट लोगो राख्दै ‘इन्स्ट्यान्ट नुडल्स’ बजारमा ल्यायो । जसमा वाईवाईको नामको स्थानमा करेन्ट मात्रै राखिएको छ । यसबाहेक, वाईवाईको ट्रेडमार्कमा प्रयोग भएको रङ्ग र अन्य डिजाइनमा सामान्य हेरफेर मात्रै गरिएको देख्न सकिन्छ ।

वाईवाईले राखेको ‘चिकेन फ्लेवरड’लाई अर्कोपट्टि मात्रै लगिएको छ । यस्तै, वाईवाईको जस्तै करेन्टको चाउचाउमा समेत ‘इन्स्ट्यान्ट नूडल्स’ लेखिएको छ भने सीजीको लोगो राखेकै स्थानमा करेन्ट यशोदा फुड्स राखिएको छ । यसबाहेक, वाईवाईमा राखिएको ‘थ्री सिजनिङ इन्साइड’लाई समेत सामान्य हेरफेर गरेर अर्कोपट्टि पुर्‍याइएको छ र सामान्य रङ्ग मात्रै फेरिएको छ । सोही स्थानमा वाईवाईले राखेको ‘टेस्ट इन्ह्यान्स, चिल्ली पाउडर एण्ड वनिवन फ्लेवरड ओयल’लाई समेत सामान्य हेरफेर गर्दै राखिएको छ ।

करेन्टको ट्रेडमार्क हेर्दा वाईवाईको स्थानमा करेन्टमात्रै फेरिएको देख्न सकिन्छ । यशोदा फुड्सले वाईवाईको लोगो राखिएको ब्याकग्राउण्डमा रहेको रातो रंगलाई समेत कपि गरेर पहेँलो घेराले नै घेरेको छ भने लेबलको ‘ब्याकग्राउन्ड’को रंगमा समेत हुबहु वाईवाई जस्तै देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप